भर्खरै :

सरकार ! सलह प्रकोपको नियन्त्रणको शीघ्र तयारी थाल

कोभिड–१९ का बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालले अर्को विषम प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने देखिएको छ । शनिबार तराईका केही जिल्लामा विनाशकारी सलह फट्याङ्ग्रा देखापरेको छ । पाकिस्तान र भारतपछि सलहको प्रकोपबाट नेपाल पनि प्रभावित बन्ने देखिएको छ । कोरोना महामारीको कारण देशको अर्थतन्त्र दयनीय अवस्थामा छ । अर्थतन्त्रमा कोरोना महामारी विपत्तिको प्रभाव अझ लामो समय पर्ने देखिन्छ । कृषि उत्पादन बढाएर कम्तीमा भोकमरीको अवस्था आउन नदिन सबैले मुख्य बाली धानको उत्पादनमा यो वर्ष जोड दिएका थिए । लकडाउनको कारण सहरबाट अधिकांश नेपाली जनता गाउँ फर्केकाले पनि यो वर्ष धानको उत्पादन बढ्ने आशा गरिएको थियो । आकासे पानीमा निर्भर नेपालको धान खेती समयमा पानी परेको हुनाले असारको मध्यमै धेरै किसानको रोपाइँ सकिएको छ । बीउ र मलको अभावले यो वर्ष पनि किसानलाई सताउन छोडेन । तथापि यस्ता प्रतिकूलताबीच पनि कृषि उत्पादन वृद्धि भए कोरोनाको कहर केही हल्का हुने अपेक्षा गरिएको थियो ।
तर, शनिबार देखिएको सलहले भने यो आशामा तुषारापात हुनसक्ने सम्भावना बढाएको छ । ठुलो सङ्ख्यामा हुल बाँडेर आउने सलह फट्याङ्ग्राले सबै बोटबिरूवा सखाप पार्ने गरेको छ । हरियो बोटबिरूवा सबै खाएर सिध्याउने यो फट्याङ्ग्रा प्रकोपको रूपमा आए नेपालजस्तो सानो अर्थतन्त्रलाई आजको प्रतिकूल अवस्थामा अझ भयावह अवस्थामा धकेल्नेछ । भारतमा झन्डै दुई महिनाअघि देखापरेको यो प्रकोप नेपालमा पनि आउन सक्ने सम्भावनाबारे उतिबेला पनि चर्चा भएको थियो । सरकारी विज्ञहरूले ‘यो पटकलाई सलहको प्रकोप ट¥यो’ भनेका थिए । तर, उनीहरूको बुझाइ गलत सावित भएको छ ।
प्राकृतिक प्रकोप रोक्न सकिँदैन । तर, विभिन्न व्यवहारिक उपायमार्फत त्यसको प्रभाव न्यून गर्न सकिन्छ । भूकम्पलाई मानिसले रोक्न सक्दैन । तर, मानिसको क्षमताले भूकम्पको क्षति न्यूनीकरण भने गर्नसक्छ । सलहको प्रकोप पनि प्राकृतिक प्रकोप हुनु र सलह नेपाली भूमिमा देखा परिसक्नुले अब त्यसलाई हामीले रोक्न नसकौँला । तर, यसले पार्नसक्ने क्षति कम गर्न भने सक्छौँ ।
सरकारले यो अनपेक्षित प्रकोपबाट हुने क्षति न्यूनीकरणको लागि तीव्रगतिमा काम थालनी गर्नुपर्छ । सलहबाट कृषि उत्पादन र वन जङ्गलमा न्यूनतम क्षति पुग्ने उपायबारे सरकारले प्रचार थालिहाल्नुपर्छ । विभिन्न देशले अवलम्बन गरेका उपायमध्ये नेपालको सन्दर्भमा उपयुक्त हुने उपायबारे सरकारले तयारी थालिहाल्नुपर्छ । सलह प्रकोप नियन्त्रणको लागि विगतमा हाम्रा पुर्खाले केही वैज्ञानिक र व्यवहारिक उपाय प्रयोग गरेका थिए कि ? तिनको खोजी अनुसन्धान गरी अहिलेको समयको सेवा गर्न सक्नुपर्छ ।
जब भयो राति, तब बूढी ताती भन्ने उखानमा जस्तै बित्तिसकेपछि बल्ल तयारीको थालनी गर्ने सरकारको शैली फेरि पनि दोहोरिए देशले समयान्तरमा विकराल समस्या सामना गर्न बाध्य हुनेछ । त्यसै पनि कृषिमा परनिर्भरता बढेको देशमा यो प्रकोपपछि देशले अकल्पनीय परनिर्भरता भोग्नुपर्नेछ । सलहको प्रकोप नियन्त्रण गर्न विज्ञ–वैज्ञानिकहरूसँग सरसल्लाह गरोस् । प्रधानमन्त्री स्वयम् सर्वज्ञाता बनेर विषयवस्तुलाई हास्यव्यङ्ग्यमा नबदलिओस् । सत्तारूढ दलका नेताहरूको बुद्धि नाप्न कहीँ जानुपर्दैन, सचिवालय बैठकमै कोरोना मार्ने बुटी झुन्ड्याउनुबाट नै थाहा हुन्छ । सलह प्रकोप नियन्त्रणको निम्ति पनि सरकार र सत्तारूढ दलका नेताहरूले यस्ता हावादारी व्यवहार नदेखाऊ्न । गर्नेलाई भन्दा देख्नेलाई लाज हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *