भर्खरै :

लकडाउनपछिको वातावरण

झन्डै दुई वर्षकी मेरी छोरीले जन्म लिइसकेपछि यता पहिलोपटक घरभित्रै बसेर पनि श्वास फेर्न सहज र आनन्द महसुस गरिन् । मेरी छोरीजस्तै संसारका सबै मानिस यो बेला धक फुकाएर जीवनयापन गर्दैछन् । संसारको मुहार फेर्नमात्र एक–दुई महिना लाग्यो । संसार ठप्प भयो, टक्क अडियो तर प्रकृतिले आफ्नो कार्य गरिरह्यो, सात अरब जनसङ्ख्याले उत्पादन गरेको अनेकथरीका प्रदूषण र अनगिन्ती समस्याहरू कम हुँदै गएको छ र झन्डै झन्डै ५०–१०० वर्ष अगाडिको वातावरण महसुस गर्न थालिएको छ । यो परिदृश्य हेर्दा, कोरोनाले मानव जातिको फोक्सो सफा गरेको हो कि भन्ने महसुस भएको छ ।
कोरोना सुरुवात भएलगत्तै चीनमा गरेको अध्ययनअनुसार चीनको प्रदूषण तह २५ प्रतिशत घटेको पाइयो । युरोपका विभिन्न देशहरू इटाली, स्पेन र बेलायतका नाइट्रोजन डाइअक्साइडको मात्रामा पनि निकै कमी आयो । छिमेकी राष्ट्र भारतमा प्रदूषणको मात्रा ३० प्रतिशतले घटेको पाइयो । वायुमा आएको यो राम्रा परिवर्तनले गर्दा झन्डै एक लाख मानिसहरूको ज्यान बचेको छ । त्यस्तै इटालीको भेनिस सहरको पानीको गुणस्तरमा सुधार आएको भेनिस सहरको अधिकारीहरूले बताएका छन् । त्यस्तै युरोपका नदी, समुद्रमा ¥हास भएको मत्स्यपालनमा थप सुधार आएको र बङ्गालको समुद्र तहमा कछुवाका थुप्रै प्रजातिहरूको सङ्ख्या बढेको खबर आजको छ । त्यस्तै जन्तुहरूको शिकारमा पनि कमी आएको सूचना प्रकाशित भएको छ । दक्षिण अमेरिकाका केही राष्ट्रहरूमा जङ्गली जनावरको चोरी पैठारी पनि निकै कमी आएको छ ।
हाम्रो देशमा पनि कोभिड–१९ को कारणले वातावरणमा सुधारहरू देखिएका छन् । काठमाडौँको आकाश नीलो भएको छ । धुलोको कण कम भएको छ, हिमालहरू छ्याङ्गै देखिन थालेका छन् । उपत्यकाको हावा श्वास फेर्नलायक भएको छ । नेपालकै ग्लोबल इस्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (GIIS) ले सन् २०२० मा गरेको अध्ययनअनुसार बैङ्ग्लोर, पेइचिङ, बैङ्कक, नयाँ दिल्ली, नान्जिङ, न्युयोर्क, लण्डन, पेरिस, सियोल, सिड्नी र टोकियोजस्ता सहरहरूमा नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, पीएम २.५ र पीएम १० को मात्रा ह्वात्तै घटेको देखिएको छ । सो संस्थाले गरेको अध्ययनअनुसार, नेपालमा र अन्य देशका सहरहरूको वातावरणमा लकडाउन लम्बिए झनै बढी सुधार आउने खोज प्रकाशन गरेको छ र सोही संस्थाले यो सुधार भने केही समयको लागि मात्र हुनसक्ने शङ्का पनि गरेको छ । कोभिड–१९ ले यस्तो मौका ल्याएको छ जसले मानव जगत मात्रै नभई संसारलाई नै सत्मार्गमा डो¥याउनेछ । तर, अहिले देखापरेको वातावरणीय सुधार स्थायी बनाउन सक्ने–नसक्ने निर्णय हाम्रो बुद्धि, विवेक र योजनामा भरपर्दछ । यदि संसार चलाउने यत्नहरू विवेकपूर्ण तरिकाले सञ्चालन गर्न सकेनौँ भने सायद कार्बन र अन्य प्रदूषकहरूको मात्रा कोभिड–१९ आउनुभन्दा अघिको मात्राभन्दा धेरै गुणाले बढ्नसक्ने सम्भावना हुन्छ । त्यसैले व्यक्तिदेखि समाजसम्म, समाजदेखि राष्ट्रसम्म र एक देशदेखि संसारसम्मको सोच, व्यवहारमा परिवर्तन गर्ने, सोहीअनुसार योजना बनाउने र योजनाअनुसारका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्दछ ।
स्वीडेनको विश्वविद्यालयका वैज्ञानिक किम्बरली निकोलसले कोभिड – १९ पश्चात् प्रदूषण घट्नुमा यातायातको कमी जिम्मेवार भएको पत्ता लगाएका छन् । मोटरसाइकल, कार, बसदेखि हवाईजहाजसम्मको सञ्चालनमा कमी भएकोले संसारको प्रदूषण २३ प्रतिशत कम भएको निकोलस बताउँछन् । त्यसैले मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने क्रमलाई कम गर्ने सक्यौँ भने प्रदूषण कम गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ । कोभिड–१९ ले गर्दा मानिसहरू कार्यलयमा आवत्–जावत् नगरी घरबाट नै कार्य गर्ने, बैठक, सभा–समारोहहरूमा भौतिकरूपमा सहभागी नभई भर्चुअल विधि ZOOM जस्तो प्रविधि) बाट बैठकहरू आयोजना गर्दा मानिसहरू आवत–जावत् गर्न नपर्ने र जसले गर्दा प्रदूषणको उत्सर्जनमा कमी भएको पाइएको छ । त्यसैले आगामी दिनमा यस्तै तरिकाले सभा–सम्मेलन आयोजना गर्न तल्लीन हुनुपर्छ । जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत ग्रेटा थनवर्गले अबको आन्दोलन र गतिविधिहरू डिजिटल प्रविधिबाट गर्नुपर्ने बताएकी छिन् ।
अबका दिनमा हाम्रो बानी व्यहोरामा परिवर्तन ल्याउन सकेमा पनि वातावरणमा सुधार कायम गर्न सकिन्छ । जुरिख विश्वविद्यालयका कोरिन मोजरले सन् २०१८ मा गर्नुभएको अध्ययनअनुसार गाडी चलाउन नदिई विद्युतीय स्कूटर चलाउन दिँदा पनि विद्युतीय स्कूटर नै चलाउन इच्छा व्यक्त गरेको पत्ता लगाएका छन् । त्यस्तै सन् २००१ मा क्योटो विश्वविद्यालयका सातोसी फूजीका अनुसार सार्वजनिक यातायात चढ्न बाध्य बनाइएको एक समूहले सवारी साधन चलाउन दिँदा पनि सार्वजनिक यातायात नै चढ्न रुचाएको प्रकाशित गरिएको थियो । त्यसैले समयसँगै आएको परिवर्तनले ल्याएको बानी व्यहोरामा सुधारको दीर्घ असर पर्ने देखिन्छ । कोभिड–१९ ले नेपाल र नेपालीमा कस्तो परिवर्तन आउला भन्ने केही हदसम्म अनुमान गर्न सकिन्छ किनभने नेपाल सरकारको भर्खरै आएको बजेट विद्युतीय गाडीमैत्री छैन ।

वातावरण र प्रकृति साझा सम्पति हो । त्यसैले यो साझा सम्पतिलाई बनाउने जिम्मेवार केन्द्र सरकार वा स्थानीय सरकारमात्र होइन यसमा व्यक्ति पनि उत्तिकै जिम्मेवार हुन्छ । त्यसैले सबैले होस्टेमा हैँसे गर्न सकियो भने यो वर्षको वातावरण दिवसको महत्व बढ्नेछ । वातावरण दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना र लकडाउन पछाडिको स्वच्छ हावा – पानीमा बाँच्न पाइयोस्

नेपाल सरकारका अर्थमन्त्रीले विद्युतीय गाडीमा लगाइएको १० प्रतिशत कर ४०–६० प्रतिशतसम्म पु¥याएको छ र भन्सार शुल्क ६० प्रतिशत बनाएको छ । अर्थमन्त्री युवराज खीतवडा विद्युतीय गाडीलाई रवाफको साधनको रूपमा लिन्छन् । एक वर्ष अगाडिसम्म पनि विद्युतीय गाडीलाई बढावा दिने कार्यक्रम ल्याउने योजना रहेको सरकारले ०७७÷०७८ को बजेटमा ठीक उल्टो व्यवस्था ल्याएको कारणले लकडाउन पछाडि वातावरणमा सुधारको अपेक्षा गर्न सकिने अवस्था छैन । तथापि विभिन्न तह र समुदायबाट सरकारको यो नीतिको विरोध आउन थालेको छ । आशा गरौँ, सरकारले घोषणा गरेको यो नीति रद्द गर्नेछ र नेपालमा विद्युतीय गाडीको सङ्ख्या बढ्नेछ ।
लकडाउन सुरु भएसँगै उपत्यकामा इँटाभट्टाहरूमा इँटा पोल्ने कार्य पनि रोकिएको छ । काठमाडौँ उपत्यकामा मात्र १२२ वटा इँटा भट्टाहरू छन् । ती भट्टाहरूको पीएम १० (PM 10) र कार्बन (Black carbon) को योगदान २८ प्रतिशत र ४० प्रतिशत रहेको छ । विश्व बैङ्कले यो वर्षको अप्रिल महिनामा प्रकाशित प्रतिवेदनअनुसार दिनमा ५०,००० इँटा उत्पादन गर्ने टनेल विधिको इँटा भट्टा नेपालको लागि सुहाउँदो हुन्छ । इँटाको भरपर्दो विकल्प अहिलेको अवस्थामा नआइसकेको अवस्थामा इँटाभट्टाहरूलाई थप वातावरण मैत्री बनाउँदै लगेमा लकडाउनपछि पनि वातावरण सफा रहने सम्भावना छ । २०७६ सालमा वैज्ञानिक जर्नलमा प्रकाशित एक लेखअनुसार PM २.५ र PM 10 का मात्रै नेपालको नियमअनुसार नै रहे तापनि प्रदूषणको तह बढेको पाइएकोले हालको नियममा परिवर्तन गरेर हावाको गुणस्तरमा थप सुधार गर्नुपर्ने आवश्यकता आँैल्याइएको छ । ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (Gobal Institute for Interdisciplinary Studies) का डा. उत्तम बाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको कमीले जनस्वास्थ्यमा क्रान्तिकारी सुधार आएकोले प्रदूषण तह सके कम गर्ने नसके पनि कमसेकम लकडाउनको अवधिको अवस्थामा राखी राख्ने प्रयास गर्नुपर्छ ।
उपत्यकाको वायुको गुणस्तर अहिलेकै अवस्थामा रहन दिन साइकल लेन र बटुवामैत्री पथ निर्माण गर्नु अपरिहार्य छ । काठमाडौँ उपत्यकाको ललितपुरमा कुपण्डोलदेखि मङ्गलबजारसम्म साइकल लेन बनेर गर्त वर्ष उद्घाटन भएको थियो । काठमाडौँमा बबरमहलदेखि तीनकुने, कोटेश्वर र सिनामङ्गलमा पनि साइकल लेन छ भने भक्तपुरमा जगातिदेखि कमलविनायकसम्मको बाटो थोरै हदसम्म भए पनि बटुवा मैत्री छ । संसारका विभिन्न देशहरूमा साइकल र बटुवा मैत्री पथहरू छन् र करोडौँ जनता यसमा सहज मानिरहेका छन् । कोभिड–१९ को लकडाउनपश्चात् इटालीको मिलान सहरले ३५ किमिको साइकल र बटुवा मैत्री बाटो बनाउने, ब्रसेल्स सहरले ४० किमिको साइकल लेन बनाउने, फ्रान्सले साइकल यात्रीहरूलाई छुट दिने र बेलायतले दुई अर्ब पाउन्ड लगाएर भौतिक पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । यसरी नै नेपालमा पनि साइकल र बटुवा मैत्री योजनासँगै सार्वजनिक यातायात मैत्री वातावरण बनाउनेतर्फ उद्यत हुन आवश्यक छ । भएको फुटपाथमा सुधारमात्रै गरेमा पनि बटुवा मैत्री हुनसक्ने सम्भावना छ जसले गर्दा सानो दुरीमा मोटरसाइकल र गाडीको प्रयोगमा कमी आई कार्बन उत्सर्जनमा कमी हुनसक्ने सम्भावना छ ।
योजनामा रहेको निजगढ विमानस्थलको निर्माण भयो भने २४ लाख हुर्किसकेका साल र अन्य प्रजातिका रुखहरू काट्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल सरकारले यी रुखको सट्टा अन्य ठाउँमा उत्तिकै सङ्ख्यामा रुख रोप्ने भनेको छ तर, ती नयाँ रोपिने रुखहरू हुर्कन २०–२५ वर्ष लाग्छ । त्यो समयसम्ममा वातावरणमा ¥हास आउनेछ । त्यसैले प्रकृति मैत्री विकास आवश्यक छ । काठमाडौँको कोटेश्वरदेखि कलङ्कीसम्मको रोड बनाउने क्रममा १२०० वटा रुखहरू काटिएका थिए र कलङ्कीदेखि बालाजु हुँदै महाराजगञ्जसम्मको बाटो विस्तार गर्दा २०५७ वटा रुखहरू काटिने छन् । त्यस्तै भक्तपुरको सूर्यविनायकदेखि पूर्वपट्टिका रुखहरू पनि चाँडै नै काटिने छन् । बाटा छेउका यी रुखहरूले वायु प्रदूषण २५ प्रतिशतसम्म घटाउने वातावरण अध्येताहरू बताउँछन् त्यसैले सकेसम्म बाटा छेउका रुखहरू नकाटी बाटो विस्तार गर्ने ढाँचा निर्माण गर्नु थप सान्दर्भिक भएको छ ।
वातावरण र प्रकृति साझा सम्पति हो । त्यसैले यो साझा सम्पतिलाई बनाउने जिम्मेवार केन्द्र सरकार वा स्थानीय सरकारमात्र होइन यसमा व्यक्ति पनि उत्तिकै जिम्मेवार हुन्छ । त्यसैले सबैले होस्टेमा हैँसे गर्न सकियो भने यो वर्षको वातावरण दिवसको महत्व बढ्नेछ । वातावरण दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना र लकडाउन पछाडिको स्वच्छ हावा – पानीमा बाँच्न पाइयोस्, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *