बाल्यकालमा मलाई बाजागाजा बजाउने खूब रहर थियो । अहिलेसम्म त्यो रहर मेटिएको छैन । मैले विभिन्न वाद्यवादन र सङ्गीतका पुस्तकहरू किन्नमा धेरै रुपैयाँ खर्च गरेँ । १६ वर्षको उमेरमा स्कूलमा पढिरहँदा मेरो छिमेकका एकजना साथी जयश्वरमान प्रधान खूब गितार बजाउनुहुन्थ्यो । मकहाँ आउनुहुन्थ्यो र हिन्दी गीतका धुनहरू बजाउनुहुन्थ्यो । उहाँको सङ्गीतप्रतिको लगाव, गितार बजाउने सोख र गितारको मीठो धुनले मलाई धेरै मुग्ध पार्दथ्यो । मलाई पनि गितार बजाउने रहर लाग्यो ।

            ८–१० वर्षको उमेरमा जन्मथलो साँखुमा म एकचोटि खिँ बाजा सिक्न ४–५ जना टोलका साथीहरूसँग एक जना गुरुकहाँ गएको थिएँ । साँखुमा खिँ बजाउने परम्परागत चलन थियो । हिजोआज पनि चाडपर्वमा खिँ बजाएर भजन गाइन्छ । खिँको धुन पनि मलाई धेरै मनपर्छ । त्यसैले बजाउन नआए पनि बजाउन आउने कोही साथी आए सुनुँ भनेर दुई वर्ष अगाडि काठमाडौँ यट्खा टोल (वसन्तपुर नजिक) बाट एउटा ठुलो साइजको खिँ किनेर ल्याएँ । त्यो खिँ अहिले मेरो कोठामा छ । केटाकेटीहरू आएर धाँधाँ धुँधुँ गरेर खेल्छन् । कहिलेकाहीँ बजाउन जान्ने भाइहरू आएर मीठो धुन निकालेर बजाउँछन् । त्यसबाहेक मसँग एउटा इलेक्ट्रिक कीबोर्ड पनि छ । केही नोटहरू यदाकदा म आफैँ लेख्छु र बजाउँछु ।

            मेरो सङ्गीत सिक्ने इच्छा आकाङ्क्षा विगत ५०–६० वर्षदेखिको हो । तर, मैले कहिले पनि सिक्न सकिनँ । अहिलेसम्म स·ीत सिक्ने इच्छा भने मरेको छैन ।

            हिजो म विश्वविख्यात स·ीत कम्पोजर मोजार्टको जीवनी अध्ययन गर्दै थिएँ । मोजार्ट युरोपको अस्ट्रियामा जन्मेका एक महान् सङ्गितविज्ञ । क्लासिकल सङ्गितकार पियानो वादक एवम् म्युजिक कम्पोजर थिए । उनका पिता पनि एक नामुद भ्वायलीनवादक थिए ।

            अठारौँ शताब्दीको आधाआधीतिर अर्थात् सन् १७५६ मा अस्ट्रियाको साल्जवर्ग सहरमा जन्मेका मोजार्टले सानै उमेरमा पियानो बजाउन सिके । आफ्नो ३५ वर्षको छोटो उमेरमा पाश्चात्य शास्त्रीय सङ्गितका ६०० भन्दा बढी रचना गरे । १०–१२ वर्षको उमेरमा उनी आफ्ना पिता र बहिनीसँग लन्डन, पेरिस, जेनेभा, बर्लिनजस्ता सहरमा आफ्नो सङ्गितकला प्रदर्शन गर्न गएका थिए ।

            मोजार्टको जीवनी पढ्दा सङ्गित र साहित्य बुझ्न बच्चैदेखि नै सिकाउनुपर्छ भन्ने लाग्यो । सङ्गितकार र साहित्यकार बन्न इच्छामात्र भएर हुँदैन, आफ्नो वरिपरि साहित्यिक सा·ीतिक वातावरण पनि हुनुपर्छ । महान् सङ्गितकार एवम् साहित्यकार बन्न स·गीत र साहित्य साधनामा निरन्तरता, मेहनत र लगाव हुन आवश्यक छ । जस्तो, विश्वविख्यात सङ्गितकारको कुरा गर्दै गर्दा अर्को साहित्यकार अलेक्जेन्डर पुश्किनको कुरा पनि आउँछ ।

            अस्ट्रियन महान् सङ्गितकार मोजार्टजस्तै रुसी महान् साहित्यकार अलेक्जेन्डर पुश्कीन पनि विलक्षण प्रतिभाले सुसज्जित थिए । आ–आफ्नो प्रतिभाका कारण बाल्यकालदेखि नै कला क्षेत्रमा दुवै जना विश्वविख्यात थिए । दुवैले युरोप र विश्वलाई नै चकित पारिदिएका थिए । वास्तवमै उनीहरूको प्रतिभा एक चमत्कार (मिराकल) नै थियो । अठारौँ शताब्दीको आधा–आधी (सन् १७५६) अस्ट्रियाको सालिज्वर्ग सहरमा मोजार्ट जन्मेका थिए भने १७९९ मा रुसी साम्राज्यको ठुलो सहर मस्कोमा अलेक्जेन्डर पुश्कीन जन्मेका थिए । अलेक्जेन्डर पुश्किनको जन्म हुँदा महान् सङ्गितकार मोजार्ट ओल्फगाङ्गको मृत्यु भइसकेको थियो । मोजार्टको पूरा नाम ओल्फगाङ्ग आमेड्युस मोजार्ट थियो ।

            पुश्किन जन्मनुभन्दा ठीक आठ वर्ष अगाडि सन् १७९१ मा ३५ वर्षको कलिलो उमेरमा अस्ट्रियाको राजधानी भियना सहरमा मोजार्टको निधन भएको थियो । पुश्किनले लेखेका अनगिन्ती साहित्यिक रचनामध्ये एक मोजार्टको बारेमा पनि छ ।

            मोजार्टको मृत्युको खास कारण प्रमाणित भएको छैन तापनि उनकै प्रतिस्पर्धी एक सङ्गितकार सालेरीले विषपान गराएर पारेको भन्ने सुनिन्छ । यही विषयमा अलेक्जेन्डर पुश्किनले लेखेका थिए । उनको अति प्रख्यात काव्यात्मक ड्रामा ‘मोजार्ट एन्ड सालेरी’ सन् १८३२ मा प्रकाशित भएको थियो ।

            पुश्किनले लेखेका धेरै ड्रामाहरूमध्ये यही एक ड्रामा थियो जुन उनको आफ्नै जीवनकालमा प्रदर्शन भएको थियो ।

            पाँच वर्षको उमेरमा नै उनले आफ्नो पहिलो सङ्गीत रचना गरेका थिए । ७ वर्षको उमेरदेखि राजा महाराजाहरूको दरबारमा गएर आफ्नो साङ्गीतिक प्रतिभा प्रदर्शन गर्न थाले भने १० वर्षको उमेरमा आफ्नी बहिनीलाई साथमा लिएर युरोपियन देशको साङ्गीतिक भ्रमण गरेका थिए । त्यही भ्रमणमा उनले विश्वविख्यात सङ्गीतकार ‘बाख’ लाई भेटे । मोजार्टले सानै उमेरमा विश्वलाई चकित पारेका थिए भने रुसमा अलेक्जेन्डर पुश्किनले पनि सानै उमेरदेखि आफ्नो साहित्यमार्फत जारशाहीको गद्दी हल्लाइदिएका थिए ।

            रुसमा अलेक्जेन्डर पुश्किनको समयलाई ‘रुसी साहित्यको सुवर्ण युग’ अथवा ‘गोल्डेन एज अफ रसियन पोयट्री भनिन्थ्यो ।

            अलेक्जेन्डर पुश्किनका कविताहरूमा निरङ्कुश जारशाही शासकहरू विरुद्ध ठुलो क्रान्तिकारी भावना लुकेको हुन्थ्यो । उनी भन्थे, “म जारहरूको मनोरन्जनको लागि लेख्दिनँ ।” १३ वर्षको उमेरदेखि पुश्किनले उत्कृष्ट रचनाहरू लेख्न थाले । सन् १८१४ मा उनी १५ वर्षको हुँदा युरोपको एक प्रसिद्ध पत्रिका ‘द मेसेन्जर अफ युरोप’ मा उनको पहिलो कृति प्रकाशित भएको थियो ।

            सन् १८११ मा पिटर्सवर्गको ‘लेसी’ विद्यालयमा छानिने थोरै विद्यार्थीमा १२ वर्षे पुश्कीन पनि थिए । जहाँ धनाढ्य विद्यार्थीलाई फ्रेन्च भाषामा पढाइन्थ्यो । लेसी पास गरेपछि एक वैदेशिक विभागमा उनले एक सरकारी जागीर पाए । जहाँ उनको काम हाजीर गर्नु तलब थाप्नुमात्र हुन्थ्यो !

            पुश्किनले लेखेका कविताहरूमा नागरिक अधिकारको विषय मुख्यरूपमा देखापर्थे र जारशाहीको निरङ्कुशताको विरोध गर्थे । यसले गर्दा रुसको राजधानीमा सर्वसाधारणमाझ पुश्किन धेरै लोकप्रिय बन्दै आए भने जार शासकहरूको आँखामा एक कसि·र ।

            त्यसैले तत्कालीन जार अलेक्जेन्डर प्रथमले पुश्किनलाई पिट्र्सवर्गबाट साइबेरियाको निर्वासनमा पठाउने विचार गरे । तर, पुश्कीनका सहपाठी र सहयोगीहरूको अवरोधका कारण पुश्कीन साइबेरिया निर्वासनबाट बच्न सफल भए । उनलाई रुसी साम्राज्यको दक्षिण भागमा निर्वासन (इक्जाइल) मा पठाइयो, देशको राजधानी पिटर्सवर्गमा हङ्गामा नचलाइयोस् भन्ने ध्येयले ।

            सरकारी जागीरको काजमा भनेर रुसको दक्षिणी भागमा पठाइएको थियो तापनि यो एक प्रतिबन्धित निर्वासन नै थियो । पुश्किनलाई यो पनि राम्ररी थाहा थियो । सन् १८२० मेमा पुश्किन राजधानी पिटर्सवर्ग छाडेर रुसी साम्राज्यको दक्षिणी भाग क्रिमिया र काउकासमा सरकारी नोकरीका साथ निर्वासनमा बस्न आए । महान् कवि पुश्किनको लागि यो निर्वासन आफ्नो साहित्यिक रचनाको लागि अत्यन्त उर्वर ठहरियो । उनको सबभन्दा उत्कृष्ट साहित्य रचना ओपेरा इकीनको ओपेरा ‘यूजीन अनेगीन’ विश्वप्रसिद्ध रुसी सङ्गीत कम्पोजर पिटर चेइकोभ्स्कीले सङ्गीतबद्ध गरेका थिए । जसले अर्को विश्वप्रसिद्ध ब्याले ‘स्वान लेक’ पनि कम्पोज गरेका थिए ।

ई. राजदास श्रेष्ठ image
ई. राजदास श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *