पढाइको राजनीति – २
- असार ६, २०८३
क्रान्तिको भोलिपल्ट
(विश्वका सम्पूर्ण कामदार जनताका महान गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाङ्की प्रस्तुत भएको गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्लो अङ्कमा हामीले अक्टोबर क्रान्तिको मुख्य दिनको घटनाक्रमको साथै क्रान्तिको त्यो गर्माउँदो वातावरणको बारेमा सविस्तार पढ्यौँ ।)
पहिलो अध्यादेश
सैनिक क्रान्तिकारी समितिको बैठक दुई दिनदेखि चलिरहेको थियो । यसबीच कसैले पनि मिनेटभर आराम गरेनन् । बैठकमा लेनिनबाहेक स्वर्दलोभ, स्टालिन, झेर्जिन्स्की, बूभनोभ, पोद्भोइस्की, अन्तोनोभ ओत्सेयन्को र अन्य धेरै बोल्शेभिकहरूले भाग लिइरहेका थिए । दुई रातदेखि लेनिनले झिमिक्क गरेका थिएनन् ।
क्रुप्सकायाले लेनिनको खुसीले मुस्कुराइरहेको र थकानले गलेको मुहार हेरिन् । अनायासै उनको मुखबाट ‘बरा’ निस्कियो ।
“भ्लादीमिर इल्यीचलाई आराम चाहिएको छ । हामीसँग घर पनि छैन । नातेदार टाढा बस्छन् । के गर्ने मेसै पाइन,” उनले बोँच ब्रुएभिचसामु आफ्नो चिन्ता लुकाउन सकिनन् ।
ब्रुएभिच जेनेभामा निर्वासित हुँदाका बेलादेखि नै लेनिनका घनिष्ट साथी र सहायक थिए । उनी ‘इस्क्रा’ का लागि लेख लेख्थे । रूसी मजदुरहरूलाई पार्टी साहित्य पठाउने प्रबन्ध मिलाउँथे । १९०५ मा उनले रूसी मजदुरहरूलाई निकै ठुलो परिमाणमा हतियार पनि पठाएका थिए ।
“ल ¤ मेरो घर केलाई हो नि ?” उनले जवाफ दिए र तुरून्त लेनिन र क्रुप्सकायालाई स्मोल्नीअगाडि पार्क गरिएको कारमा बसाले ।
लेनिन पछिल्लो सीटमा बस्नेबित्तिकै निदाए र घर पुग्नेबित्तिकै ब्युँझिए । “पहिला केही खानुस्,” ब्रुएभिचले भने ।
बिस्तारै, घरमा सुतेकाहरू नजागून् भन्ने अभिप्रायले उनले खाने चीजहरू टेबलमा सजाए । रोटी, पनिर र दूध । “खूब मीठो खाना छ त,” लेनिनले तारिफ गरे ।
खाना खाँदै गर्दा उनले दिनभरि घटेका घटनाहरू सम्झिरहे । समाजवादी क्रान्ति भइसकेको थियो । अब सदासर्वदा यस क्रान्तिलाई महान् अक्टोबर क्रान्तिको नामले सम्झना गरिने थियो ।
चर्चा अब भावी जीवनको चल्यो । निन्द्राको बारेमा उनले लगभग बिर्सिसकेका थिए । आखिर ब्रुएभिचले मुख खोले ः “भ्लादीमिर इल्यीच, केहीबेर सुत्नुस् । नत्र छिट्टै थला पर्नुहोला ¤” उनले लेनिनलाई आफ्नो कोठामा लगे । कोठामा झ्यालनजिकै लेख्ने कुर्सी पनि थियो । लेनिन लेख्ने टेबल र कलमबिना बस्नै सक्दैनथे । घरकी मालिक्नीको कोठामा राखिएको सोफामा क्रुप्सकाया पल्टिन् ।
लेनिनले बत्ती निभाए । तर, लाखौँ कोसिस गर्दा पनि निदाउन सकेनन् । मनमा अनेक विचारहरू आइरहेका थिए । भोलिदेखि नयाँ राज्य बनाउनु छ । संसारमै मजदुर किसानहरूको पहिलो राज्य निर्माण गर्नु छ ।
लेनिनले विचार गरे । घर शान्त र सुनसान थियो । हुन त कहिल्यै नथाक्ने ब्रुएभिच पनि शान्तसँग सुतिरहेका थिए । लेनिनले बत्ती बाले र टेबलनिर बसे । बाहिर निस्पट्ट अँध्यारो थियो । आफ्ना विचार सुनिरहेजस्तो भावमा करिब मिनेटभर लेनिन शिर निहुराई बसिरहे । यस सुनसान र अँध्यारो रातमा उनी निकै गम्भीर र सोचमग्न थिए ।
त्यसपछि उनले कलम उठाए र लेख्न थाले । उनले लेख्दै गए । आजदेखि सबै जमिनदार, पुँजीपति, मठ र गिर्जाघरका जमिन किसानहरूलाई निःशुल्क बाँडिनेछ । खेतीपाती नगर्ने व्यक्ति जमिनको मालिक बन्न सक्दैन । खेतीपाती गर्ने व्यक्ति नै जमिनको मालिक हुन्छ ।
उमङ्गले पुलकित हुँदै लेनिनले जनताका सयौँ वर्ष पुराना सपना र आशाका बारेमा लेखिरहेका थिए । सोभियत राज्यको जीवन तिनै सपना र तिनै आशालाई साकार पारेर सुरु हुँदै थियो ।
त्यसबेला लेनिन मनमनै हलुका महसुस गर्दै थिए । उनी प्रसन्नता अनुभूत गर्दै थिए । अशान्ति, बमका धमाका र हमलाहरूपछि पेत्रोग्राद शान्त भएको थियो । अँध्यारो सडकबाट मात्र एउटा झ्यालमा उज्यालो देखिन्थ्यो । यस्तै शुशेन्स्कोयमा पनि हुनेगथ्र्यो । सारा बस्ती सुतिसकेको हुन्थ्यो । निर्वासित उल्यानोभको घरमा मात्र हरियो दियो बलिरहेको हुन्थ्यो ।
लेनिनले लेख्न बन्द गरे । बाहिर आकाशमा उज्यालो हुन थालेको थियो । बिहान हुँदै थियो ।

“अब एकाध घण्टा सुत्न सकिन्छ,” लेनिनले सोचे र पल्टिए । शिर सिरानीमा अड्याउँदा गहिरो निन्द्रामा डुबे ।
टेबलमा लेखिएको कागज थियो ।
बाहिर बिहानी उज्यालो बढ्दै थियो । छिट्टै आकाशमा धमिला बादलहरू छिचोल्दै सूर्य उदायो । सूर्यका किरण लेनिन सुतिरहेको त्यस कोठामा नाच्न थाले । किरण त्यस कागजमा पनि प¥यो, जसको माथिल्लो लहरमा ठुलठुला अक्षरमा लेखिएको थियो – ‘भूमिसम्बन्धी अध्यादेश ।’
खम्बैखम्बाको सेतो हल
पहिला यहाँ उत्सव मनाइन्थ्यो । सङ्गीत गुञ्जिन्थ्यो । नाचगान हुन्थ्यो । काठका चिल्ला स्टेजमा स्मोल्नी विद्यालयका छात्रछात्राका चम्किला जुत्ता चिप्लिरहन्थे ।
ओरलोभ इलाकाबाट आएको गरिब सिपाहीँले कुनै दिन खम्बैखम्बाको यो सेतो हलमा पाइला टेक्ला भनी सपनामा पनि चिताएको थिएन । त्यसबेला उसलाई स्मोल्नीको आसपास हिँड्न पनि दिइँदैनथ्यो ।
तर, अहिले भने उसले यस हलमा भइरहेको सोभियतहरूको दोस्रो अधिवेशनमा भाग लिइरहेको थियो ।
स्मोल्नीको सेतो हलमा मानिसहरू खचाखच भरिएका थिए । तिनमा अधिवेशनमा भाग लिनेहरू थिए । दर्शक र अन्य मानिस पनि थिए । त्यहाँ धारिला कमीज, निला ज्याकेट लगाएका र कम्मरमा हातेबम झुन्ड्याएका नाविकहरू थिए । हिजो शीतल दरबार कब्जा गर्ने हतियारले सुसज्जित लालगार्डहरू थिए । टाढा–टाढाका गाउँहरूदेखि आएका दारीवाल किसान र कलकारखानाका मजदुरहरू थिए ।
कुर्सी र बेन्चहरूमा मात्र होइन, धेरै मानिसहरू भुइँ र झ्यालहरूमा पनि बसेका थिए । बस्ने ठाउँ अपुग भएकाले धेरैजना उभिएका पनि थिए । सबैको छातीमा रातो रिबन टाँगिएको थियो । सारा हल चुरोटको धुवाँ र हल्लाले भरिएको थियो । “हामीले जितेका छौँ ¤ बुर्जुआ वर्ग मुर्दावाद ¤ सत्ताजति सोभियतहरूलाई !”
ओरलोभ इलाकाबाट आएको सिपाहीँले उत्सुकतापूर्ण नजरले सबैकुरा हेरिरहेको थियो । विशाल हलको अग्लो छत । सिङ्गमरमर लगाएका खम्बाहरू । अगाडि भित्तामा टाङ्गिएको मान्छे बराबरको सुनौला फ्रेम । फ्रेमबाट जारको चित्र हटाइएको थियो । यसकारण अब त्यो खाली थियो ।
व्याकुल भई सिपाहीँ लेनिन आउने बाटो हेरिरहेको थियो । त्यसैबेला आसपासका मान्छे चिच्याए ः ‘लेनिन ! लेनिन !’ उनलाई राम्ररी हेर्न धेरैजसो मान्छे आ–आफ्ना ठाउँबाट उठे । अध्यक्षमण्डलका सदस्यहरू हलमा प्रवेश गरे । मञ्चमाथि राखिएका अघिल्ला कुर्सीहरूका पछाडि गई बसे । ती सदस्यमध्ये एकजनाले छालाको कालो ज्याकेट र चस्मा लगाएका थिए । देख्नेहरूले उनलाई सैनिक पनि भन्नसक्थे । उनी दृढ निश्चयी देखिन्थे ।
“उनी स्वेर्दलोभ हुन्,” कसैले सिपाहीँलाई बतायो । फेरि उसले अग्लो कदका दुब्ला–पातला जुझारु बोल्शेभिक फेलिक्स एद्मुन्दोभिच झेर्जिन्स्कीलाई देख्यो । उनीसँगै चनाखा र तीखा आँखा भएका सैनिक क्रान्तिकारी समितिका अध्यक्ष निकोलाइ इल्यीच पोद्भोइस्कीलाई पनि देख्यो । अध्यक्षले सम्मेलनको उद्घाटन गरे र लेनिनलाई भाषण गर्न निम्त्याए ।
सिपाहीँ पाइतलाका बुढी औँलाको बलले उभियो । लेनिन नाउँका यी व्यक्ति कस्ता रहेछन् भनी नियाल्ने उसको धोको थियो । लेनिनको शरीर गठिलो र कद मझौलो थियो । आँखीभौँले कान छोएका छन् । आँखाले मानौँ सीधै मन छाम्छन्… ।
लेनिन वेगिला पाइला चाल्दै मञ्चमाथि उक्ले । हलमा बसेका सबै मानिस उठे । टोपीहरू हावामा उफ्रिन थाले ।
‘लेनिन जिन्दावाद !’ मञ्चमा उभिएर लेनिनले सर्वप्रथम हलभरि नजर दौडाए । उनको अघिल्तिर खुसीले जगमगाइरहेका अनुहारहरू थिए । सादा, गरिबीसूचक लुगा लगाएका मानिसहरू, साधारण मानिसहरूको जनसागर थियो । यहाँ फ्रक, कोट र सेता कमीज लगाएका सम्भ्रान्त पुरुष र फेसनका पोशाकमा ठाँटिएका भद्र महिलाहरू थिएनन् । यहाँ थिए मजदुर, किसान, सैनिक प्रतिनिधिहरू अर्थात् कामदार व्यक्तिहरूमात्र थिए । लेनिनले आफू यी मानिसहरूको सुख र सौभाग्यप्रति उत्तरदायी छु भनी अनुभव गरे ।
लेनिनले हात उठाए । उनले भाषण सुरु गर्न स्वीकृति मागिरहेका थिए । बिस्तारै हल सुनसान भयो । तर, मानिसहरू बसेनन् । उनीहरूले उठेरै लेनिनको भाषण सुनिरहे ।
लेनिनले शान्तिको चर्चा गरे । उनले भन्दै गए – मजदुर र किसानहरू युद्ध चाहँदैनन् । सोभियत सरकार पनि युद्ध चाहँदैन । युद्ध अन्त्य गर्नुपर्छ । आम मान्छे शान्तिपूर्वक बस्न चाहन्छन् । उनले शान्तिसम्बन्धी अध्यादेश पढेर सुनाए । यो अध्यादेश उनले त्यसै बिहान ब्रुएभिचको घरदेखि स्मोल्नी फर्किएपछि लेखेका थिए ।
सम्मेलनमा उपस्थित सबैले लेनिनका कुरा ध्यान दिएर सुने । जर्मनीसँगको लडाइँ चार वर्षदेखि चलिरहेको थियो । मानिसहरू युद्धले वाक्क भएका थिए ।
“त्यसो भए यो हो हाम्रो सोभियत सरकार ¤ जनताको हितबारे सोच्ने न्यायप्रिय सरकार ¤” ओरलोभ इलाकादेखि आएको सैनिकले सोच्यो ।
सारा हल “ओहो ¤” को उद्घोषले गुञ्जियो । सेतो हलका सेता खम्बाहरूले “ओहो ¤” को यस्तो गगनभेदी उद्घोष पहिला कहिल्यै सुनेका थिएनन् ।
उपस्थित सबैजनाले एकै स्वरमा गाइरहे –
उठौँ अब, साङ्लाले जेलिएका
भोकानाङ्गा दास करोडौँ !
हामी नयाँ जगत बनाउनेछौँ
सर्वहाराले सबथोक पाउनेछौँ !
त्यसपछि लेनिनले भूमिसम्बन्धी अध्यादेश पढेर सुनाए । यसलाई उनले अघिल्लो रात लेखेका थिए । प्रतिनिधिहरूले, खासगरी किसान प्रतिनिधिहरूले फेरि पनि लेनिनको अध्यादेशलाई जोसिलो स्वरमा समर्थन गरे ।
२५ र २६ अक्टोबर, १९१७ मा स्मोल्नीको हलमा भएको सोभियतहरूको दोस्रो सम्मेलन एउटा महान् र ऐतिहासिक घटना थियो । यसै सम्मेलनमा लेनिनले सोभियत सत्ताको स्थापनाको घोषणा गरेका थिए ।
यसै सम्मेलनमा उनले शान्ति र भूमिसम्बन्धी आध्यादेशहरू पनि पढेर सुनाए । सम्मेलनले एकै स्वरमा ती अध्यदेशलाई अनुमोदन ग¥यो ।
सम्मेलनले जनकमिसारहरूको परिषद् निर्वाचित ग¥यो र लेनिनलाई त्यसको अध्यक्ष नियुक्त ग¥यो । यसरी पहिलो सोभियत सरकार बन्यो ।
सम्मेलनको समापनमा लेनिनले त्यसमा भाग लिन आएका मजदुर, किसान र सैनिकहरूलाई भने, “साथीहरू, अब तपाईँहरू छिटोभन्दा छिटो घर फर्कनु छ, मानिसहरूलाई हाम्रो विजयको बारेमा बताउनु छ । मजदुर क्रान्ति विजयी भएको छ । अब हाम्रो सोभियत सरकार छ । जानुहोस्, रूसभरि सोभियत सत्तालाई बलियो बनाउनुहोस् !”
Leave a Reply