प्रदेश आम्दानीको स्रोत र आत्मनिर्भरताको प्रश्न जहाँको तहीँ
- श्रावण १३, २०८३
चीनविरुद्ध ‘फउल’
सन् १९९७ मा बनेको इरानी चलचित्र ‘चिल्ड्रेन अफ हेभन’ को निर्माताको आधिकारिक स्वीकृतिपछि उस्तै कथामा बन्यो हिन्दी चलचित्र ‘बम बम बोले’ सन् २०१० मा । बाल मनोविज्ञानमा केन्द्रित उक्त चलचित्रमा गरिब परिवारमा हुर्किएको बालक (पिनु) अन्तरविद्यालय म्याराथन दौड प्रतियोगितामा भाग लिन तयार हुन्छ । किनभने प्रतियोगिताको विजयीले जुत्ता पुरस्कार पाउने घोषणा गरिएको थियो । पिनु आफ्नी बहिनी झिलमिलको निम्ति जुत्ता जित्न चाहन्थ्यो । सधैँ उकालीओराली दगुर्दै विद्यालय पुग्ने पिनु दौडमा कमजोर हुने कुरै थिएन । दौडको गन्तव्यरेखा पुग्नै लाग्दा पिनुलाई अर्को प्रतिस्पर्धीले धक्का दिँदा ऊ लड्छ । तर, पिनु अझ जोडतोडले दगुर्छ । अन्ततः उसले विजय प्राप्त गर्छ । विजयी भएर पनि पिनु तत्काल खुसी हुनसक्दैन, त्यसको कथा अलग्ग छ । सारमा पुँजीवादी समाजमा हुने गरिबी र अस्वस्थ प्रतिस्पर्धाको चित्र चलचित्रमा प्रस्तुत गरिएको छ ।
संरा अमेरिका विश्वको महाशक्ति देश मानिन्छ । संसारको सबभन्दा ठूलो हतियार व्यापारी पनि संरा अमेरिका नै हो । सूचनाप्रविधिको दौडमा पनि अमेरिका नै अगाडि छ । डलर, तेल, सुनलगायतको मूल्य निर्धारणदेखि विश्व अर्थतन्त्रको केन्द्र हालसम्म पनि अमेरिका नै छ । तर, चीन आगामी दशकमा विश्वको सबभन्दा ठूलो अर्थतन्त्र बन्दै छ । ‘नम्बर वन अर्थतन्त्र’ को ताज खोसिने डरले राष्ट्रपति ट्रम्प थर्कमान छन् । त्यसैले समृद्धितर्फको चीनको गतिमा ‘फउल’ हाल्न उनी अनेक दाउपेच गर्दै छन् । कोभिड–१९ को कारण गिर्दो अर्थतन्त्र, जनतामा आएको व्यापक निराशा र त्यसको परिणामस्वरूप देखिएको जनआक्रोशको कारण राजनीतिक संरचनामै भूकम्प जान थालेपछि जनताको ध्यान मोड्न अमेरिकाले चीनविरुद्ध अनेक लान्छना लगाउन थालेको छ । संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चीनको मात्र पृष्ठपोषण गरेको आरोप लगाउँदै डब्ल्युएचओको निम्ति अमेरिकी सहयोग बन्द गर्ने घोषणा गर्नुको साथै त्यससँगको सम्बन्ध विच्छेदको पनि घोषणा गरेको छ । चीनसँगको व्यापारयुद्धमा पराजित भएपछि रन्थनिएका ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट निसृत भएको भनेर निहुँ खोज्दै छन् । कथं दुई महाशक्तिबीच युद्ध भएमा संसार नै ध्वस्त हुनसक्ने खतरा टड्कारो छ ।
नेपालमा मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न खोजिँदै छ । एमसीसी पनि चीनलाई घेर्ने रणनीतिकै एक पाटो हो । हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गत भारतको काँधमा बन्दुक बिसाएर चीन हान्ने अमेरिकी रणनीति हो यो । नेपालमा अमेरिकी सेनाले मार्चपास गर्ने सम्भावना बढ्दो छ । त्यतिबेला नेपालको सार्वभौम अस्तित्वमै प्रश्न उठ्नेछ । चीनमाथि युद्ध लादेर चीनको अर्थतन्त्र ध्वस्त पार्ने अमेरिकी रणनीतिमा नेपालका शासकहरू गोटी बनेका छन् ।
‘सास फेर्न सकिनँ’
गत मे २५ मा काला जातिका अमेरिकी नागरिक जर्ज फ्लोएड घाँटीमा गोरा जातिका प्रहरीले घुँडाले थिचेर मारिएपछि उठेको दङ्गाको आक्रोशित रूप संरा अमेरिकाभर फैलिएको छ । कोरोना भाइरससँग लडिरहेका हजारौँ अमेरिकी नागरिक (विशेषतः युवा) सडकमा उत्रिएर अमेरिकी स्वेतमैत्री प्रशासनका विरुद्धमा छैटौँ दिनसम्म पनि प्रदर्शन गरिरहेका छन् । मिनेसोटाबाट सुरु भएको प्रदर्शन देशभर फैलिएको छ । २५ वटा राज्यका ४० भन्दा बढी सहरमा कफ्र्यु आदेश जारी गर्दा पनि स्थिति नियन्त्रणमा आएको छैन । सो विरोध दमन गर्न दोस्रो विश्वयुद्धको समयमा मात्रै प्रयोग गरिएको अमेरिकी नेसनल गार्ड (सेना) प्रयोग गरिएको छ । सैनिक बख्तरबन्द गाडीसमेत सडकमा उतारिएको छ । तीनजना प्रदर्शनकारीको मृत्यु हुनुको साथै हजारौँ घाइते भएका छन् । राष्ट्रपति ट्रम्पले प्रदर्शनको नेतृत्वकर्तालाई आतङ्ककारी घोषणा गर्दै ट्वीट गरेपछि स्थिति नियन्त्रणबाहिर गएको बताइन्छ । प्रदर्शनकारी ह्वाइट हाउस घेराउ गर्न पुगेपछि ट्रम्पले ट्वीट गर्दै आफू असुरक्षित भएकोमात्र भनेनन् आन्दोलनकारी जनतालाई ‘क्रुद्ध कुकुर’को संज्ञा दिए र आन्दोलनकारी झनै आक्रोशित बन्न पुगे । ट्रम्प ह्वाइट हाउसभित्रको बङ्करमा कैद भएको समाचार पनि आयो । आप्रवासीविरोधी राष्ट्रपति ट्रम्प काला जातिका नागरिकलाई अमेरिकामा आप्रवासीको रूपमा लिन्छन् । यो पटकको आन्दोलनले नश्लवादी र गोरा सर्वोच्चतावादीहरूलाई राम्रो सबक सिकाएको छ ।
यता लन्डनस्थित अमेरिकी दूतावासअगाडि पनि हजारौँ मानिस भेला भएर अस्वेत अमैत्री अमेरिकी प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । घाँटी थिचिएका फ्लोएडको अन्तिम वाक्य ‘सास फेर्न सकिनँ’ लेखिएका प्लेकार्डहरू बोकेका युवाहरूले संयुक्त अधिराज्यमा विशाल प्रदर्शन गर्नुले विषय अन्तर्राष्ट्रियकरण हुने सम्भावना बढेको छ ।
कोरोना आतङ्कबाट पनि अमेरिका त्राहिमाम् छ । कोरोनाकै कारण कलकारखाना, उद्योग र होटल व्यवसाय चौपट छन् । सधैँ भीडभाड हुने सहरहरू मृत सहरमा रूपान्तरण भएका छन् । संरा अमेरिकामा १८ लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यहाँ थप लाखौँ मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
‘अमेरिका फस्ट’को नारा दिने ट्रम्पको अमेरिका कोरोनाभाइरसको सङ्क्रमणमा पनि किन प्रथम भइरहेको छ ? यसमा पुँजीवादी चरित्रानुसार अमेरिकी स्वार्थनिहित रहेको स्पष्ट छ । ‘मर्ने मर्छन्, अर्थतन्त्रलाई मर्न दिनु हुन्न’ भन्ने अमेरिकी पुँजीपतिवर्गको तर्क छ । मानिस मारेर पनि मानवअधिकार हनन् नहुने कस्तो व्यवस्था हो यो ?
सबभन्दा क्रूर तथ्य त अमेरिकी सरकार स्वयम् पुँजीपतिवर्गको सेवक हो । त्यहाँ सबभन्दा धनी १ प्रतिशतले ९९ प्रतिशत गरिबमाथि शासन गर्छन् । कोरोनाको कारण लाखौँले रोजगारी गुमाएका छन् । ८० प्रतिशत मजदुरहरू मसान्तको पर्खाइमा हुन्छन् । अर्कोतिर ७ सय ५ अर्बपतिहरूले तीस खर्ब डलरको सम्पत्ति हत्याएका छन् । तिनै खर्बपतिहरूको स्वार्थको कारण लाखौँ अमेरिकीहरू मृत्युसँग जुझिरहेका छन् । जनताभन्दा पैसा नै ठूलो हुने पुँजीवाद भने झन् नाङ्गिएको छ ।
हङकङको निहुँ
उता हङकङमा प्रजातन्त्रको नाममा हाकाहाकी फेरि चीनविरोधी गतिविधि उछालिँदै छ । अमेरिकी राष्ट्रपति ट्रम्प तिब्बतलाई अलग देश बनाउने धम्की दिँदै छन् । चीनको संसद्ले हङकङ सुरक्षा कानुनको समर्थन गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध गम्भीर कदम चाल्ने धम्की दिएका हुन् । अमेरिकाले हङकङमा आफ्ना आर्थिक गतिविधि रोक्ने बताएको छ । अमेरिकाको उक्साहटमा कथित प्रजातन्त्र पक्षधर तत्वले आन्दोलन गर्ने चेतावनी दिइरहे तापनि त्यहाँ स्थिति सामान्य नै छ ।
चीनको नयाँ सुरक्षा कानुनअनुसार राज्यद्रोह, विद्रोह र राज्य विभाजन तथा राज्य विध्वंसमा प्रतिबन्ध लाग्नेछ । ट्रम्पले हङकङको स्वतन्त्रता गुमेको भनिरहँदा हङकङकी निर्वाचित प्रमुख कार्यकारी क्यारी लामले नयाँ कानुनले हङकङको स्वतन्त्रता नगुम्ने कुरामा ढुक्क हुन विश्वसामु आग्रह गरेकी छन् ।
१ जुलाई, १९९७ मा बेलायती उपनिवेशबाट चीनको नियन्त्रणमा फर्किएको हङकङलाई चीनले ‘विशेष प्रशासनिक क्षेत्र’ को दर्जा दिएको छ । हङकङको सुरक्षा र विदेश मामिला ‘मेनल्यान्ड’ चीनले हेर्छ भने बाँकी सबै कार्यकारी अधिकार हङकङकै निर्वाचित प्रतिनिधिसभा र प्रमुख कार्यकारीको हातमा हुन्छ । यसलाई चीनले ‘एक मुलुक दुई व्यवस्था’ भनेको छ । चीनले हङकङमा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानुनी व्यवस्थाको स्थापना गर्नु संविधानसम्मत भएको जनाएको छ ।
पश्चिमा शक्तिहरूको निर्देशनमा गत साल भएको उपद्रवले हङकङमा चिनियाँ सुरक्षा कानुनको आवश्यकता बोध गराएको हो । गत साल ‘स्वतन्त्र हङकङ’ को प्रचार गरी राष्ट्रिय झन्डा तथा राष्ट्रिय चिन्हलाई बिगारी अनेकन आतङ्ककारी गतिविधि गरियो । अमेरिकाको उपराष्ट्रपति, परराष्ट्रमन्त्री, राष्ट्रपतिका सुरक्षा सल्लाहकार, सांसदले आन्दोलनकारीलाई खुलेआम भेट्ने र समर्थन गर्ने काम गरे । प्रजातन्त्रको नारामा युवाहरू बहकिए । तर, बेलायतले हङकङमा करिब एक सय ५० वर्ष औपनिवेशिक शासन चलाएको अवधिमा त्यहाँ प्रजातन्त्र लागू नभएको उनीहरू बिर्सिरहेका छन् । बेलायती उपनिवेशकालमा हङकङका गभर्नर सोझै बेलायतबाट नियुक्त गरिन्थे । सबै सरकारी उच्चपदस्थ पदाधिकारीहरू विदेशी हुन्थे । तर, पश्चिमाहरू फेरि आफ्नो गुमेको ‘स्वर्ग’ फिर्ता लिन चाहन्छन् भन्ने कुरा ती ‘प्रजातन्त्रवादीहरू’ ले भुलिरहेका छन् ।
यस्तो कुत्सित चाहनाप्रति चीन सचेत छ । अझै पनि ‘एक मुलुक दुई व्यवस्था’ बाट चीन पछाडि हटेको छैन । चीनले भनेको छ, हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानुनी व्यवस्थाको स्थापना गर्नुको उद्देश्य हङकङको दीर्घकालीन शान्ति तथा स्थिरतालाई अघि बढाउनु नै हो । काठमाडौँस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति प्रकाशित गरी चीनको राष्ट्रिय सुरक्षा कानुन देश विभाजन गर्न खोज्ने समूह वा व्यक्तिहरूप्रति मात्रै लक्षित रहेको खुलासा गरेका छन् ।
चिनियाँ युवा पुस्ता
गत मे ४ मा चिनियाँले युवा दिवस मनाए । यसै अवसरमा एउटा छोटो भिडियो ‘द वेभ बिहाइन्ड’ अर्थात् ‘पछाडिको छाल’ सार्वजनिक गरियो । भिडियोले युवा पुस्ताको शक्ति र जोशलाई उजागर गरेको छ । ‘जसरी याङ्सी नदीका पछाडिका छालहरूले अगाडिकालाई धकेल्छन्, त्यसरी नै नयाँ पुस्ता पुराना पुस्ताको पछाडि दगुर्छ’ भन्ने चिनियाँ आहानबाट भिडियो शीर्षक राखिएको हो ।
पुरानो पुस्ताले सन् १९९० यताका पुस्तालाई ‘असफल पुस्ता’ भनी पूर्वाग्रही दृष्टिकोण राख्दै आएको अघिल्लो पुस्ता कोभिड–१९ को राष्ट्रिय विपत्तिमा युवा पुस्ताले देखाएको अतुलनीय योगदानको प्रशंसा गरिरहेको छ । भिडियोमा भनिएको छ, ‘‘कसरी जिउने भन्ने हामीले तिमीहरूलाई सिकाएको मात्र रहेनछौँ, कसरी राम्रो जीवन जिउने भन्ने तिमीहरू हामीलाई सिकाउँदै छौ ।’’ प्रविधि क्षेत्रमा चीनको आश्चर्यचकित विकास युवा पुस्ताकै मेहनतको उपज हो भन्दा फरक पर्दैन । नयाँ पुस्ताप्रति अघिल्लो पुस्ताले भर गर्नु चीनको सबभन्दा ठूलो सफलता मान्न सकिन्छ । चिनियाँ नयाँ पुुस्ताको त्याग र समर्पणले नै चिनियाँ समाजले समृद्धिको सगरमाथा चढ्न सकेको विश्वास गर्न सकिन्छ । पश्चिमा शक्ति राष्ट्रहरूको डर, धम्कीको सामु नझुक्ने देशप्रेम चिनियाँ युवामा स्पष्ट देखिन्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको सेवा ग¥यो, अब पालो नयाँ पुस्ताको भन्ने भावनाबाट चिनियाँ समाजवादको रक्षा हुन्छ । चिनियाँ नयाँ पुस्ताले नयाँ युगको नेतृत्व गर्ने आधार तयार भएको छ । साम्राज्यवादीको युद्धसपना पूरा हुनेछैन ‘कुकुर, भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’ । युद्ध हतियारले मात्र लड्ने कहाँ हो र ! युद्ध त जनताले लड्ने, देशभक्तिले लड्ने हो । किनभने, देश भनेकै जनता हुन् ।
Leave a Reply