भर्खरै :

फेरि पनि खुला सिमानाको पीडा

            अन्ततः भारतसँगको खुला सिमाना देशको लागि अभिशाप बन्दै छ । कोभिड–१९ को नियन्त्रणमा यतिबेला चिकित्सकीय सामग्रीको अभावभन्दा ठूलो चुनौती भारतसँगको खुला सिमाना बनेको छ । दुवै सरकारले सिमाना बन्दको घोषणा गरेको छ । तर, मानिसको आवतजावत रोक्न नसक्दा आज भारतसँग जोडिएका सहर र जिल्लाहरूमा कोभिड–१९ का सङ्‍क्रमितहरूको सङ्ख्या बढेको छ । आइतबार एकै दिन बाँके जिल्लामा दस जना थप कोभिड सङ्‍क्रमित फेला परेको छ । यसअघि भारतसँगै सिमाना जोडिएका रुपन्देही, पर्सा र रौतहट जिल्लामा सङ्‍क्रमितको सङ्ख्या बढेको थियो । उदयपुरमा फेला परेका सङ्‍क्रमितहरूमध्ये केही भारतबाट नेपालमा आएका थिए । भारततिरबाट सुरक्षाकर्मीलाई छलेर लुकीलुकी नेपाल भित्रिने क्रम अझै रोकिएको छैन । अझ कतिपय भारतीय नागरिकसमेत नेपालमा लुकेर बसेको समाचार प्रकाशित भएका छन् । यसले तराईका गाउँहरू कोभिड–१९ सङ्‍क्रमणको केन्द्र बन्ने सम्भावना बढ्दो छ ।
            नेपाल–भारत सिमाना बन्द गर्नुपर्ने निकै अघिदेखिको आवाजलाई नेपालका शासक राजनीतिक दलहरूले गम्भीरतापूर्वक नलिंदा आज नेपाली जनता विपद्को शिकार बन्ने जोखिम बढेको छ । खुला सिमानाको कारण भारतका अपराधी नेपालमा र नेपालीका अपराधी भारतमा लुक्‍ने, मानव बेचबिखन र तस्करी, लुटपाट, सीमा अतिक्रमणजस्ता समस्या छँदै छन्, अहिले अर्को थप जोखिमपूर्ण समस्या थपिएको छ ।
            नेपाल सरकारले थप सुरक्षाकर्मी परिचालन गरेर पनि भारततिरबाट यता मानिसको आवतजावत रोक्न सकेन । औपचारिक नाकाबाहेक खेतबारी, चौर, जङ्गलबाट सहजै नेपालतिर आउन सकिने भएकोले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि पूर्णतः मानिसको आवतजावत रोक्न सकेनन् । सीमा बन्दको निर्णय भएयता नेपाल पस्ने मानिसहरू नै आज सङ्‍क्रमणको प्रमुख कारण बनेका छन् । भारतका कतिपय सीमावर्ती गाउँमा सङ्‍क्रमितको सङ्ख्या बढेसँगै तराईमा भाइरसको सङ्‍क्रमण बढ्ने देखिन्छ । नेपाल सरकारले सुरुदेखि नै गरेको कमजोरीको परिणाम आज सिङ्गो देशले भोग्नुपर्ने अवस्था छ । सरकारले सङ्‍क्रमणको जोखिम बढेसँगै सुरुबाटै सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणमा कमजोरी गर्‍यो । पुग्दो सङ्ख्यामा जनशक्ति र स्वास्थ्य उपकरणको अभावका कारण सीमा नाकामा उचित ढङ्गले सबैको स्वास्थ्य परीक्षण गरिएन । भारततिरबाट आएका नेपालीहरूलाई नेपाल प्रवेशपछि कम्तीमा चौध दिन क्‍वारेन्टिनमा राख्ने बन्दोबस्त गरिएन । सरकार नेपालीलाई क्‍वारेन्टिनमा राख्न खोज्दा भोगेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यो । नेपाली नागरिकलाई समयमै देश फर्काएर उचित स्वास्थ्य परीक्षण र क्‍वारेन्टिनको बन्दोबस्त गरेको भए लुकीलुकी आएर लुकीलुकी बस्नुपर्ने अवस्था बन्दैनथ्यो । सीमा बन्दको नाममा आफ्नो नागरिकलाई  आफ्नो देश फर्किन नदिंदाको परिणाम भयावह हुने देखिएको छ ।
            सरकारको निर्णय कार्यान्वयनमा अस्थिरता र गरेको निर्णयको कडाइपूर्वक पालना नगर्दा लकडाउन अराजकता र जनअसन्तोषमा परिणत हुने सम्भावना बढ्दो छ । काठमाडौँ उपत्यकाभित्र आज पनि सयौँ मानिस विभिन्न बाटो भएर प्रवेश गरिरहेका छन् । आवतजावत बन्द गर्ने सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन भएन । लकडाउनको नाममा चौडा सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, भित्री बस्तीमा मानिसहरूले सरकारी सूचनाको पालना गरेका छैनन् । सरकारको यस्तो कमजोर क्षमताका कारण देशमा अझै पनि भाइरस सङ्‍क्रमणको जोखिम बढ्दो छ । नागरिकले आफ्नै तहमा सचेतता नअपनाउने हो भने कोभिड–१९ ले नेपालमा नमेटिने घाउ छोडेर जानेमा सजग बन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *