भर्खरै :

सुरक्षित आवतजावत आवश्यक

            लकडाउनको अवधि बढेको बढ्यै छ । पाँच सात दिनको अन्तरालमा दुई चार जना मानिसहरूमा कोरोना परीक्षण  पोजिटिभ देखापर्ने क्रम रोकिएको छैन । कोरोना सङ्‍क्रमितको अवस्थिति विश्लेषण गर्ने हो भने यो सङ्‍क्रमण नेपालको सुदूर पूर्वको जिल्ला झापादेखि लिएर सुदूरपश्चिमको जिल्ला कञ्चनपुरसम्म फैलिएको देखिन्छ ।
            यो सङ्‍क्रमण प्रायः विदेशबाट फर्केका विशेषगरी भारतबाट फर्केका मानिसहरूमा देखिएकोले समुदाय सङ्‍क्रमण त्यति छैन भनी राहतको सास फेर्ने अलि ठाउँ छ । तर, बागलुङ्गको सङ्‍क्रमणको घटनाले सबैलाई झस्काएको छ । आशा गरौँ, समुदायस्तरको सङ्‍क्रमण त्यतिमा नै सीमित रहोस् ।
            चरणबद्धरूपमा थप गरिएको लकडाउन २०७६ चैत ११ गते सुरु भएर २०७७ वैशाख २५ गतेसम्म रहने घोषणा भएको छ । यो घोषणासँगै आम जनमानसमा अब लकडाउन थप नहोला र हामी हाम्रो देश कोरोना सङ्‍क्रमण मुक्त भएको देश घोषणा गरी आ–आफ्नो काममा बन्द व्यवसायमा निर्धक्‍कसँग लाग्न सक्छौँ भन्‍ने झिनो आशा बाँकी नै छ ।
            यति हुँदा हुँदै पनि राहत वितरणमा बेथिति, जनमानसमा कोरोना सङ्‍क्रमणबारे व्यापक चेतनास्तरको कमी अनि नियमनकारी निकायमा देखिएको कमजोरीले लकडाउन अवधि बढ्दै जाने र कोरोना सङ्‍क्रमण पनि जारी रहने लक्षण देखापर्दै छ । लकडाउन अवधि बढ्दै जाँदा रोजीरोटीको लागि गएको ठाउँमा बस्न नसकी आजित भएर रुख्खा–सुख्खा नै सही तर आफ्नै गाउँ ठाउँमा मानिसहरू एक छाक भए पनि जे उपलब्ध छ बरु त्यही पेटभरि खाने आशामा ज्यानको बाजी थापेर सयौँ किलोमिटर हिँडेका छन् र हिँडिरहेका छन् । दुई चार पैसा जोहो गरेको पाँच दिन खान पुग्ला, दश दिन खान पुग्ला तर महिनौँ त्यसले भ्याउने कुरा भएन । अर्कोतिर आफ्नो बन्द व्यवसाय वा जागिरको शिलशिलामा उपत्यका छोडेका अनि ठूला सहर छोडेका मानिसहरू पनि लकडाउन खुल्छ र आफ्नो बन्द व्यवसाय वा जागिरको काम सुरु हुने छाँटकाँट नदेखिएपछि अब आफ्नै घर परिवारसँग बसी समय बिताउनुपर्छ भन्‍ने मानिसकता बोकेर नेपालका विभिन्‍न ठाउँबाट आफ्नो घर फर्किरहेका छन् ।
            अब हामीले मान्नैपर्ने हुन्छ, लकडाउन भनिए पनि मानिसहरूको आवतजावत नेपालभरि नै छ । कोही झापाबाट काठमाडौँ त कोही काठमाडौँबाट दाङ्ग, दैलेख, कैलाली, कञ्चनपुरसम्म आवतजावत भइरहेको छ । यी त उदाहरणमात्र हुन् । अझ भयावह अवस्था त बेला बेलामा सञ्‍चारमाध्यमहरूमा देखिने अनि सुनिने भारतबाट यति मानिसहरू लुकिछिपी नेपाल प्रवेश गरे भन्‍ने हो । नेपालमा रहेका त करिब एक महिना सबै स्वएकान्तबासमा बसे सरहका छन् । तर, सीमावर्ती भारतमा कोरोनाको सङ्‍क्रमण उच्च रहेको छ । नेपाल प्रवेश गर्ने मानिसहरू त्यही क्षेत्र भएर आउने भएकाले उनीहरूबाट सङ्‍क्रमण सर्ने सम्भावना उच्च रहन्छ । यसमा सम्बन्धित निकायले ध्यान पुर्‍याएकै छ होला ?
            हामीमाझ समस्या छ । तर, समाधान पनि अवश्य हुन्छ । त्यस हिसाबले सुरक्षित आवतजावतको लागि सीमा पार गर्न चाहनेहरूको लागि सीमावर्ती क्षेत्रमा क्‍वारेन्टिनको व्यवस्था गर्नु अति आवश्यक देखिएको छ र तिनीहरूको च्म्त् किटमार्फत परीक्षण अगाडि बढाउनुपर्छ । साथै च्म्त् मार्फत परीक्षण गरी ल्भनबतष्खभ देखिएका नेपालभित्र महिनौँ बसेका मानिसहरूलाई आन्तरिक यातायातमार्फत आफ्नो गन्तव्यमा सुरक्षित जान दिनुपर्ने देखिएको छ ।
            ठूलावडा अनि हुनेखानेहरूमात्र सुरक्षित बसेर हामीलाई अन्यायमा पारियो र हामी भोक प्यासले छटपटाउनुपर्‍यो भन्‍ने सन्देश जनतामाझ किमार्थ जान दिनुहुँदैन । यस्तो सन्देश भविष्यमा प्रत्युत्पादक हुने र विद्रोहको बीउ बन्‍ने कुरामा सबैले बेलैमा होश पुर्‍याऔँ ।
        

Leave a Reply

Your email address will not be published. Required fields are marked *