भर्खरै :

यसरी गरिएको थियो कोरोना सङ्‍क्रमित मृतकको सद्‍गत

            काठमाडौँ, ५ जेठ । शनिबार कोरोना भाइरसको कारण निधन भएका सिन्धुपाल्चोककी महिलाको लास जलाउने प्रक्रियामा फ्रन्टलाइनमा काम गर्नुभएका भक्तपुरका राजेश गाईजूले त्यो दिनको घटनाक्रम तथा महामारीले कालान्तरमा उग्र रूप लिँदै गए सम्भावित जोखिम र समाधानबारे मजदुर दैनिकसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँगको संवादको सार सङ्क्षेपः

            कोरोना सङ्‍क्रमित महिलाको लास दहनपछि हामी भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा छौँ । वीरदल गणका कर सा’ब शिवप्रसाद पौडेलले व्यारेकभन्दा २००–३०० पर जङ्गलमा क्‍वारेन्टिनको लागि निकै व्यवस्थित टेन्टको व्यवस्था गर्नुभएको छ । यहाँ व्यवस्थित शौचालय, नुहाइधुवाइको लागि धारा, बाल्टिन आदिको व्यवस्था गरिएको छ । बिहान ब्रेकफास्ट, दिउँसो र रातिको खानाको सबै व्यवस्था सेना स्वयम्ले गरेको छ । व्यारेकबाटै खानाको बन्दोबस्त गरिएको छ । त्यसबाहेक हामी कहाँ के भइरहेको छ, बुझ्न नियमित समाचार हेरिरहेका छौँ । लकडाउन सुरु भएलगत्तै भक्तपुर अस्पतालमा हामीले थालेको शिविरका गतिविधिबारे हामी अद्यावधिक भइरहेका छौँ । अस्पतालमा न्हुज किजू र पुनम कर्माचार्यले हाम्रो अनुपस्थितिमा पनि कामलाई निरन्तरता दिइरहनुभएको छ । साथै केही अध्ययन गरेर पनि समय व्यतीत गरिरहेका छौँ ।

लासघरअघि हामीले लगेको गाडी लास लान सहज हुने गरी राख्यौँ । सङ्‍क्रमित महिलाको लास बडीव्यागमा पोको पारिसकेको थियो । तर, लास राखिएको बडीव्याग र स्टेचरमा पनि रगत देखियो । लासको पोस्टमार्टम गरिएको जस्तो देखिन्थ्यो । त्यसकारण त्यसबाट रगत बहेको हुनसक्छ । त्यस्तै अवस्थामा लास गाडीमा राख्दा सङ्‍क्रमणको जोखिम हुनसक्ने भएकोले हामीले वीरगण दलबाटै लगेको अतिरिक्त बडी व्याग र प्यास्टिक कभरले लासलाई थप पोको पार्‍यौँ । अतिरिक्त बडी व्यागमा राखेर त्यसलाई प्लास्टिक कभरले र्‍याप गर्‍यौँ । त्यसरी पोको पार्ने प्रक्रियालाई चकलेट र्‍यापिङ भनिन्छ । यो सबै गर्दा हामी दुई जनाबाहेक धुलिखेलका दुई जना स्टाफ पनि हुनुहुन्थ्यो । चारै जना मिलेर हामीले लास गाडीमा राख्यौँ ।

            केही सञ्चारमाध्यमले हाम्रो कामबारे चासो राख्नुभएको छ । पत्रकार मित्रहरूलाई हामीले गरेका कामबारे जानकारी दिइरहेका छौँ । विशेषतः मिडियासँग अरुण (सैंजू) सरले नै बोलिरहनुभएको छ ।

            भक्तपुर अस्पतालमा हामीले लकडाउन सुरु भएदेखि गर्दै आएको कामबारे धेरैलाई जानकारी भइसकेको छ । भक्तपुर अस्पतालको आइसोलेसनको निम्ति आवश्यक प्लास्टिका सामग्री नेपाल सेनाको वीरदल गणले बन्दोबस्त गर्दै आएको छ । अस्पतालमा आवश्यक प्लास्टिकका सामान लिन जाने क्रममा वीरदल गणका कर सा’ब शिवप्रसाद पौडेल र महानगरी प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानसँग धुलिखेलको खबरबारे हाम्रो छलफल भयो । धुलिखेलमा कुनै पनि एम्बुलेन्सले शव बोक्न नमानेपछि केही गर्न सकिन्छ कि भनी उहाँहरूलाई खबर भएको रहेछ । उहाँहरूले हामीलाई धुलिखेल अस्पतालमा रहेको कोरोना सङ्‍क्रमित महिलाको लास उठाउन आग्रह गरेपछि हामी तयार भयौँ ।

            कर सा’ब र एसपी साब जगातीतिर लाग्नुभयो । हामी प्रोटोकलअनुसार व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई सुट) लगाउन भक्तपुर अस्पताल गयौँ । पीपीई सुट लगाएर हामी पनि जगाती पुग्यौँ । जगातीमा हामी चढेको गाडीलाई निसङ्‍क्रमित (डिसइन्फेक्सन) गरेपछि सेना र प्रहरीको स्कर्टिङमा हामी धुलिखेलतिर लाग्यौँ । हामी पूरै पीपीई सुटमा भएकोले हामीसँग घडी वा समय देखाउने कुनै सामग्री थिएन ।

त्यसकारण हामीले कुन समयमा हामी कहाँ पुग्यौँ भन्ने हेक्कै भएन । एउटा घडीको व्यवस्था पनि गर्नुपर्ने हामीले पछि महसुस गर्‍यौँ ।

            धुलिखेल अस्पतालमा त्यहाँका कर्मचारी, सुरक्षा निकायका अधिकारीहरू हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो । धुलिखेल अस्पतालको एम्बुलेन्सले स्कर्टिङ गरेर हामीलाई लासघरसम्म पुर्‍यायो । लासघरअघि हामीले लगेको गाडी लास लान सहज हुने गरी राख्यौँ । सङ्‍क्रमित महिलाको लास बडीव्यागमा पोको पारिसकेको थियो । तर, लास राखिएको बडीव्याग र स्टेचरमा पनि रगत देखियो । लासको पोस्टमार्टम गरिएको जस्तो देखिन्थ्यो । त्यसकारण त्यसबाट रगत बहेको हुनसक्छ । त्यस्तै अवस्थामा लास गाडीमा राख्दा सङ्‍क्रमणको जोखिम हुनसक्ने भएकोले हामीले वीरगण दलबाटै लगेको अतिरिक्त बडी व्याग र प्यास्टिक कभरले लासलाई थप पोको पार्‍यौँ । अतिरिक्त बडी व्यागमा राखेर त्यसलाई प्लास्टिक कभरले र्‍याप गर्‍यौँ । त्यसरी पोको पार्ने प्रक्रियालाई चकलेट र्‍यापिङ भनिन्छ । यो सबै गर्दा हामी दुई जनाबाहेक धुलिखेलका दुई जना स्टाफ पनि हुनुहुन्थ्यो । चारै जना मिलेर हामीले लास गाडीमा राख्यौँ ।

            गाडीभित्र हामीले डण्डीको फ्रेम बनाएका थियौँ, त्यसलाई प्लास्टिकले मोडेका थियौँ । फ्रेमको तल प्लाई बिछ्याएका थियौँ । प्लाईमाथि दुई तहको प्लास्टिक राखेका थियौँ । निकाल्न सहज होस् भनेर त्यस्तो व्यवस्था गरिएको थियो । सङ्‍क्रमण हुनसक्ने त्यस्ता सबै सामान हामी नष्ट गछौंँ । यसरी गाडीमा लासको उचित व्यवस्थापनपछि हामी कर साब, एसपी साबका गाडी र धुलिखेल अस्पतालको एम्बुलेन्स अघिअघि र पछाडि सुरक्षा निकायका गाडीहरूको बीचमा हामी थियौँ ।

            पशुपतिको विद्युतीय शवदाह स्थलमा पुग्यौँ । त्यहाँ लास निकाल्यौँ । लाससँगै गाडीभित्रका सबै प्लास्टिकभित्र लग्यौँ । लाससँगै ती सबै वस्तु लास जलाउने मेसिनभित्र जलायौँ । त्यहाँका सबै काम हामी दुईसहित धुलिखेलका दुई जना पनि हुनुहुन्थ्यो । एक जना अस्पतालको स्टाफ हुनुहुन्छ । एक जना मृतकको आफन्त हुनुपर्छ । सबै जना पीपीई सुटमा भएकोले एकले अर्कोलाई चिनेनौँ र खास कुराकानी पनि भएन । हामी चारै जना मिलेर सबै काम गर्‍यौँ । पशुपतिमै लास राखेको गाडीभित्रको ठाउँमा हाइड्रोक्लोराइट भन्ने रसायनले निसङ्‍क्रमण गरेका थियौँ ।

            त्यहाँबाट फर्केर निसङ्‍क्रमण गर्न व्यवस्था गरिएको जेनेरेटरसहितको डिइन्फेक्टरले हामीलाई पूरै निसङ्क्रामक झोल हाम्रो शरीरभरि छरियो । प्रोटोकलअनुसार हामीले व्यवस्थितरूपमा पीपीई सुट फुकाल्यौँ । विदेशतिर पीपीई सुट राम्ररी नफुकाल्दा स्वास्थ्यकर्मी र स्वयम्सेवकलाई समेत सङ्‍क्रमण भएको थियो । त्यसकारण हामीलाई दिइएको तालिमअनुसार नै पीपीई सुट फुकाल्यौँ । नियमअनुसार नै हामीले लगाएको चस्मा (गगल), पीपीई सुट, बुट सबै पेट्रोल छर्केर नष्ट गरियो । हामीले प्रयोग गरेको गाडीलाई पनि निसङ्‍क्रमण गरियो । हामीसँगै गएका सबैलाई पनि स्यानिटाइज्ड गरेपछि हामी क्‍वारेन्टिनमा बस्यौँ ।

            त्यसयता हामीलाई आवश्यक कुरा वीरदल गणले बन्दोबस्त गरेको छ । गणका कर सा’बले पूरा सहयोग गर्नुभएको छ । सेनाका साथै प्रहरीका एसपी सविन प्रधान र सशस्त्र प्रहरीका विश्व भट्टराईले पनि हामीलाई भेटेर ‘अप्रिसिएट’ गर्नुभएको छ । अरु विभिन्न जिल्लाबाट पनि विभिन्न व्यक्तिले फोन गरेर हामीले गरेको कामबारे सोध्नुभएको छ ।

            लकडाउनअघि हामीलाई छाउनीको नेपाल सेनाको महावीर गणका कर सा’ब राजीवविक्रम शाहीले बोलाउनुभएको थियो । उहाँहरूकै समन्वयमा भविष्यमा महामारी फैलिएको अवस्थामा तयारी रहन भक्तपुरका तीनै वटा सुरक्षा निकाय र हामी चार जनालाई पनि तालिम दिइएको थियो । कोरोना भाइरस सङ्‍क्रमित व्यक्तिको व्यवस्थापन गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा हामीलाई सो तालिममा जानकारी दिइएको थियो । साथै सङ्‍क्रमित व्यक्ति मर्दा लासको व्यवस्थापनबारे पनि तालिम दिइएको थियो । हामी चार जनाको टोलीलाई सेनाले लासको व्यवस्थापनपछि के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने विषयमा पनि छाउनीमा अलगै पछि तालिम दिइयो ।

            भक्तपुर अस्पतालको सहयोगमा महानगरीय प्रहरी परिसरमा पीपीई सुट कसरी लगाउने विषयमा तालिम दिइएको थियो । पीपीई लगाएर स्वास्थ्यकर्मीले बिरामी जाँच त गरिन्छ । तर, पीपीई सुट फुकाल्न नजान्दा पनि धेरैलाई सङ्‍क्रमण हुनसक्छ । त्यसकारण हामीलाई सो तालिम दिइएको थियो ।

            कोरोना नियन्त्रणको नेतृत्व अहिले सेनाले नै गरिरहेको छ । हामीलाई दिइएको जानकारीअनुसार छाउनीमा मात्र चौध वटा लास व्यवस्थापन गर्ने टोली तयारी अवस्थामा छन् । अरु बटालियनमा पनि हुनसक्छ । ती चौध टोलीमध्ये एउटा टोलीले दिनभर काम गर्ने अनि क्‍वारेन्टिनमा बस्छ । भोलिदेखिको काम अर्को टोलीले गर्ने प्रबन्ध गरिएको छ ।

कोरोना भाइरसको सङ्‍क्रमणको कारण मरेका व्यक्तिको लास काठ प्रयोग गरेर जलाउन सहज छैन । एक एक वटा लास त्यसरी जलाउन पनि गार्‍हो हुन्छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको प्रोटोकलअनुसार सङ्‍क्रमित व्यक्तिको लासको १५–२० मिटर टाढा बस्न हुँदैन । काठमा जलाउँदा लास पड्किनसक्छ, एक जना नजिकै बसेर मिलाइरहनुपर्ने हुन्छ । त्यसले पनि अरुलाई सङ्‍क्रमण हुनसक्छ । त्यसकारण त्यस्ता सङ्‍क्रमित लास त्यसरी दाहसंस्कार गर्न सम्भव हुँदैन । त्यसको उपाय भनेको लास गाड्नु नै हो । त्यसको निम्ति सम्बन्धित निकायले उपयुक्त ठाउँको खोजी गरेको हुनुपर्छ । बाँकेमा निधन व्यक्तिको अन्तिम संस्कार कसरी गर्‍यो, मैले सुनेको छैन । आशा गरौँ, सुरक्षित तरिकाबाट नै अन्तिम संस्कार गरिनेछ । भोलि गएर महामारीको कारण धेरै मानिसको निधन भएको अवस्थामा ठूला खाडल खनेर पुर्नुपर्ने पनि हुनसक्छ ।

(नीरज लवजूसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *