भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिका वडा नं ५ योसिंख्यो निवासी काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने सवारी साधन चलाउने ४२ वर्षीय सफाइ मजदुरमा कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि सो क्षेत्रमा सुरक्षा निकायले अनिश्चितकालीन बन्द (सिल) गरेको छ । सिल गरिएको क्षेत्रभित्र ३५ परिवार रहेको बताइएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित सूचनामा भक्तपुर निवासी एक जना व्यक्तिमा पनि सङ्क्रमण फेला परेको बताइए पनि सङ्क्रमित व्यक्तिलाई राति झन्डै एक बजेमात्र सुरक्षा निकायले घरबाट लिएर गएको थियो । सङ्क्रमित व्यक्तिलाई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार थालिएको छ । सङ्क्रमित व्यक्तिको परिवारका सदस्य र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको बुधबार पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भक्तपुर नगरपालिकाको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीसहितको टोलीले स्वाब सङ्कलन गरेको थियो ।
नेपाल सेनाका कर्णेल शिवप्रसाद पौडेल र महानगरीय प्रहरी परिसरका उपरिक्षक सविन प्रधानलगायत बुधबार बिहान योसिंख्यो पुगेर सो क्षेत्र सिल गरिएको जानकारी दिनुभएको थियो ।
सिल गरिएको क्षेत्रबाट कसैलाई पनि भित्र पस्न वा बाहिर जान दिइएको छैन । सो क्षेत्रका सर्वसाधारणलाई घरबाहिर आउन दिइएको छैन ।
सिल गरिएको क्षेत्रमा खाद्यान्न, पानी, तरकारी, औषधि आदि अत्यावश्यक वस्तु सेना, प्रहरी र नगरपालिकाबीच समन्वय गरी व्यवस्था गरिने बताइएको छ ।
सिल गरिएको क्षेत्रमा काठमाडौँ र भक्तपुर नगरपालिकाका धेरै सङ्ख्यामा सफाइ मजदुर बस्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले सफाइ कर्मचारीहरूबीच गरेको कोरोना परीक्षणमा सो क्षेत्रका अरु मजदुरहरूको भने निगेटिभ नतिजा आएको बताइएको छ । यसअघि महानगरपालिकामा नै कार्यरत भक्तपुरको पान्डुबजार बस्ने एक जना सफाइ मजदुरको आरडीटी पोजेटिभ आएको थियो । तर, उनको पीसीआर परीक्षण भने निगेटिभ आएको छ ।
भक्तपुर नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबीच गरेको आरडीसी परीक्षणमा पोजेटिभ नतिजा आएका दुई जना कर्मचारीको पीसीआर परीक्षणमा निगेटिभ नतिजा आएको छ । उनीहरूलाई टेकूस्थित शुक्रराज ट्रपिकल अस्पतालमा राखिएको थियो । उनीहरूलाई बुधबार घर फर्काइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *