भर्खरै :

नगरकोट सडकदेखि भङ्गेरी डाँडासम्म

चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीको भङ्गेरी डाँडामा ‘अन्तर्राष्ट्रिय स्तर’ को राष्ट्रिय खेलमैदान निर्माण गर्न भनी त्यहाँको वनक्षेत्र विनाश गरियो । विशेषतः सत्तासीन नेकपाभित्रको एमाले समूह यसमा अग्रसर देखिएको छ । यसअघि त्यही समूहले सूर्यविनायक नगरपालिकामा त्यस्तै खेलमैदान बनाउने भनी अध्ययनको लागि विनियोजन गरिएको बजेट सिध्याएको थियो । खेलमैदान बनाउने स्थानका किसानहरूको लगातारको विरोधपछि उनीहरूले हार खाए । अहिले फेरि त्यसरी सरकारी बजेट कुम्ल्याउने अर्को स्थानमा निशाना हानेका छन् । भङ्गेरी डाँडामा कुनै खेलमैदान बन्ने छैन । बरू त्यो शीर्षकमा आउने बजेट भने सत्तासीन दल र प्रमुख प्रतिपक्षका केही मानिसले भागबन्डा गरेर निजी सम्पत्तिको जोहो गर्नेछन् । खेलमैदान बनाउने भन्दै हिँडेको समूहका विगतको क्रियाकलापबारे बुझ्दा यो दाबी गर्न कति पनि अनकनाउनुपर्ने छैन ।
एकातिर सरकार रुख र वन्य क्षेत्र जोगाउने कार्यक्रम प्रस्तुत गर्दै छ, अर्कोतिर त्यही दलका केही मानिसहरू जङ्गल र पर्ती जग्गा हड्प्दै विकासको नाममा कमिसनको खेल खेलिरहेका छन् । त्यसै पनि काठमाडौं उपत्यकामा जङ्गलहरू पातलिरहेका छन् । भएका वनजङ्गलको संरक्षण गर्नुको सट्टा जङ्गल म्हासेर विकासको नाममा प्राकृतिक स्रोतको अन्यायपूर्ण दोहन भइरहेको छ । सिमेन्टका भवनलाई मात्र विकास देख्ने आँखाको निम्ति रुख र जङ्गल म्हास्न सक्नु नै विकास भएको छ ।
भङ्गेरी डाँडा पानीको मुहान क्षेत्र हो । त्यहाँको मूलबाट फुट्ने पानी चाँगुनारायण र भक्तपुर नपाका विभिन्न वडाका जनताको निम्ति अमृतसरह हो । मुहान क्षेत्रमा जङ्गल म्हासेपछि पानीको मुहान सुक्ने प्राकृतिक प्रक्रिया हो । लाखौँ मानिसको जीवनजल बनिरहेको पानीको मुहान सुक्न सक्ने सम्भावनालाई समेत विचार नगरी बनाउने भनिएको खेलमैदानले भविष्यमा पानीको हाहाकार निम्त्याउन सक्छ । अहिले नै त्यही कारण धारामा आउने खानेपानी निकै धमिलो हुने गरेको सर्वसाधारणको गुनासो बढेको छ । तर, कमिसनको लागि अन्धो बनेका व्यक्तिहरूको निम्ति मानवता सस्तो विषय बनेको छ । माक्र्सले भन्नुभएको थियो, “पुँजीपतिहरू दुई पैसा नाफा हुने भए आफैँ झुन्डिन पनि तयार हुन्छन् ।” आज सत्ताको आडमा विकासको नाम लिंदै आफ्नो दुनो सोझ्याइरहेका मानिसहरू दुई चार पैसा कमिसन आउने भएपछि आफूले पिउँदै आएको पानीको मुहान सुके पनि हुने व्यवहार गरिरहेका छन् ।

सत्तारुढ दलकै नजिकको मानिसले ठेक्का पाएको भक्तपुर–नगरकोट सडकको लथालिङ अवस्था सबैलाई थाहा छ । लगातारको जनदबाबबीच पनि त्यो सडक अझै बन्न सकेको छैन । लकडाउनको बहानामा अझ पनि म्याद थप गरेर सडकमा हिंड्ने जनतालाई कति वर्ष दुःख दिने हो, कुनै टुङ्गो छैन । आज त्यही दलका मानिसहरूले खेलमैदान बनाउने नाममा अझ केही दशकको लागि आफ्नो बाँच्ने आधार जोहो गर्न खोजिरहेका छन् ।

कुनै पनि क्षेत्रमा वनजङ्गल म्हासेर कुनै भौतिक निर्माण गर्दा त्यसले पार्ने वातावरणीय प्रभावको अध्ययन गर्नुपर्ने कानुनी प्रावधान छ । आइएलओ १६९ को नियमअनुसार कुनै पनि भौतिक निर्माण गर्दा त्यसले असर पार्ने मानिस र समुदायसँग परामर्श गर्नुपर्छ र कुनै पनि नकारात्मक असर पार्न दिनुहुँदैन । तर, भङ्गेरी डाँडामा बन्ने भनिएको खेलमैदानको लागि त्यस्ता कुनै पनि प्रक्रिया पूरा गरिएको देखिन्न । पानीको मुहानसँग जोडिएको क्षेत्रमा भौतिक निर्माण गर्दा त्यसले प्रभावित हुनसक्ने जनतासँग परामर्श गरेको खोइ ? केही आगन्तुकलाई चिल्ला कारमा राखेर चिप्लो घस्दैमा दिगो विकास हुनसक्दैन । यो विषय कुनै अहम् र रिस साँध्ने विषय होइन । यो निकै पछाडिसम्मको भविष्यसँग जोडिएको विषय हो ।
सत्तारुढ दलकै नजिकको मानिसले ठेक्का पाएको भक्तपुर–नगरकोट सडकको लथालिङ अवस्था सबैलाई थाहा छ । लगातारको जनदबाबबीच पनि त्यो सडक अझै बन्न सकेको छैन । लकडाउनको बहानामा अझ पनि म्याद थप गरेर सडकमा हिंड्ने जनतालाई कति वर्ष दुःख दिने हो, कुनै टुङ्गो छैन । आज त्यही दलका मानिसहरूले खेलमैदान बनाउने नाममा अझ केही दशकको लागि आफ्नो बाँच्ने आधार जोहो गर्न खोजिरहेका छन् । कमिसनमा भाग पाएर चुप लाग्ने र समर्थन गर्ने सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेता–कार्यकर्ताहरूले सोचून्–राजनीति एउटा चुनावमा सकिन्न । राजनीतिक नेतृत्वले आजको मात्र होइन, सुदूर भविष्यको पनि विचार गरेर कुनै पनि योजनाको समर्थन वा विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *