भर्खरै :

लकडाउनमात्रै समस्याको समाधान हुनसक्ला ?

सुन्दर राजचल
            देशका ७७ वटै जिल्लामा कोराना भाइरसको सङ्‍क्रमण फैलन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेको तीनहप्ता नाघिसकेको छ । सरकारले लकडाउनलाई सङ्‍क्रमण फैलन नदिने वा कोभिड–१९ को महामारीविरुद्ध निर्विकल्प हतियारको रूपमा परिभाषित गरेको छ । सरकारले जनताको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर गरेको लकडाउनको घोषणा गएको २ गते मंगलबारको मन्त्रिपरिषद्को बैठकले पुनः १२ दिन थपेको छ र वैशाख १५ गतेसम्मको लागि यो लम्बिएको छ । अर्थात् आगामी वैशाख १५ गतेसम्म जनता स्वयंको लागि र स्वयंद्वारा बन्दाबन्दी भई बस्‍नेपर्ने भएको छ ।
स्वास्थ्य नै धन हो
            आफ्नै दैनिक जीवन सहजरूपमा चलाउन जनताले कठिन सङघर्ष गर्नुपरेको छ यत्तिखेर । आफ्नो र आफ्नो परिवारको सुस्वास्थ्य र दीर्घायूको लागि आजको यस कठिन परिस्थितिमा व्यक्तिले गर्नसक्ने एउटैमात्र उपाय लकडाउनको परिपालना नै भएको छ । यस अर्थमा चाहेर वा नचाहेर पनि घरको कोठाभित्र बन्दी हुन परेको छ, स्वास्थ्यको लागि । कोरोना भाइरसले यसरी सन्त्रास फैलाउनुपूर्व मानिसहरू निःसन्देह कुनै न कुनै काममा व्यस्त थिए । आफू र आफ्नो परिवारको जीविका एवम् स्वास्थ्य र दीर्घायूकै  निम्ति हिजो कता कता गएर रोजीरोटीको जोहो गर्नुपर्ने बाध्यता विशेषगरी घरको मुलीको जिम्मामा थियो । खानपान, लत्ताकपडा र पढाई आदि महत्वपूर्ण र अत्यावश्यक तत्वहरूको लागि अहोरात्र खट्न विवश मानिस आज ती नै आवश्यकताहरूको पूर्तिको लागि बाहिर जान सकेका छैनन् भित्र घरमै वा कोठामै बन्द भई सरकारले घोषणा गरेको लकडाउनलाई शिरोधार्य गरेर दैनिकी बिताइरहेका छन् । हो, साँच्चिकै समयले मानिसलाई धेरैथोक सिकाउने रहेछ । व्यवहारमा आज ‘स्वास्थ्य नै धन हो’ भने पुरानो भनाइले सार्थकता पाएको छ । आमनागरिकलाई ठूलो पाठ सिकाएको छ ।
            हिजो धनकै लागि मानिस रातदिन नभनी व्यस्त हुने गर्थे । धन भएपछि रोग र भोकमाथि पनि विजय पाउन सकिन्छ भने कमजोर मानसिकतामा थिए केही मानिसहरू । यसरी धनले जस्तोसुकै रोगलाई पनि पराजित गर्न सकिन्छ भन्‍नेहरूसमेत आज रोग लाग्ला  भन्‍ने डरले स्वास्थ्यलाई व्यवस्थित गर्दैछन् । स्वास्थ्य बिग्रिने डरले धन आर्जनको बाटो छाडी घरमा श्रीमति, बालबच्चा र बाबुआमासँग दिन बिताउन थालेका छन् । यसमा रहरको मात्रा अत्यन्त कम होला परन्तु स्वास्थ्यसम्बन्धी जनचेतना जाग्‍नु र सामाजिक भावनाको दृष्टिले अन्यन्त महत्वपूर्ण छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको उक्त भाइरसले आक्रान्त पारेको खण्डमा व्यक्ति विशेषले ठूलो र अकल्पनीय मूल्य चुकाउनुपर्ने सम्भावित भयले आफ्ना सम्पूर्ण इच्छा, आकाङ्‍क्षालाई केही दिनका लागि भए पनि त्यागेर भविष्यको लागि आज केही दिन बन्दाबन्दी भएर बस्‍नेपरे पनि स्वीकार छ भन्‍ने भावनाले ‘होम क्‍वारेन्टिन’ मा बसेका छन् । दुःख स्वाभाविक छ, यद्यपि भविष्य राम्रो देखेका छन् आम् नागरिकले ।
दुःख माथि थप दुःख
            आफ्नो अनि परिवारको सुःख र सुस्वास्थ्यको निम्ति अहोरात्र खटेर जीविकोपार्जन गर्नुपर्ने र गरिरहेका नेपालीको सङ्ख्या अधिक छ यो भूपरिवेष्ठित मुलुकमा । आफ्नो छाक टार्न कठिनभन्दा कठिन परिश्रम गर्नुपर्ने बाध्यता बहुमत नेपालीसँग छ । प्रतिव्यक्ति आय कम छ, बेरोजगारको सख्या बढी छ । साथ साथै मुलुकमा मासिक नियमित आम्दानी हुने वर्गका मानिसको सख्या भन्दा ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यतामा रहेका जनताको बाहुल्यता छ । बिहान र बेलुकी हातमुख जोड्नका लागि दिनभर शारीरिक श्रम गर्नुपर्ने मजदुरहरूको बाहुल्यता भएको देशमा सरकारद्वारा घोषित लकडाउनले निकै नै गम्भीर असर पार्दछ । यी वर्गका जनताका लागि लकडाउनले थप दुःख थपेको छ । भाइरसको सङ्‍क्रमणले भन्दा पनि गरिबी र भोकले ज्यानै जाने खतरासमेत छ । यतातिर सरकार र स्थानीय तहले ध्यान पुर्‍याउनुपर्दछ ।
            गत चैत १० गते घोषणा गरेर चैत्र ११ गतेबाट देशव्यापी लकडाउन सुरु भयो । दैनिक ज्यालादारी मजदुरको श्रम गर्ने उद्योग कलकारखानाहरू बन्द भए, बजार बन्द भयो, विद्यालय र कलेजहरू बन्द भए । यसले बेरोजगारी सङ्ख्या ह्वात्तै बढायो । २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने, भोज भतेरको आयोजना गर्न नपाइने र १ मिटरको दूरीमा रहेरमात्रै अत्यावश्यक खाद्य सामग्री खरिद गर्ने निर्देशन आएपछि आम उपभोक्ता मात्र होइन, बहुमत नेपालीमाथि चिन्ताको बादल मडारियो । किसान, मजदुर, प्राध्यापक, शिक्षक, वकिल, भरिया, व्यापारीलगायत पेशा व्यवसायमा रहेकाहरूको दैनिकीमा एकाएक नकारात्मक परिवर्तन भयो । सबका सब घरभित्रै बस्‍नेपर्ने भएबाट अर्थतन्त्रमा नराम्रो असर पर्ने नै भयो । यसका साथै मासिक तलब बुझ्ने सीमित कर्मचारी वर्गभन्दा कैयौँ गुणा बढी दैनिक ज्यालादारी गर्ने श्रमिक वर्गको हात रित्तो भएबाट तिनीहरूको दैनिकी झन् कष्टकर बनेको छ ।
पैदलै आ–आफ्नो गन्तव्यतिर
            भौगोलिकरूपमा सहर बजार व्यस्त हुने र खर्चिलो ठाउँ हो । यहाँ बस्‍ने हरेक मानिस ग्रामिण भेगका मानिसभन्दा बढी आम्दानी हुने र खर्च गर्ने क्षमताका हुनुपर्दछ, होइन भने जीवन कष्टकर हुन्छ । लकडाउन भएपछि सबैभन्दा ठूलो चिन्ता ती ज्यालादारी मजदुर र अध्ययनको क्रममा काठमाडौँ उपत्यका र वरपर कोठाभाडा लिई बसेका अधिकांश नेपालीहरूको स्थिति अस्तव्यस्त भयो । दैनिकी उथलपुथल भयो । काम गर्ने ठाउँ सबै बन्द भए । दिनभर कोठामा बस्न बाध्य भए । काम छैन यद्यपि खान त परिहाल्यो । ठूलो फसाद आइलाग्यो । कोठामा भएको केही खानेकुरा बिस्तारै रित्तिँदै गयो । अलि अलि बचाएको पैसा क्रमशः खर्च हुँदै गयो । हुँदाहुँदा खानेकुरा पनि सकियो र भएको अलि अलि पैसा पनि सकिँदै गयो । काम गरेको ठाउँबाट बैङ्क बन्द भएको हुनाले चेक साट्न नपाएको जवाफ आउन थाल्यो । अब भोकै मर्नुको विकल्प नदेखिएका श्रमिकहरूमा घर गएरैमात्रै बाँचिने अवस्था बोध भयो, नभन्दै बिस्तारै घरको बाटो तताउन थाले । सवारीसाधन बन्द भएकाले पैदल घरतर्फ जाने बुद्धि पलायो । केही घण्टा र दिन होइन हप्तौँ हिँडेर कोही पूर्व लाग्यो, कोही पश्चिम । सवारी साधन नपाएको, सहयोगी हातहरूको अभाव भएको, मर्ने र बाँच्ने अज्ञात भएको जस्ता तीतो अनुभव सङ्गाल्दै तिनीहरू काठमाडौं उपत्यका छाडेर आ–आफ्नो गन्तव्यतिर लागे । विडम्बना, यसरी रातदिन हिँडेका नेपाली नागरिकहरूलाई समयमै राहत दिने र सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउने विषयमा न त स्थानीय सरकारले कुनै पहल देखायो न केन्द्रीय सरकारले । बरु ठाउँ ठाउँमा स्वःस्फूस्र्तरूपमा उठेका सहयोगी हातहरूले ती पीडितको घाउमा अलिकति भए पनि मल्हम लगाएको महसुस तिनीहरूले गरे ।
देशभित्र बन्दाबन्दी बाहिर खुल्ला
            जनताको मागअनुसार भाइरसको सङ्‍क्रमणबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन समयसापेक्ष रह्यो । आम नागरिक घरभन्दा बाहिर पूर्ववत आवतजावत गर्न नपाउँदा र आफू आफूबीचमात्र सम्पर्क हुँदा जोखिमको सम्भावना न्यून भयो । यो सकारात्मक पाटो भयो तर नेपालको भूगोलअनुसार देशको चारै दिशा खुला हुँदा विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपालको भूगोलभित्र छिर्न सक्दैन भनेर भन्न सक्ने कुनै आधार भएन । घरको झ्यालढोका खोलेर भित्र बस्दामात्र मानिस सुरक्षित रहन सक्दैन, हावा सँगसँगै धूलो र किरा पनि छिर्ने त्यत्तिकै बलियो सम्भावना भएझैँ । खुला सीमालाई सरकारले समयमै व्यवस्थापन गर्न नसक्नु कमजोरी देखिएका छ । परिणामस्वरूप नेपालभित्र पहिलोपटक चैत १० गते कोरोना सङ्‍क्रमण भएको प्रचार भयो । विदेश गएका नेपालीहरू फर्कने क्रममा भाइरसको सङ्‍क्रमण भएको समाचार सँगसँगै आम नेपाली नागरिकहरू त्रसित भए । सरकारले समयमै खुला सीमालाई व्यवस्थित नगर्दा आज वैशाख ६ गतेसम्ममा ३० जना नेपालीहरू सङ्‍क्रमित भएको विषयले सहर बजारमात्रै तताएन बरु १२ दिन लकडाउन लम्ब्याउन पनि सरकार विवश भयो ।
            भारतमा सङ्‍क्रमितहरू बढ्दै जानु र नेपालको भारततर्फको सीमा बन्दबन्दी नहुँदाको क्षति यत्तिखेर हामीले भोगिरहेका छौँ । विश्वका केही मुलुकहरले छिमेकी देश अझ भनौँ कुनै अर्को देशमा भाइरसको सक्रमण भएको खबर पाउनासाथ बुद्धिमता अपनाई सीमामा शीलबन्द गरियो । अस्थायीरूपमा नाकाबन्द गरी अत्यावश्यक ढुवानीबाहेक कुनै पनि गाडी भित्याएनन् । र, त, आजसम्म पनि सङक्रमित फेला नपरेको मात्र होइन बरु कोरोनामुक्त मुलुकको रूपमा विश्व स्वास्थ्य स·ठनले समेत घोषणा गर्‍यो ।
            तर नेपालमा समयमै सीमाबन्द हुन सकेन । यत्तिमात्रै होइन खाद्यान्न ढुवानी गर्ने र कोइला ढुवानी गर्ने ट्रकहरूमा समेत लुकीछिपी आएका नेपालीहरूको स्वास्थ्य परीक्षण हुन नसक्नु दुःखको कुरा हो । सीमास्थित स्थानीय सरकार र प्रहरी प्रशासन यसमा असफल भएको अनुभूति गर्नुपरेको छ । ती मालबाहक सवारी साधनमा लुकीछिपी नागरिक आएको विषयसमेत अज्ञात रहेको स्थानीय प्रहरीहरूको भनाइले नेपालको सीमानाकाको सुरक्षा बन्दोबस्त बुझ्न कठिन भएन । कोही गाडीमा लुकेर आएका छन्, कोही रातारात हिँडेर आएका छन् भने कोही हवाईजहाजबाट आएका छन् । विदेशबाट आएका ती नागरिकहरू को, कति, कस्तो अवस्थामा फर्के ? यसका जवाफ सरकारसँग नरहनु विडम्बना हो । आज देशमा दिनानुदिन सङ्‍क्रमितको सङ्ख्या थपिरहेको छ । अझै सङ्‍क्रमितको आशङ्का गरिएकाहरू कोही कतै लुकेका र प्रहरीको सम्पर्कमा आउन बाँकी भएका खबरहरूले लकडाउनमा बसेका आम नागरिकहरूको पीडामा पीडा थप्ने काम भएको छ । देशभित्र पटक पटक बन्दाबन्दीको निर्णय सुनाउने सरकारले देशबाहिर खुला हुँदाको परिणाम समयमै सोच्न नसक्नुले भोलि गम्भीर समस्या आउन सक्ने सम्भावनालाई नकार्न कसरी मिल्ला? अतः लकडाउन सँगसँगै सीमानाका व्यवस्थित गर्ने, नागरिकको घरदैलोमा खाद्यान्न पुर्‍याउने, जनचेतना जागृत गर्ने, बिचल्लीमा परेकाहरूको उद्धार गर्नेलगायतका गतिविधिहरू सरकारको प्राथमिकतामा परे क्षति न्यूनीकरण हुनेमा विवाद नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *