भर्खरै :

एसईईको नतिजामा अन्योल मनपरी अङ्क दिनसक्ने चुनौती

काठमाडौँ, ८ असार । कोभिड–१९ महामारीको कारण रोकिएको एसईई परीक्षा नगर्ने सरकारको घोषणासँगै देशैभरि एसईई दिने तयारीमा रहेका विद्यार्थीको परीक्षाफलको सन्दर्भमा अन्योल कायमै छ । सरकारले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई नै विद्यार्थीको मूल्याङ्कनको मूल आधार मानी परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेको छ । विद्यालयहरूलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न आवश्यक कार्यविधि बनाउन शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ । अधिकांश विद्यालयहरू विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न सोही कार्यविधिको प्रतिक्षामा छन् ।
तर, शिक्षाविद् र शिक्षक–शिक्षिकाहरूले आन्तरिक मूल्याङ्कनमा विद्यालयहरूबाट हुनसक्ने कमजोरी वा पक्षपातले विद्यार्थीको भविष्य र समग्र शिक्षाको स्तर नै ओरालो लाग्नसक्नेमा चिन्ता व्यक्त गरेका छन् ।
पूर्वशिक्षक एवम् शिक्षाविद् उद्धव सुजखूले विद्यार्थीहरूको मूल्याङ्कन गर्न विद्यालयहरूले इमानदारी देखाउनुपर्ने बताउनुहुन्छ ।
“एसईई परीक्षाको नतिजालाई नै विद्यालयको स्तर मापन गर्ने परम्परा भएको हाम्रो देशमा विद्यालयहरूले आफ्नो स्तर माथि देखाउन विद्यार्थीहरूको गलत मूल्याङ्कन गर्नसक्छन् । यस्तो गलत मूल्याङ्कनले विद्यार्थीको भविष्यमा दखल पुग्नसक्छ । अहिले विद्यालयले गर्ने गलत मूल्याङ्कनले उच्च शिक्षा तहमा पढाइ छोड्ने विद्यार्थीको सङ्ख्या बढ्नसक्छ”, उहाँले भन्नुभयो ।
विगतका एसईई परीक्षामा विद्यालयहरूले आफूले दिने प्रयोगात्मक परीक्षाको अङ्कमा विद्यार्थीलाई वास्तविकभन्दा बढी अङ्क दिने गरेको स्मरण गर्दै शिक्षाविद् सुजखूले त्यस्ता गलत मूल्याङ्कन दोहोरिने अवस्था बन्न नहुने बताउनुभयो ।
“सरकारले कक्षा ११ मा पनि यसरी नै आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा नगरी नतिजा निकाल्ने तयारी गरिरहेको सुनिन्छ । यसले हाम्रो शिक्षाको स्तर क्रमशः ओरालो लाग्ने देख्छु”, उहाँले भन्नुभयो ।
“हुने खाने परिवारले त अलग शिक्षकको बन्दोबस्त गरेर पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनसक्छन् । यसको मार विशेषतः समाजको तल्लो तहका विद्यार्थीलाई पर्नेछ”, सुजखूले बताउनुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेँ अहिलेको असामान्य परिस्थितिमा परीक्षा नलिने सरकारको निर्णयलाई स्वीकारे पनि विद्यालयहरूले आफ्ना विद्यार्थीलाई मनपरी अङ्क दिने चुनौतीबारे गम्भीर हुनुपर्ने बताउनुहुन्छ ।
परीक्षाबारे अवधारणा क्रमशः उदार बन्दै जानु उपयुक्त भए पनि नेपाली समाजमा अझै परीक्षाकेन्द्रित सोचाइ व्याप्त भएको उहाँको भनाइ छ ।
शिक्षक स्वयम्ले नै मूल्याङ्कन गर्ने थाहा पाएपछि अभिभावकले पनि आफ्ना नानीको अङ्कमा ‘विचार गरिदिन’ आग्रह गर्ने नेपाली समाजमा विद्यार्थीको सही मूल्याङ्कन गर्न सहज नभएको बिजुक्छेँले बताउनुभयो ।
“थेसिसमा अङ्क बढी नदिएको भन्दै विश्वविद्यालयमा प्राध्यापकलाई कुटेको घटना हामीलाई थाहा नै छ । अभिभावकमा पनि यस्तो मनोविज्ञान अझै हटिसकेको छैन । त्यसकारण वैज्ञानिक मूल्याङ्कन नहुने जोखिम छ”, उहाँले भन्नुभयो ।
विद्यार्थीले एक वर्षमा दिएका परीक्षाका साथै उसले विद्यालयमा गर्ने गतिविधि, सामाजिक तथा अतिरिक्त गतिविधिमा सहभागिता आदिलाई आधार मानेर विद्यार्थीहरूको मूल्याङ्कन गर्नुपर्ने शिक्षक बिजुक्छेँले भन्नुभयो ।
सार्वजनिक संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याईले शिक्षकले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्दा तत्कालको परिणाममात्र होइन, विद्यार्थीको भविष्यलाई पनि ध्यान दिएर सही मूल्याङ्कन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले सही मूल्याङ्कनले नै विद्यार्थीको भविष्य राम्रो हुनेतर्फ शिक्षकहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयहरू शिक्षा मन्त्रालयबाट जारी हुने कार्यविधिकै आधारमा मूल्याङ्कन गर्ने तयारीमा रहेको बताउनुभयो ।
शिक्षा मन्त्रालयको कार्यविधिको मस्यौदामा कक्षा दसको पहिलो त्रैमासिक परीक्षाको दस प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाको तीस प्रतिशत र अन्तिम त्रैमासिक परीक्षाको ६० प्रतिशतको आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने उल्लेख छ ।
“तर, कार्यविधिको अन्तिम प्रति हात लागेपछि मात्र प्रतिक्रिया अघि बढाउन सकिने देखिन्छ”, न्याइच्याईले भन्नुभयो ।
संस्थागत विद्यालयहरूको सङ्गठन इसानका अध्यक्ष प्रेमजन थापाले अहिलेको बाध्यात्मक अवस्थामा परीक्षा नलिई आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय उचित भए पनि परीक्षाफलको विश्वसनीयता बढाउन सबै विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षकबाट आफ्नै विद्यार्थीलाई अङ्क दिँदा पक्षपात हुनसक्ने विषयमा सजग हुनुपर्ने भन्दै तत्कालै परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्दा पनि अझै तीन महिना लाग्न सक्ने अवस्थामा अहिलेको निर्णय उपयुक्त हुने बताउनुभयो । उहाँले इसानसम्बद्ध विद्यालयहरूले एसईईको मोडल परीक्षाको नतिजालाई नै आन्तरिक मूल्याङ्कनको आधार बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *