भर्खरै :

‘जब चीनले विश्वको नेतृत्व गर्नेछ’ बारे एक छलफल–२

युरोपको असाधारणवाद
आधुनिकतालाई हेर्ने दृष्टिकोणमा बितेका दुई शताब्दीभित्र युरोपको मोडलले विश्वव्यापी मान्यता र वर्चश्व कायम गर्‍यो । आधुनिकताको बाटोमा युरोपको यात्राका असाधारण विशेषता के रहे ? पुस्तकले चर्चा गरेको छ । युरोपेली मुलुकहरूले एक अर्कासँगको युद्धमा असामान्य समय र ऊर्जा खर्च गरे पनि १६ औँ शताब्दीको मध्यबाट सुरु भएको आधुनिकताको यात्रामा केही अपवाद (अटोमन साम्राज्य) बाहेक बाह्य चुनौतीको सामना गर्न परेन । एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्वले आधुनिक बन्ने लक्ष्यमा पुग्न बाह्य हमला (Predator) को सामना गर्नुपर्‍यो । आधुनिक युरोपेली मुलुकको रूपमा उत्तर अमेरिकाले समेत आर्थिक उडानका निम्ति बेलायतसँग अमेरिकी स्वतन्त्रता युद्ध लड्यो ।
युरोपको औपनिवेशिक इतिहास अर्को असाधारण विशेषता रह्यो । १६ औँ शताब्दीदेखि सन् १९३० को दसकसम्म युरोपेली मुलुकहरूले झन्डै उस्तै प्रकृतिले सम्पूर्ण विश्वमा आफ्नो साम्राज्य फैलाए । उपनिवेशहरूको असीमित स्रोतकै आधारमा युरोपको आर्थिक उडान सम्भव भएको हो । सन् १८६८ पछि जापानबाहेक कुनै पनि गैरयुरोपेली मुलुकले १९ औँ शताब्दीको आर्थिक उडान भर्न सकेनन् । फलस्वरूप अधिकांश मुलुक युरोपेली शक्तिको उपनिवेश बन्नुपर्‍यो ।
विश्वव्यापी आधुनिकीकरणका निम्ति औद्योगीकरणको माध्यमबाट कृषिप्रधान समाज, सेवामा आधारित समाजमा रूपान्तरण भयो । यस विषयमा पनि युरोपको असाधारणवाद भेटिन्छ । बेलायत, बेल्जियम र जर्मनीलगायत सम्पूर्ण १६ युरोपेली मुलुकहरूमा कृषि वा सेवा क्षेत्रमा भन्दा औद्योगिक क्षेत्रमा धेरै रोजगारी उपलब्ध थियो । सन् १९११ मा बेलायतमा औद्योगिक रोजगारी ५२.२ प्रतिशत थियो जबकि संरा अमेरिकामा सन् १९६७ मा यसको आँकडा जम्मा ३५.८ प्रतिशतमात्र थियो । युरोपको आधुनिकीकरणको विशिष्ट विशेषतामध्ये यो तथ्याङ्कको महत्वपूर्ण स्थान छ जसकारण वर्गसङ्घर्ष र ट्रेड युनियनको केन्द्र बन्यो । यसअघिका आर्थिक परिवर्तनको तुलनामा युरोपको औद्योगीकरण अत्यन्त तीव्रगतिमा भएको भए पनि पछि संरा अमेरिका र पूर्वी एसियाको गतिको तुलनामा अत्यन्त ढिलो थियो । संरा अमेरिका, टोकियो, सिउल, सिङ्गापुर, साङ्घाई, क्‍वालालम्पुर र हङकङको आजको स्थितिमा पुग्न बेलायतलाई दुई शताब्दी लागेको थियो ।
युरोपको अर्को विशिष्ट विशेषता भनेको आन्तरिक युद्ध (युरोपेली महादेशभित्रकै युद्ध) को सुरुआत सन् १०५४ बाट भयो । जसको कारण पूर्वी र पश्चिमी इसाई धर्मबीचको द्वन्द्व थियो । यसको निरन्तरता सन् १५१७ मा क्याथोलिकवाद र प्रोटेस्टेन्टवादबीचको फाटोले लियो । धार्मिक रूपमा सुरुआत भएको द्वन्द्व पछि सिद्धान्त (विचारधारा) को द्वन्द्वमा परिणत भयो । यी द्वन्द्वहरूकै कारण युद्धकलाको राम्रो विकास भयो साथै लुटपात अगाडि बढ्यो । लुटपातको विकास भएकै कारण उपनिवेश लाद्‍न उनीहरू सफल भए । अन्य कुनै महादेशमा भन्दा अधिक पृथक चरित्र युरोपको यही नै थियो । गैरधार्मिक वादहरूमा उदारवाद, अराजकतावाद, समाजवाद, साम्यवाद, गणतन्त्रवाद, राजतन्त्रवाद, प्रोटेस्टेन्टवाद र फासीवाद आदि युरोपमा जन्म भएका वाद हुन् । सन् १५४० देखि १६९० सम्म युरोपको आन्तरिक युद्ध आधुनिक राज्यको एकीकरणमा केन्द्रित थियो । फ्रान्सेली क्रान्तिले वर्गसङ्घर्षको महत्व बढायो । १९ औँ शताब्दीको सुरुवातसँगै २० औँ शताब्दीको अन्त्यसम्म युरोपेली राजनीति र समाजको ओजपूर्ण भाषाको निर्माण भयो । सन् १७९२ देखि १८७० सम्म राष्ट्रिय राज्यहरूको निर्माणमा युरोपेली आन्तरिक युद्ध केन्द्रित थियो । १९ औँ शताब्दीको अन्त्यतिर यी मुलुकहरूबीचको द्वन्द्वले विश्वव्यापी  आकार लियो । उपनिवेशमाथिको दमन, विशेषगरी अफ्रिकामाथिको नियन्त्रणले पहिलो विश्वयुद्ध गराउन मद्दत पुर्‍यायो । त्यस्तैगरी विश्वलाई आफ्नो तखतमा राख्ने तीव्रगतिको होडका कारण युरोपेली भूमिमा दोस्रो विश्व युद्धको विजारोपण भयो । विश्वव्यापी रूप ग्रहण गरेको युरोपेली आन्तरिक द्वन्द्वको अर्को रूप शीतयुद्ध थियो जुन पुँजीवाद र साम्यवादबीचको सैद्धान्तिक विभाजनको आधारमा भयो ।
अन्त्यमा युरोपको रूपान्तरणलाई व्यक्तिवादले पनि पृथक (असाधारण) बनायो । व्यक्तिभन्दा समाजलाई केन्द्रमा राख्ने पूर्व तथा दक्षिण एसियाली परम्पराभन्दा यो अत्यन्त फरक थियो । भारत–चीनलगायतका देशमा पाइने संयुक्त परिवार, मागी विवाह, कौटुम्बिक प्रणालीभन्दा एकल परिवारलाई बढावा दिने व्यक्तिवादी प्रणालीबीच आकाश जमीनको फरक हुने नै भयो ।
आधुनिक रूपान्तरणका निम्ति युरोपले अत्यन्त पृथक रूप ग्रहण गरेको थियो । बाह्य चुनौतीको अभाव, तुलनात्मकरूपमा ढिलो विकास, आन्तरिक युद्ध र व्यक्तिवाद युरोपको असाधारण विशेषता थिए ।
युरोपको प्रभुत्व
उन्नाइसौँ शताब्दीको सुरुआतमा पश्चिम युरोप र उत्तर अमेरिकी समुद्र किनारको कुल गार्हस्थ उत्पादन दक्षिण एसियाको भन्दा झन्डै दुई गुणा थियो र जापान र चीनको पूर्वी तथा दक्षिण समुद्री किनारको हाराहारीमा थियो । सन् १९०० सम्म आइपुग्दा पश्चिम युरोपेली तथा उत्तर अमेरिकी समुद्र किनारका क्षेत्रमा चीनको तुलनामा दश गुणा पुग्यो । यो (सङ्क्रमण) रूपान्तरणको प्रमुख कारण औद्योगिक क्रान्ति थियो ।
युरोप र झन्डै बाँकी पूरै विश्वबीचको यस आर्थिक खाडल नै विश्वमाथि युरोपको प्रभुत्व बढ्नुको ठूलो कारण बन्यो । सत्रौँ शताब्दीबाट सुरु भएको उपनिवेशवादी युग अठारौँ शताब्दीको मध्यबाट भारतमा उपनिवेश विस्तारसँगै तिव्रगतिमा अघि बढ्यो । इसाई धर्म, सभ्यता र जातीय श्रेष्ठता, सेना र जलसेनाको अतुलनीय शक्तिको कारण बेलायत र फ्रान्सले नेतृत्व गरेको युरोपले सम्पूर्ण विश्वमा राज गर्‍यो । चीन, भारत, उत्तर अमेरिकी आदिवासी, अस्ट्रेलिया र दक्षिण अफ्रिकालगायतका देशमा युरोपविरुद्ध आफ्नो धर्म, शासन, जमिन तथा स्रोतका निम्ति गोरा र गैरगोराबीच निर्मम युद्ध भए ।
विश्वको ७ प्रतिशत जमिन र १८ प्रतिशत जनसङ्ख्या भएको पश्चिम युरोपले ३७ प्रतिशत जमिन र २८ प्रतिशत जनसङ्ख्यामाथि कब्जा गरेर विश्व इतिहासमा विशाल असमानता कायम गरेको इतिहास थियो त्यो ।
विश्व शक्तिको हैसियतमा बेलायतले आफ्नो स्वार्थअनुरूप विश्व व्यापार प्रणालीलाई नयाँ रूप दियो । आफ्नो औद्योगिक उत्पादन निर्यात गर्ने र खाद्य सामग्री तथा कच्चापदार्थ न्यून मूल्यमा आयात गर्ने नीति लियो । जसले बाँकी विश्वको औद्योगीकरण अत्यन्त न्यून अर्थात् झन्डै शून्यमा पुगेको देखिन्छ । भारत, उत्तर अमेरिका र अफ्रिकामा उपनिवेश पूर्व र पछिको सालाखाला जनसङ्ख्या झन्डै उही रह्यो । भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सन् १७०० मा ५५० अमेरिकी डलर, सन् १८२० मा ५३३ अमेरिकी डलर र सन् १८०० मा ५३३ अमेरिकी डलरमात्र रह्यो । २५० वर्षको बेलायती उपनिवेशकालमा भारतको प्रतिव्यक्ति कुल गाहस्थ उत्पादन जम्मा ५.५ प्रतिशतले बढेको थियो ।
युरोपले आर्थिक र सैनिक बलको शक्तिशाली समिश्रणले सन् १८०० पछि एसियाको आर्थिक प्रगतिको बाटो रोक्यो । बेलायत र बेलायतका शासित भारतको आर्थिक लाभको निम्ति भारतमा उत्पादित अफिम चीनमा बिक्री गर्न सन् १८३३–१८४२ सम्म चीनमा अफिम युद्ध गर्‍यो । कैयौँ सम्झौता लादेर चीनमाथि पश्चिमले पूर्ण नियन्त्रण कायम राख्यो ।
चीनकै नियती भोग्नुपर्ने डरले जापानले तीव्र आधुनिकीकरणको दिशामा सन् १८६८ बाट व्यवस्थित प्रक्रिया सुरु गर्‍यो । जापानी विज्ञहरूको समूहलाई युरोपको शिक्षा सेना तथा जलसेना आदिको प्रणाली अध्ययन गर्न युरोप पठायो । आफूलाई एसियाली मुलुकको दर्जाबाट युरोपेली शक्ति मुलुकको शैलीमा रूपान्तरण गर्‍यो । ताइवान, कोरिया र चीनका केही भागमाथि उपनिवेश लाद्‌दै जापानले पश्चिमी बाटो अङ्गाल्यो ।
युरोपको उदयले सबैका निम्ति खेलको नियम नै परिवर्तन भएको अनुभव गरियो । औद्योगीकरणबाटै केसम्म गर्न सकिन्छ भन्ने देखाइयो । सारा संसारलाई आधुनिकीकरणको बाटोमा जान बाध्य पार्‍यो ।
युरोपेली शक्तिको उच्चतम बिन्दु पहिलो विश्वयुद्धको सुरुआतको समयसम्म रह्यो । त्यसपछि संरा अमेरिका आर्थिक शक्तिका साथै उदाउँदो सांस्कृतिक र बौद्धिक प्रभावको क्षेत्रमा युरोपको उत्तराधिकारीको रूपमा उदय भयो । युरोपको शक्तिको क्षयीकरण १९४५ पछि भारतीय महाद्वीप, इन्डोनेसिया, अधिकांश अफ्रिका, हिन्द चीन र मलेसियालगायतको स्वतन्त्रतासँगै तीव्र बन्यो । सन् १९०० मा जस्तै पृथ्वीको नक्सा पुनर्लेखन भयो तर ठीक उल्टो दिशामा । बिसौँ शताब्दीको सबैभन्दा महत्वपूर्ण घटनाको रूपमा यसलाई लिन सकिन्छ । जसले पृथ्वीको बहुसङ्ख्यक जनसङ्ख्यालाई एक्‍काइसौँ शताब्दीको प्रमुख खेलाडीमा रूपान्तरण गर्ने जग बसाल्यो ।
संरा अमेरिकाको उदय
संरा अमेरिका र युरोपको आधुनिकीकरणको बाटोलाई समग्रमा पश्चिमी मोडल भनिए पनि संरा अमेरिकाको उदय फरक मानिन्छ । साझा बिन्दु भनेको सन् १६०७ मा युरोपबाट आएका आप्रवासी हुन् । सन् १७९० मा संरा अमेरिकाको जनसङ्ख्या ३९ लाख २९ हजार थियो । तीमध्ये ६ लाख ९८ हजार दास थिए जसलाई अमेरिकी गोरा समाजका अङ्गको रूपमा हेरिँदैन थियो । झन्डै ८० प्रतिशत बेलायती (जर्मनी र डच त्यसपछिको बढी) आप्रवासीले आफूसँग लिएर आएका मूल्य मान्यता, विचार, ज्ञान र परम्परासँगै नयाँ विश्वमा नयाँ व्यवस्था पुनः निर्माण गर्दै थिए । युरोपमा भन्दा भिन्न, संरा अमेरिकी पुँजीवाद पूर्ववर्ती सामन्तीबाट बनेको थिएन । आप्रवासीहरू स्थापित सामाजिक संरचना वा मान्यताबाट बाँधिएका थिएनन् । यसले स्थानीय आदिवासीहरूको जातीय नरसंहारजस्तो सबैभन्दा क्रूर कार्य पनि गर्यो । युरोपमा जर्मनीको स्वामित्वबारे समस्या थियो तर संरा अमेरिकी आप्रवासीले असीमित जमिन कब्जा र विस्तार गरे । संरा अमेरिका सादा कागजजस्तो थियो जसमा आफ्नै नियमहरू कोरे । आफ्नै नयाँ संस्थाहरू निर्माण गरे । प्रोटेस्टेन्ट सिद्धान्त अँगाल्दै संरा अमेरिकाले भूमण्डलीकरण र अन्ततः विश्वव्यापी मिसन यो बाटो संविधानबाट नै निर्दिष्ट गरे ।
शक्तिशाली मूल्य तथा धार्मिक आस्था बोकेर आएका युरोपेली आप्रवासीहरूको बीचमा वर्गको चरित्र थिएन । निरन्तर अगाडि बढ्दो नेतृत्व र असीमित जमिन (प्राकृतिक स्रोत) ले अपार सम्भावनाहरूको ढोका खोलेको थियो । सापेक्षिकरूपमा श्रमिकहरूको अभावका कारण श्रमिक कम लाग्ने मेसिनरी र उत्पादकत्व बढाउने आकाङ्‌क्षा बढ्दो थियो । यसको फलस्वरूप संरा अमेरिकामा युरोपमा भन्दा बढी प्राविधिक अन्वेषण, यान्त्रिकीकरण, उत्पादनमा अब्बलीकरण (Standarization), श्रम प्रक्रियामा निरन्तर सुधार, ठुलो मात्रामा उत्पादन आदि कार्य अगाडि बढ्यो । फलस्वरूप उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा अमेरिकी पुँजीवाद युरोपेली पुँजीवादको तुलनामा अत्यन्त चलायमान र नवीन अन्वेषणात्मक सावित भयो ।
सन् १८२० मा विश्वको कुल गार्हस्थ उत्पादनमा संरा अमेरिकाको योगदान १.८ प्रतिशतमात्र थियो । त्यो समयमा बेलायत र जर्मनीको भूमिका क्रमश ५.२ प्रतिशत र ३.९ प्रतिशत थियो । सन् १८७० सम्ममा संरा अमेरिकाको भूमिका ८.८ प्रतिशत पुग्यो, बेलायतको ९ प्रतिशत र जर्मनीको ६.५ प्रतिशत थियो । सन् १९१४ सम्म आइपुग्दा संरा अमेरिकाको भूमिका १८.९ प्रतिशत पुग्यो जबकि बेलायतको ८.२ प्रतिशत र जर्मनीको ८.७ प्रतिशत थियो । त्यस्तै सन् १९५० सम्ममा संरा अमेरिकाको योगदान २७.३ मा उक्लियो । जबकि बेलायतको भूमिका ६.५ प्रतिशत र जर्मनीको भूमिका ५.० प्रतिशतमा खुम्चियो । सारा पश्चिम युरोपको योगदान २६.२ प्रतिशतमात्र थियो  दुई वटा विश्वयुद्धपछि या सन् १९४५ पछि संरा अमेरिका विश्व शक्तिको रूपमा स्थापित भयो । संरा अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय मुद्राको मान्यता दिइयो, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्कजस्ता नयाँ संस्थाहरूको स्थापनाले संरा अमेरिकाको आर्थिक एकाधिकार कायम गर्‍यो । वायुसेनामा संरा अमेरिकी शक्तिको विकास अतुलनीय थियो । हलिउड र टेलिचलचित्र आदिमार्फत संरा अमेरिकाले सांस्कृतिक शक्ति र प्रभाव बढाउन नयाँ खालको उपाय अपनायो । त्यहाँका विश्वविद्यालयहरू संसारभरिका विज्ञ र विद्यार्थी तान्ने बलियो चुम्बकजस्तै बनाइए ।
यसरी संरा अमेरिका आधुनिकीकरणको नयाँ नमुना बन्यो । ‘सिलिकन भ्याली’ को उदय, कस्मेटिक सर्जरी र हिस्प्यानियाली अल्पसङ्ख्यकको महत्व आदि फरक ढङ्गले पछिल्लो अमेरिकी सोचको प्रतीक बन्यो । युरोपबाट टाढा रहेको संरा अमेरिकी आधुनिकता फरक भए तापनि आधुनिक अमेरिका युरोपको जगमा नै उठेको हो यसमा दुविधा छैन । विश्व हेर्ने दृष्टिकोणको विषयमा दुवैको आशक्ति उस्तै छ । पूर्वज, जाति, इतिहास, परम्परा, धर्म, आस्था, साझा स्वार्थको अपनत्व आदि सारा तर्क र विवादमाथि हावी भएको छ । ‘पश्चिम’ राष्ट्रले मात्र भूराजनीतिलाई जनाउँदैन । यसले त परम्परागत जातीयतालाई ‘पश्चिमा’ शब्दले झल्काउँछ । अहिले सारा मानिस बाँचिरहेको विश्वलाई पश्चिमले आफ्नो प्रभावमा राखेको हो । पछिल्लो समय यसमाथि चीनको चुनौती बढ्दै गए पनि पश्चिमका भूराजनैतिक र सांस्कृतिक प्रभुत्व कायमै छ । पश्चिमको प्रभाव मस्तिष्कमा यसरी गडेको छ कि पश्चिमविनाको विश्व मानिसले कल्पना गर्न पनि गाह्रो मान्छन् वा पश्चिमविना विश्व हुनसक्छ भन्ने सोच्न असम्भव ठान्छन् । यसको जरा यति गहिरो र यसको व्यापकता यति फैलिएको छ कि मानिसले यसलाई प्राकृतिकरूपमा ग्रहण गरेका छन् । तर, यो प्रभाव अमर नरहने थुप्रै आधारहरू पुस्तकभित्र छन् । इतिहासविद् जे.एम.रोवर्टस् लेख्छन्, “पश्चिमा सभ्यता अब मानव समाजको कथा बनिसकेको छ । यसको प्रभाव यति व्यापकरूपमा फैलिएको छ कि यसको विरोध वा विरोधाभास गौण बनिसकेको छ । तर, पश्चिमा प्रभुत्व न प्राकृतिक उत्पादन हो । त्यसकारण अन्ततः कुनै विन्दुमा यसको अन्त्य अवश्यम्भावी छ ।”
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *