भर्खरै :

गलवनमा चीन–भारत द्वन्द्व

छिमेकी देश चीन र भारतका सेनाबीच सोमबार गलवन उपत्यकामा भएको भिडन्तले अहिलेको परिस्थितिमा धेरै कुरा सङ्केत गरेको छ । भारतको फासीवादी मोदी सरकारप्रति भारतीय जनताको तीव्र आक्रोशलाई विषयान्तर गर्न मोदी छिमेकीलाई चिढाउने खेल खेलिरहेका छन् । कोभिड–१९ नियन्त्रण र रोकथाममा मोदी सरकारको असफलताको कारण भारतीय जनताबीच उम्लिँदो आक्रोशलाई चीनसँग असान्दर्भिक द्वन्द्व उछालेर मोदी सरकार विषयान्तर गर्न खोज्दै छ । प्रधानमन्त्री पदको लागि दोस्रोपटक चुनाव लड्दाताका मोदीले पुलवामा हमला र ‘सर्जिकल अट्याक’ लाई उछालेर आफ्नो असफलतालाई ‘देशभक्ति’को जामाले छोपेका थिए ।
भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै छ । संसारमा सबभन्दा बढी कोरोना सङ्क्रमित बिरामी भएका देशहरूमा भारत चौथोँ क्रमावलीमा उक्लिसकेको छ । यो सङ्ख्या अझ लामो समयसम्म बढ्दै जाने अवस्था छ । मोदी सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न सकेको छैन । करोडौँ जनता बेरोजगार बनेका छन् । भोकमरी र अपराधको समस्या अझ बढ्दै छ । मोदी सरकारले जतिसुकै आकर्षक नारा दिए पनि भारतीय जनता विश्वस्त हुनसकेका छैनन् ।
मोदीका मित्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो महामारी नियन्त्रणमा लापरबाही गरेको कारण आज जनआक्रोशको शिकार बनिरहेका छन् । भारतमा पनि जनआक्रोश विस्फोट हुने उपयुक्त परिस्थिति बन्दै छ । कपट र धूर्ततामा पोख्त मोदी भारतीय जनताको कोपभाजनको शिकार बन्ने भयले आफ्नो अकर्मण्यता लुकाउन चीनसँग सिमानामा तनाव बढाउने झेलमा लागेका छन् । देशभक्तिको मामिलामा हरेक देशका नागरिक संवदेनशील बन्नु स्वाभाविक हो । भारतीय जनता पनि आफ्नो देशप्रतिको प्रेममा दृढ छन् । भारतीय जनताको यही भावनालाई दुरूपयोग गरेर सरकारको अकर्मण्यता लुकाउने खेलमा मोदी लागेका छन् ।
चीनसँग भारतको तनाव उछाल्ने मोदीको यो काममा संरा अमेरिकी शासक वर्गले साथ दिइरहेको छ । चीनको आर्थिक विकासलाई रोक्न संरा अमेरिकाले हजार थरी जालझेल गरिरहेको छ । तिब्बत, सिन्जियाङ, हङकङ हुँदै अहिले भारतको कुममा बन्दुक राखेर गलवनमा अमेरिका चीनमाथि गोली वर्षाउन खोजिरहेको छ । संसारका दुई उदयीमान अर्थतन्त्र चीन र भारतलाई आपसमा भिडाएर संसारमाथिको आफ्नो नियन्त्रणलाई बलियो राख्ने अमेरिकी चालबाजीबारे विश्वका जनता सचेत छन् । तर, उसको यो जालसाझी सफल बन्ने सम्भावना किमार्थ छैन । भारतीय शासक वर्गले आफ्नो तुच्छ राजनीतिक स्वार्थ पूरा गर्न चीनसँग द्वन्द्व उछाल्न खोजे पनि दुवै देशका जनताले भारत र चीनबीचको एकताको महत्व आजको संसारमा कति व्यापक छ भन्ने कुरा बुझेका छन् । अन्धराष्ट्रवादी र सङ्कीर्ण राष्ट्रवादी भारतका प्रचारमाध्यमले गरेका अतिरञ्जनाबाजीबाट भारतीय जनता सचेत बन्न आवश्यक छ । दुवै देशका सैनिक नेतृत्वले सोमबारको घटनाबारे समीक्षा गर्दै संयम अपनाउने बताइएको छ । आपसी तनाव थप नबढाउने हेतुले चीनले आफ्नो पक्षमा भएको क्षति सार्वजनिक गरेको छैन ।
सार्वभौमिकता र भूअखण्डता रक्षा गर्नु सबै सरकारको दायित्व हो । कमजोर सरकारमात्र आफ्नो भूमि छिमेकी देशले मिचे पनि देखेनदेखेजस्तै बस्छ । जनताको सरकारले त्यस्ता मिचाहा कदमको प्रतिरोध गर्छ । भारतले दुई देशको सिमाना मिचेर चिनियाँ भूमिमा भौतिक निर्माण गर्न खोज्दा चीनबाट प्रतिरोध हुनु स्वाभाविक हो । सम्भावित द्वन्द्व रोक्न दुवै देशका प्रतिनिधिबीच जून ६ मा भएको सहमतिको पूर्ण पालना गर्दै आपसी संवाद र वार्तामार्फत तनाव कम गर्न आवश्यक छ । ट्रम्पले भारत र चीनलाई लडाएर आफूले उठाउन खोजेको फाइदाबारे दुवै देशका जनता सजग बन्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *