समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग गरिएको कुराकानी प्रस्तुत छ ः
भारतले चीनसँग युद्ध गर्न किन खोज्दै छ ?
– भारत संसारको सबभन्दा ठुलो बेरोजगार जनसङ्ख्या भएको देश हो । भारतका झन्डै ७० करोड जनता बेरोजगार र गरिबीको रेखामुनि छन् । भाजपाको मोदी सरकारले भारतीय किसान र मजदुरहरूको कुनै समस्या राम्रोसँग समाधान गर्न सकेको छैन ।
संरा अमेरिकाको एक सैन्य प्रयोगशालाबाट चुहिएको वा चोरिएको जीवाणुबाट फैलिएको कोरोना भाइरस भारतमा पनि फैलियो । सन् २०१९ को अक्टोबर १८–२७ तारिखसम्म चीनको उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी बनेका ‘पाँच जना विदेशी खेलाडी’को अप्रस्ट रोगको कारण संरा अमेरिकी ट्रम्प प्रशासनले ती खेलाडीहरूलाई उहानकै अस्पतालमा भर्ना गरेको थियो । सम्भवतः त्यही रोग कोरोना भाइरसको रूपमा देखाप¥यो । चीनको परराष्ट्र मन्त्रालयले संरा अमेरिकासँग ती बिरामी, बिरामीलाई उपचार गरिएको अस्पताल र बिरामीका तथ्याङ्कहरू खोजेको थियो ।
संरा अमेरिकामा पछिल्लो मौसमी फ्ल्युबाट ३ करोड ४० लाख मानिस प्रभावित भएका थिए भने कोरोना भाइरसबाट २० हजार मानिसको ज्यान गइसकेको छ । त्यसबारे एक प्रश्नको उत्तरमा संरा अमेरिकी सरूवा रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले संसदीय समितिको बैठकमा भनेका थिए, “फ्ल्युबाट मरेका भनिएका मानिसमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण भएको दाबीलाई अस्वीकार गर्न सकिन्न ।”
त्यही कोभिड–१९ बाट चीन र भारतसमेत सङ्क्रमित भए । भारत सरकारले करोडौँ मजदुर र किसानहरूलाई एक्लाएक्ली (क्वारेन्टिन) मा राख्नु त के कारखानाहरू बन्द गराइसकेपछि तिनीहरूलाई घर पु¥याउन रेलको समेत बन्दोबस्त गर्न सकेन । दिल्ली र बम्बईका विभिन्न क्षेत्रका मजदुरहरूले गाडी वा रेल पाउन भोकै कहिले यता र कहिले उता गर्दै हप्तौँ बिताए । हिँडेर घर गएका कति बाटोमै मरे । प्रहरी र मजदुरबीच ढुङ्गा–मुढा, लाठीचार्ज र अश्रुग्यास प्रयोग भयो । भारतका सहरहरूमा कोरोना नफैलिँदै मजदुुरलाई गाउँ–गाउँमा पठाउन रेलको बन्दोबस्त गरिएको भए त्यस्तो हाहाकार हुने थिएन । जनताले पाएको दुःखको विवरण भनी साध्य छैन ।
अहिले भारतको गाउँ–गाउँमा कोरोना फैलिने त्रास उत्पन्न भएको छ । भाजपा सरकारसँग जनता असन्तुष्ट छन् । महाराष्ट्र र बम्बईजस्ता सुगम ठाउँमा समेत जुलाई महिनासम्ममा ५ लाख व्यक्ति सङ्क्रमित हुने एक अनुसन्धानले देखाएको छ ।
किसानले ऋण तिर्न सकेका छैनन् । सिँचाइको निम्ति नहर छैन । समयमै रासायनिक मल र बीउ पाइन्न । किसानले आलु, प्याज र कृषि उत्पादनको उचित मूल्य पाएका छैनन् । किसान बिचौलियाको शोषणमा परेका छन् । सलहको दुःख छ । यसरी करोडौँ भारतीय किसान भोक, पिर र भविष्यको चिन्ताले मर्दै छन् । संसारभर सबभन्दा बढी किसानहरूले आत्महत्या गर्ने देश पनि भारत नै हो । यस समस्याबारे भाजपा सरकारले कुनै गतिलो निर्णय गर्न सकेको छैन ।
जनताको समस्या समाधान गर्न नसक्दा र बढ्दै गएको जनअसन्तोषलाई अर्कैतिर मोड्न मोदी सरकारले आपत्काल लागू गरी जनताका मौलिक र राजनैतिक अधिकारहरू निलम्बन गरी नेपाली भूमिमाथि अतिक्रमण गर्दै छ । चीनमाथि युद्धको तमासा गर्दै छ । जब कि भारतलाई थाहा छ– चीन सकेसम्म युद्धमा होमिन चाहँदैन । चीन शान्ति र मित्रता चाहन्छ । संरा अमेरिका चीनलाई युद्धमा फसाउन चाहन्छ । चीनको एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपेली देशहरूसँग सम्बन्धमा दुरी बढाउन (शत्रु बनाउन) संरा अमेरिका खोज्दै छ ।
सारमा, अमेरिकी ट्रम्प प्रशासन भारतलाई आफ्नो गोटी बनाउँदै छ र चीनसँग भारतको मित्रता भाँडेर भारतलाई संरा अमेरिकाको स्पष्ट र स्थायी नवउपनिवेश बनाउन चाहन्छ । तर, संसार परिवर्तनशील भएकोले संरा अमेरिका र भारतको सम्बन्ध पनि सदा एकनासको हुनेछैन ।
संरा अमेरिका, भारत र जापान एकै लाममा किन देखिँंदै छन् ?
संरा अमेरिकाको उद्देश्य विश्वलाई आफ्नो कब्जामा राखिराख्ने हो । यसकारण भारत र जापानजस्ता आर्थिकरूपले शक्तिशाली एसियाली देशलाई पनि ऊ आफ्नो टोकरीमा राख्न चाहन्छ । एसियाका यी दुई आर्थिक शक्तिलाई आफूमा मिलाउन सके आधा एसिया आफ्नो हातमा रहेको अमेरिकाले सम्झनेछ ।
भारतलाई चीनसँग भिडाउने, दक्षिण एसियालाई भारतको पोल्टामा पार्ने र भारतमार्फत आफ्नो उद्देश्य पूरा गर्ने संरा अमेरिकी कूटनीति हो । भारत र संरा अमेरिकाबीचको सैन्य सम्बन्ध (विशाखापट्टनममा अमेरिकी जल सेनाको उपस्थिति र अमेरिकी हात–हतियारले भारत सुसज्जित हुनु) पनि यसैको सिलसिला हो ।
दोस्रो विश्वयुद्धमा जापानको हार भएको कारण अमेरिकी प्रमुख सेनापति म्याकार्थीले थमाएको संविधान नै अहिलेसम्म जापानमा कायम छ । युद्धमा पराजित जापान आजसम्म पनि संरा अमेरिकी सन्धिअन्तर्गत आर्थिक र रक्षा सम्बन्धमा जोडिएको छ । जापानको ओकिनावा टापुमा अहिले पनि ठुलो सङ्ख्यामा अमेरिकी सेना छ ।
भारतसँग जापानको आर्थिक र प्राविधिक सम्बन्धबाट दुवैले फाइदा उठाउँदै छन् । संयुक्त लगानीका अनेक कार्यक्रमहरू पनि चालू छन् । यसले पनि हिन्द–प्रशान्त सैनिक गठबन्धनलाई सङ्केत गर्छ । प्रशान्त क्षेत्रमा इन्डोनेसिया र अन्य देशहरूसँग पनि जापानको आर्थिक सम्बन्धहरू छन् ।
भारत नेपाललाई किन आक्रमण गर्न खोज्दै छ ?
– भारतीय शासक वर्ग नेपाललाई आफ्नो संरक्षित देश मान्छ, स्वतन्त्र र सार्वभौम देश मान्दैन । भारत दक्षिण एसियालाई नै भारतीय सुरक्षा छाताभित्र राख्न चाहन्छ । सारमा नेपाल भारतको बजार हो । नेपालको ८० प्रतिशत व्यापार भारतसँग छ । ट्रक, ट्रिपर, मोटरकार, ट्र्याक्टर र पहेँलो रङ्गका (हेबिएक्युपमेन्ट) सबै बहान र साधनहरू भारतमै बनेका छन् । भारतीय एकाधिकार पुँजी वा कम्पनीहरू नेपाललाई आफ्नै बजार सम्झन्छन् । यसकारण नेपालका राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि भारतको प्रभाव चालू छ । बेलायतबाट स्वतन्त्र भएपछि भारत दक्षिण एसियामा आफू दोस्रो शासक सम्झन्छ ।
युद्धको घोषणाले भारतीय शासक दलको घरेलु राजनीतिमा आफ्नो बर्चस्व कसरी कायम हुन्छ ?
– युद्धको बेला देशमा आपत्काल लागू गरेर मौलिक र राजनैतिक अधिकार कुण्ठित गरी विरोधी राजनैतिक पार्टी र मजदुर–किसान, युवा–विद्यार्थी तथा अन्य व्यावसायिक संस्थाहरूको गतिविधि, विरोध सभा, विरोध प्रदर्शनजस्ता मौलिक अधिकारहरूमा समेत रोक लगाइन्छ ।
युद्धको बेला सरकारलाई चाहिने रसद–पानी र अन्य सामानहरू खरिद गर्दा प्रतिस्पर्धाका ऐन–नियमभित्र बस्नुपर्ने छैन र शासक दलका समर्थक कम्पनी वा पुँजीपति–व्यापारीहरू अगाडि बढ्ने अवसर पाउँछन् । केही करोडपति, उद्योगपति र व्यापारीहरू अर्बपति बन्ने छन् र अर्बपतिहरू खर्बपति बन्ने छन् । यसले एकाधिकार पुँजी अगाडि बढ्नेछ ।
छिमेकी देशका राजनैतिक दलका नेताहरूलाई निर्वाचनमा मद्दत गर्न आर्थिक सहयोग गरेबापत आवश्यक सामान सबै भारतसँगै खरिद गर्नुपर्ने ऐन–कानुनको तर्जुमा गराउँछन् । यसरी स–साना छिमेकी वा कमजोर देशहरूलाई निल्ने अवसर पनि भारतीय एकाधिकार पुँजीले पाउनेछ ।
यसकारण नेपाली जनता भारत एक छिमेकी हुनुको साथै एक आक्रामक देश सम्झन्छन् । नेपाली जनता सचेत हुनु अति आवश्यक छ ।
एमसीसीको सम्झौताले नेपाल सजिलैसित संरा अमेरिकाको इसारामा भारतको पोल्टामा पर्नेछ । पश्चिमी रणविद्हरू एसिया तेस्रो विश्वयुद्धमा फस्ने अनुमान गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *