काठमाडौँ, १३ भक्तपुर । भारतले जुलाई महिनासम्ममा कोभिड–१९ सङ्क्रमण रोक्न नसके चीन–भारत सिमाना क्षेत्रमा चीनविरूद्ध उत्तेजनात्मक गतिविधि बढाउन सक्ने ग्लोबल टाइम्सले जनाएको छ । चीन द्वन्द्व रोक्न संयमित छ, यसको अर्थ चीन कुनै देश, विशेषगरी भारतको उत्तेजना वा आक्रमणबाट डराएको छैन । यदि युद्ध भए, यो सन् १९६२ को जस्तै हुनेछ । चीनले भारतसँगको तनाव बढ्न नदिन नै आफ्नोतर्फको हताहती सार्वजनिक नगरेको हो । यदि चीनको हताहती सङ्ख्या २० भन्दा घटी भए भारत सरकार थप दबाबमा पर्नेछ । भारतीय अधिकारीहरू चीनको हताहती भारतको भन्दा बढी भएको सार्वजनिक गरी तथाकथित राष्ट्रवादी र गरम पक्षकालाई सन्तुष्ट पार्न चाहन्छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसमेतले चीनविरूद्ध दुईवटा लडाइँ– सिमानामा र चीनबाट आएको भाइरसविरूद्ध लडिरहेको झूट बोले । उनले सिमानामा ज्यान गुमाएका २० जना प्रहरी कहिल्यै नफर्कने उल्लेख गर्दै पछाडि नहट्ने र दुवै युद्ध जित्ने दाबी गरे ।
भारतले गलवन उपत्यकामा दुईपटक सिमाना नाघेर चीनविरूद्ध उत्तेजना फैलाएकोमा अब कोही भ्रममा छैन । अमेरिकी वैज्ञानिक रोवर्ट रोड फिल्डका अनुसार कोभिड–१९ भाइरस चीनमा देखापर्नु अगाडि नै अमेरिकामा देखापरेको थियो । चीनको उहानमा गत वर्षको अक्टोबरको मध्यमा भएको सैनिक खेलकुदमा भाग लिन पुगेका अमेरिकीहरूले नै चीनमा कोभिड– १९ भाइरस फैलाएको छर्लङ्ग भइसकेको छ । यो भाइरस नियन्त्रणमा अमेरिका सहकार्यमा आउन नचाहेको पनि आफ्नो गल्ती उदाङ्गिने भएरै हो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको गल्ती ढाकछोप गर्न नै चीन र विश्व स्वास्थ्य सङ्गठनविरूद्ध आरोप लगाएका हुन् ।
गलवन उपत्यकामा वार्ता गर्न पुगेका भारतीय सेनाले चिनियाँ अधिकारी र सेनालाई हिंसात्मक आक्रमण गरेका थिए । यसैकारण शारीरिक द्वन्द्व भयो । यो नै गलवन भिडन्तको सिलसिला हो । भारतीय तथाकथित राष्ट्रवादीहरू चीन कति सबल छ भन्नेबारे अज्ञानी र अहङ्कारी भए पनि भारतीय नेताहरू जानकार छन् । यसकारण, भारतीय तथाकथित राष्ट्रवादीहरू शान्त हुनु आवश्यक छ । भारतको भन्दा चीनको कूल गार्हस्थ उत्पादन पाँच गुणा र सैन्य क्षमता ३ गुणा बढी छ । त्यसैले भारतले सिमानामा हतियारधारी नराख्नु नै उत्तम हुनेछ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले स्पष्टसँग राखे– “सीमा भिडन्तमा भारतीय पक्ष पूर्णरूपले जिम्मेवार छ । चीनले चीन–भारत सम्बन्धलाई धेरै महत्व दिएको छ । आशा छ, दीर्घकालीन विकासको लागि दुवै देशले काम गर्नेछन् ।” समाचारअनुसार सीमामा भारतीय सेनाको शून्य डिग्रीभन्दा कम चिसोको कारण पनि मृत्यु भएको हो । चीनविरूद्ध अनेक आक्षेप लगाउनु उचित छैन । चीन, रूस र भारतका विदेशमन्त्रीहरूबीचको भिडियो बैठकले त्रिपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा छलफल ग¥यो । मोदी सरकारको हिन्दू राष्ट्रवाद र विस्तारवादबारे चीनलगायत संसारका प्रजातन्त्रप्रेमी जनता सचेत छन् । आफ्नो भूमि र सार्वभौमिकता सुरक्षा गर्न सक्षम भएको चीनले बारम्बार दोहो¥याएको छ ।
भारतमा रहेका केही चिनियाँ आफ्नो उद्योग–व्यापारप्रति भारतीय दक्षिणपन्थी तथाकथित राष्ट्रवादीहरूको तारो भएको बताउँदै छन् । भारतीय शासकवर्गकै उक्साहटमा ती दक्षिणपन्थीहरूले यस्तो अराजक गतिविधि देखाएका हुन् । यसले दुई देशको सम्बन्धमा थप तिक्तता पैदा गर्नेछ ।
यो जटिल परिस्थितिमा नेपालमा पनि पटक–पटक सरकारको नेतृत्वमा गएका नेकाका केही नेता र सांसदहरू हुम्ला, रसुवा, सङ्खुवासभा, सिन्धुपाल्चोक, गोरखालगायत नेपालको उत्तरी सीमामा ३३ हेक्टर नेपाली भूभाग चीनले कब्जा गरेको, चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना आउनेजस्ता झूटो प्रचार गर्दै छन् । यस्तो झूटो प्रचारमा नेकाका मधेसी नेता विमलेन्द्र निधीसमेत लागेका छन् । नेका सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मालगायतले प्रतिनिधिसभामा नेपालको उत्तरतर्फको भूमि चीनले कब्जा गरेको भनी सङ्कल्प प्रस्तावसमेत दर्ता गराए ।
नेपाल र चीनबीचको सीमाबारे नेकाका प्रधानमन्त्री बीपी कोइरालाकै पालामा सम्झौता भई सीमाङ्कन गरिएको थियो । सुगौली सन्धिपछि भारतसँग नेपालको सिमाङ्कन जङ्गे पिलर नै हो । भारतले यी सीमा स्तम्भहरू उखेल्ने, नेपालतर्फ सार्नेलगायत ७१ भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेकोलाई ओझेलमा पार्न नेकाले उक्त सङ्कल्प प्रस्ताव दर्ता गरेको हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि नेपालको चीनसँगको सीमाङ्कन सन् १९६१ को सीमा सम्झौताअनुसार भइसकेको बतायो । भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो नक्सामा गाभेको र नेपाली भूमि गुञ्जी–लिपुलेक भञ्ज्याङ सडक उद्घाटन गरेको विरूद्धमा आक्रोशित जनताको आन्दोलनलाई मत्थर पार्न नेकाले यस्तो गतिविधि गरेको पुष्टि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *