भर्खरै :

“क्यान्सर अस्पतालमा उपचारको अभाव भए पुरानो व्यवस्थापन समिति जिम्मेवार”

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर क्यान्सर अस्पताल सञ्चालन र अस्पतालको पछिल्लो अवस्थाबारे ‘मजदुर’ दैनिकले गरेको कुराकानी प्रस्तुत छ ।)
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूमा कोभिड – १९ सङ्क्रमण देखिएको छ । यसमा अस्पतालको प्रबन्धमा कमजोरी भएको मान्न सकिँदैन र ?
अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरूलाई तलब खुवाउन समस्या छ । लकडाउनको कारण आम्दानी कम भएपछि बिरामीहरूको सेवा गर्ने उद्देश्यले केही बढी बिरामीहरू जाँच्न थालियो । सायद त्यसैले सङ्क्रमण भएर २०७७ असार २२ गते त्यहाँ कार्यरत ४ जना कर्मचारीहरूमा कोरोना पोजिटिभ देखिएको छ । ती कर्मचारीहरूलाई क्वारेन्टिनमा राखिएको छ । तर, अस्पतालको समस्या समाधान भएन ।
अस्पताल राम्रोसँग सञ्चालन गरी समाजको सेवा गर्ने उद्देश्यले नगरपालिकाले व्यवस्थापन समिति गठन गरेको हो । सर्वाेच्च अदालतका न्यायाधीशहरूले अस्पतालको अवस्था नबुझी आदेश जारी गर्दा आज बिरामीहरूले दुःख पाइरहेका छन् ।
क्यान्सर अस्पतालमा उपचारको अभावमा कसैको ज्यान गएमा वा कुनै घटना घटेमा पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूले जिम्मेवारी लिनुपर्छ । नगरपालिकाको जग्गा र पैसा खर्च गरी बनाइएको अस्पताल कुनै व्यक्ति वा संस्थाको एकलौटी बनाउनु गलत हो । क्यान्सर अस्पताल सारा जनताको साझा सम्पत्ति हो, साझा बनाउन निरन्तर नगरपालिकाले पहल गरिरहेको छ ।
अस्पतालका बारेमा भक्तपुर नगरपालिकाको ध्यान त गएको छ तर सङ्घ सरकारले ध्यान दिएजस्तो लाग्दैन । किन होला ?
क्यान्सर अस्पतालमा भइरहेको आर्थिक अनियमितताबारे सङ्घीय संसद्मा समेत पटक – पटक कुरा उठिसकेको छ । स्वास्थ्यमन्त्रीलाई पनि यसबारे यथार्थ जानकारी गराइसकिएको छ । त्यसको निकास दिन ढिलाइ गर्नुहुँदैन । सङ्घ सरकारले तत्काल समस्या समाधानमा पहल गर्नुपर्छ ।
अस्पताल सुचारूरूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाले के के कोसिस ग¥यो ?
क्यान्सर अस्पतालमा भइरहेका करोडौँको भ्रष्टाचारका समाचारहरू पत्रपत्रिकामा आएपछि नगरपालिकाको तर्फबाट सो सम्बन्धमा सत्यतथ्य बुझ्न तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्ने कोसिस भयो । तर, कुनै पनि पदाधिकारी नगरपालिकाको सम्पर्कमा आउन चाहेनन् ।
अस्पतालभित्र भ्रष्टाचारी पदाधिकारीविरुद्ध आक्रोश बढ्न थालिसकेको थियो । तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अस्पताल हाताभित्रै छिर्न नदिने नीति कर्मचारीहरूले लिएका थिए । अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीहरूले नगरपालिकाले नै अस्पताल व्यवस्थापनको जिम्मा लिन लिखित आग्रह र स्थानीय जनताले क्यान्सर अस्पताल व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन आग्रह गरेपश्चात् २०७६ साउन ३० गते नगर प्रमुखको संयोजकत्वमा क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन गरियो ।
क्यान्सर अस्पतालको व्यवस्थापनमा भनपाको अड्चन छ भन्ने प्रचारबाजीमा यहाँ के भन्नुहुन्छ ?
भदौ २ गते नयाँ व्यवस्थापन समितिले क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचारबारे छानबिन गर्न समिति गठन ग¥यो र तत्कालीन व्यवस्थापन समितिले गरेका सबै निर्णयहरू अध्ययन गरी कारबाहीको  प्रक्रिया अगाडि बढायो । ती पदाधिकारीहरू आत्तिए । तिनीहरूले नगरपालिकाको कामलाई रोक्न विभिन्न शक्तिकेन्द्रहरूमा दौडधूप गरे ।
सँगै भदौ ४ गते सर्वाेच्च अदालतमा नगरपालिकाले गठन गरेको अस्पताल व्यवस्थापन समितिविरुद्ध रिट दायर गरे । सर्वाेच्च अदालतले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश जारी गर्न आवश्यक भए नभएको ठहर गर्नुपर्नेमा भदौ १० गते नगरपालिकाद्वारा गठित व्यवस्थापन समितिलाई कुनै पनि काम नगर्न आदेश दियो । त्यसपछि नगरपालिकालाई काम गर्न अवरोध भयो ।

One response to ““क्यान्सर अस्पतालमा उपचारको अभाव भए पुरानो व्यवस्थापन समिति जिम्मेवार””

  1. विजय विक्रम सिजापाती says:

    मेरो सासुआमा क्यान्सर पीडित हुनुहुन्छ। भक्तपर क्यान्सर अस्पालमा भर्ना गरेर रिपोर्ट लिएर देखाउँदा डाक्टर नभएको कारण देखाएर अस्पतालले रिफर गरेको आज ५ दिन भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *