भर्खरै :

पूर्ववडाध्यक्ष प्रद्युम्न प्रजापतिको सम्झना

भक्तपुर, २५ असार । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्ववडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जलीसभा बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रद्युम्न प्रजापति पार्टीका असल कार्यकर्ता भएको बताउनुभयो ।
उहाँले प्रकाशमा नआई काम गर्ने असल कार्यकर्तामध्ये प्रजापति पनि एक हुनुहुन्थ्यो भन्नुभयो ।
“पार्टी भूमिगत भएको बेला प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर जनताको सेवा गर्नु चुनौतीपूर्ण थिएन । उहाँ पार्र्टीको निर्देशनमा निर्वाचन लडेर पञ्चायतकालमा नेमकिपाबाट पटक पटक वडाध्यक्ष पदमा विजयी हुनुभयो । पार्टीको तर्पmबाट उहाँ २०५६ सालमा सिराहा जिल्लाबाट सांसदको उम्मेदवार बन्नुभयो । २०४५ सालमा घटेको भक्तपुर काण्डमा पार्टी प्रतिको अटल विश्वास प्रकट गर्नुभयो र पार्टीलाई निरन्तर सहयोग गर्नुभयो । सङ्कटको बेला पार्टी कार्यकर्ताको परीक्षण हुन्छ ।” उहाँले भन्नुभयो ।
व्यक्तिगत फाइदाको निम्ति कहिल्यै कुरा नगर्ने स्वभावका प्रजापति निःस्वार्थी भावनाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने एक योद्धा भएको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले मृत्युपछि कसैको गुणगान गर्नुभन्दा निधन भएका व्यक्तिले गरेका असल कुराको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
“उहाँ धनी कुलमा जन्मेर पनि शोषित पीडित जनताको पक्षमा काम गर्ने पार्टीका एक सच्चा कार्यकर्ता हुनुहुन्थ्यो ।” उहाँले भन्नुभयो ।
नेमकिपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवालले पनि स्व. प्रजापतिले गर्नुभएका समाज सेवाका कार्यहरुबारे चर्चा गर्नुभयो ।
सभा नेमकिपा वडा नं. ४ समन्वय समितिका केजी दुवालको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *