के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
असार लागेसँगै देशभरका किसान रोपाइँमा व्यस्त छन् । मानो रोपेर मुरी फलाउन रोपाइँमा किसानहरू रात–दिन गरेर मिहिनेत गर्छन् । कोरोनाको महामारीले अर्थतन्त्रमा गर्ने हानिसमेतलाई ध्यानमा राखी सरकारले जग्गा बाँझो नराख्न आह्वान गरेको छ । स्थानीय तहले पनि किसानलाई जग्गा बाँझो नराख्न या अरू कसैलाई खेती गर्न दिन सर्वसाधारणलाई आह्वान गरेका छन् । लकडाउनको कारण अन्यत्रको व्यस्तता कम भएपछि र भविष्यमा आउनसक्ने सम्भावित सङ्कटलाई ध्यानमा राखी किसानहरूले सकेसम्म बढी जमिनमा रोपाइँ गरिरहेका छन् । विडम्बना ¤ रोपाइँको चटारोमा सरकारले किसानहरूको मागअनुसार रसायनिक मलको बन्दोबस्त गर्न सकिरहेको छैन । मलको अभावको कारण मुरी फलाउने किसानको जाँगरमा धक्का पुगेको छ ।
लकडाउनको कारण किसानलाई धानको बीउ पाउन पनि धौ–धौ भएको थियो । अहिले किसानहरूलाई मलको समस्याले पिरोलेको छ । रोपाइँको समयमा किसानले मलको अभाव सामना गर्दै आएको यो पहिलो वर्ष होइन । जेठ–असारमा किसानहरूले हरेक वर्षजसो मलको अभाव सामना गर्दैआएका छन् । तथापि किसानप्रधान देशको सरकारले भने किसानलाई आवश्यक मलसमेतको उचित बन्दोबस्त गर्न सकेको छैन ।
नेपालमै कृषि मलको कारखाना स्थापना गर्नुपर्ने मुद्दा आजको विषय होइन । धेरै अघिदेखि नै यो विषय संसद् र सडकमा उठेको हो । तर, विदेशबाट कृषि मल ल्याउँदा राजनीतिक र प्रशासनिक नेतृत्वले पाउने कमिसन नपाउने भएकोले कृषि मल कारखाना स्थापना भएको छैन । मलको कमिसनको जालो तलदेखि माथिसम्म फैलिएको हुनाले नै नेपालमा कृषि मल कारखाना स्थापना हुन सकेन । फलतः हरेक वर्ष किसानले महँगोमा मल किन्नुपरेको मात्र होइन, किसानले समयमा मलसमेत पाउन सकेका छैनन् ।
नेपाल कृषिप्रधान देश भएकोले नेपालको विकासको आधार भनेको कृषि उत्पादनमा वृद्धि गर्नु हो । कृषि उत्पादन वृद्धि गर्ने आधार कृषिको आधुनिकीकरण हो । त्यसको निम्ति सरकारले आवश्यक कृषि सामग्री, बीउबिजन र मलको समयमा बन्दोबस्त गर्नुपर्छ । खेती किसानी गर्ने किसानले आफ्नो पसिना परेको कृषि उत्पादनको उचित मूल्य पाउन सके अझ कृषिमा उत्साहका साथ लाग्नेछन् । तर, सरकारले भने कृषि क्षेत्रको विकासको लागि धेरै थरी योजना सार्वजनिक गरे पनि किसानका खास आवश्यकता र अपेक्षा पूरा गर्न सकेका छैनन् । कृषिप्रधान देशका किसानहरू आज बीउबिजन र मलको लागि विदेशीको मुख ताक्नुपर्ने विडम्बना भोगिरहेका छन् ।
कृषि मल र बीउबिजनको अभाव र कालोबजारीको समस्या आजको समस्या होइन । हरेक वर्ष किसानले भोग्ने समस्या हो । यो समस्याको दीर्घकालीन समाधानको निम्ति सरकारले तयारी थाल्न जरूरी छ । कृषि मल कारखाना स्थापना गरिनुपर्छ । नेपालकै स्थानीय बीउबिजनको वैज्ञानिक अध्ययन गरी उत्पादनलाई बढाउनुपर्छ । कृषिको वैज्ञानिक अनुसन्धान केन्द्र नार्कको प्रभावकारितालाई अझ विस्तार गरिनुपर्छ । विदेशबाट बीउबिजन आयात गरेर किसानलाई अनुदानमा दिने परम्परा गलत छ । नेपालमै विभिन्न उन्नत बीउबिजनको उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।
किसानले समयमा न बीउबिजन, न मल, न पानी, न उत्पादन भइसकेपछि बजार र उचित नै मूल्य पाउन सकेका छन् । यस्तो अवस्थामा देशको अर्थतन्त्रको आधार बनेका किसानले कुन उत्साहले किसानी गर्ने ? धर्तीमा अन्न फलाउने किसानको सम्मान भएमात्र देशको समृद्धि सम्भव छ ।
Leave a Reply