भर्खरै :

अनलाइन कक्षाको प्रभावकारिता

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमणको कारण गरिएको लकडाउनले विद्यालय तथा कलेजका पठनपाठन बन्द छ । लकडाउनको करिब २ महिना बितिसक्दा पनि विद्यालय खुल्ने केही सम्भावना नदेखिएपछि केही निजी विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए ।
स्नातक र स्नातकोत्तर तहको अनलाइन कक्षा सञ्चालनको लागि त्रिभुवन विश्वविद्यालयबाटै निर्देशन दिएलगत्तै कलेजहरूले कक्षा सञ्चालन थाले । तथापि इन्टरनेटको सेवा सबै विद्यार्थीको पहुँचमा छैन । कतिपय विद्यार्थी लकडाउनमा आफ्नो गाउँ फर्के । दुर्गम गाउँमा इन्टरनेटको सुविधा नहुँदा पढ्ने चाहना हुँदाहुँदै पनि कक्षामा सहभागी हुन पाएका छैनन् । त्यसैगरी इन्टरनेटको सुविधा भएका ठाउँमा पनि सेवा गुणस्तरीय छैन । यसबाट अनलाइन कक्षा सोचे जतिको प्रभावकारी हुनसकेको छैन । अर्को कुरा, विश्वविद्यालयका कतिपय शिक्षकहरू आधुनिक प्रविधिसँग भिज्न सकेका छैनन् । यसले गर्दा कक्षा सञ्चालनको दौरानमा विभिन्न प्राविधिक समस्याहरू देखिएका छन् । लकडाउन लम्बिने हो भने परीक्षा पनि अनलाइनमै सञ्चालन गर्ने कुरा निस्केको छ । विद्यार्थी सबैले कक्षामा सहभागी हुन पाएका छैनन् भने अब सोचाँै, उनीहरूले अनलाइन परीक्षामा कसरी लेख्लान् ? के वर्ष खेर फाल्नु त ? भन्ने प्रश्न उठ्छन् । यस विषयमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
अब कुरा गरौँ, स्कूले अनलाइन कक्षाको । हुन त सरकारले विद्यालयस्तरमा अनलाइन कक्षा सञ्चालन नगर्न र विद्यार्थीसँग कुनै पनि किसिमको शुल्क नउठाउन सूचना जारी गरिएको थियो । तर, ५० प्रतिशतभन्दा बढी निजी विद्यालयले वैशाखको मसान्तबाट नै अनलाइन कक्षा सञ्चालन गरेको थियो । अनलाइन कक्षाको लागि ल्यापटप वा मोबाइल फोन सबै विद्यार्थीसँग हुँदैन । अभिभावकले प्रयोग गर्ने मोबाइल वा ल्यापटप विद्यार्थीले समयमै पाउँदैनन् ।
अहिले लकडाउनको समयमा पढाइको बानी नछुटोस् भन्ने हेतुले अनलाइन कक्षा सञ्चालन गरिएको हो भने त्यो राम्रो पक्ष हो । तर, यदि ५० प्रतिशतभन्दा कम विद्यार्थीमात्र सहभागी हुन्छ भने त्यो कक्षाको उपादेयता कति होला र ? कक्षा कोठामा शिक्षकलाई छल्न अनेक उपाय लगाउने स्कुले विद्यार्थीहरू अनलाइन कक्षामा इमानदारिता देखाउलान् भन्ने सोच राख्ने कसरी ? गाउँघरतिर अनलाइन कक्षाका लागि लाउडस्पिकर राख्ने कुरा पनि उठेको छ । यो उपाय पनि कतिको प्रभावकारी होला र ¤ यसका साथै अनलाइन कक्षाका लागि लगातार मोबाइल र ल्यापटप हेर्दा विद्यार्थी र शिक्षकका स्वास्थ्यमा केही हदसम्म नकारात्मक असर पर्न जान्छ ।
कक्षा सञ्चालनसँगै शिक्षकहरूले आफ्नो पारिश्रमिकको आशा त पक्कै राख्लान् किनभने गुजारा चलाउने माध्यम त त्यही नै हो । तर, के गर्नु शिक्षकको विडम्बना ¤ ३ महिनादेखिको तलब हातमा आएको छैन । हुन त विद्यार्थीले शुल्क नतिर्दा कसरी तलब दिने भन्ने कुरा आउला । यस्तो कुरा हो त तलब दिन नसक्ने भए अनलाइन कक्षा सञ्चालनमा किन ल्याउनु भन्ने प्रश्न उठ्छ । शिक्षकको रोजीरोटीको सुनिश्चितता हुनुपर्छ । शिक्षकको जीवन रक्षाको जिम्मेवारी राज्यले नै लिनुपर्छ ।
दुःखको कुरा अनलाइन रक्षा सञ्चालन गर्ने शिक्षकले समेत पारिश्रमिक पाइरहेका छैनन् । कतै जान पनि नपाउने । कक्षा लिनुपर्छ भनी त्यसैको तयारीमा नै दिन बित्छ । आफ्नो मेहनतको फलको आशा त पक्कै सबैले गर्छन् । पारिश्रमिक नपाउने हो भने शिक्षाको गुणस्तरमा पनि कमी आउन सक्छ । पारिश्रमिक नपाएको कुरालाई लिएर चितवनको संस्थागत विद्यालयका शिक्षकहरूले सङ्घर्षको घोषणा पनि गरे । देशभर करिब दुई लाखभन्दा बढी निजी शिक्षकहरू छन् । अनलाइन कक्षालाई प्रभावकारी बनाउने हो भने विद्यार्थीको सहभागितामा जोड दिनुपर्छ । सबै गाउँघरतिर इन्टरनेटको सुविधा हुनुपर्छ । शिक्षकहरूलाई तलबको व्यवस्था पनि हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *