भर्खरै :

भक्तपुर अस्पतालमा कोभिड जँचाउन आउने बिरामी शून्य

            भक्तपुर, १३ वैशाख । भक्तपुर जिल्लामा कोभिड–१९ परीक्षण र उपचारको लागि तोकिएका दुई अस्पतालमध्ये भक्तपुर अस्पतालमा शनिबार कोभिड–१९ को सङ्‍क्रमण जँचाउने बिरामीको सङ्ख्या पहिलो पटक शून्य भएको छ । शनिबार एक जना पनि व्यक्ति कोभिड–१९ को परीक्षण गर्न अस्पतालमा आएन । गत चैत ११ गते लकडाउन घोषणा भए यता शून्य बिरामी भएको यो पहिलो पटक हो ।
            यसअघि अस्पतालमा नियमितरूपमा ज्वरो आएको, खोकी लागेको, विदेशबाट फर्केका, विदेशबाट फर्केकाको परिवार र आफन्त कोभिड–१९ को परीक्षण गराउन आउने गरेका थिए । हालसम्म अस्पतालमा २५८ जना व्यक्तिको आरडीटी परीक्षण गरिएको अस्पतालमा सहयोग गर्दै आएको स्वयम्सेवक टोलीका सदस्य न्हुज किजूले जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा परीक्षणको लागि आएकामध्ये १८८ जना व्यक्तिको स्वाब टेकूस्थित प्रयोगशालामा परीक्षणको लागि पठाइएको उहाँले बताउनुभयो । “१८८ जनामध्ये १ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ । बाँकी सबैको निगेटिभ रिपोर्ट आएको छ”, किजूले भन्नुभयो ।
            लकडाउन यता अस्पतालमा उपचार कार्यमा सहयोग गर्दै आएको स्वयम्सेवक टोलीका सदस्य न्हुज किजूले लकडाउन यता शनिबार शून्य बिरामी हुनुबाट भक्तपुर कोभिड–१९ का सङ्‍क्रमितबाट मुक्त भएको आशा गर्न सकिने बताउनुभयो ।
            चैत ११ यता एकै दिन ५६ जनासम्म मानिस कोभिड–१९ को परीक्षण गर्न आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *