भर्खरै :

संरा अमेरिकामा बढ्दो जन आक्रोश

आफूलाई विश्व प्रहरी र मानव अधिकारको हिमायतीको रूपमा दाबी गरेर नथाक्ने संरा अमेरिका स्वयम् आज राज्यबाट भएको अत्याचारविरुद्ध त्यही देशका जनताको आक्रोशले जलिरहेको छ । गएको मे २५ का दिन माइनेसोटा राज्यको मिनियापोलिस सहरमा एक गोरा जातिवादी प्रहरीबाट एक अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको अनाहक, क्रूरतापूर्ण र गैरकानुनी हत्या भएको थियो । तर उक्त हत्याकाण्डबारे अमेरिकी शासक वर्गको उदासिनता र दोषीमाथि कारबाही गर्नमा बेवास्ता भएपछि अश्वेत र सबै क्षेत्रका न्यायप्रेमी अमेरिकी जनता लकडाउन र निषेधाज्ञाको परवाह नगरी सडक प्रदर्शनमा उत्रेका छन् । उक्त घटनाको विरोधमा देशव्यापीरूपमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनको कारण २० वटा राज्यमा कफ्र्यु नै घोषणा गरिएको छ । प्रहरी दमनमा परी आधा दर्जन प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । २–३ हजारलाई पक्राउ गरिएको अनुमान छ ।
जर्ज फ्लोइडको हत्यालाई लिएर मिनियापोलिसबाहेक अन्य राज्यहरूमा फैलिएको जन आक्रोशले संरा अमेरिकामा वर्षौंदेखि रहेको सामाजिक र आर्थिक असमानता र अत्याचारलाई उदाङ्गो पारेको छ । हुन पनि संरा अमेरिकामा धनी गोराहरूले मात्र होइन कानुन कार्यान्वयनको जिम्मेवारी बोकेका सरकारी कर्मचारी र प्रहरी अधिकारीहरूले समेत अश्वेत अफ्रिकी–अमेरिकी, हिस्पानियाली र अन्य देशबाट आप्रवासनमा गएका मानिसहरूलाई अनावश्यकरूपमै सताउने र ज्यानै लिने घटना नौलो होइन । कैयौँ यस्ता घटनाहरूमा दोषीलाई कारबाही त के घटनाको सामान्य अनुसन्धानसम्म हुँदैन । हिजो अफ्रिकी–अमेरिकी मूलका मानिसहरू दास बनाएर अमेरिका लगिएका थिए, त्यहाँ उनीहरूका सन्तानहरूलाई आज पनि त्यही नजरले हेर्ने गोरा जातिवादी अमेरिकीहरूको सङ्ख्या कम छैन । शासन सत्तामा त्यस्तै जातिवादीहरूको प्रत्यक्ष र परोक्ष हालीमुहाली छ ।
अश्वेत अमेरिकी नागरिकहरूको त्यसरी गैरकानुनी हत्या बढेपछि सन् २००१ यता ‘ब्ल्याक लात्स म्याटर’ अर्थात् अश्वेतको जीवनले अर्थ राख्छ भन्ने अभियान वा प्रदर्शनहरू बरोबर भइरहेका छन् तर त्यसबाट पनि त्यहाँ खासै सुधार आउन सकेको देखिँदैन । डोनाल्ड ट्रम्पजस्ता जातिवादी र अति दक्षिणपन्थी मानिस अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि संरा अमेरिकामा अश्वेत, जातीय अल्पसङ्ख्यक, गरिब र प्रगतिशील जनतामाथि अझ बढी शोषण, उत्पीडन र हत्याहिंसाका घटनामा बढोत्तरी भएको देख्न सकिन्छ । अहिले संरा अमेरिकाका सहरहरूका सडकमा देखिएको जनआक्रोश आजको अन्यायविरुद्धको मात्र होइन सयौँ वर्षदेखिको उत्पीडनविरुद्धको जनआक्रोश हो । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले हिंसात्मक प्रदर्शनमा एन्टिफासिस्ट मुभमेन्ट–एन्टिफाजस्ता वामपन्थी सङ्गठनको हात रहेको आरोप लगाउँदै उक्त सङ्गठनलाई आतङ्कवादी सङ्गठन भन्दै दोषारोपण गरेका छन् । कोभिड–१९ सङ्क्रमण नियन्त्रणतर्फ ट्रम्प प्रशासन र राज्य सरकारहरूको बेवास्ता र गरिब अमेरिकी जनताको व्यापक मृत्यु पनि अहिलेको जनआक्रोशको कारण हो । आफूलाई विश्वको मानव अधिकार र न्यायको ठेकेदार दाबी गर्ने देशले आफ्नै देशका नागरिकहरूको मानव अधिकार र जिउने अधिकारसम्म सुनिश्चित गर्न सकेन । तसर्थ संरा अमेरिकाले आफूलाई विश्व महाशक्ति दाबी गर्नु र अरूमाथि फूर्ति लगाउनु सुहाउँदो कुरा भएन । संरा अमेरिकाका पछिल्ला घटनाहरूले उक्त देश अधोगतितिर लागेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *