भर्खरै :

साउन २ ः जालसाजीविरुद्ध भएको आन्दोलन

भक्तपुर नगरमा २०२३ मा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । त्यसको अस्थायी सञ्चालक समितिका अध्यक्ष (मङ्गले) कृष्णभक्त चगुठी थिए । त्यस सहकारी संस्थाका अधिकांश पदाधिकारीहरूको विगतको जीवन जनविरोधी थियो । किसान भएर किसान वर्गकै शोषण गर्ने कार्य गरिएको थियो । तिनीहरूले किसानबाट बचत भएको धान महँगोमा बेचेर सस्तोमा बेचेको हिसाब राखे ।
संस्थाको उद्देश्य किसानहरूको लागि आवश्यक पर्ने रासायनिक मल, कीटनाशक औषधि, बीउ, पानी तान्ने कल (पम्प), धान चुट्ने कल (थेसर) र अन्य कृषि उत्पादनका साधन खरिद गरेर सेवा सुविधा दिनु थियो । तर, तिनीहरूले हेटौँडा चितवनबाट काठ, तोरी, मकै आदि ल्याएर संस्थाको रकम व्यक्तिगत नाफा कमाउने काम गरे । संस्थामा आफ्नो मान्छेलाई नियुक्ति गर्ने र नातेदारलाई ऋण शेयर दिने काम गरियो । अस्थाई सञ्चालक समितिको बैठकमा जलपानमा बढी खर्च देखाएर मनपरी गथ्र्यो । यसबारे किसानहरूमाझ व्यापक चर्चा भयो । यसरी उनीहरूले किसानहरूको रगत पसिनामा रजाइँ गरे त्यो किसानहरूको निम्ति असह्य थियो ।
२०२५ साल साउन २ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाको आह्वानमा भक्तपुर दरबारस्क्वायरको ५५ झ्याल दरबारअगाडि किसानहरू भेला भए । त्यो दिन संस्थाको साधारणसभाको आयोजना गरिएको थियो । त्यस सभाले स्थायी सञ्चालक समितिको चुनाव गर्ने घोषणा गरेको थियो । संस्थाको नियमअनुसार प्रत्येक ६÷६ महिनामा साधारणसभा राख्नुपथ्र्यो र दुई वर्षको एकपटक सञ्चालक समितिको चुनाव गर्नुपर्ने थियो । तर, २०२५ सालमा मात्रै साधारणसभा राखेको थियो । त्यस सम्बन्धमा बचतकर्ताहरूले सम्बन्धित निकायमा थुप्रै रिपोर्टहरू पेश गरे । तर, कुनै कारबाही गरिएन ।
बचतकर्ताहरू साधारणसभाका सदस्य थिए । तिनीहरूलाई मत दिने अधिकार थियो । तर, सभाको सुरुमै संस्थाका अध्यक्ष कृष्णभक्त चगुठीले सबै बचतकर्ताले मत दिन नपाउने सूचना जारी गरे । तब किसान जनताले प्रश्न गरे, सरकारले दिएको अधिकार तिमीले नदिने ¤ अपराधीहरू एउटा अपराध लुकाउन दोस्रो अपराध गर्छन् । संस्थाका अध्यक्ष चगुठी
(मङ्गले) र उनका मतियारहरूले आफूले गरेको भ्रष्टाचार जनताबीच उदाङ्ग्याउन नदिन पहिले नै अर्को षड्यन्त्र गरिसकेका थिए । आफ्नो कुरा मान्ने, धम्की र डरले तर्सने र सोझा किसानहरूको मात्र बचत तिरेको रसिद संस्थामा गुप्तरूपले हस्तान्तरण गर्ने काम गरियो । यस्तो षड्यन्त्रको भेद थाहा पाएपछि किसान जनताले दुइटा माग अघि सारे । कि सबै बचतकर्ताले मत दिन पाउनुपर्छ । कि आजको चुनाव स्थगित गर्नुपर्छ । तर, कृष्णभक्त चगुठी (मङ्गले) ले अत्तो थाप्दै भने, रसिद हस्तान्तरण गर्न सूचना टाँसिसकेको छ । तपाईँहरू आउनुभएन । त्यसैले चुनाव स्थगित हुँदैन ।
त्यो कुराले उपस्थित किसानहरू आक्रोशित भए । आफ्नो भ्रष्ट आचरण लुकाउन आफ्ना मान्छे र सोझा किसानहरूको मात्र रसिद संस्थामा हस्तान्तरण गरी धाँधली गरेर चुनाव गराउन खोजेको प्रस्ट भयो । त्यसैले चुनाव स्थगित हुनैपर्छ भन्ने जनताको मागले दरबार स्क्वायर घन्किएको थियो । यसरी उनीहरूको कालो कर्तुत उदाङ्गिदै गयो । जनसमूहको विरोधको कारण आफ्नो षड्यन्त्र सफल हुने नदेखेपछि अन्ततः षड्यन्त्रकारीहरूले चुनाव स्थगित गरेको घोषणा गरे । त्यतिञ्जेलसम्म सभा स्वाभाविकरूपमा चलेको थियो । तर, एकातिर चुनाव स्थगितको घोषणा गरियो भने अर्कोतिर दरबार स्क्वायरकै कृष्ण मन्दिरको ठुलो घण्टापछाडि प्रतिक्रियावादीहरूको घृणित षड्यन्त्र सुरु भइसकेको थियो । तिनीहरूले सोझासीधा किसानहरूलाई निर्णय कापीमा सही गराए । निर्णय कापीमा साधारणसभाबाट नयाँ कार्यकारिणी गठन भएको व्यहोरा लेखिएको थियो । उपस्थित किसान कार्यकर्ताले यसको सुइँको पाउनासाथ सञ्चालक समितिका सल्लाहकार विष्णुप्रसाद नेपाली, कर्मचारी विष्णुदास भैल र मेनेन्जर रामप्रसाद चाँदको खोजी गरे । तिनीहरूलाई निर्णय कापीसहित समातेर जनताको बीचमा उभ्याइयो यता कृष्णभक्त चगुठी, बिकुलाल भैल र मेनेजर रामप्रसाद चाँडको खोजी भयो । तर, तिनीहरू सभास्थलबाट भागिसकेका थिए । तिनीहरूलाई समातेपछि मञ्चमा बसिरहेका तत्कालीन सी.डी.ओ., जिल्ला सभापति, भूमिसुधार अधिकारी र सहकारी विभागका रजिष्टार आदि मञ्च छाडेर भागेका थिए । पक्राउ परेका भ्रष्टाचारीहरूले अब आइन्दा जनतालाई धोखा दिनेछैन भनेर कबुल गरेपछि जनताले छोडिदिए । उपस्थित किसान जनताले त्यसै सभामा संस्थाको हिसाब जाँच गर्ने एक समिति गठन गरेपछि सभा बिर्सजन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *