भर्खरै :

उत्तराखण्डमा नेपाली कामदार अलपत्र

काठमाडौँ, ३० चैत । भारतका विभिन्न सहरमा श्रम गर्न गएका हजारौँ नेपालीहरू यतिबेला ठूलो सङ्कटमा परेका छन् । हाल भारतको उत्तराखण्ड प्रान्तको रुद्रपरेक जिल्ला अगस्तमुनी (तसली वेनुबगर) मा रहेका कालीकोट जिल्लाका झन्डै ८० जना नेपालीहरूले त्यहाँ कष्टकर जीवन बिताइरहेको बताएका छन् । उत्तराखण्डबाट सम्पर्क गर्दै कालीकोट जिल्ला, चिलखायाका रवीन्द्र नेपालीले कोभिड–१९ को सम्भावित सङ्‍क्रमण रोक्न भारत सरकारले २१ दिने लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारीमा काम गर्ने नेपालीहरूलाई दिनको एक छाक खान पनि धौ धौ भएको बताउनुभयो ।
            त्यहाँ रहेका नेपाली कामदारलाई भारत सरकारले वितरण गरेको राहत सामग्री पनि सकिएपछि उनीहरूलाई त्यहाँ बस्न समस्या भएको नेपालीले जानकारी दिनुभयो । “भारत सरकारले राहत भनेर १५ दिनअघि प्रतिव्यक्ति ४ केजी चामल, २ केजी दाल, एक पोका नुन, एक पोका तेल र एक पोका चिनी वितरण गरेको थियो । अहिले त्यही पनि खाइसकियो । अब खान केही छैन । बजार बन्द छ । पेट भर्न नै मुस्किल भयो”, उहाँले भन्नुभयो ।
            लकडाउनको कारण कुनै सार्वजनिक यातायातका साधन चलेको छैन । त्यसकारण उनीहरू आफ्नै पहलमा त्यहाँबाट नेपाल आउनसक्ने अवस्था छैन ।
            “यस्तो सङ्कटको समयमा हामी आफ्नै देशमा फर्किन चाहन्छौँ । नेपाल सरकारले आफ्ना नागरिकलाई सुरक्षितरूपमा घर फर्किने वातावरण बनाओस्”, नेपालीले भन्नुभयो ।
            अगस्तमुनीमा हाल कालीकोट जिल्लाका तिलागुफा नगरपालिकाको चिल्खाया, राँचुली, ओखरभिट्टा, छाप्रे, खल्ला, फोइ, खाडा र खाँडाचक्र नगरपालिकाको दाहाला, चौकी र पाँखाका साथै जाजरकोट जिल्लाका नेपाली एकसाथ रहेको जानकारी दिनुभएको छ ।
            नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका श्रमिक जनता वार्षिकरूपमा भारतका विभिन्न प्रान्तमा ज्यालादारी श्रम गर्ने परम्परा छ । कोभिड–१९ को महामारी रोकथामको निम्ति भारतले लकडाउन गरेसँगै धेरै नेपालीहरू त्यहाँ समस्यामा परेका छन् । जसोतसो नेपालको सिमानासम्म आएका नेपालीले पनि नेपाल–भारतको सिमाना बन्द हुँदा नेपाल पस्न पाएका छैनन् । सीमा क्षेत्रमा हजारौँ नेपालीहरू देश फर्किने दिन कुरेर बसेका छन् ।
            भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न सहरमा अलपत्र परेका नेपालीहरूको विषयमा कुनै चासो नदिएको भनी चर्को आलोचना भइरहेको छ ।
             नयाँ दिल्लीस्थित भारतीय राजदूतावासमा आफ्नो समस्या पोख्न फोन गर्दा पनि फोन नउठेको नेपाली मजदुरहरूले बताएका छन् । यसैबीच भारतका केही प्रचारमाध्यमले कोभिड–१९ भारतमा सङ्‍क्रमणको लागि नेपालीहरू दोषी भएको भन्ने झूटा प्रचारबाजीसँगै भारतमा रहेका नेपालीमाथि विभेद र भौतिक हमला हुनसक्ने विषयमा नेपाल सरकार सजग हुनुपर्ने र आवश्यक पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *