भर्खरै :

एसईईका विद्यार्थीलाई भर्चुयल कक्षा प्रभावकारी

            भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखाको संयोजनमा एसईईको तयारीमा रहेका विद्यार्थीहरूका लागि भादगाउँ टेलिभिजनमार्फत भर्चुयल कक्षा प्रसारण गर्न थालिएको छ । नेपाल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न तेस्रो पटक बन्दाबन्दीको म्याद थपेपछि वैशाख ३ गते नगर प्रमुख सुनिल प्रजापतिले उक्त कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । प्रमुख प्रजापतिले नेपाल टेलिभिजनको ‘कोरोना केयर’ कार्यक्रममा बोल्दै उक्त घोषणा गर्नुभएको हो ।
            हाल कक्षा १० का ६ ओटा अनिवार्य विषयहरू अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षाका कक्षाहरू प्रसारण भइरहेका छन् । कक्षाहरू हरेक दिन साँझ ५ बजेदेखि ८ बजेसम्म तीन विषयका कक्षाहरू आलोपालो गरी प्रसारण भइरहेको छ ।
            नगर शिक्षा शाखाका स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यका अनुसार बन्दाबन्दीको अवस्थामा लामो समयदेखि घरभित्र बसिरहेका विद्यार्थीहरूलाई पुनर्ताजगी होस् भन्‍ने हेतुले सकेसम्म परीक्षामुखी ढङ्गले वैकल्पिक शिक्षण सिकाइको व्यवस्था गरिएको हो । नगरभित्रका सम्पूर्ण मावि तहसम्म सञ्चालित स्कूलका प्रअ-प्रिन्सिपलहरूलाई प्रशारित सामग्री उपयोग गर्न गराउन आ–आफ्ना विद्यार्थीहरूलाई सूचित गरिदिन आफूले अनुरोध गरिसकेको हुँदा प्रशारण प्रभावकारी हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
            शारदा मावि यालाछेँका प्रअ रोशनराज तुइतुइँले प्रसारित शैक्षिक सामग्रीहरू युट्युवमा पनि राखिएको हुनाले विद्यार्थीले आफ्नो अनुकूल समयमा र आफूलाई आवश्यक विषय जुनसुकै बेला हेर्न सुन्‍न सकिने भएकाले विद्यार्थीहरू लाभान्वित भइरहेको बताउनुभयो । उहाँका अनुसार हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्ना विद्यार्थीहरूसित अनलाइनमा नियमितरूपमा गृहकार्य दिने गरेको र हरेक दिन तीन जना विषय शिक्षकलाई आलोपालो मिलाइएको छ ।
            वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले प्रसारित भर्चुअल कक्षाले आफूहरूलाई ठूलो राहत मिलेको बताउँदै विद्यार्थीहरूसित नियमितरूपमा फोन सम्पर्क भइरहेको जानकारी दिनुभयो ।
            मेधा मावि तेखापुखुका प्रअ गङ्गाधर हाडाले साँझ बिहान एक एक घण्टामात्र प्रसारण भए अझ प्रभावकारी हुने सुझाव दिँदै विद्यार्थीको पढाइबारे भक्तपुर नगरपालिकाले लिएको चासो र चालेको कदमप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
            शान्ति निकेतन मावि, राममन्दिरका प्रअ महेन्द्रगोपाल कर्माचार्यले प्रसारित सामग्री धेरैजसो परीक्षा केन्द्रित भएको हुँदा विद्यार्थीको सिर्जनशीलतालाई ध्यान दिई पाठगत सामग्री पनि प्रसारण हुनुपर्ने सुझाव दिनुभयो ।
            अङ्ग्रेजी विषय शिक्षक रामकुमार निरौलाले विद्यार्थीविनाको कक्षामा क्यामेरालाई पढाउने नौलो अनुभव सँगालेको विचार व्यक्त गर्दै कोरोना सङ्कटले खुला शिक्षण सिकाइको महत्व बढाइदिएको बताउनुभयो ।
            भादगाउँ टेलिभिजनका निर्देशक तुल्सीकुमार त्वायनाका अनुसार एसईई सामग्री प्रसारणपछि दर्शक धेरै बढेको र सकारात्मक प्रतिक्रियाहरू धेरै आएका छन् । उहाँले भक्तपुर जिल्लाबाहेक उपत्यकाबाहिरबाट अझ धेरै राम्रा प्रतिक्रियाहरू आएको जानकारी दिनुभयो । वागीश्वरी माविबाट एसईई परीक्षाको तयारीमा रहेकी सम्पदा अवालले प्रसारित सामग्री आफूहरूको लागि उपयोगी भएको र नियमितरूपमा आफूले हेरिरहेको जानकारी दिँदै भाषाको माध्यम अङ्ग्रेजी भइदिए अझ राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *