भर्खरै :

ओलीको अवस्तुगत बोली

प्रधानमन्त्री केपी ओलीले बिहीबार राष्ट्रियसभामा कोरोना रोगको विषयमा दिएको अभिव्यक्ति संरा अमेरिकामा कोरोना सङ्क्रमणको प्रारम्भिक चरणमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने गरेको अभिव्यक्तिको छनक दिने खालको थियो । प्रधानमन्त्री ओलीले जस्तै ट्रम्पले पनि कोरोना भाइरसको सङ्क्रमण सामान्य रुघाखोजीजस्तै भएको भनेका थिए । ट्रम्पको यही बुझाइकै आधारमा अमेरिकी जनताले कोरोना सङ्क्रमणबारे हेलचक्र्याइ गर्दा आज महामारीको कारण सबभन्दा बढी प्रभावित देश संरा अमेरिका बनेको छ ।
ओलीले बिहीबारकै बैठकमा बेसार र तातोपानीले कोरोना नियन्त्रणमा मद्दत गर्ने दाबी गरे । बेसार र तातोपानीले मानिसको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे कुनै विवाद छैन । तर, त्यसले कोरोना सङ्क्रमितको उपचार गर्ने उनको दाबीमा कति तुक छ ? ओली कुनै वैज्ञानिक वा चिकित्सक होइनन् । प्रधानमन्त्री भएकैले उनले भनेका कुरा सत्य हुन्छ भन्ने कुरा अवस्तुगत छ । उनले आफूलाई लागेकै भरमा वा केही सीमित व्यक्तिको अनुभवकै आधारमा यसलाई प्रभावकारी उपचार विधि भनी औपचारिकरूपमा बोल्दा हुनसक्ने क्षतिबारे सजग बन्नुपर्छ । बेसार र तातोपानीले कोरोना सङ्क्रमणको उपचारमा टेवा पुग्ने सत्य हो भने यसबारे प्रधानमन्त्रीले भन्दा चिकित्सक र वैज्ञानिकहरूले औपचारिकरूपमा बोल्नुपर्छ । नेपाली जनतालाई बेसार र तातोपानी सेवनको लागि विज्ञान र चिकित्साशास्त्रका सम्बन्धित विज्ञहरूमार्फत जानकारी दिइनुपर्छ । सबै व्यक्ति सबै विषयका ज्ञाता हुनसक्दैनन् । अग्लो कुर्सीमा बस्दैमा कोही पनि व्यक्ति सर्वज्ञाता बन्न सक्दैन । प्रधानमन्त्रीलाई यसबारे जानकारी नै भए पनि सम्बन्धित क्षेत्रका विज्ञमार्फत यस्ता भनाइ आए विश्वसनीयताको आधार बन्नसक्छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा ‘नेपाली जनताको प्रतिरोध क्षमता अरू देशको तुलनामा बढी भएको’ बताए । उनले नेपालीहरू हिमाल, पहाडमा उकाली ओराली हिँड्ने, हिमालमा ठोक्किएर आउने चिसो हावाको श्वास फेर्ने’ आदि तर्क अघि सार्दै त्यस्तो दाबी गरेका थिए । तर, संसारमा हिमाल–पहाड भएको देश नेपालमात्र होइन । शारीरिक परिश्रम बढी गर्ने मानिस नेपालीमात्र होइनन् । त्यसकारण प्रधानमन्त्री ओलीको सो भनाइको कुनै वस्तुगत र वैज्ञानिक आधार छैन । खासमा उनको भनाइ अन्धराष्ट्रवादी भावनामा आधारित छ । प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले कोरोना नियन्त्रणको लागि सरकारी असफलता ढाकछोप गर्न खोजेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले भारतसँगको सिमानामा नियन्त्रण, क्वारेन्टिन स्थलको उचित बन्दोबस्त, अस्पताल र स्वास्थ्यचौकीलाई भौतिक पूर्वाधारसम्पन्न बनाउने, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्रीको बन्दोबस्त, लकडाउनको उचित व्यवस्थापन, जनजीवनमा सहजता, आर्थिक जीवनमा गति दिन सरकारले खास प्रभावकारिता देखाउन सकेको छैन । सरकारकै पूर्वतयारी र सावधानीको अभावका कारण आज जिल्ला–जिल्लामा कोरोनाको सङ्क्रमणले भयावह रूप लिइरहेको छ । महामारी प्रतिरोधको लागि भनी सरकारले विगत तीन महिनादेखि लकडाउन गरेको छ । तर, यसबीच सरकारले महामारी रोकथाम र नियन्त्रणको लागि आवश्यक पूर्वाधारमा कुनै उल्लेख्य सुधार गर्नसकेको छैन । यस्ता सबै समस्या र कमजोरीलाई विषयान्तर गर्न प्रधानमन्त्री ओली संसदमा हचुवा कुरा गरेर सस्तो चर्चा बटुल्न खोज्दै छन् ।
प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले विषयविज्ञहरूलाई निराशा त बनाउने नै छ । साथै राजनीतिक नेतृत्वप्रति जनताको विश्वास पनि क्रमशः पातलो बन्दै जानेछ । राजनीतिक नेतृत्वले बिनावैज्ञानिक आधार मनपरी बोल्नुको मूल्य देश र जनताले भोग्नुपर्ने हुन्छ । ओलीका यस्ता कमजोरीलाई वाहवाही गरेर थप गल्ती गर्न उत्साहित पार्ने अन्धभक्तहरू पनि यसका अंशियार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *