भर्खरै :

लेनिन कथा – १८ आँधीको आत्तुरी

            (विश्वका सम्पूर्ण कामदार जनताका महान गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
            यसअघि हामीले लेनिनको फिनलेन्ड बसाइ र रुस फर्किन उहाँले गरेको तयारीबारे पढ्यौँ ।)
अर्को गुप्तवास
            भिबोर्गको पुरानो सडकमा चिसो बतास चलिरहेको थियो ।
            यस्तै एक चिसो रातमा एइनो राहिया पेत्रोग्राडदेखि भिबोर्ग आए । उनी अग्लो कदसितका युवक थिए । हँसिलो अनुहार र तेजिलो दिमाग थियो उनको । गर्मीयामको अन्त्यमा लेनिनलाई रजलिभ तालदेखि उदेल्नाया स्टेसनसम्म पुर्‍याउनेहरूमा पेत्रोग्राडका यी फिनिश मजदुर पनि थिए । पार्टीको केन्द्रीय समितिले उनलाई लेनिनको सम्पर्क दूतको काम सुम्पेको थियो ।
            यसपालि राहिया लेनिनलाई लिन भिबोर्ग आएका थिए । लेनिन हेल्सिङफोर्सदेखि यहाँ रूसनजिकै आएका थिए । उनी रूस पुग्न हतारिएका थिए । अब त्यो क्षण पनि नजिकिएको थियो ।
            लेनिन डराइरहेका थिए तर राहियालाई कुनै डर थिएन ।
            “स्टेसन जानु छ भ्लादीमिर इल्यीच,” यति भनेर राहिया अघि लम्किए । राहिया पनि डराइरहेका थिए । उनले डर लुकाएका मात्र थिए । लेनिनले पनि आफ्नो डर लुकाइरहेका थिए । उनीहरू गाडीमा बसेर चुपचाप एक फिनिश स्टेसनमा पुगे । डिब्बाका सबै यात्रुहरू फिनिश थिए । लेनिनले फिनिश भाषा बुझ्दैनथे । यात्रुहरूको ध्यान आफूतिर नतानियोस् भनेर उनी चुपचाप बसिरहे ।
            बेलाबेला लेनिन गोजीमा राखिएको चाबी खुसुक्क छाम्थे । यो पेत्रोग्राडनिरको मजदुर बस्तीस्थित एउटा गोप्य कोठाको चाबी थियो ।
            रेल रोकिनुपर्ने स्टेसननिर पुग्न थाल्यो । राहिया जुरुक्क उठे र डिब्बाको ढोकातिर लम्किए । लेनिन पनि उनको पछि–पछि लागे । स्टेसन आउनेबित्तिकै उनीहरू ओर्लिए । एकाएक लेनिन चकित भए । जाने गाडी खडा थियो र त्यसको इन्जिन नं. थियो २९३ । “आहा ! हाम्रो पुरानो साथी, पहिले मद्दत गरेको थियो, अब पनि गर्नेछ ।”
इन्जिनको केभिनबाट ड्राइभर गुगो यालाभा गम्भीर मुद्रा बनाई बाहिर हेरिरहेका थिए । तर, राहिया र परिचित फायरमेनलाई देख्नेबित्तिकै उनी मुस्कुराए, “हाम्रो फायरमेन अलि बुढो भएछ ।”
            अब भने लेनिन त्यसै इन्जिनमा सवार भई फिनलेन्डदेखि उडेल्नाया स्टेसन फर्किरहेका थिए । उनी पुग्नुपर्ने ठाउँ उडेल्नायादेखि करिब पाँच भेस्र्तको दूरीमा थियो । अक्टोबरको त्यो चिसो साँझ सडक सुनसान थियो । खालि हावा बतासिएको थियो ।
            यता निर्धारित स्थानमा क्रुप्सकायाले उनको प्रतीक्षा गरिरहेकी थिइन् । उनले बाक्लो कपडाको हाफकोट र फेल्टको गोलो टोपी लगाएकी थिइन् । लेनिनले चिसोले कठ्याङ्ग्रिएका उनका हात आफ्नो हातमा लिए । उनले पञ्जा लगाएकी थिइनन् । आफ्नो चिन्ता लिन क्रुप्सकायाले कहिल्यै जानेकी थिइनन् । हर्दम क्रान्तिको काममै दत्तचित्त रहन्थिन् । पार्टीले जहाँ खटायो त्यहीँ जान उनी हर क्षण तम्तयार रहन्थिन् ।
            सर्दोभोल्स्काया सडक र बोल्शोइ सम्प्सोनेभ्स्की प्रोस्पेक्टको चौराहमा इँटाले बनेको ठुलो चारतले कुरूप भवन थियो । आसपासका सबै घरहरू साधारण र काठले बनेका थिए ।
लेनिन दृढतापूर्वक ढोकातर्फ लम्के । मानौँ उनी यस घरका बासिन्दा हुन् । एइनो राहिया सम्प्सोनेभ्स्की प्रोस्पेक्टतिर मोडिए । उनको आजको काम पूरा भएको थियो । लेनिन र क्रुप्सकाया सिँढी उक्लेर चौथो तलामा पुगे । ताला खोलेर ढोका धकेले । ढोका गल्लीमा खुल्यो र गल्लीको पुछारमा लेनिनको कोठा थियो । बायाँतिरबाट चौथो । घरमा घर मालिक्नीबाहेक अरू कोही छैन भनी क्रुप्सकायाले बताइन् । मालिक्नी मार्गरिता वसिलेभ्ना फोफानोभा उनकी सङ्गिनी थिइन् ।
            लौ यो के भएको ? यो आवाज कहाँबाट आयो ? लेनिनले एउटा कोठामा उज्यालो देखे ।  त्यहाँ टेबलको वरपर केही महिलाहरू बसेका थिए । झट्ट हेर्दा शिक्षिकाजस्ता देखिन्थे ।
            “हो, शिक्षाको उद्देश्य हो… ।” लेनिनले सुने ।
            गोप्य घरमा बैठक भइरहेको कुरामा झ्याप्प विश्वास हुन्नथ्यो । त्यो पनि उनी आएकै दिन । लेनिनले लुरुलुरु गल्ली पार गरे । कम्मर नुघाउँदै । भेषअनुसार बुढोको नाटक पनि गर्नु थियो ।
            “हरे !” निर्धारित कोठामा पुगेपछि क्रुप्सकायाले पछुतो मानिन् । “मैले र मार्गरिताले ठुलो बेकुफी गर्‍यौँ है ?”
            “हो, बेकुफी त हो,” लेनिनले भने ।
            उनले क्रुप्सकायालाई ढाडस दिने कुनै कोसिस गरेनन् । भयो छोड्देऊ, भइहाल्यो, सबै ठीक हुनेछ आदि भनेनन् । ठीकठाक त हुनेछ नै । तर, यस्तो सङ्गिन समयमा यस्तो खतरा मोल्नु बुद्धिमानी थिएन ।
            “यो अन्तिम गुप्तवास होस्,” लेनिनले झ्यालका पल्ला खोल्दै भने । तल रुखहरूबीच सिरसिरे हावा चल्दै थियो ।
            “एकदम खतरा छ, एकदम…,” क्रुप्सकाया भुन्भुनिएकी थिइन् ।
            उनी अत्यन्तै डराइरहेकी छिन् भन्ने लेनिनले भेउ पाए । हो, यहाँ सेर्दोभोल्स्काया सडकमा रजलिभको छाप्रोमा वा हेल्सिङफोर्समा भन्दा बढी खतरा थियो । यहाँ मोड–मोडमा, पाइला–पाइलामा अस्थायी सरकारका सुराकी थिए ।
            खतरा कतिसम्म थियो भने फिनलेन्डबाट फर्केका लेनिन कहाँ बसेका छन् भन्ने कुरा कसैलाई थाहा थिएन । पार्टीको केन्द्रीय समितिका सदस्यहरूलाई समेत यसको सुइँको थिएन । यो कुरा खालि क्रुप्सकाया र एइनो राहियामा सीमित थियो ।
क्रान्तिको मुखमा
            केही दिनपछि लेनिनलाई एक गुप्त बैठकमा लैजान राहिया आए । रात छिपिसकेको थियो । सबै पसलहरू बन्द भइसकेका थिए । घरबाट केही दुरीमा सुनौलो बिस्कुटको साइनबोर्ड टाँगिएको रोटी पसल थियो । ढोकामा ताला लागेको थियो । झ्यालहरू पनि बन्द थिए । पसलअगाडि लामो लाइन थियो । उभिनेमा धेरैजसो आइमाइ थिए । उनीहरू सबैले मजेत्रो ओढेका थिए । चिसोले काम्दै ठूलो धैर्यका साथ उनीहरू प्रतीक्षारत थिए । यस्तै हाल अरू पसलअगाडि पनि थियो । पेत्रोग्राडमा पाइलैपिच्छे यस्ता थकित, गलित र उकुसमुकुस लाइनहरू देखापर्थे । खाद्यसामग्रीको वितरण पहिल्यै भइसकेको थियो । हरेकलाई कहिले आधा त कहिले चौथाइ पाउन्ड खाद्यसामग्री दिइन्थ्यो । प्रत्येक व्यक्ति छिटोभन्दा छिटो किन्न चाहन्थ्यो । ढिलो गरेमा कसैगरी किन्न सकिँदैनथ्यो । आइमाइहरू रातभर लाइन लगाएर रोटी पसलसामु उभिरहन्थे । उनीहरूको शिरमा दुःखको पहाड खसेको थियो । पति र छोराहरू युद्धका मोर्चाहरूमा अकारण मारिइरहेका थिए । लडाइँ रोकिने छाँट थिएन ।
            “मेरो देशको हाल पनि खासै राम्रो छैन । मालिकहरूले धमाधम कारखाना बन्द गरिरहेका छन् । मेसिनहरू बन्द छन् । बेरोजगारी बढिरहेछ ।” एइनो राहियाले भने ।
            देश साँच्चै सड्ढटपूर्ण स्थितिबाट गुज्रिरहेको थियो । रेलगाडीहरू जसोतसो चलिरहेका थिए । कलकारखानाहरू कोइला र कच्चापदार्थको पर्खाइमा थिए । सहर खाद्यपदार्थको पर्खाइमा थियो ।
            “अब केको प्रतीक्षा हो त ?” राहियाले सोध्यो ।
            “बोल्शेभिकलाई थाहा हुनुपर्ने हो,” लेनिनले कडा पारामा जवाफ दिए ।
            “बोल्शेभिकहरूले प्रतीक्षा होइन, सर्वहारा क्रान्ति गर्नुपर्छ ।”
            फेब्रुअरी क्रान्तिको सुरुदेखि नै लेनिनले बोल्शेभिकहरूले सोभियतहरूमा कब्जा जमाउनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थिए । अनिमात्र मजदुर वर्गले शान्तिपूर्ण तरिकाले सत्ता हत्याउनसक्थ्यो । तर मेन्शेभिकहरूले पाइला–पाइलामा भाँजो हाले ।
            स्थिति अब एकदम बदलिएको थियो । सशस्त्र क्रान्तिको समय आएको थियो । अझै अबेला गर्नु ठीक थिएन ।
            अक्टोबरको त्यो साँझ गुप्त बैठकमा पार्टीका केन्द्रीय समितिका सबै सदस्यहरू उपस्थित थिए । बैठकमा लेनिन पनि आउने सुइँको सबैले पाएका थिए । उनीहरूले धेरै समयदेखि लेनिनलाई देखेका थिएनन् । यसर्थ सबैले अधीर भई प्रतीक्षा गरिरहेका थिए । वृद्धको भेषमा लेनिनलाई चिन्न कठिन थियो । तर विचार, स्वर, नारा र सङ्कल्पशक्ति सबथोक लेनिनका थिए ।
            “हामीले सशस्त्र क्रान्तिको तयारी गर्नु छ ! फौजलाई मजदुरहरूको पक्षमा ल्याउनु छ । सबैभन्दा सबल बोल्शेभिकहरूलाई विभिन्न प्रान्त र सहरहरूमा पठाउनु छ । कलकारखानाका लालगार्ड दलहरूलाई  हतियारले सुसज्जित तुल्याउनु छ । उनीहरूको नेतृत्व गर्ने अनुभवी र समझदार कमान्डर नियुक्त गर्नु छ ।”
            “हामीले क्रान्तिको समय आएपछि कुन लालगार्ड दल कतातिर बढ्नेछ भन्ने कुराको पनि निक्र्योल गर्नु छ । क्रान्तिको नेतृत्व सैनिक क्रान्तिकारी समितिले गर्नेछ ।”
यो थियो सशस्त्र क्रान्तिको योजना । केन्द्रीय समितिले यसमाथि विचार गर्‍यो, छलफल गर्‍यो । सबै ठीक छ, स्पष्ट छ । अधिकतर सदस्य सहमत भए ।
            तर केन्द्रीय समितिमा दुई सदस्य यस्ता थिए, जसले आफूलाई भन्न त बोल्शेभिक भन्थे, तर सर्वहारा क्रान्तिको जोडदार विरोध गर्थे ।
            उनीहरू पार्टी र लेनिनको योजनामा सहमत थिएनन् । यी दुई सदस्य थिए जियोभियभ र कामेनेभ । जियोभियभ र कामेनेभ दुवै बहस गर्न जान्दथे । दुवै उत्कृष्ट वक्ता थिए । क्रान्तिको कुरा उठेपछि दुवै हच्किए ।
            “के मजदुर वर्गमा राज्य सञ्चालन गर्नसक्ने योग्यता छ ?” दुवैले अविश्वास प्रकट गर्दै सोधे ।
            यस निर्णायक घडीमा दुवैले क्रान्तिको योजनाको विरोध गरे । यतिमात्र होइन उनीहरूले एक मेन्शेभिक पत्रिकामा यस योजनाको खबर पनि छापे । यसरी बोल्शेभिकहरूले कहाँ, कहिले र कसरी क्रान्ति सुरु गर्दै छन् भनी अस्थायी सरकार र पुँजीपतिहरूलाई बताइदिए ।
            “अब यी दुवैलाई आफ्नो साथी मान्दिन भन्दा मलाई आपत्ति हुनेछैन…” रोषपूर्वक लेनिनले लेखे । “…यस्तो कठिन घडीमा, यस्तो महत्वपूर्ण काममा यति ठुलो विश्वासघात !”
            तर लेनिन विचलित भएनन् । क्रान्ति भई छोड्नेछ । केन्द्रीय समिति सम्पूर्ण शक्ति खर्चेर क्रान्तिको तयारीमा जुट्यो ।
स्मोल्नीमा
            उहिले नेभा नदीको किनारमा तारपीनको फ्याक्ट्री थियो । फिनलेन्ड खाडी पुग्न नदी एकाएक मोडिने स्थानमा । त्यहाँ बडेमानका हाँडीमा ‘स्मोला’ अर्थात् तारपीन तयार गरिन्थ्यो । पछि फ्याक्ट्रीको ठाउँमा एक मठ बनाइयो । अझै पछि त्यहाँ धनीमानीका छोराछोरी पढ्ने विद्यालय खोलियो । तारपीन फ्याक्ट्रीको ठाउँमा बनेको            हुनाले विद्यालयको नाम स्मोल्नी राखियो ।
            १९१७ मा जारको सत्ता खोसिएपछि विद्यालय बन्द गरियो । स्मोल्नी मजदुर र सिपाहीँ प्रतिनिधिहरूको पेत्रोग्राड सोभियतको कार्यालय बन्यो । सैनिक क्रान्तिकारी समितिको मुख्यालय पनि यहीँ थियो ।
            सैनिक क्रान्तिकारी समितिले सबै कारखानामा सम्पर्क राख्थ्यो र त्यहाँबाट लालगार्डका सदस्यहरू सङ्गठित गर्थ्यो । पेत्रोग्राडका २० हजार सैनिकहरू हतियारबद्ध थिए र क्रान्तिको सुरुआती आह्वानको प्रतीक्षा गरिरहेका थिए । सैनिक क्रान्तिकारी समितिले बुर्जुवा सरकार र त्यसप्रति बफादार अफिसरविरुद्ध बाल्टिक युद्धपोतका नाविकहरूलाई उत्प्रेरित गर्न बोल्शेभिक कमिसारहरू पठायो । नाविकहरू सङ्घर्षको लागि तयार भए । सिपाहीँहरूका धेरै दल बोल्शेभिक वा सैनिक क्रान्तिकारी समितिको पक्षमा आए ।
            अस्थायी सरकार बोल्शेभिकहरूसँग डराउँथ्यो । उसले आदेश जारी गर्‍यो, “मजदुरहरूलाई हतियार राख्न रोक लगाइन्छ । समितिका सबै सदस्य गिरफ्तार गरियोस् । लेनिनलाई पक्रिएर कालकोठरीमा बन्द गरियोस् ।”
            निश्चय नै अस्थायी सरकार हातमा दही जमाएर बसेको थिएन । उसले बोल्शेभिक र मजदुरहरूविरुद्ध आफ्नो सारा शक्ति खर्चिरहेको थियो । क्रान्तिकारीहरूले बाहिरी संसारसँग सम्पर्क राख्न नसकून् भनी फौज पठाएर पेत्रोग्राडलाई घेराबन्दी गर्ने प्रयास गरिँदै थियो ।
            “क्रान्तिलाई पछि सार्न ठीक हुनेछैन, निर्णायक घडी आएको छ ।” लेनिनले केन्द्रीय समितिका सदस्यहरूलाई सन्देश पठाए ।
            २४ अक्टोबरमा लेनिनले केन्द्रीय समितिको नाममा अर्को सन्देश पठाए । फोफानोभाले त्यसको उत्तर ल्याइन् । लेनिनलाई अहिल्यै गुप्तवासबाट निस्कने अनुमति दिइएको थिएन । कुनै अफिसरले उनलाई देख्यो कि गोली चलाउन सक्थ्यो ।
भ्लादीमिर इल्यीचको नेतृत्वमा केन्द्रीय समितिले निर्णायक लडाइँको अन्तिम तयारी गरिरहेको थियो । तर क्रान्तिको सही समय अझै निक्र्योल गरिएको थिएन ।
            भोलिपल्ट, २५ अक्टोबरमा स्मोल्नीमा सोभियतहरूको दोस्रो सम्मेलन हुँदै थियो । त्यसमा भाग लिन सबै प्रतिनिधि आएका थिए ।
            “क्रान्ति आज नै, सोभियतहरूको सम्मेलन उद्घाटन हुनुभन्दा पहिले नै सुरु गर्न जरुरी छ,” भ्लादीमिर इल्यीचले सोचिरहेका थिए । “आज अस्थायी सरकारलाई अपदस्थ गरी भोलि सबै सत्ता सोभियतहरूलाई सुम्पिनुपर्छ ।”
            तर पलपल समय घर्किरहेको थियो । उनले केन्द्रीय समितिलाई अझ अर्को पत्र पनि पठाए । उनलाई चैन थिएन । सेर्दोभोल्स्काया सडकको यस सुकिलो फ्ल्याटमा अझै बसिरहन मन मान्दैनथ्यो । त्यहाँ उनी खुलेर हिँडडुल गर्न पनि सक्दैनथे । कसैले हिँडडुल गरेको देखेमा वा सुनेमा फोफानोभा कहाँ छ ? भनी सोध्न सक्थे ।
            साँझ फोफानोभा कामबाट फर्किन् । लेनिनले उनलाई आराम पनि गर्न नदिई भने, “कृपया, अर्को एउटा पत्र पुर्‍याइदिनुस् न । अहिल्यै, यसैबेला । नाइँ, कोट नखोल्नुस्, अहिल्यै ।”
          उनी फटाफट कोठामा गई केन्द्रीय समितिका सदस्यहरूलाई सम्बोधन गरी लेख्न थाले, “साथीहरू ! म २४ तारिखको साँझ यी पङ्क्तिहरू लेख्दै छु । स्थिति नाजुक छ । कुरा सीधा छ । अब क्रान्तिलाई पर धकेल्नु काल निम्त्याउनु हो । आज नै क्रान्ति सुरु गर्न, अस्थायी सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिन अपरिहार्य छ । आज पनि हामीले फैसला गर्नसकेनौँ भने इतिहासले यस भुलको लागि कहिल्यै माफ गर्नेछैन । भोलिसम्म ढिलो हुनसक्छ । अन्तिम र निर्णायक घडी आज हो ।”
            “यस पत्रलाई तुरुन्तै पुर्‍याइदिनुहोला,” लेनिनले अधीर भई फोफानोभासँग अनुरोध गरे ।
            फेरि उनी फ्ल्याटमा एक्लै भए । उनको व्याकुलताको सीमा थिए । केही सुनिरहेझैँ, कुनै चीजको प्रतीक्षा गरिरहेझैँ उनी थपक्क बसे ।
            केही समयपछि ढोकाको घन्टी बज्यो । एइनो राहिया भित्र पसे । “भ्लादीमिर इल्यीच, सहरमा के भइरहेछ, अनुमान लाउन सक्नुहुन्छ ?”
अनि आफैँ बताउन थाले :
            “वातावरणले गर्दा बाहिर निस्कन मुस्किल छ । नेभातिरबाट सिरेटो चलिरहेको छ । सडक कुहिरोले डमक्क छ । ओसिलो हिउँ परेको छ । बेलाबेला वर्षाको रिमझिम पनि सुरु हुन्छ । तैपनि मानिसहरू ठाउँठाउँमा, पाटीका छेउछाउ जम्मा भइरहेका छन् । सडकमा सिपाहीँ र सशस्त्र मजदुरहरूले भरिभराउ ट्रक दौडिरहेका छन् । बेलाबेला कतैबाट गोली चलेको आवाज आउँछ । फेरि सबै शान्त हुन्छ । वातावरण अत्याधिक तनावपूर्ण बनेको छ ।”
“पुलहरूनिर दाउरा बालिएको छ । लालगार्डले पुलहरूमा सुरक्षा दिइरहेका छन् । दिउँसो अस्थायी सरकारले नेभा नदीका सबै पुलहरू खोल्ने आदेश दिएको थियो । युन्करहरूले पुलबाट यात्रीहरूलाई लेखेटर ट्राफिक रोक्ने कोसिस गरे । तैपनि उनीहरूले निकोलायभ्की पुलमात्र खोल्न भ्याएका थिए । यत्तिकैमा हाम्रा मानिस आए । उनीहरूले युन्करहरूलाई धपाए ।”
            “युन्करहरूले सबै पुल खोलिदिएको भए आपत पर्थ्यो । सबै इलाकाहरू एकअर्काबाट अलग्ग हुन्थे । अनि युन्करहरूले एकएक गरेर सबै मजदुरलाई दबाइदिन्थे ।”
लेनिनले चुपचाप राहियाका कुरा सुनिरहे । अनि अचानक कुर्सीबाट उठे र चुपचाप आलमारीबाट आफ्नो नक्कली कपाल निकाले । “के गर्नुभएको ?” राहियाको चिन्ता बढ्यो । पार्टीले एइनो राहियालाई लेनिनको सुरक्षा गर्ने जिम्मेवारी सुम्पेको थियो ।
            “भ्लादीमिर इल्यीच, हजुर कहाँ… ?”
            “मलाई अहिल्यै, तत्काल स्मोल्नी पुग्नु छ ।” लेनिनले दृढतापूर्वक भने ।
            “युन्करले हजुरलाई हानी पुर्‍याउनेछन् ।” लेनिनले कुनै जवाफ दिएनन् ।
            चुपचाप ऐनासामु उभिएर लेनिनले नक्कली कपाल लगाउन थाले । अनि पुरानो कोट र ओभरकोट पनि लगाए ।
            उनीसित बहस गर्नुको अर्थ छैन भनी राहियाले बुझे । त्यसैले आफू पनि हिँड्ने तयारी गर्नथाले । लेनिनले गालामा पत्ती बाँध्ने र दाँत दुखेको बहाना बनाउने निक्र्योल भयो । यति गरेपछि उनलाई कसैले पनि चिन्न सक्दैनथे । उनीहरू घरबाट निस्के । लेनिन स्मोल्नी गइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *