भर्खरै :

अमेरिकी स्वास्थ्य बिमा र औषधी कम्पनीको नाफामा राजनीतिक नेतृत्वको संरक्षण

संरा अमेरिकी स्वास्थ्य बिमा कम्पनी सिग्नाका पूर्वउपाध्यक्ष तथा ‘मेडिकेयर फर अल’ का प्रवद्र्धक वेनडेल पोटरले हालै युनाइटेड हेल्थले प्रकाशन गरेको त्रैमासिक आम्दानीमाथि टिप्पणी गर्दै संरा अमेरिकी निजी स्वास्थ्य बिमा उद्योगको चरम विसङ्गति उजागर गरेका छन् । धेरैले सोचेका थिए, यतिबेला बिमा दाबी गर्ने मानिसको सङ्ख्या धेरै होलान् । त्यसकारण, बिमा कम्पनीहरूको नाफामा कमी हुने अपेक्षा गरिएको थियो । तर, सोचेभन्दा विपरीत अहिले उक्त अमेरिकी निजी बिमा कम्पनीका साथै औषधी कम्पनीहरूले धेरै नाफा कमाइरहेका छन् ।
कोरोना भाइरसको महामारीले संसारमा आर्थिक विषमता र राजनीतिक अन्योल जन्माएको छ । तर, निजी स्वास्थ्य बिमा कम्पनी र औषधी कारखानाले यही मौकामा अकूत नाफा कुम्ल्याइरहेका छन् ।
युनाइटेड हेल्थको वक्तव्यमा लगानीकर्ताहरूलाई उनीहरूको नाफा बढेको जानकारी दिइएको छ । तर, पोटरको शब्दमा खासमा ‘बधाईको बकवास’ बीच वक्तव्यको मूल कुरा भने छोप्न खोजिएको छ ।
“अरू हजारौँ कम्पनीहरूले आफ्नो ढोका बन्द गरेर लाखौँ मानिस कामबाट निकालिएको अवस्थामा युनाइटेड हेल्थ नामको सो निजी स्वास्थ्य बिमा कम्पनीले अहिलेसम्मकै सबभन्दा बढी नाफा कसरी कमायो भन्ने कुरा बुझ्न जरुरी छ । यी तीन महिना बिमा र औषधी कम्पनी सबभन्दा नाफामूलक कम्पनी बने । उक्त कम्पनीले ६ अर्ब ६० करोड अमेरिकी डलर बराबरको नाफा कुल्याएका छन्”, पोटरले ट्वीट गरेका छन् । अघिल्लो वर्षको यही तीन महिनाको तुलनामा कम्पनीहरूको नाफा ५.४ प्रतिशतबाट १४.३ प्रतिशत अर्थात् तेब्बर बनेको छ ।
स्वास्थ्य बिमाको पैसा दाबी गर्नेहरूको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बेला यो कसरी सम्भव भयो ? वास्तवमा कम्पनीले सङ्कलन गर्ने बिमा रकम र बिमा दावी गर्ने रकमबीचको अनुपात ८३.१ प्रतिशतबाट ७०.२ प्रतिशतमा ओरालो लागेको छ ।
“अर्को शब्दमा महामारीको बेला कम्पनीले स्वास्थ्यको लागि मानिसलाई सामान्यतः दिँदै आएको पैसाभन्दा कम मात्र पैसा तिर्नुपरेको छ”, पोटरले प्रस्ट पारे ।
संरा अमेरिकामा अधिकांश मानिसको स्वास्थ्य बिमा उनीहरूको रोजगारीमा निर्भर रहन्छ । अहिले त्यहाँ पचास लाख मानिसले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएसँगै उनीहरूले स्वास्थ्य बिमाबाट पनि हात धुनुपरेको छ । कोरोनाको महामारी भोगिरहेको टेक्सास राज्यमा मात्र ६ लाख ५९ हजार मानिसले स्वास्थ्य बिमाबाट हात धुनुपरेको छ । टेक्सास संरा अमेरिकामा सबभन्दा कम स्वास्थ्य बिमा भएको राज्य हो । यसकारण, बिमा कम्पनीहरूले सेवा प्रदान गर्दै आएका ग्राहकहरू अहिले घटेका छन् ।
अमेरिकी स्वास्थ्य सेवा प्रणालीको यो एउटा मात्र नैतिक असफलता होइन । अमेरिकी औषधी कम्पनीहरू त्यसै पनि गम्भीर रोगका औषधी महँगोमा बेचेकोमा आलोचित छन् । कोभिड–१९ को मौकामा उनीहरूले औषधीको मूल्य बढाइरहेका छन् । औषधी बनाउन आवश्यक कच्चा पदार्थको अभाव वा मूल्य बढेको भन्दै उनीहरूले औषधीको मूल्य बढाएका छन् । खासमा ती सामग्री कति त करदाताकै पैसाले खरिद गरिएको हुन्छ । उदाहरणको लागि जिलिड साइन्स नामको औषधी कम्पनीले कोभिड–१९ रोगको उपचारका लागि आवश्यक पर्ने रेमडेसिभिर औषधीको एक मात्रालाई निजी बिमा कम्पनीलाई ५२० अमेरिकी डलर तिराइरहेको छ । पाँच दिनको मात्राको लागि ३ हजार १२० अमेरिकी डलर असुल्ने गरिरहेको छ ।
त्यो औषधी बनाउन अमेरिकी सरकारले ७ करोड ९० लाख अमेरिकी डलर लगानी गरेको छ । लिभरपुल विश्वविद्यालयका अध्येताहरूले त्यो औषधीको एक मात्रा उत्पादन गर्न जम्मा ९३ सेन्ट मात्र पर्ने हिसाब निकालेका छन् । संरा अमेरिकी सरकारले औषधी आविष्कार गर्ने अनुसन्धानमा प्रत्यक्षरूपमा पैसा लगानी गर्न चासो देखाउनुको मूल कारण यही हो ।
एउटा खुला पत्रमार्फत जिलिडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी ओ’डेले ‘आफ्नो कम्पनीले सकेसम्म धेरै बिरामीलाई सकेसम्म चाँडो र निकै जिम्मेवार तरिकाबाट सेवा दिन यसो गरिरहेको’ बताए ।
जिलिड र त्यस्तै अरू कम्पनीहरू यसरी उठाएको पैसा थप अनुसन्धान र विकासको लागि खर्च गर्ने भनी चर्को मूल्यलाई जायज ठह¥याउने कोसिस गर्छन् । पोलियो रोगको खोप पत्ता लगाउने वैज्ञानिक जोनस साल्कले त्यो खोपको नाममा आफ्नो प्याटेन्ट दर्ता गराउन चाहेनन् । यदि उनले आफ्नो नाममा प्याटेन्ट दर्ता गराएका भए उनी सजिलै खर्बपति हुन्थे । यदि औषधी महँगोमा बेच्नुको मूल कारण थप अध्ययन अनुसन्धानमा खर्च गर्नुको लागि हो भन्ने तर्क सही भए पोलियोको थप अध्ययन अनुसन्धानको लागि पनि पैसाको अभाव नहुनुपर्ने थियो । तर, त्यस्तो भएन । त्यसमा खर्च गर्दा कम्पनीहरूले नाफा कमाउन सक्दैनन । त्यसकारण, वास्तवमा उनीहरूले नाफाकै लागि यस्तो शिकारी व्यवहार गर्छन् ।
द इन्टरसेप्टका श्यारोन लर्नरले हालै औषधी र बिमा कम्पनीहरूलाई आवश्यक कानुनी आधार ट्रम्प सरकारले मिलाइरहेको लेखे । सरकारी अनुदान र सहयोगले चलेका कम्पनीहरूको लागि समेत ट्रम्प सरकारले नाफा कमाउने कानुनी आधार बनाइदिएको उनको भनाइ हो । औषधीको मूल्य आफूखुशी तय गर्न ट्रम्प सरकारले नै औषधी कम्पनीहरूलाई कानुनी आधार प्रदान गरेको छ । लर्नरका अनुसार सरकारले कुनै पनि परियोजनामा पैसा लगानी गर्न त्यसले उत्पादन गर्ने वस्तु ‘न्यायसङ्गत मूल्यमा’ सार्वजनिक प्रयोगको लागि दिनुपर्ने सम्झौता गरिएको हुन्छ । तर, कोरोना भाइरससँग सम्बन्धित कम्तीमा चार वटा सम्झौतामा यस्ता ‘न्यायसङ्गत मूल्य’ को सर्त तोडिएको छ ।
संरा अमेरिकाको महँगो स्वास्थ्य सेवा र स्वास्थ्य सेवामा पहुँचको कमीबारे सुन्दा संसार छक्क पर्ने गर्छ । निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा प्रणाली कार्यान्वयन गर्ने क्षमता सजिलै हासिल गर्न सकिन्छ । संरा अमेरिकासँग तुलनीय कुनै पनि देशमा कुनै न कुनै रूपमा यो प्रणाली लागु गर्न सकिन्छ भन्ने देखाउँछ । यो प्रणाली लागु गर्नसक्दा समाजको निम्ति निकै उपयोगी हुने तथ्यले देखाउँछ । त्यसकारण, राजनीतिकरूपमा कुनै पक्षमा नलागेका धेरै सङ्ख्यामा मानिसले निःशुल्क र सर्वसुलभ स्वास्थ्य उपचार प्रणालीको माग गर्नु कुनै आश्चर्यको विषय होइन ।
अमेरिकाको स्वास्थ्य सेवा उद्योग प्रभावकारी नहुनुको कारण आपूर्तिमुखी आर्थिक प्रणालीको अन्तरविरोधको परिणाम मात्र होइन । बरु त्यसको मूल जड राजनीतिक हो । ‘मेडिकेयर फर अल’ कार्यक्रमको स्थगन र औषधी कम्पनीहरूले थोपरेको अचाक्ली मूल्यको कारण महामारीको बेलामा राजनीतिक नेतृत्वले स्वास्थ्य विपत्तिलाई भयावह अवस्थामा पु¥याए ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *