भर्खरै :

म एकान्तकुमारी हुँदा

 
एकान्तकुमारीलाई जीवित देवी मानिन्छ । एकान्तकुमारीलाई सामान्यतया कुमारी मात्र भनिन्छ । एकान्तकुमारी हुन दाँत नझरेको, कुनै घाउ चोट नभएको बालिका हुनुपर्छ । एकान्तकुमारी शाक्य वा बज्राचार्य परिवारकी ३ देखि १० वर्षकी बालिकालाई छानिन्छ । एकान्तकुमारी छान्ने जिम्मेवारी कुमारीघरका सदस्यहरूको हुन्छ । कुमारीघरको जिम्मेवारी पाएकाले कुमारी बन्ने व्यक्तिको घरमा फूल र प्रसाद छोडेर चुनिएकी कुमारी लिने दिन तोकेर जान्छ । चुनिएकी बालिकालाई तोकिएको दिन कुमारी घर तलेजुमा लाने चलन छ । पूजारी घर पुगेर तलेजुको नाइके वा पुजारीलाई भेट्न लगाइन्छ । पुजारी अगाडि राखेर बालिकासँग कुराकानी गरिन्छ । त्यसरी कुराकानी गर्दा बालिका पूजारीसँग डराइन् वा रोइन् भने उनलाई कुमारी बन्न योग्य मानिँदैन । त्यस अवस्थामा अर्कै बालिका खोज्नुपर्ने हुन्छ । तलेजुको पुजारीले फूल र प्रसाद साथ पूजा गरी कुमारीलाई आफ्नै घर फर्काइन्छ ।
तलेजुको पुजारीबाट छानिए कुमारी लिन कुमारीघरकै प्रतिनिधि बालिकाको घर जान्छन् । घटस्थापनाको एक दिनअगाडि कुमारीलाई नुहाई दिएर कुमारीघरको गरगहनायुक्त लुगा लगाइदिइन्छ । त्यसपछि सगुन दिएर कुमारीको रूपमा पूजा गरिन्छ ।
म शाक्य परिवारकी चेली हुँ । कुमारी बनाउने चेली शाक्य वा बज्राचार्य परिवारबाट हुनुपर्ने नियम भएकोले मैले पनि कुमारी बन्ने सौभाग्य पाएँ । मेरो घरमा मेरी तीन दिदीहरू पनि पालैपालो कुमारी हुनुभयो । तर, दिदीहरू कुमारी भएको मलाई याद छैन । उहाँहरू कुमारी बनेको समयमा म जन्मेकै थिइनँ । म ६ वर्षको उमेरमा कुमारी बनेकी थिएँ । म ३ वर्ष कुमारी भएँ । त्यसबेलाका धेरै कुरा आजभोलि सम्झना छैन । दिदीहरू पछि म एकान्तकुमारी बन्न छानिएकी थिएँ । पुजारीको अगाडि म नरोएको र नडराएकोले कुमारीमा छानिएकी थिएँ । कुमारीमा छानिएपछि म निकै रमाएको मेरो दाइ सुनाउनुहुन्छ । कुमारी हुँदा मन आनन्द मान्थेँ । एउटी बालिकाको रुपमा सबैले मान्ने, ढोग्ने र पूजा गर्ने भएकोले कुमारी बन्नुको बेग्लै मज्जा हुनु स्वाभाविक हो । बच्चादेखि बुढाबुढीसम्म, आफूलाई जन्माउने आमा र बुबासमेतले पूजा गरी खुट्टा ढोग्दा एक जना कलिलो बालिकालाई आश्चर्य लाग्नु स्वाभाविक थियो । यो ३३ वर्षअघिको कुरा हो । अहिले पनि म त्यत्तिबेलाका धेरै कुरा सम्झिरहेकी हुन्छु ।
घटस्थापनाको दिन बिहान कुमारीलाई पूजा गर्न रातो पहिरन लगाउन दिइन्छ । टाउकोदेखि खुट्टासम्म गरगहनाले सजाइन्छ । त्यस दिन ‘सिँहासन’मा राखेर कुमारीको विधिपूर्वक पूजा गरिन्छ । कुमारी सधैँ रातो पहिरनमा सजिएकी हुन्छिन् । रातो रङ देवी देवताको शक्तिको रूपमा मानिन्छ । कुमारी भएर कुमारी घर आएपछि त्यहाँको नियम पालना गर्नुपर्छ ।
बिहानको नित्यपूजा सकेपछि पूजाको लागि हरेक बिहान कुमारीलाई साकोठा मन्दिरमा लाने गरिन्छ । त्यहाँबाट कुमारीलाई फेरि कुमारी घर नै फर्काइन्छ । यसरी साकोठा मन्दिर लग्दा कुमारीको खुट्टाले भुइँ छुन हुँदैन भन्ने विश्वास छ । त्यसकारण कुमारीलाई बोकेर नै लगिन्छ । कुमारीघर भित्र छिरेपछि उनी बाहिर आउन मिल्दैन अर्थात कुमारीलाई ढोकाबाट बाहिर आउने अनुमति हुँदैन । दसैँको नवौँ दिन अर्थात् नवमीमा अन्य कुमारीलाई पूजाको लागि कुमारीघरमा भेला गराइन्छ । त्यहाँ पन्ध्र जना कुमारी भेला हुन्छन् । एकान्तकुमारी सबै कुमारीहरूमा पनि सबभन्दा ठुलो अर्थात् प्रमुख कुमारी मानिन्छ । त्यस दिन सबैलाई रातो पहिरनमा सजाएर राखिन्छ । भेला भएका सबैलाई पूजा गरिन्छ । त्यसपछि चासुखेल चोकमा राखेर पूजा गरिन्छ । पूजा सकेपछि एकान्तकुमारीलाई बोकेर तलेजुतिर ल्याइन्छ । तलेजु मन्दिरमा पुजारीले स्वागत गरी मन्दिर भित्याउँछन् । ‘तलेजु भवानी’सामु बलि चढाइएका जनावरको १०८ वटा टाउका राखिएका हुन्छन् । कोठा अँध्यारो हुन्छ । दियोको पिलपिल उज्यालोमात्र हुन्छ । यसरी अँध्यारो पूजा कोठामा राखिएका टाउकाको आँखाले कुमारीलाई घुरिरहेको जस्तो लाग्नसक्छ । कुमारीलाई ‘तलेजु भवानी’ छेउमा राखेर पुजारीले पूजा सुरू गर्छन् । पूजा सकिएपछि कुमारीलाई अँध्यारो पूजाकोठामा छाडेर पुजारी बाहिर निस्कन्छन् । पसजारीले यसरी एक्लै छोड्नुको कारण कुमारी र तलेजु भवानीबीच कुराकानी होस् भन्ने विश्वास छ ।
इतिहास हेर्दा राजा जयप्रकाश मल्लले कुमारी प्रथा चलाएको देखिन्छ । आफ्नो राजनैतिक स्वार्थको लागि आध्यात्मिक शक्ति प्राप्त गर्न तलेजु भवानीलाई खुसी तुल्याउन उनले कुमारी केटीको भोग दिने चलन चलाएका थिए । कालान्तरमा यो चलनमा परिवर्तन आयो । पूजा कोठामा ‘तलेजुको भोग’ सकिएपछि कुमारीले पुजारीलाई बोलाउँछिन् । कुमारीको आवाज सुनेपछि पुजारीले उनलाई बाहिर लान्छन् । निस्किँदा तलेजुको मूलढोका एकै पाइलामा नाघ्नुपर्छ । कुमारीलाई बाहिर लिएर जाँदा त्यहाँ कसैको पनि आगमन हुनुहुँदैन । सबै नदेखिने ठाउँमा लुकेर बस्नुपर्छ । जब कुमारीलाई बोकेर तलेजुको ढोकाबाट बाहिर लगिन्छ, तब बाजागाजासाथ भक्तजनहरू बाहिर निस्कन्छन् । बाहिर पनि कुमारीको पूजा गरिन्छ । बाजागाजाका साथ राती कुमारीलाई कुमारीघर पु¥याइन्छ र कुमारीघर पुगेपछि सगुन दिई पूजा गरिन्छ । ६÷७ वर्षकी बालिकालाई यी सबै कुराले निकै रोमाञ्चक अनुभव हुनु स्वाभाविक हो ।
दशमीको दिन कुमारीलाई भक्तजनसामु बिहानै सूर्यमढीमा लगिन्छ । सूर्यमढी दबुमा रहँदा कोही आफन्त वा भक्तजनले पूजाको लागि घर लाने पनि चलन छ । कुमारीलाई घर लाँदा दही–चिउरा खुवाउने चलन छ । धार्मिक आस्थाको कारण मानिसले यसरी कुमारीलाई घरमा निम्ता गर्ने चलन चलेको हुनुपर्छ । मलाई पनि सुकुलढोकाको एउटा परिवारले घर लगेर दही–चिउरा खुवाएको सम्झना छ । कसैकसैले कुमारीलाई पैसा दिने पनि गर्छ । दशमीको दिन दिउँसो कुमारीको आफ्नै परिवारले पूजाको लागि लान्छ । तर, कुमारीलाई एक्लै भने पठाइँदैन । साथमा कुमारीघरको मान्छे पनि सँगै जान्छन् । पूजा सकिएपछि कुमारीलाई कुमारीघरमा फर्काउने चलन छ । एकान्तकुमारीलाई कोजाग्रत पूर्णिमासम्म कुमारीघरमा राखिन्छ । पूर्णिमापछि पनि यदि कुमारीले कुमारीघर छोड्न मानिनन् भने कुमारीघरमा जति दिन बस्न मन गर्छ, त्यति दिन बस्न पाउँछिन् । एकान्तकुमारीले चाहेसम्म उनी कुमारी भएर बस्न सक्छिन् । तर, उनको दाँत झर्न, मासिक रक्तश्राव हुन र घाउ चोट पटक लाग्नुहुन्न ।
कुमारी जहिलेसुकै गम्भीर मुद्रामा हुन्छिन् । पूजाको समयमा यदि कुमारी रोयो वा हाँस्यो भने भक्तजनलाई अशुभ हुने विश्वास छ । कुमारी गम्भीर मुद्रामा हुनु नै राम्रो मानिन्छ । कुमारी गम्भीर मुद्रामा भएको बेला पूजा गर्न पाउँदा भक्तजन राम्रो मान्छन् । पूजा पछि भक्तजनहरू निकै खुसी र आनन्दित भएको सम्झना छ । म कुमारी हुँदा पूजाको लागि पाँचतले मन्दिरभित्र लगिएको सम्झना छ । कुमारीलाई घरमा पूजा र भोजनको लागि लाने इच्छा गरे एक दुई दिनअगाडि नै खबर गर्नुपर्ने हुन्छ । कुनै परिवारले नवदुर्गा गणलाई पनि कुमारीसँगै बोलाउने चलन छ । एकपटक सुकुलढोकामा पूजाको लागि मलाई लगिँदा नवदुर्गा गणको पनि पूजा भएको थियो । तर नवदुर्गा गणले कुमारीलाई हेर्नुहुँदैन भनेर मलाई माथि कोठामा राखियो । तल चोकमा नवदुर्गा गणको पूजा गरियो । नवदुर्गा त्यहाँबाट बिदा भएपछि मात्र मलाई तल आउन दिइयो ।
कुमारी भएकी केटीले विवाह गर्नुहुँदैन भन्ने भनाइ सुनिन्छ । कुमारी भएकी केटीसँग विवाह गरेमा श्रीमान्को मृत्यु हुन्छ भन्ने अन्धविश्वास छ । तैपनि, विवाह गर्नु अगाडि मलाई मनमा केही डर लागेको थियो । कुमारीको निधारमा त्रिनेत्र चित्रित हुन्छ । तेस्रो आँखा अटल मानिन्छ ।
म कुमारी रहँदा त्यति बोल्दिनथेँ । बिहान पूजा सकेपछि भोजन गराइँथ्यो । त्यसपछि म एक्लै हुन्थेँ । दिउँसो साथीहरू मसँग खेल्न आउँथे । कुमारी घरबाट निस्केर घरमा बस्दा पनि चिनेका मानिसहरूले बाटोमा भेट्दा पैसा र प्रसाद दिएर जान्थे । मलाई त्यस्ता दिनहरू सम्झँदा अहिले पनि रमाइलो लाग्छ । एकदिन कुमारी घरमा खेल्दै गर्दा म लडेँ । त्यसबेला मेरो एउटा दाँत झ¥यो । अनि म कुमारी हुन अयोग्य भएँ । त्यसपछि म कुमारी रहिनँ ।

One response to “म एकान्तकुमारी हुँदा”

  1. लेख बाँला जु। विभिन्न जानकारी यागु नीति सुभाय । छु छु खन् त उल्लेख मजुसा ज्यूगु ताया । तर उल्लेख जुसान् छु फरक मरु ज्वि। ख्वपे एकान्त कुमारी या विषय अझ ब्विनी दे मा, सियके देमा। सुभाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *