लियो टोल्सटायको उपन्यास ‘रेजुरेक्सन’ को हिन्दी अनुवादको नामकरण ‘पुनर्जागरण’ गरिएको छ । तर, अङ्ग्रेजी शब्द ‘रेजुरेक्सन’को ठीक अर्थ ‘पुनर्जागरण’ शब्दले दिन सक्दैन । बरु ‘बुद्धत्व’ वा ‘ज्ञानसिद्धि’ शब्दले ‘रेजुरेक्सन’ शब्दको निहीत अर्थ नजिकबाट व्यक्त गर्नसक्छ ।
‘अन्ना करेनिना’ पढिभ्याएको केही दिनसम्म रुसी कुलीनताको ‘ह्याङ्गओभर’ ले छोडेन । जारकालीन रुसी समाजको कुलीन जीवन बुझ्न ‘अन्ना करेनिना’ अब्बल उपन्यास मानिन्छ । त्यही रुसी कुलीनताको ‘ह्याङ्गओभर’ ले आलमारीमा वर्षौंदेखि कुचुक्क परेर बसेको टोल्सटायकै ‘रेजुरेक्सन’ उपन्यास पढ्न अर्को कुनै अवसर जुराउनु परेन ।
टोल्सटायले ‘रेजुरेक्सन’ उपन्यास सन् १८९९ मा लेखिभ्याए । त्यसको ६ वर्षपछि रुसमा सन् १९०५ को मजदुर विद्रोह भयो, अठार वर्षपछि रुसी अक्टोबर समाजवादी क्रान्ति नै भयो । अर्थात् ‘रेजुरेक्सन’ लेखिंदै गर्दा रुसी समाजमा भित्रभित्रै क्रान्तिको परिस्थिति बन्दै थियो । रुसी समाजले जारशाहीको विरोधमा भएको डिसेम्बरिस्ट विद्रोह भुलिसकेको थिएन । बरु त्यही जगमा नरोदनिक विद्रोह उचाइमा पुगेको थियो । नरोदनिक विद्रोह रुसी किसानहरूलाई क्रान्तिको आधार मान्ने र व्यक्ति हत्यामा विश्वास गर्ने अराजकतावादी विद्रोह थियो । सामन्ती शोषणमा आधारित जारशाहीविरुद्धको त्यो विद्रोहमा रुसी किसानहरू त लागेका थिए नै, साथै ठुलो सङ्ख्यामा रुसी कुलीन वर्ग र मध्यम वर्गका जुझारु युवाहरू पनि सामेल थिए ।

हात मुख जोड्न धौ धौ परेका रुसी किसानहरूसम्म त्यस्ता दार्शनिक चिन्तन र चेतना पुगिसकेको थिएन । विश्वविद्यालय गएका र सैनिक सेवामा लागेका कुलीनका सन्तानहरू नै त्यस्ता विचारधारा पढ्थे र त्यसैबाट प्रभावित भएर आफ्नै वर्गमाथि प्रश्न उठाउँथे । आफ्नै सत्तामाथि धावा बोल्थे । आफ्नै चेतनामाथि विद्रोह गर्थे । त्यहीं प्रश्न र विद्रोहकै जगमा सन् १९१७ को समाजवादी क्रान्तिको उदय भएको हो ।

त्यो समय रुसी समाजमा भूमिमाथि निजीको स्वामित्वबारे पेचिलो बहस चर्केको थियो । खेती किसानी नगर्ने रुसी कुलीन र सामन्त वर्गको स्वामित्वमा ठुलो परिमाणमा जमिन र जमिनदारी थियो । जमिनदारको जमिनदारीमा किसानहरू श्रम गर्थे र किसानले उत्पादन गर्ने फसलमा नै रुसी कुलीनहरूको कुलीनता अडेको थियो । पुस्तौँ–पुस्तादेखि खेती किसानी गर्दै आएको जमिनमा किसानहरूको स्वामित्व थिएन । मरीमरी खेतमा काम गर्ने किसानको लागि पेटभरि खान पनि सजिलो थिएन । तर, तिनको श्रम निचोरेर उठेको रुसी शासक वर्गको वैभव भने युरोपका कुनै पनि अरू देशभन्दा कम थिएन ।
रुसी कुलीन र सामन्तहरू आफ्ना जमिनदारी कोही व्यक्तिलाई जिम्मा लगाउँथे र त्यही व्यक्तिले किसानहरूलाई ‘तह’ लगाउने काम गर्थे । अनि तिनै ‘तह’ (शोषण भनी बुझ्नु होला) लगाइएका किसानहरूको श्रम जमिनदार र कुलीन वर्गका दरबारभित्र सुनका कसौंडीमा पाक्थ्यो, चाँदीका थालमा पस्किथ्यो र सुनका चम्चाले ज्युनार हुन्थ्यो । तर, उन्नाइसौं शताब्दीको मध्यबाट नै रुसी सामन्तवाद क्रमशः कमजोर बन्दै थियो । जमिनदारमाथि रुसी कुलीन र सामन्तहरूको नियन्त्रण क्रमशः खुकुलो बन्दै थियो । पुँजीवादी उत्पादन सम्बन्धको विकाससँगै परम्परागत भूमिमा आधारित उत्पादन सम्बन्ध कमजोर बन्नुको विकल्प पनि थिएन । त्यही परिस्थितिमा भूमिमाथि निजी स्वामित्वबारे बहस चर्किरहेको थियो । स्पेन्सर जस्ता दार्शनिकहरू भूमि कोही व्यक्तिको हुनसक्दैन, बरु हावा, पानी र सूर्यकिरणजस्तै जसले उत्पादन गर्छ उसैको लागि हुनुपर्छ भन्ने विचार प्रभावशाली बन्दै थियो ।
हात मुख जोड्न धौ धौ परेका रुसी किसानहरूसम्म त्यस्ता दार्शनिक चिन्तन र चेतना पुगिसकेको थिएन । विश्वविद्यालय गएका र सैनिक सेवामा लागेका कुलीनका सन्तानहरू नै त्यस्ता विचारधारा पढ्थे र त्यसैबाट प्रभावित भएर आफ्नै वर्गमाथि प्रश्न उठाउँथे । आफ्नै सत्तामाथि धावा बोल्थे । आफ्नै चेतनामाथि विद्रोह गर्थे । त्यहीं प्रश्न र विद्रोहकै जगमा सन् १९१७ को समाजवादी क्रान्तिको उदय भएको हो ।
निःसन्देह रुसी अक्टोबर क्रान्ति अचानक भएको राजनीतिक घटना थिएन । रुसीमा भित्रभित्रै लामो समयबाट सल्किरहेको विद्रोहको उच्चतम अभिव्यक्ति नै त्यो क्रान्ति थियो । त्यो क्रान्तिको सामाजिक र राजनीतिक पृष्ठभूमि बुझाउने उपन्यास हो–टोल्सटायको उपन्यास ‘रेजुरेक्सन’ ।
‘अन्ना करेनिना’ मा एक जना पात्र छन्–लेभिन । उनी रुसी कुलीन वर्गकै एक जना पात्र हुन् । उनी रुसी किसानहरूको जीवनको सरलता, मिहिनेत र आत्मनिर्भरताबाट प्रभावित थिए । उनी आफैँ किसानहरूसँग खेतमा श्रम गर्थे । कृषि उत्पादन बढाउन किसानको भूमिकालाई कदर र सम्मान गर्नुपर्ने विषयमा एउटा किताब लेख्न थालेका थिए । तत्कालीन रुसी समाजको कृषि उत्पादन सम्बन्धबारे टोल्सटायको बुझाइ ‘रेजुरेक्सन’ मा पुग्दा ‘अन्ना करेनिना’ को तुलनामा निकै माथि पुगेको देखिन्छ ।
‘रेजुरेक्सन’ का मुख्य पात्र हुन्–नेख्ल्युदोभ । उनले आफ्नो नाममा रहेका दुई वटा जमिनदारीमा किसानहरूबीच जमिन वितरणको सन्दर्भमा गरेका दुई फरक फरक अभ्यास गर्छन् । लेभिनले कहिल्यै पनि जमिनमा किसानको स्वामित्व स्थापित गर्ने कुरा गरेनन् । तर, नेख्ल्युदोभ एउटा जमिनदारीमा किसानको नाममा जमिन दिने र त्यसबाट न्यूनतम कुत उठाउने, उठेको कुतबाट केही प्रतिशत नेख्ल्युदोभ स्वयम्ले लिने र बाँकी कुत किसानकै हितमा उपयोग गर्ने बन्दोबस्त गर्छन् । अर्को जमिनदारीमा उनले जमिन सबै जोताहा किसानकै स्वामित्वमा दिने र किसानहरू स्वयम्ले आफूले पाएको जमिनको उत्पादनशीलताको आधारमा एउटा सामूहिक कोष स्थापना गरी समाजको हितमा प्रयोग गर्ने अभ्यासको थालनी गर्छन् । तत्कालीन रुसी सामन्तवादी समाजको निम्ति यी अभ्यास प्रगतिशील कदम थिए । यस्ता प्रगतिशील चेतना र चिन्तन नै रुसमा समाजवादी क्रान्तिको आन्तरिक परिस्थितिको तयारीका आधार थिए ।
विश्वविद्यालय शिक्षापछि उनी सैनिक सेवामा भर्ती हुन्छन् । क्रिमिया युद्धमा उनी सामेल हुन्छन् । सैनिक सेवाबाट अवकाश पाएपछि उनी समाजका प्रतिष्ठित सदस्यको रूपमा अदालतमा परामर्शदाताको भूमिकामा रहन्छन् । रुसमा सन् १८६४ मा भएको सुधारअन्तर्गत अदालतमा समाजमा प्रतिष्ठित व्यक्तिबाट फौजदारी मुद्दा निरूपणमा परामर्शदाता राख्ने बन्दोबस्त गरिएको थियो । एउटा मुद्दामा परामर्श दिने क्रममा नेख्ल्युदोभको भेट कत्युसासँग हुन्छ । कत्युसा चोरी र हत्याको अभियोगमा अदालतको कठघरामा उभिएकी हुन्छिन् । कत्युसा नेख्ल्युदोभका सानीआमाको घरमा काम गर्ने गरिब आमाकी बेवारिसे छोरी हुन् । नेख्ल्युदोभ विश्वविद्यालयमा पढ्दै गर्दा सानी आमाको घरमा भेट हुन्छ । उनीहरूबीच प्रेम हुन्छ । पछि नेख्ल्युदोभ सेनामा भर्ती हुन्छन् । सेनामा हुँदा उनी फेरि सानीआमालाई भेट्न जाने क्रममा कत्युसासँग नेख्ल्युदोभको शारीरिक सम्पर्क हुन्छ । तर, पछि नेख्ल्युदोभ त्यहाँ फर्किदैन । उनै कत्युसा धेरै वर्षपछि आफू परामर्शदाता रहेको एउटा इजलासमा चोरी र हत्या अभियोग लागेकी वेश्याको रूपमा देख्दा नेख्ल्युदोभलाई ठूलो हिनताले छोप्छ । उनले कत्युसाको चारित्रिक पतनको दोषी आफू नै भएको र त्यो पापबाट मुक्त हुनबाट कत्युसालाई सजाय मुक्त गर्नुपर्ने निष्कर्षमा पुग्छन् ।


चोरी र हत्याकाण्डमा कत्युसालाई फसाइएको हुन्छ । तथापि उनलाई साइबेरिया पठाउने अदालतले फैसला गर्छ । कत्युसाको दुःखको आफू कारण भएको भन्दै नेख्ल्युदोभ त्यसको प्रायश्चित स्वरूप सकेसम्म उनलाई सजाय मुक्त गर्ने नभए उनीसँगै साइबेरिया जाने सङ्कल्प गरेको हुन्छ ।
उपन्यासको मूल चौघेरा यही हो । यही चौघेराभित्र रहेर टोल्सटायले उपन्यासमा तत्कालीन समाजलाई मिहिनरूपमा पस्केका छन् । ‘अन्ना करेनिना’ ‘रेजुरेक्सन’ को तुलनामा भावनामा आधारित उपन्यास हो भने ‘रेजुरेक्सन’ मा टोल्सटायले आफ्ना दार्शनिक र वैचारिक चिन्तन खचाखच खाँदेका छन् ।
अपराध, अपराधी र राज्यको भूमिकाबारे टोल्सटायले यो कृतिमा आफ्ना सोचाइ पस्केका छन् । मानिस किन अपराधी हुन्छ ? अपराधी मानिसलाई सुधार्ने कसरी ? राज्य र कानुनले के अपराधीलाई अपराधमुक्त बनाउन सक्छ ? यदि राज्य र कानुनले समाजबाट अपराधमुक्त बनाउन सकिने भए आजसम्म किन समाज अपराधमुक्त हुनसकेन ? कारागार, श्रम शिविर आदि सजायले मानिसलाई सुधार्छ वा अझ उसमा अपराधी मानसिकता भरिदिएको हुन्छ ? यस्ता प्रश्नको निरूपण टोल्सटायले नेख्ल्युदोभको अध्ययनमार्फत गर्न खोजेका छन् ।
टोल्सटायले राज्य र कानुनले समाजलाई अपराधमुक्त नबनाउने विचार राखेका छन् । लेनिनले ‘राज्यसत्ता र क्रान्ति’ ले राज्यसत्ता स्वयम् एउटा वर्गले अर्को वर्गमाथि शोषण र दमन गर्न बनाएको संरचना भनी लेखेका छन् । नेख्ल्युदोभले आफ्नो भिनाजुसँगको बहसमा यही भनेका छन् । राज्य सत्ताले कसैलाई अपराधी भन्दैमा त्यो अपराधी नै हुन अनिवार्य छैन । कानुन भनेको शासक वर्गले आफ्नो सत्ता जोगाउन बनाएको हतियार भएकोले उसले आफ्नो सत्तालाई हानी पु¥याउने मानिस वा शक्तिलाई अपराधी भन्ने गर्छ । तर, त्यो व्यक्ति आफैँमा अपराधी नहुनसक्छ । बरु तिनलाई अपराधी फैसला गर्ने न्यायाधीश, सरकारी अधिकारी, सुरक्षाअधिकारीहरू स्वयम् अपराधी हुन् । टोल्सटायले तत्कालीन रुसी समाजको प्रशासनतन्त्र र न्याय प्रशासनभित्रका अन्तरकुन्तर केलाउँदै आफ्ना भनाइ सिद्ध गर्न खोजेका छन् । आफ्नो कुलीन र समाजको सम्मानित सदस्यको हैसियत प्रयोग गरी उनी कारागारभित्र पुगेर कैदीहरूसँग परिचित हुन्छन् । त्यहाँ नेख्ल्युदोभको भेट झूटा मुद्दामा फसाइएका, कैदीले पाउनुपर्ने न्यूनतम सुविधा समेतबाट वञ्चित गरिएका, अरूको चुक्लीको कारण कालकोठरी भोग्नुपरेका कैदीहरू भेट्छन् । कानुनले अपराध नभनेको घटनालाई समेत पूर्वाग्रह र प्रभावको आधारमा चुक्ली गरेर निर्दोषलाई सजाय गरिएको वास्तविकता उनले रुसी कारागारमा स्वयम् साक्षात्कार गर्छन् । रुसी राजामहाराजा, कुलीन र सामन्त वर्गलाई समाजको भुइँतहमा हुने यस्ता अत्याचार र दमन र भुइँ समाजबारे जानकारी पनि हुँदैन । नेख्ल्युदोभ समाजको यो पाटोसँगको साक्षात्कारबाट आफैँ चकित पर्छन् ।
टोल्सटाय मानवतावादी सिद्धान्तका पक्षपाती थिए । के हो त उनको मानवतावादी चिन्तन ? ‘रेजुरेक्सन’ उपन्यास उनको यो चिन्तनधारा बुझ्ने आधिकारिक कृति हुनसक्छ । उनले धर्मको नाममा समाजले पालेको पाखण्डको उछिटो काढेका छन् । जारकालीन राज्य प्रशासनभित्रको निर्ममता, भ्रष्ट चरित्र, पूर्वाग्रह र पक्षपातको कारण निर्दोष मानिसले भोग्नुपरेको सजाय र त्यही सजायले समाजमा हुने अपराधको सङ्क्रमणबारे यो कृतिमा व्याख्या गरेका छन् ।
कत्युसालाई साइबेरिया पठाएपछि नेख्ल्युदोभ उनीकै पछि लागेर साइबेरिया जान्छन् । उनी कत्युसाले मानेमा बिहे गर्ने सोच राख्छन् । तर, बिहेभन्दा पनि उनको मूल जोड कत्युसामाथि आफूले गरेको अन्यायको प्रायश्चित गर्नुहुन्छ । टोल्सटायले उपन्यासको यो खण्डमा त्यत्तिबेला जारशाहीले साइबेरियामा बन्दीहरूलाई पठाउने प्रक्रियाबारे निकै धैर्यतापूर्वक वर्णन गरेका छन् । यसरी साइबेरिया जाने लर्कोमा राजनीतिक बन्दीहरूको पनि उल्लेख्य सङ्ख्या सामेल भएको देखाएर टोल्सटायले तत्कालीन समाजका भित्रभित्र सल्किरहेको विद्रोहतर्फ सङ्केत गरेका छन् । राजनीतिक बन्दीहरूबीचको मतान्तरमार्फत टोल्सटायले त्यत्तिबेलाको परिवर्तनवादी धाराभित्रको अन्तरविरोधलाई देखाउन खोजेका छन् । राजनीतिक बन्दीहरूको सङ्गतले कत्युसामा आएको चारित्रिक र व्यवहारिक परिवर्तनले राजनीतिक कार्यकर्ताहरूको असल चरित्र र सकारात्मक भावना उजागर गर्न खोजेका छन् ।

टोल्सटायले उपन्यासको पुछारमा लेखेको छ, ‘उसको जीवनको यो नयाँ अध्याय कहाँ गएर समाप्त हुने हो, समयले मात्र देखाउन सक्नेछ ।’ सम्भवतः उनले देखेको यो बाटो परिवर्तनकै बाटो थियो । बाइबलको क्षमाशीलतामा पुगेर उनले उपन्यास बिट मारेका छन् । उनले सम्भवतः त्यही क्षमाशीलतामा आधारित परिवर्तनलाई नै भविष्य देखे । तर, समयान्तरमा श्रमिक वर्गको समानता र न्यायमा आधारित विद्रोह नै रुसको भविष्य पुष्टि भयो । ‘रेजुरेक्सन’ लेखिसकेको दुई दशकपछि रुसले नयाँ भविष्यको आभा देख्यो ।

भुइँ मानिसको जीवनबाट अलग रुसी कुलीन वर्गका एक जना प्रतिनिधि नेख्ल्युदोभले कत्युसामाथिको अन्यायको प्रायश्चित गर्न चालेका कदम त्यत्तिबेलाको सिङ्गो समाजको लागि अनौठो विषय थियो । उनका कामलाई उनका भिनाजुले बहुलट्ठीपूर्ण नै भने । आजको नेपाली समाजको उचाइबाट हेर्दा पनि नेख्ल्युदोभ ‘बहुला’ नै हो । धन र सम्पत्तिलाई नै सर्वस्व मान्ने समाजको चस्माबाट नियाल्दा उनी ‘असामान्य चेतका सिल्ली’ नै हुन् । तथापि, नेख्ल्युदोभले जे गरे उनीभित्रको चेतनाको आभाको कारण गरे । कत्युसासँगको प्रेम र प्रायश्चितबाट थालेको यात्रा चेतना र ‘बुद्धत्व’ तर्फ उन्मुख हुन पुग्छ । नेख्ल्युदोभको जीवन यात्रालाई तत्कालीन रुसी समाजमा वास्तविकताको वेधार छिचोल्दै गरिएको ज्ञान प्राप्तिको यात्रा मान्नुपर्छ । टोल्सटायले उपन्यासको पुछारमा लेखेको छ, ‘उसको जीवनको यो नयाँ अध्याय कहाँ गएर समाप्त हुने हो, समयले मात्र देखाउन सक्नेछ ।’ सम्भवतः उनले देखेको यो बाटो परिवर्तनकै बाटो थियो । बाइबलको क्षमाशीलतामा पुगेर उनले उपन्यास बिट मारेका छन् । उनले सम्भवतः त्यही क्षमाशीलतामा आधारित परिवर्तनलाई नै भविष्य देखे । तर, समयान्तरमा श्रमिक वर्गको समानता र न्यायमा आधारित विद्रोह नै रुसको भविष्य पुष्टि भयो । ‘रेजुरेक्सन’ लेखिसकेको दुई दशकपछि रुसले नयाँ भविष्यको आभा देख्यो ।

नीरज image
नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *