सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
(कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे भक्तपुर अस्पतालले गरिरहेको गतिविधिबारे जानकारी लिन भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमसँगको अन्तर्वार्ता प्रस्तुत छ– सं)
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा भक्तपुर अस्पतालले यहाँ उपचारका लागि आउने र अन्यबाट रिफर भइआएका बिरामीहरूको समेत स्वास्थ्य परीक्षण गर्दै आएको छ । दैनिकजसो आउने बिरामीहरू कसैलाई फर्काउन नपर्ने गरी अस्पतालले आफ्नो सेवामार्फत स्वास्थ्य जाँच गरिरहेको छ । २०७६ साल चैत ११ गतेसम्म कोरोनासम्बन्धी बिरामी इमर्जेन्सी कक्षमा जाँच गरेका थियौँ भने चैत ११ गतेपश्चात् फिभर क्लिनिक सञ्चालन गर्दै बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ज्वरो नापेर परीक्षण गर्दै आएका छौँ । फिभर क्लिनिकमा कन्सल्ट्यान्ट विशेषज्ञ डाक्टरहरूबाटै बिरामीको जाँच हुँदै आएको छ । सबै जना विशेषज्ञ डाक्टरहरूको रुटिन बनाएर आलोपालो ड्युटी मिलाएका छौँ । कोभिड–१९को हकमा विदेशबाट आएकाहरूलाई इमर्जेन्सी वार्डमा विशेषज्ञ डाक्टरबाटै कोरोना परीक्षण भइरहेको छ ।
भक्तपुर जिल्लालगायत वरपरका नगरपालिकाहरूका बिरामीहरू पनि भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आइरहनुभएको छ । २०७६ साल चैत १ गतेदेखि २५ गतेसम्ममा जम्मा ९६० जना बिरामीको कोरोनासम्बन्धी परीक्षण गरिएको थियो । जसमा ७० जनाको निगेटिभ रिपोर्ट आएको छ भने कोभिडसँग सम्बन्धित ९८ जनाको जाँच भएको छ । आइसोलेसन वार्डमा उपचार भइसकेका ११ जना छन् भने हाल २ जना उपचाररत गरी आइसोलेसन वार्डमा जम्मा १३ जना रहेका छन् ।
कोरोनाको जाँच गर्नेलाई सुरक्षित राख्न अस्पतालले आवश्यक परेका सबै उपायहरू अवलम्बन गरिरहेको छ । हामीले यहाँ कार्यरत कर्मचारी तथा चिकित्सकहरूलाई डब्लुएचओको मापदण्डअनुसार पीपीई, ग्लोब, गाउन, चस्मा, मास्क बुटलगायतका सामानहरू उपलब्ध गराएका छौँ । बिरामी परीक्षण गर्दा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) जस्ता सामग्रीहरूको हामीले व्यवस्थापन गरेका छौँ । अस्पताल आफैँ, सेनाको सहयोग र आफ्नो व्यक्तिगत सम्बन्धबाट स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश आपूर्ति महाशाखालगायतका ठाउँबाट आवश्यक सहयोगका सामग्रीहरूको व्यवस्थापन हुँदै आएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई आवश्यक पर्ने गाउन, पीपीई, मास्क र स्यानिटाइजरलगायतको व्यवस्था गरेका छौँ । अस्पताललाई विभिन्न निकायबाट केही पीपीई सहयोग आए पनि अस्पतालमा मास्क, ग्लोभ्स, पीपीईलगायतका अत्यावश्यक सामग्रीहरूको अभाव पूर्तिको लागि अस्पताल आफैँले कपडाको मास्क सिलाएका छौँ भने पीपीईसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ ।
लकडाउनको समयमा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू उत्साहित भएर बिरामीको सेवा गरिरहेका छन् । टाढा घर भएकाहरूलाई अस्पताल जान र आउन गाडीको व्यवस्था गरेका छौँ भने नजिक घर भएका र आफैँ आउन सक्नेहरूलाई कार्यालय समयमा उपस्थित भई सेवा प्रदानको निम्ति प्रोत्साहन दिँदै आएका छौँ । अस्पतालको आइसोलेसन वार्डमा कार्यरत कर्मचारीहरूलाई र अन्य वार्डका कर्मचारीलाई खाना, खाजाको व्यवस्था पनि अस्पतालले गरेको छ । यस अर्थमा चिकित्सक र कर्मचारीहरूको मनोबल बढेको छ । यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले इमानदारीपूर्वक काम गरिरहनुभएको छ । यसरी नै जनताको सेवा गर्न पाएको खण्डमा भक्तपुरवासीको मन जित्नेछौं भन्ने विश्वास छ ।
कोरोना भाइरस सङ्क्रमण एक सरुवा रोग भएको हुँदा बिरामी जाँच्ने क्रममा निकै सजगता अपनाउन स्वास्थ्यकर्मीहरूलाई सचेत पारेका छौँ । साथै सङ्कटको समयमा निजी अस्पतालले सेवा बन्द गरे पनि नेपालकै पुरानो भक्तपुर अस्पतालले बिरामीको सेवामा निरन्तर लाग्न स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई अभिप्रेरित गरेका छौँ । पीपीईलगायतका आवश्यक सुरक्षा सामग्रीको व्यवस्थादेखि लिएर कोरोना भाइरसको जोखिमबारे जनचेतनाको लागि पम्पेलिङ, स्यानिटाइजरको व्यवस्था, अस्पताल वरपर एन्टिसेप्टिक स्प्रेका साथै हेल्थ डेस्कको व्यवस्था गरेको छ ।
अस्पतालमा कोरोनाको बुथ स्थापना गरी सुरक्षित ढङ्गले बुथबाटै बिरामीहरूको नमुना सङ्कलन गर्ने काम हुँदै आएको छ । आजको मितिसम्म आइपुग्दा भक्तपुर अस्पतालमा ११३ जनाको स्वाब परीक्षणको लागि पठाइसकेकोमा तीमध्ये ६५ जनामा कोभिड–१९ को रिपोर्ट निगेटिभ देखिएको छ । बाँकीको नतिजा भने आउन बाँकी नै छ ।
हो, भक्तपुर अस्पतालले विदेशबाट आउनुभएकाहरूको पनि स्वाब परीक्षण गरिरहेको छ, बाँकीको आवश्यक परेमा हामी स्वाब परीक्षण गर्छौँ ।
भक्तपुर अस्पताल जनताकै अस्पताल हो । हालसम्म यहाँ १७० जना बिरामीको उपचार भइरहेको छ । यो बीचमा १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
कोरोना परीक्षणको क्रममा भेटिएका शङ्कास्पद बिरामीहरूलाई आवश्यकताअनुसार अन्य अस्पतालहरूमा रिफर गर्ने गरेका छौँ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरससँग जुध्न हामी सबै एकजुट हुनैपर्छ । कोरोनाबाट बच्न आफूमात्र सुरक्षित भएर पुग्दैन, पुरै समाज, देश र विश्वलाई नै सुरक्षित बनाउनुपर्ने आजको आवश्यकता हो । त्यसैले हामीले सम्बन्धित सबै निकायसँग आवश्यक सरसल्लाह र समन्वयमा काम गरिरहेका छौँ । कोरोनाबाट मुक्त हुन सबैको साथको अपेक्षा गरेका छौँ ।
कोरोना सङ्क्रमणका कारण दैनिक हजारौँ व्यक्तिको मृत्यु भइसकेको छ भने आजको मितिसम्म आइपुग्दा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या ८५ हजार नाघिसकेको छ । यदि नेपालमा पनि कोरोनाको महामारी फैलिए आइसीयूको व्यवस्था गरी अस्पतालको क्षमताले भ्याएसम्मका बिरामीहरूको उपचार अस्पतालले नै गर्नेछ ।
यसबीचमा भक्तपुर अस्पताल प्रशासन र भक्तपुर जिल्लाका स्थानीय सरकारहरूसँग राम्रो समन्वय भएको छ । साथै सङ्घ र प्रदेश सरकारको निर्देशनमा हामीले काम गरिरहेका छौँ ।
स्थानीय सरकार र सुरक्षा निकायसँग हातेमालो गरेर आगामी दिनहरूमा पनि अगाडि बढ्दै सबैलाई राम्रो हुने र जनताले राम्रो सेवा पाउने कुरालाई प्राथमिकता दिएर काम गर्नेछौँ र जनताको विश्वास जित्नेछौँ ।
Leave a Reply