प्रिय अन्ना,

            लियो टोल्सटायले तिम्रो नाममा लेखेको उपन्यासको नाम स्कूले दिनमै सुनेको थिएँ । त्यत्तिबेला हामीले खोलेको एउटा सानो पुस्तकालयमा राखिएका केही सय पुस्तकमध्ये सबभन्दा बाक्लो पुस्तक थियो– ‘वार एन्ड पिस’ अर्थात् ‘युद्ध र शान्ति’ । हाम्रो उमेर र बौद्धिक उचाइभन्दा निकै अग्लो त्यो पुस्तक त्यत्तिबेला कसरी हाम्रो पुस्तकालयमा आइपुग्यो, मलाई याद भएन । तर, एक हजारभन्दा बढी पृष्ठको त्यो पुस्तक भने पुस्तकालयको सबभन्दा ‘सेलिब्रिटी पुस्तक’ थियो । हाम्रै उमेरका स्कूले विद्यार्थीहरू जति पनि त्यहाँ आउँथे, त्यसको मोटाइ देखेर छक्क पर्थे । टोल्सटायको परिचायक त्यो उपन्यासको गाता हामीले धेरै पटक सुमसुम्यायौँ । तर, त्यत्तिबेला हामीमध्ये कसैले त्यो उपन्यास भने पढेनौँ । त्यसको बाक्लोपना र हाम्रो भाषिक अल्पज्ञानको कारण त्यो उपन्यासको हाम्रो पठन पहिलो पानाको पहिलो अनुच्छेदसम्म मात्र तन्किन्थ्यो । ‘भविष्यमा कुनै दिन पढुँला’ भन्ने सङ्कल्पसम्म मात्र रह्यो त्यो पुस्तकसँगको हाम्रो नाता । तथापि हामीभन्दा मोटोघाटो त्यो पुस्तकले हामीलाई संसारकै विख्यात साहित्यकार एवम् चिन्तक लियो टोल्सटाय चिनायो ।

            टोल्सटायका अरु स–साना कथाहरू हामीले बाल पत्रिका र कति त हाम्रा पाठ्यपुस्तकमै पनि पढ्यौँ । त्यसरी पढिएका कथामध्ये कति त हामीले टोल्सटायका कथा भनेर थाहा नपाएरै पढ्यौँ, टोल्सटायका कथा भनी थाहा पाएपछि ती कथा दोहोर्‍यायौँ । ती कथाका पात्रहरूसँग जीवनका पाइला–पाइलामा बेला बेला जम्काभेट भइरहेको हुन्छ ।

            टोल्सटायले लेखेको तिम्रो नामको उपन्यास ‘अन्ना करेनिना’ मैले बुटवलको एउटा पुस्तक पसलभित्रको अँध्यारो कुनामा उभिएको कुचुक्क परेको आलमारीबाट झिकेर किनेको याद छ । भारतबाट सोभियतकालीन साहित्य ल्याएर बेच्ने त्यो पुस्तक पसलमा अन्ना करेनिनाका दुवै भोल्युम थिए । तत्कालै पढ्ने सोच थिएन । जीवनको कुनै कालखण्डमा छिचोल्ने विश्वासका साथ झोलामा राखेको थिएँ– दुवै भोल्युम । लामो समयदेखि ननिकालेको हुनाले पुस्तकको बाहिरी गाताका रङको तेज कति पनि कम भएको थिएन । तर, पानाहरूमा भने केही चोटपटक लागेको थियो । 

            पुस्तकको बाक्लोपनाको कारण फेरि पनि ‘अन्ना करेनिना’ लाई घरको आलमारीमा सजाउने काममात्र भयो । पुस्तकको बाक्लोपनाले धैर्यतालाई चुनौती दिइरहन्थ्यो । अनि मन मनै भनिन्थ्यो–भविष्यमा कुनै दिन कसो नपढिएला !

            यो पटक भने मैले तिमीलाई भेट्ने निधो गरेँ, अन्ना । धैर्यले फेरि पनि चुनौती दिन खोजिरहेको थियो । तर, तिमीलाई भेट्ने, परिचय गर्ने र तिम्रा कथा थाहा पाउने निकै पुरानो धोको यो पटक पूरा गरेरै छोडेँ ।

अन्ना,

            मलाई सुरुमा तानेको त तिम्रो त्यो मीठो नामले नै हो । कति सुहाउँदिलो छ यो नाम । कति मायालु, कति सुन्दर ! अन्ना !

            भाइ अब्लन्स्की र बुहारी डोलीबीच जोइपोइको झगडा मिलाउन तिमी मस्कोमा आउँदा पहिलो पटक भ्रोन्स्कीले तिमीलाई रेलवे स्टेसनमा देख्दा जसरी उनी तिम्रो सौन्दर्यबाट भुतुक्क भएका थिए, टोल्सटायले उपन्यासमा गरेको तिम्रो सुन्दरताको वर्णन पढेर मलाई पनि लाग्यो–रेलवे स्टेसनमा म पनि हुँदो हुँ त भ्रोन्स्कीजस्तै म पनि तिमीलाई देखेर भुतुक्कै हुन्थेँ । हेर न, तिम्रो सौन्दर्यले किसानहरूको सरलतामा सुन्दरता देख्ने र जीवनका हरेक पक्षलाई दार्शनिक कोणमा अवलोकन गर्न रुचाउने लेभिनसमेत भुतुक्क भएँ !

            मानिसको जीवन धेरै थरी संयोगहरूको संयोजनबाट बनेको हुन्छ रे । अन्ना, तिमी मस्को किन आएकी थियौ ? भाइबुहारीको झगडा मिलाउन । अनि तिमी के गरेर सेन्ट पिटर्सवर्ग फर्केर गयौ ? किटी र भ्रोन्स्कीको जम्न लागेको माया छताछुल्ल बनाएर । तिम्रो सुन्दरताले भ्रोन्स्कीलाई मस्कोमा बसीखान दिएन । उसलाई पनि तिमीले तानेर लग्यौ–सेन्ट पिटर्सवर्गमा । मिलनको निम्ति आएकी तिमी बिछोडको कारण बनेर फर्कियौ । भ्रोन्स्कीको प्रेम बोकेर तिमी घर फर्कियौ । कति सुन्दर हुन्थ्यो कथाक्रम यदि तिमी अविवाहित भएको भए । तर, द्वन्द्व नभएको उपन्यास र जीवनको पनि के अर्थ ! द्वन्द्व छ र त जीवन छ । जीवन छ र त उपन्यासहरू लेखिन्छन् ।

            सेन्ट पिटर्सवर्गमा तिम्रा श्रीमान् र एक छोरा छन् । आफूभन्दा निकै उमेरदार तिम्रो श्रीमान्प्रति तिमी किन आकर्षित छैनौ ? यो प्रश्न म तिमीलाई सोध्दिनँ । न त टोल्सटायले नै यसबारे उपन्यासमा लेखेका छन् । तर, तिम्रो अवस्थाले एउटा गम्भीर प्रश्न जोकोहीको मनमा पनि उठ्दो हो–के प्रेम र विवाह एउटै हुन् वा तिनमा अन्तर छ ? विवाह नै प्रेम हो कि होइन ? के सबै विवाह प्रेमकै विस्तारित अभिव्यक्ति हुन् ? प्रेमविहीन विवाह हुनसक्छ वा सक्दैन ? यस्ता प्रश्नबारे आजसम्म धेरै बहस भइसके र आगामी दिनमा पनि यस्ता बहस चालू रहनेछन् । तर, जुन समयमा टोल्सटायले यो उपन्यास लेखे, त्यत्तिबेलाको सामाजिक परिस्थितिमा तिमी र्‍हासोन्मुख सामन्तवादको जीर्ण बन्दै गरेको सामाजिक सम्बन्धका प्रतिनिधि पात्र बनेकी छ्यौ ।

            अन्ना, खासमा तिम्रो पतिलाई तिमीले किन घृणा गर्‍यौ ? के भौतिक सुखले मात्र तृप्त हुन नसकेका ठूला ठूला दरबारभित्र बस्ने कुण्ठित महिलाहरूको तिमी प्रतिनिधि हौ ? तिमीलाई करेनिनको दरबारमा के कमी थियो र ? तिम्रो छोरालाई तिमी अगाढ माया गर्थ्यौं । तथापि तिमीलाई तिमीभन्दा उमेरले कान्छो भ्रोन्स्कीको के कुराले प्रेममा पार्‍यो ? नेपाली समाजको आजको धरातलमा उभिएर हेर्दा अन्ना, तिम्रो मनस्थिति मलाई बुझ्न निकै कठिन छ । तर, तिमी बाँचेकै रुसी समाजमा तिमीलाई जसरी ‘पतीत आईमाई’ भनियो, समाजको यो निरुपणले तिम्रो सौन्दर्य पनि जसरी फिक्का फिक्का बनाइदियो, आजको नेपाली समाजमा तिमी बाँचेको भए तिमीलाई गरिने मूल्याङ्कन योभन्दा धेरै भिन्न हुनेछैन ।

            अन्ना, उपन्यासभरि मैले तिमीलाई बुझ्ने धेरै प्रयास गरेँ । तिमी जति सुन्दर छ्यौ, जति तिम्रो नाम मलाई सुन्दर लाग्छ, त्यत्ति तिम्रा राम्रा कुरा, तिमी सफल भएको, तिमी खुसी भएको, तिमी रमाएको, तिम्रो सुन्दरता र मायाको प्रताप फैलिएको सुन्न म आतुर भइरहेँ । भ्रोन्स्कीको गाउँमा तिम्रो खुसी देखेर मलाई निकै खुसी लागेको थियो । सेन्ट पिटर्सवर्गमा तिम्रो श्रीमान्ले भोगेको पीडादायी समय र छोरोको अवस्थाप्रतिको सद्‍भावलाई समेत तिम्रो त्यत्तिबेलाको खुसीले जितेको थियो । म चाहन्थेँ–टोल्सटायले उपन्यास त्यही टुङ्ग्याओस् । तिमीले गाउँको अस्पताल बनाउँदै गर्दा उपन्यास सके तिम्रो खुसी हेरेर म तिमीलाई बिदा गर्नसक्थेँ । फ्रान्सबाट फर्केर तिमी भ्रोन्स्कीको गाउँमा तिमीहरू लेभिन र किटीजस्तै बसेका भए कति सुन्दर हुन्थ्यो अन्ना तिम्रो जीवन । तिमी किटीले जस्तै लेभिनकै गाउँमा खुसी उमार्ने जीवनतिर किन गएनौ ? त्यसो हुँदो हो त भ्रोन्स्कीसँगको खुसीका क्षणमा तिमीलाई छोडेर म नेपाल फर्किने थिएँ । तर, अहँ ! टोल्सटायको तराजुमा तिमीलाई त्यत्तिमै न्याय गरिएन । तिमी भ्रोन्स्कीप्रतिको प्रेमलाई विवाहमा परिणत गर्न चाहन्थ्यौ । तिमीले तिम्रो प्रेमलाई पूर्णता दिन चाह्यौ । करेनिनसँग पारपाचुके गर्न भ्रोन्स्कीसँग तिमी मस्को पुग्यौ । भाइ अब्लोन्स्कीलाई लगाएर पारपाचुकेको लागि करेनिनसँग कुरा गर्न पठायौ । करेनिन किन मान्थे र ! उनलाई पनि त तिमीले दिएको धोखाको बदला लिनु थियो । करेनिनसँग पारपाचुके भइनसकेको र भ्रोन्स्कीसँग विवाह नभएको अवस्थामा तिमीलाई समाजले हेर्ने नकारात्मक कोण (पतीत आईमाई) ले तिमीलाई अत्यायो । त्यो क्षणको तिम्रो मानसिक अवस्था कस्तो होला, म सायदै अनुभव गर्न सकुँला ! तर, तत्क्षण तिमी मानसिकरूपमा कमजोर थियौ, त्यसमा मलाई कुनै सन्देह छैन । त्यही बेला तिमीलाई मस्कोको हावाले भ्रोन्स्कीको माया पनि फितलो बन्दै गएको अनुभव भयो । भ्रोन्स्कीमाथि तिमीलाई छोड्न आमाको दबाब थियो । त्यसले तिमीलाई अझ पिरोल्यो । भ्रोन्स्कीको माया कम भएको अथवा भ्रोन्स्कीले तिमीलाई भन्दा अन्यत्र बढी ध्यान दिएको तिम्रो बुझाइ कति सही थियो ? (मलाई लाग्छ–तिम्रो त्यो मनोगत बुझाइमात्र हो । भ्रोन्स्की आफै पनि तिमीहरूको सम्बन्धको स्थायित्वबारे अलगै तनावमा थियो । कृपया, मेरो यो बुझाइलाई पुरुषवादी सोचको आरोप नलगाइदेऊ ।) तिमीले आफूमाथि भ्रोन्स्कीको आकर्षण कम भएको निष्कर्ष निकालेर रेलवे स्टेसनमा आत्महत्याको बाटो रोज्यौ । अन्ना, त्यो तिम्रो सबभन्दा ठूलो गल्ती थियो । भ्रोन्स्कीको प्रेममा कुनै कमी हुँदो हो त तिम्रो आत्महत्यापछि उसले किन लामो मानसिक तनाव सामना गर्नुपर्थ्यो ? किन घोडचढी फौजसँगै उनी सर्विया युद्धमा भाग लिन जाने थिए ? अन्ना, तिम्रो निष्कर्ष सत्य थिएन । भ्रोन्स्कीको प्रेम झूट थिएन । तिमीले बुझेकै सत्य हुँदो हो तिमीलाई त्यत्ति अगाढ माया गर्ने उनी किन तिम्रो पाइला पाइलाको निहुँ खोज्ने सम्झौतामा पुग्ने हतारो गथ्र्यो र ? अन्ना ! तिमीलाई तिम्रो शिथिल मन, अन्योलपूर्ण विवेक र असह्य सामाजिक बद्ख्वाइँले गलत निष्कर्षमा पुर्‍यायो ।

            अन्ना, मलाई माफ गर । उपन्यासको अन्त्यमा पुग्दा मेरोलाई तिम्रो नामको तेज क्रमशः मधुरो बन्दै गएको आभास भयो । तिम्रो सुन्दरता क्रमशः ओइलाएको जस्तो अनुभव भयो । डोली र अब्लोन्स्कीको झगडा मिलाउन तिमी मस्को आउँदा तिमी मलाई निकै आँटिली लागेको थियो । कुनै वीर कथाकी नायिकाजस्ती । आफ्नो प्रेमको लागि तिमीले स्थापित मान्यतालाई चुनौती दिँदै लिएका निर्णय देख्दा पनि म चकित परेको थिएँ । तर, जीवन सङ्घर्षमा तिमीले लिएको अन्तिम निर्णय सही थिएन । त्यही कारण तिमी टोल्सटायका कमजोर पात्रमध्येमा गनिएकी छ्यौ ।

            बरु मलाई किटी निकै मनपर्‍यो । हुन त तिमीले प्रेम गरेको भ्रोन्स्कीबाट किटीले पाएको धोखाको कारण उनले कम्ता पीडा भोगिनन् । तर, भ्रोन्स्कीप्रतिको मायाको कारण किटीले निकारेका लेभिनसँग पछि उनले गरेको विवाह यता किटीको परिपक्वता र व्यवहारकुशलता निकै मनपर्‍यो । लेभिनको जीवनका नसुल्झिएका प्रश्नको खोजीलाई किटीले कतिसम्म सहने हुन्, टोल्सटायले उपन्यासमा भन्न भ्याएनन् । तर, मलाई लाग्छ–किटीको सहृदयताले लेभिनलाई कहिल्यै पनि छोड्ने छैन । लेभिनको आफ्नो माटोमा आफैँले परिश्रम गरेर सुख फलाउने सोच तत्कालीन समाजको प्रगतिशीलताको भ्रुण हो । लेभिनभित्रको यही प्रगतिशील विचार नै समयान्तरमा रुसी क्रान्तिको बीज बन्यो । त्यस अर्थमा अन्ना, तिमी रुसी समाजको अस्ताउँदो पक्ष हौ भने लेभिन उदाउँदो प्रकाश हो । अब्लोन्स्की भ्रष्ट रुसी प्रशासनतन्त्रको प्रतिनिधि हो भने डोली यथास्थितिको पर्याय । भ्रोन्स्की अस्ताउँदो रुसी सामन्तवादका शिथिल घोडा हुन् ।

परालको कुन्यूमा बसेर रातरातभर लेभिनले सोचेको समाज, किसानहरूसँगको मैत्री व्यवहार, सहृदयी मन र आफैले मिहिनेत गर्ने स्वभावले सामन्ती चिन्तनको उन्मूलनतिर सङ्केत गरेको अनुभव हुन्छ । लेभिन टोल्सटायको मानवतावादी दर्शनका प्रतिनिधि पात्र बनेका छन् ।

            अन्ना, मलाई लाग्छ–मान्छे त्यत्ति पनि रूपले सुन्दर बन्नुहुन्न, जस कारण उसको सुन्दरता नै उसको असफलताको कारण बनोस् । जीवनको लागि भारी बनोस् । किटी तिमी जति सुन्दर छैनन् । उनलाई आफू तिमी जति सुन्दर नभएको र त्यहीँ कारण भ्रोन्स्कीसँगको अङ्‍कुराउँदै गरेको प्रेम कोपिलामा नै मारिएकोमा खेद हुनसक्छ । तर, परिवेशसँग आफूलाई सहज बनाउने उनको स्वभावले लेभिन जस्तो रुखो बनिसकेको मनमा पनि प्रेम र जीवन्तताको प्रवा गरिदियो ।

            अन्ना, तिम्रो सौन्दर्य नै तिम्रो दुःखको कारण बन्यो । तथापि तिम्रो सुन्दरता भने संसारले सधैँ सम्झिरहनेछ जसरी म सम्झिरहनेछु ।

नीरज image
नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *