भर्खरै :

संरा अमेरिकाबाट सुरुआत भएको थियो ‘स्पेनिस फ्लु’

-सुनिल सुवाल
            एक महामारी स्पेनिस फ्लुले संसारभरि डढेलोजस्तै विनाश गरेको थियो । त्यसबाट संसारभरि ५ करोडभन्दा बढी र अमेरिकामा मात्र करिब सात लाख मान्छे मरेको थियो । जब कि पहिलो विश्वयुद्धमा संयुक्त राज्य अमेरिकाले एक लाख पन्ध्र हजार सैनिक गुमाएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यो महामारी फैलिने गति र तीव्रता लगभग अकल्पनीय थियो । त्यसबाट पृथ्वीको झन्डै एकतिहाइ जनसङ्ख्या सङ्‍क्रमित भएका थिए ।
            त्यो महामारी सन् १९१८ को थियो । स्पेनबाट सुरू नभए पनि त्यसलाई ‘स्पेनिस फ्लु’ भनियो । प्रथम विश्वयुद्धकालीन समय भएकोले अन्य देशका युद्धका समाचार र युद्धमा ठेस पुग्ने अन्य समाचार लेख्न रोक लगाइएको थियो । स्पेनका एक पत्रकारले त्यो भाइरसबारे पहिलो पटक लेखेका थिए । त्यसैकारण, भाइरसको नाम ‘स्पेनिस फ्लु’ रहन गयो । त्यो फ्लु सुरुमा अमेरिकाको कन्सस राज्यमा देखिएको थियो ।

महामारीको तस्वीर हेर्दा फुजी हिमालजस्तो एक्लो, ठिङ्ग उभिएको चुचुरोजस्तो होला भनेर सोच्नु गलत हो । ग्राफ सुनामीको छालजस्तो हुन्छ । यो आउँछ र सँगै अर्को छालले पछ्याएको हुन्छ । त्यो छाल कति घातक हुन्छ भन्ने कुरा हामी सबैमा निर्भर हुन्छ ।

            सन् २०२० को कोभिड–१९ पनि अहिले द्रुतगतिमा फैलिँदै छ । सन् १९१८ को महामारीको शिक्षा आज पनि सान्दर्भिक छ । यो शिक्षाले कोभिड–१९ महामारी रोक्न मद्दत गर्नेछ :–
पाठ – १ शारीरिक दुरी चाँडै बन्द नगर्नू
            स्पेनिस फ्लु महामारीको बेला मानिसहरूले चाँडै शारीरिक दुरी तोड्न थालेको परिणाम सङ्‍क्रमणको दोस्रो लहर सुरू भयो । विज्ञहरूका अनुसार दोस्रो लहर पहिलाभन्दा घातक थियो ।
            सन् १९१८ को गर्मीयाममा सङ्‍क्रमणको सङ्ख्या कम हुँदै गयो र अगस्टको सुरूमा निर्मूल हुने आशा गरियो । तर, त्यो हुरीअघिको शान्तिजस्तै भयो । युरोप अमेरिकामा भाइरसले अर्को रूप लियो । यूरोपमा स्वस्थ युवायुवतीहरूसमेत सङ्‍क्रमण भएको २४ घण्टामै मर्न थाले ।
            यथार्थमा सन् १९१८ को पहिलो सङ्‍क्रमण लहरको अन्तिमतिर भएको एउटा ठूलो परेड जमघट नै दोस्रो लहरको कारण बन्यो ।
            महामारीविज्ञ डा. ल्यारी ब्रिलियान्टका अनुसार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जब स्पेनिस फ्लु झन्डै शून्यमा पुगेको थियो त्यहाँका चर्चका धर्मगुरुहरूले भने, “अब सहर खोलौँ र सहरको मुख्यचोकमा एउटा ठूलो परेड गरौँ । हामी सबैले एकैचोटी मास्क फुकालौँ ।”
            डा. ल्यारीले भने, “त्यसको दुई महिनापछि महामारी अर्को ठूलो झट्का भएर फैलियो ।”
            अमेरिकाको अर्को सहर फिलाडेल्फियामा पनि त्यस्तै दुःखद घटना भयो । फिलाडेल्फियाको जलसेना केन्द्रमा सेप्टेम्बरभित्र ६०० जना जलसेनाहरूमा स्पेनिस फ्लु देखियो । त्यहाँ सन् १९१८ सेप्टेम्बर १८ मा आयोजना गर्ने भनिएको परेड स्थगित नगरी तोकिएकै दिनमा गरियो ।
            पेनल्सिभिनिया विश्वविद्यालयको अभिलेख केन्द्रका अनुसार परेड भएको तीन दिनपछि फिलाडेल्फियामा ६३५ नयाँ सङ्‍क्रमित देखापर्‍यो । त्यहाँ एक हप्तामा १२,००० मरे र ४७,००० सङ्‍क्रमित भए । पेनसिल्भिनिया विश्वविद्यालयका अनुसार फिलाडेल्फियामा त्यो समय अमेरिकाको सबभन्दा बढी सङ्‍क्रमित भएको सहर थियो ।
            फिलाडेल्फियाकै सेन्ट लुइस सहरले घोषित परेड रोकेको थियो । संयुक्त राज्य अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार त्यसको एक महिनापछि फिलाडेल्फियामा दश हजार मान्छे मरे । तर, सोही महामारीबाट सेन्ट लुइसमा मर्नेको सङ्ख्या सातमात्र पुग्यो ।
            हो, फरक फरक समयमा विभिन्न ठाउँमा महामारी घातक हुन्छ । तर एक ठाउँमा महामारी घातक भइसकेपछि त्यहाँ नफर्किने हैन, मृत्युको सङ्ख्या नबढ्ने होइन ।
            महामारीको तस्वीर हेर्दा फुजी हिमालजस्तो एक्लो, ठिङ्ग उभिएको चुचुरोजस्तो होला भनेर सोच्नु गलत हो । ग्राफ सुनामीको छालजस्तो हुन्छ । यो आउँछ र सँगै अर्को छालले पछ्याएको हुन्छ । त्यो छाल कति घातक हुन्छ भन्ने कुरा हामी सबैमा निर्भर हुन्छ ।
पाठ–२ बलियो प्रतिरक्षा भएका युवा, स्वस्थ वयस्कहरू पनि महामारीको सिकार हुनसक्ने 
            टुलान विश्वविद्यालयको जनस्वास्थ्य र उष्ण प्रदेशीय चिकित्सा विद्यालयका प्रोफेसर जोन व्यारीका अनुसार सन् १९१८ को महामारीले थुप्रै स्वस्थ युवाहरूको ज्यान लियो । उनको पुस्तक “The Great Influenza : The Story of Deadliest Pandemic” मा उल्लेख गरेअनुसार मृत्यु हुनेहरूमा १८ वर्षदेखि ५० वर्षका दुईतिहाइ थियो ।
            सन् १९१८ को महामारीअघि अमेरिकाको सरदर आयु ५० वर्षको हाराहारीमा थियो । महामारीको एक वर्षपछि औसत अमेरिकीको आयु १२ वर्षले घट्यो ।
            सन् २०१७ को तथ्याङ्कअनुसार अमेरिकीको औसत आयु ७६.७ वर्ष हो । अहिले कोरोना भाइरसको सङ्‍क्रमण ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या भएकालाई धेरै भएको देखिन्छ । अहिले पनि धेरै युवाहरू बिरामी भइरहेका छन् वा मृत्यु भएका छन् ।
            सन् १९१८ को महामारी धेरै युवाहरूमा फैलिनुको कारण उनीहरू युद्धको समयमा कोलोराडोको फोर्टकोलिन व्यारेकमा थिए । व्यारेकमा एक अर्कोसँग नजिकै बस्नुपथ्र्यो । प्रो। व्यारीका अनुसार अमेरिकी सैन्य प्रशिक्षालयहरूमा उच्च मृत्युदर थियो ।
            अहिले विश्वयुद्ध छैन, तर एउटा प्रमुख पाठ स्वस्थ युवाहरूलाई रोग नलाग्ने होइन । उनीहरूको बलियो प्रतिरक्षा शक्तिले उनीहरूकै विरूद्ध काम गर्नसक्छ ।
            अहिले स्पेनिस फ्लुलाई फर्केर हेर्दै वैज्ञानिकहरू भन्छन्, “सन् १९१८ को महामारीमा प्रतिरक्षा शक्तिबारे चाहिनेभन्दा बढी विश्वास गर्नाले धेरै युवकहरूले ज्यान गुमाउनुपरेको थियो ।” सो कुरा अमेरिकाको इन्डियना विश्वविद्यालयको चिकित्साशास्त्रका प्रोफेसर डा. रिचार्ड गनडेरमनले लेखेका हो ।
            त्यो महामारीको एक शताब्दीपछि पनि अत्यन्त सक्रिय प्रतिरक्षाशक्ति भएका युवाको मृत्यु भइरहेको हुनसक्छ । सीएनएनका प्रमुख स्वास्थ्य संवाददाता सञ्‍जय गुप्ताका अनुसार यस्तो प्रतिरक्षा शक्तिलाई साइटोकाइन स्टोर्मस् (Cytokine Storms) भनिन्छ ।
            गुप्ताले भन्छन्, “केही स्वस्थ युवाहरूमा सक्रिय प्रतिरक्षा प्रणालीको कारण नसाहरू सुनिएर फोक्सो तथा अन्य अङ्गलाई भार पर्न जान्छ ।” गुप्ताले थपे, “यस्तो उमेर बढी भएको वा कमजोर प्रतिरक्षा शक्ति नै सङ्‍क्रमणको कारक बन्ने होइन ।”
पाठ ३ : अप्रमाणित औषधिको प्रयोग नगर्नु
            विगत १०२ वर्षमा ठूलठूला चिकित्सा र प्राविधिक प्रगतिहरू भएका छन् । तर, स्पेनिस फ्लु र कोरोना भाइरस दुवैमा खोप र उपचारको अभाव देखिन्छ ।
            अमेरिकाको स्टानफोई विश्वविद्यालयको खोजपत्रअनुसार सन् १९१८ मा भर्खरै विकसित गरिएका औषधिदेखि तेल र जडिबुटीहरूसमेत उपचारमा प्रयोग गरिएको थियो । ती औषधिहरूको प्रभावकारीताबारे कुनै वैज्ञानिक आधार थिएनन् ।
            सन् २०२० मा मलेरिया (Malaria), लुपस (Lupus) र र्‍युमाट्योइड (Rheumatoid) को लागि प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्‍वाइन (Hydroxychloroquine) औषधि पनि नोवेल कोरोना भाइरस बिरामीको लागि प्रयोग गर्न सकिने व्यापक चर्चा छ ।
            राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सीक्लोरोक्‍वाइनबारे भने “तपाईँहरूले के गुमाउनु छ ? औषधि प्रयोग गर ।” परीक्षण नगरिए पनि केहीले नोवेल कोरोना भाइरसविरूद्ध यो औषधि प्रयोग गरे । हालैको एक अध्ययनअनुसार हाइड्रोक्सीक्लोरोक्‍वाइनले अस्पताल भर्ना गरिएका कोरोना सङ्‍क्रमित बिरामीको उपचारमा प्रभावकारी नभएको बरु केही बिरामीमा मुटु रोग देखिएको छ ।
            “यसले प्रमाणित गर्छ कि हाइड्रोक्सीक्लोरोक्‍वाइनले कोभिड–१९ का बिरामीहरूलाई निको पार्दैन । यो औषधिले मुटु बिगार्ने भएकोले तुरुन्त बन्द गर्नुपर्छ” । फिलाडेल्फिया शिशु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पाउल अफिटले भने ।
            ब्राजिल र स्वीडेनका डाक्टरहरूले हाइड्रोक्सीक्लोरोक्‍वाइनजस्तै क्लोरोक्‍वाइन औषधिले पनि मुटुसम्बन्धी समस्या गर्ने भएकोले यो पनि बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।
            यी औषधिले कोरोना भाइरसविरुद्ध लड्न सहयोगभन्दा पनि अझ बढी हानि पुर्‍याउँछ ।
            ट्रम्पले आफ्नो व्यापार हिस्सा भएकोले हाइड्रोक्सीक्लोरोक्‍वाइन कोभिड–१९ सङ्‍क्रमणका बिरामी उपचारमा उपयुक्त हुने झूट बोलिरहेका छन् ।
सन्दर्भ स्रोतः अमेरिकाको सीएनएन समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *