भर्खरै :

भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत

भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिङ्गो नगरवासीहरूको तर्फबाट स्वागत गर्नुभयो ।
भक्तपुरको सम्पदा संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको भूमिका अपरिहार्य भएको बताउँदै उहाँले भक्तपुर नपाले अनियमित, भ्रष्टाचार र अनैतिक काम गर्नेहरूको पक्ष कहिल्यै नलिने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नेपालकै प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्य जनश्रमदानमार्फत गरिरहेको अवगत गराउँदै प्रमुख प्रजापतिले कोरोना सङ्क्रमण नियन्त्रणको लागि लकडाउनको समयमा जनप्रतिनिधि र प्रशासनले खेलेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
उहाँले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गरी जनमानसमा सकारात्मक प्रभाव पार्न शुभकामना दिँदै भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा पनि अवगत गराउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुर देशकै सानो जिल्ला भएर पनि सांस्कृतिक विविधता बोकेको जिल्ला भएको हुँदा सुन्दर नगरी भक्तपुरमा सरुवा भएर कार्य गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।
भक्तपुरवासीको न्यानो स्वागत र सद्भावप्रति आभार प्रकट गर्दै प्रहरी उपरीक्षक थापाले प्रहरी जनताको सेवामा सधँै खटिरहने र प्रहरीबाट हुने गलत कार्यको पनि खबरदारी गर्नु आवश्यक भएको बताउनुभयो ।
स्वागत कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको सङ्क्षिप्त परिचय दिँदै प्रहरी प्रशासनको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक सविन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रूपमा आउनुभएको हो । उहाँ काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा भई भक्तपुर जिल्लामा आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *