भर्खरै :

ढुङ्गाको सुप

            आज लीलाको भुइँमा खुट्टै छैन । कारण पनि खास ठुलो छैन, सानो मान्छे खुसी हुन ठुलो कुरो पनि चाहिँदैन नि । अस्ति गाउँमा आएका सरले सबैको मुखिञ्जी उसको नामै काढेर बोलाए । ओहो ! कस्तो मज्जा नि लौ त कस्तो मज्जा । लीला रे । हो त, त्यो उसैको नाम हो नि । न्वारनका दिन पुरेतबाजे कानमा तीनपल्ट लीला, लीला, लीला भनेर चिच्याएर राखिदिएको नाम ।
            मान्छेका राख्ने र फार्ने गरी दुई प्रकारका नाम हुँदारहेछन् । न्वारनको दिन पुरेतबाले कानमा सुनाउने राख्ने नाम, सबैले ‘ए फलानो’ भनी बोलाउने नाम । स्कूल भर्ना गर्दा बाले लीलाबहादुर घिमिरे लेखाएपछि उसले आफ्नो राख्ने नाम जानेथ्यो । त्यसपछि आजै होला आफ्नै नामले पुकारिएको । बाँकी उसको जीवन ‘डल्ले’ भन्दा ‘हजुर’ भनेरै बित्यो । घरमावल, गाउँटोल, साथीसङ्गति त भए भए, आपूmभन्दा सानासमेत ‘डल्ले’ भनेरै बोलाउँथे । हदै गरेछन् भने डल्लुसम्म भने होलान् । उसको उचाइ औसत नेपालीको भन्दा कम होइन । तर, कुन साइतमा उसले त्यो नाम पायो कुन्नि, त्यसैले प्रसिद्ध भयो । तर, डल्ले भनेकोमा न उसलार्ई दुःखमनाउ थियो, न आपत्ति । उसको फार्ने नाम नै त्यही हो भन्ने बुझ्यो उसले । जति बुझ्यो दुःख उति थपिने न हो ? नबुझे केको दुःख ?
            आजको दिन आफ्नो उचाइ अचानक बढेको जस्तो लाग्यो उसलाई । सरले लीलाभन्दा पहिले त ऊ अलमल परेथ्यो । उसैलाई बोलाएको पक्का भएपछि उकुसमुकुस भएर आयो । मसक्क मस्क्यो, गमक्क गम्क्यो । अब कसैले भनोस् त उसलाई डल्ले । सरले समेत लीला भन्ने मान्छेलाई अरू झिना–मसिनाले डल्ले भन्ने ? बडाहरूले बात मारेको सुनेको उसले, सर काठमाडौँका ठुला मान्छे हुन् रे । उसले त पत्याउँदै पत्याएन । हिजै हैन र उसले सरसँग उभिएर नापिएको । उसको कानकानसम्म आएथे । ऊभन्दा होचा सर कसरी ठुला मान्छे ? बडाहरू पनि के–के बोल्छन् के–के । राजा छँदा सर राजासँगै डाइरेक्ट बात मार्नसक्थे रे । त्यो त ऊ के जानोस् र । राजासँग बात मार्ने सरले लीला भनेर बोलाएपछि ऊ के खाएर भुइँमा खुट्टा टेकिबस्दो हो ?
            कसैले नदिएको इज्जत दिने सर लीलालाई मन नपर्ने कुरै भएन, अरूलाई पनि मन पर्न थालिसकेका थिए जबकि गाउँमा सरको पदार्पण हुँदा कसैलाई खासै प्रभाव परेको थिएन । टाउकोको आधा भागसम्म कपाल नभएका, तालुदेखि जुत्तासम्म टलक्क टल्केका, होचाहोचा कदका सहरबाट आएका सफाचिटिक्क सरसँग धकाएका गाउँलेले एकदम औपचारिक तरिकाले स्वागत गरेथे । तर, केही दिनमै पानीमा चिनीजस्तै गरी सर गाउँसँग घुलमिल भए । सबैलाई नामैले चिने । चिनेपछि नबोलाइ हिँड्दैनथे । घरघर पुगी हालखबर बुझ्ने सरलाई त्यहाँ स्थापित हुन कत्ति बेर लागेन ।
            सरको रहनसहन एकदम साधारण भए पनि सरसफाइमा भने विशेष ध्यान दिन्थे । छरितो लुगा चिटिक्क पारेर लगाउने, पालिसमा चोप्दै बुरुसले घोटीघोटी टलक्क टल्काएर जुत्ता लगाउने, दिनहुँ धोएको मोजा फेर्ने सर साधारणमै विशेष देखिन्थे । तीनवटा कुरा भने नभई हुँदैनथ्यो सरलाई । बिहान उठेर खल्ल नुहाउन चार÷पाँच लोटा पानी, दिसापिसाब गर्न मकैको ढोडले बारेकै किन नहोस् सफा चर्पी, बिहान र दिउँसो दुईपल्ट एकएक गिलास कडा रङको दूधचिया । बाँकी जे छ त्यही ठीक । खानलाई एकदम सजिला । जे पाइन्छ, जे दिन्छन् आत्मीयताले खान्थे । मीठो लाग्ने कुरो, ‘मही पारेको छैन ? घिउ छैन ?’ भनेर मागी मागी खान्थे ।  
            केटाकेटीले त सरलाई जादूगरै ठाने । एउटाले भनेको अर्कोलाई नहुने ठाउँमा अस्ति आएका सरले जे भने सबकासब त्यही मान्छन् भने त्यो जादू नभए के हो त ? आएकै दिन चकलेट दिएर केटाकेटीको मन जिते । पछिपछि चकलेट खाने भए नाक सफा राख्नुपर्ने सर्त राखे । अनि पिँध पखाल्न गार्‍हो मान्ने केटाकेटीलाई सरको अघिल्तिर पर्दा नाक बगेको छ÷छैन याद गर्ने बनायो । आफ्नै नाक बगेको आफैँलाई सिकसिको लाग्न थाल्यो । त्यही सिकसिकोले पिँध पखाल्ने बनायो ।
          अब त सरलाई रिझाइयो भन्ठान्यो, जे गरेको छैन त्यही देख्ने भन्या । नाक पुछ्यो, मुख धोएको छ ? भन्ने । मुख धोयो, खै कट्टु लगाएको ? भन्ने । कट्टु लगायो, खै जुत्ता लगाएको ? भन्ने । अस्ति त हो, सरले कमल काकाको घरमा पुगेर ‘भाइ’ भनेर के बोलाएथे अल्छी मानेर सुतिरहेको काकाको छोरो भाइ जर्‍याकजुरुक उठेर बाहिर आयो । नाक छाम्यो, धन्न बगेको रहेनछ । सरले खै मुख धोएको ? भनेपछि लोटामा पानी लिएर खाने मुखमात्र धोयो । सबै गलल हाँसेँ, भाइ जिल्ल पर्‍यो । सरले नै उसलाई निधार, आँखा, गाला, नाक, मुख, चिउँडो सप्पैतिर पानी छ्याप्दै पखाल्दै गर्नुलाई मुख धुनु भनिन्छ भनेर सिकाए । उसले त्यसै गर्‍यो र टुक्रुक्क बसेर ठिर्‍याएको हात सूर्यतिर फर्काएर घाम ताप्न थाल्यो । सरले पनि ऊ जस्तै गरी बसेर घाम तापेको देखेर द· परेको भाइ त्यो दिनदेखि सरको ‘पङ्खा’ (फ्यान) भयो ।   
            बिहान एक बाँसमाथि घाम पुग्दा उठेको लीला आमालाई पिराउँदै थियो सरको नाम सुनेर चुप भयो । आज सरले देउरालीमा ढु·ाको सुप पकाउन सबैलाई बोलाएका छन् रे भन्दै आमाले हतार हतार उसको हातमुख धोइदिइन् । उमेरले त आमाले हातमुख धोइदिनुपर्ने होइन लीलाको, तर उसको मानसिक विकास राम्ररी भएको छैन । चार दिन बिमार लागेर उसलाई जन्माउँदा आमा किशोरी नै थिइन् । पौष्टिक आहार भनेको के हो कुन्नि उनले भरपेट खान पनि पाइन्, पाइनन् ? न्वारनको दिनदेखि भातभान्छा, पानीपनेरो गर्दा आराम के हो जानिनन् । वस्तुभाउको स्याहार, घाँस दाउरा गरेर भ्याएको बेलामा लाम्टा चुसायो, ६ महिनापछि आपूmले जे खायो त्यही खुवाएर हुर्केको लीलालाई उमेरले सिकाउने पाठ सिकाएन, आमालाई सिकाएर बस्ने फुर्सद भएन । त्यसैले लीलाको केही भर नभएकोले दैलो थुनेर उसलाई समेत अघि लगाई आमा देउराली पुगिन् ।  
            देउरालीमा ठुलै जमघट भइसकेछ । सुप पकाउनका लागि गाउँभरि खोजेर बडेमाको भड्डु ल्याएर राखिएको रहेछ । बिना वादविवाद, शान्त, रहरलाग्दो र व्यवस्थित वातावरणमा कोही के त कोही के गर्दैरहेछन् । हैन यो चमत्कार कसरी भयो ? सबैमा यो सार्‍हो जाँगर कसरी पलायो ? यसरी एक भएर काम गर्ने प्राणी त हैनन् यी । एउटालाई अर्कोले नसघाउने, आइमाई जोतिएको जोतियै, लोग्ने छोरा कि मातेर कि जुवातास खेलेर बस्ने, भएन त बिँडी, तमाखु तानेर बस्ने तर काम गर्न गार्‍हो मान्ने गाउँमा के आश्चर्य हो यो ? काम पनि एकदम काइदासँग भइरहेको छ । सरको हातमा भएको खातामा कसले के गर्ने लेखिएको छ । मान्छे हेरेर काम दिएको कारण कसैले गर्न नसक्ने भन्ने पनि भएन । छोरा मान्छेलाई पकाउने, ताछ्ने, छोडाउने, केलाउने, पिस्ने, पखाल्ने र छोरीमान्छेलाई बारी खन्ने काम दिएकोमा पनि सब हौसी हौसी गरिरहेका छन् त । 
            ठुल्ठुला ढु·ाका चम्का लगाएर भड्डु बसालेपछि आगो बालेर पानी हालियो । सबले घरघरबाट हरियोपरियो तरकारी, मरमसला, अदुवालसुन जे–जे छ लिएर आए । कसैले तरकारी केलाए, काटे, कसैले अदुवा, लसुन, आलु ताछे, काटे, कसैले प्याज काटे, कसैले धनियाको पात केलाए । कोही सिलौटोमा मसला पिस्दै भड्डुमा उम्लिरहेको पानीमा हाल्दै थिए । काटेको तरकारी पखालेर थप्दै गए । कोही मूढा काट्दै छन् त कोही दाउरा ठोस्दै छन् । मातेर लरबराउँदै हिँड्ने बडादेखि कम्मरमा हात राखेर काम अर्‍हाउने आपूm सिन्को नभाँच्ने बाजेसम्म पूmर्तिले काम गर्दै छन् ।
            एकथरी बारी खनेर ढु·ा खोज्दै छन् । तर, पाटाका पाटा बारी खन्दा पनि सुप पकाउन लायक ढु·ा नभेटिएपछि यता पिस्ने, केलाउने काम सकिएर खाली भएकाहरू सघाउन गए । बल्ल बल्ल भनेजस्ता चिल्ला, बाटुला ढुङ्गा भेटिए । त्यसलाई राम्ररी पखालेर भड्डुमा हालियो । सुप आडिलो बनोस् भनेर कोदोको पिठो घोलेर हालेर सुपलाई भकभकी उमाल्न थालियो ।
            लीलालाई लाग्यो–ढुङ्गा गलक्क गल्छ, अनि कचौराभरि ढुङ्गाको सुप खान पाइन्छ । तर कहाँ ? काम नगरी केको खान पाइन्थ्यो ? उसलाई पनि सरले फोहोर कसिङ्गर उठाएर रछ्यानमा फाल्ने काम दिए । सबैले काम गरेको देखेर ऊ पनि केही गर्न चाहन्थ्यो तर मेलोमेसो नपाएर जिल्ल परिरहेको थियो । ‘यसले जान्दैन’ भनेर उसलाई कोही केही काम गर्न लगाउँदैनथे, ऊ पनि अघि सर्दैनथ्यो । त्यसैले ऊ अल्छीअल्छी भइसकेको थियो । आज कसैले विश्वास गरेर काम लगाएकोमा ऊ पनि अरूभन्दा के कम भनेझैँ चम्की चम्की फोहोर बटुलेर फाल्न थाल्यो ।
            सुप पाक्ने बेलासम्म बढी भएको अदुवा, लसुन, प्याज, धनियाँ, खोर्सानी खेर नफाली कसको बारीमा के छैन लगेर रोपे हुन्छ नि भनेर सरले के भनेथे मेरो बारीमा धनियाँ छैन, लसुन छैन भन्दै धेरैजसो बीउ लिएर बारीतिर लागे । ‘भर्खर खनेको बारीमा बीउ रोप्न पाए बाँझो पल्टन पाउँदैन र तरकारी, मरमसला खान पनि पाइन्छ भन्ठान्दै’ फटाफट बीउ रोप्न थाले । हैन आज यो गाउँमा के भइरहेको छ ? भन्दै बाटो हिँड्ने समेत जिल्ल परेर हेरेर जान्थे ।
            सुप तयार भयो । सबले ठुल्ठुला बटुकोमा लिएर चरक्क कोखा चर्कञ्जी खाए । भोकले आलसतालस पारेको बेलामा आफैँले मिहिनेत गरेर पकाएको ढुङ्गाको तात्तातो सुप खूब स्वादिलो लाग्यो । खाए, पिए र पकाएको ठाउँ सिनित्त पारे । काम सानोठुलो, तेरोमेरो भन्ने केही भेद रहेन । जसले जे भेटे त्यही गरे, जसले जसलाई पनि सघाए । काम सकिएपछि सबै जना देउरालीमै बसेर बात मार्न थाले । कसो कसो कमलकाकाको आँखा सुपमा हालेको ढुङ्गामा परेछन् । हन हो ! ढुङ्गा त जस्ताका तस्तै पो छन् हाउ । पटक्क गलेका छैनन् । ढुङ्गाको सुप भनेर के खुवाए सरले ? ए कुरो यसो पो रहेछ । बुझियो सर बुझियो, छर्लङ्ग हुने गरी बुझियो । 
            उनी होसिएर भन्न थाले । लु है सर ! ढुङ्गाको सुप पकाउन सिकाएर, खान सिकाएर ठुलो गुन भयो हामीमाथि । उपकार भयो सर हाम्रो उद्दार हुने भयो । निदाएकालाई बिउँझाइ दिनुभयो । आफैँसँग भएका सानातिना चिजबिजबाट स्वादिलो सुप बन्छ भने यहीँको स्रोतसाधनबाट जिउने आधार तयार हुँदैन र ? सार्‍है उपयोगी पाठ पो सिकिएछ त । गहिरो जीवन दर्शन सजिलोसँग बुझाइ दिनुभयो सर । हाम्रो आँखा खुल्यो । अब के गर्ने बाटो पनि देखाइ दिनुहोस् ।
            काकाको कुरा सुनेर सबै छक्क परे । सोच्न थाले, ए हो त हगि ! सुपमा हालेका ढुङ्गा जस्ताका तस्तै छन् । ढुङ्गाको भन्दै मिहिनेत, जाँगर, सहयोग, प्रेरणा, सामुदायिकताको सुप पो खाइएछ त । 
            कुराकानी हुँदै थियो– खुट्टा टेक्न नसक्ने गरी मातेर आएका टेम्पे बूढा आते न पाते बोल्न थाले । सबलाई उठ्नसम्म रीस उठ्यो । जहिले यसो बात मार्नथाल्यो कि बूढा हल्ला मच्चाउँछन्, कसैलाई बोल्नै दिँदैनन् । मातेकोलाई गाली गरेर पनि के फाइदा ? अचानक सरले टेम्पे बूढालाई मन्तव्य राख्न भन्दै सबैको अगाडि बोलाइदिए । परेन फसाद । बकवास गर्नु र सबैको सामु भाषण गर्नु उस्तै कहाँ हुन्छ र ? दुईचार कुरा बोलेर उनी हिँडे । अनि राम्ररी छलफल भयो : हात बाँधेर बसेर हुँदैन । मिहिनेत गरेर पनि के ? फाइदा पटक्कै छैन । मिहिनेत पनि ठाउँमा पर्नुपर्छ तब न हुन्छ फाइदा । यो डाँडापाखामा के गर्न सकिन्छ ? आलुको खेतीको ठुलो सम्भावना छ तर रोप्ने बेलामा बीउ हुँदैन, मल पाइँदैन । आलुको बीउ राख्ने एउटा कोल्ड स्टोर भए हुन्थ्यो आदि ।
            ‘भए हुन्थ्यो भन्दै बसेर हुन्छ ? लु भोलिदेखि कोल्ड स्टोर बनाउन थाल्ने’ जुरुक्क उठेर उदयबाले घोषणा गरिदिए । नभन्दै अर्को दिनदेखि गाउँकै स्रोतसाधन जोरजाम गरेर ढुङ्गाको सुप पकाएकै पारामा थालिएको कोल्ड स्टोर हप्ता दिनमा तयारै भयो ।
            अब स्टोरमा राख्न आलु फलाउन परेन ? सर काठमाडौँ गएर एकजना अग्ला, गोरा विदेशीलाई लिएर आए । विदेशी सरको नाउँ जे भए पनि गाउँमा उनको न्वारन भयो स्वीज (स्वीस) सर । उनले राम्रो आलुको बीउ, मल उपलब्ध गराउनाका साथै ड्याङ बनाएर आलु रोप्ने नयाँ विधिसमेत सिकाइदिए । फल्यो कहिल्यै नफलेको आलु त्यो वर्ष फल्यो । घरघर पुगेर आलुको थुप्रो हेर्दै सरले भने ‘आलु बेचेर नुनतेलसम्मको जोहो कसो नहोला त अब ?’
           बिहानै आफ्नो आँगनमा आइपुगेका सरलाई चिया खुवाउने रहर को नगर्दो हो ? ‘चिया पिउँ न सर’ भन्यो, ‘घरमा चर्पी छ ?’ भन्ने प्रश्न तेस्र्याउँथे । ‘छ’ भने द· परेर चिया पिउने, ‘छैन’ भने भित्रै नपस्ने । लीलाले यसको अर्थ ‘सरलाई चिया पिउन नपाई चर्पी जानुपर्ने ब्यथा रहेछ’ भन्ने निकाल्यो र ‘चर्पी बनाऊँ’ भनेर बालाई पिर्न थाल्यो । उसलाई पनि सरलाई चिया खान बोलाउन रहर लागेको हो । ‘सबैको घरमा चर्पी हुनुपर्छ’ भनेर सरले गाउँका दुई लक्का जवानलाई काठामाडौँ पठाएर चर्पीको प्यान बनाउने तालिम लिने व्यवस्था मिलाइदिएका थिए । तालिम लिएर आएका उनीहरूले प्यान बनाएर बेच्न थालेपछि घरघरमा चर्पी बन्न थाल्यो । अनि लीलाको जिद्दी कति बढ्यो भने जसोतसो बारीको पाटामा सानो स्थायी चर्पी नबनाई बाआमाले धरै पाएनन् ।
            ‘मेरोमा चर्पी बन्यो’ भनेपछि त्यो घर सरलाई चिया पिउनका लागि फुक्ने भएकोले लीला र भाइ चर्पी बनेको खबर पनि सुनाउन चिया पिउन बोलाएर पनि ल्याउन भनेर सरको डेरामा के पुगेका थिए उनीहरूको सातोपुत्लो नै उड्यो नि । कुद्दै घर आएर निस्सासिँदै भने, “आमा ! आमा ! सरलाई त टाउको तल खुट्टा माथि हुने बिमारले भेटेछ ।” आमाले हाँस्दै भनिन्, “त्यो त सरले जादू गरेको हो, बिमार लागेको हैन ।” उनीहरू फेरि सरलाई डाक्न जाँदा पनि जादू सकिएको रहेनछ । एउटा नाक औँलाले थुन्ने अर्कोबाट फ्वाँ फ्वाँ सास फेर्ने, आँखा छोपेर कराउने, टाउकोले टेकेर खुट्टा आकाशतिर फर्काउने, घोप्टो परेर पानीबाहिर माछा छटपटाएजस्तो गर्ने के–के हो के–के ? ए है । बल्ल बुझियो । जादू जानेको भएर पो सरले जे भने पनि सबैले मान्दारहेछन् त ।
            हेर्दा हेर्दै गाउँमा कृषि विकास बैङ्क लेखेको अफिस बस्यो । त्यहाँबाट ऋण लिएर सानातिना कामको थालनी भयो । लीलाको घरमा पनि बारी धितो राखेर भैँसी किनियो । गाउँमै दूध सङ्कलन तथा चिस्यान केन्द्र बस्नाले दूध बेच्न पनि टाढा जानु परेन । दूधको ढुङ्ग्रो बोकेर केन्द्रमा दूध खन्याउन गएका गाउँलेलाई हेर्दै सरले भने ‘दूध बेचेर केटाकेटी पढाउने खर्च कसो नपुग्ला त ?’ घरमा पैसा आएपछि केटाकेटीले पढ्न पाएका मात्र होइनन्, फुर्सद हुँदा घाँस स्याउला, कुँडोपानी गरेर वस्तुभाउ अघाउन जाँगर पनि देखाउन थाले । महिनैपिच्छे बैङ्कमा ब्याज तिर्न भने बिर्सनुहुँदैनथ्यो ।
            उत्पादन बढेपछि बजारको खोजी हुनथाल्यो । अब सडकको आवश्यकता पर्‍यो । प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सडक बनोस्’ भनेर निवेदन दिइयो । एकथरीले सदरमुकाम गएर दबाब दिने काम गरिरहे । अन्ततः इलाम माइपोखरी सडक सरकारी योजनामा पर्‍यो । बजेट निकासा भएपछि भ्याकू आएर बाटो खन्न थाल्यो । केटाकेटीलाई त्यो भ्याकू सरले पठाएको भन्ने लागेछ । कसैले त्यसलाई छोएको देख्यो भने कमलकाकाको छोरो भाइ ‘सरको नचला’ भनेर चिच्याउँथ्यो । सडक बनेपछि गाउँको पहुँच सिलगुडीको बजारसम्म पुग्यो । 
            बर्खा बित्यो । दशैँमा सर घर जानुअघि ‘सबैले घरमा एउटा सफा तन्ना, सफा सिरानी र खोल हालेको सिरकको व्यवस्था गर्नू है’ भनेर गएका थिए । न नाता, न गोता, न आफन्त, न कुटुम्ब सर नहुँदा गाउँ उजाड, उराठ, शून्य लाग्ने भएछ ।  तिहार मनाएपछि खाइनखाइ सबैले सरले भनेकोजस्तै तन्ना, सिरानी र सिरकको सिरकको जोहो गरे । 
            एक साँझ गाडीको लावालस्करसहित सर आइपुगे । यति धेरै सफासुग्घर मान्छे ह्वारका ह्वार गाडीबाट ओर्लँदा एकछिन त गाउँमा ‘के गरौँ ? के नगरौँ ?’ भयो । बिस्तारै सम्हालिएर उही ढु·ाको सुप पकाएको पारामा घरघरबाट दही, दूध, उसिनेको आलु, भुटेको मकै, भटमास बारीबाट अम्बा, कोला ल्याएर पाहुनालाई खाजा खुवाए । पाहुनाले ताजा चिजबिज स्वादले खाए ।
            सबैको बीचमा उच्च र तीखो स्वरमा बोलिरहेका सरलाई देखेर लीलालाई अचम्म लाग्यो । ‘हैन यो सरलाई हाम्रा बडाकाकाहरूले मात्र मान्छन् भन्ठानेको त सहरका ठुल्ठुला मान्छेबीच पनि सरकै डाँको ठुलो छ बा ? साँच्चै सर राजासँग पनि यसै गरी बात मार्छन् होला ?’ उसले सोच्यो ।
            एउटा घरले एकजना पाहुना पाल्ने तय भएकोले पाहुनालाई सबैले आ–आफ्नोे घरमा लगे । जे छ पकाएर खुवाए, सफा तन्ना ओछ्याइदिए, सफा खोल हालेको सिरक ओढ्न दिए ।
            अर्को दिन बिहानैदेखि गाउँमा मेला लाग्यो । मञ्च बन्यो, भाषण भयो । कसले के भने, कसले के भने ? तर, सरले भनेको मात्र लीलाले बुझ्यो । “आलु खेतीले घर चलाउने, अलैँची खेतीले चाडपर्व मनाउने, दूध बेचेर केटाकेटी पढाउनेसम्मको जोहो त भयो अब चुहिएको छानो फेर्नु पर्दैन ? हो, अब पाखो बारीमा चिया रोप्ने, त्यो हुर्केपछि चियापत्ती बेचेर घरघरमा चादर (जस्तापाता) ठोक्ने । तपाईँहरू आँट गर्नुहोस्, जाँगर झिक्नुहोस्, हामी सहयोग गर्छौँ भन्न यतिका सरकारी मान्छेहरू यहाँ आउनुभएको हो । चिया खेती गरेर सबैको छानोमा टलक्क टल्किने चादर ठोक्नुपर्छ ।”
            मेला सकियो । गाउँमा उत्साह जगाएर सहरबाट आएका फर्के । द· परेर गाउँ घुमिरहेका सरलाई लीलाले सोध्यो, ‘हैन सर ! पाहुनाले तन्ना, सिरकको खोल, सिरानीको खोल त लानुभएन नि ? सरले खित्का छाड्दै भने, “त्यो दिएर पठाउने हैन, उहाँहरूलाई बस्नलाई, सुत्नदिनलाई बनाएको हो ।” “ए कुरो त्यसो पो रे’छ । दसैँमा लुगा हाल्ने पैसा कटौती गरेर किनेको सिरक आफैँ ओढेर सुत्न पाइने भइयो” भनेर लीलालाई खुसी लाग्यो ।
            फेरि ढुङ्गाको सुप पाक्यो । नर्सरीमा चियाको बेर्ना तयार भयो । त्यहाँबाट बेर्ना किनेर ल्याएर केही नफल्ने पाखो बारीमा चिया रोपियो । तीन वर्षमा चियाको बुटामा तीनपाते टिप्न तयार भयो । गाउँमै चिया कारखाना बन्यो । पत्ती ओसार्न पिकअप किनियो । नभन्दै कसैले पाँचै वर्षमा कसैले दस वर्षसम्ममा चियापत्ती बेचेर सके रङ्गीन, नसके सादा चादर ठोके । सिनित्त परेको गाउँ,     घरघरमा सफा चर्पी, चादर ठोकेका राम्रा घर, चियाको बुटाले हरियो बनेको डाँडो, आलु, अदुवा, अलैँची, अकबरे, अम्लिसो, ओलन, अथोडिक्सले चिनिन थालेको इलामको यो गाउँ सिनेमा बनाउनेको आँखामा पनि परेकोले अहिले त्यो सुटिङ्ग हबसमेत बन्न पुगेको छ । 
            आलुको बीउ कसरी जोगाउने भन्नेमा केन्द्रित स्वीस सरकारको सहयोगमा सञ्चालित कार्यक्रममा जागिर खाएर यहाँ आएका सर आलुको बीउमा मात्र सीमित रहेनन्, धेरै थोकमा अगुवाइ गरे । “विकासको गोरेटो खन्न प्रेरित गरेर सरले गाउँलाई चालीस वर्ष अगाडि पुर्‍याएदिएका हुन्” भन्नेमा उदय दाइ, कलम दाइ, सूर्य दाइ, श्याम दाइ कसैको दुईमत छैन ।           आज लीलाको घरमा चादर ठोकियो । कामदार बिदा भएपछि दाजुभाइ छानोतिर हेर्दै टोलाए । दुःखै दुःखमा बितेका बाआमालाई सम्झे । अनि सरलाई सम्झे । लीलाले भाइतिर हेरेर सोध्यो, “साँच्चै आजभोलि सर कता होलान् हगि ?” सिनित्त सफा गाउँको चादर हालेको घरमा बस्ने सुकिला मान्छेको परिकल्पना गरेर त्यसको जग बसालिदिने सरलाई सम्झे । दुवै दाजुभाइको मन भरियो । रसाएका आँखाले छानोतिर हेर्दै भने, “जाँगर हराएको कुनै गाउँमा ढुङ्गाको सुप पकाउन सिकाउँदै होलान् नि त लीला ।”
            (अब पाठकसँग के कुरो लुकाइ भयो र ? यो  इलाम जिल्लाको जसबीरे गाउँका यथार्थ पात्र र घटनालाई लिएर कथिएको सत्यकथा हो । जसबीरे समाजमा ‘भैरव सर भनेर चिनिएका सर सामाजिक अभियन्ता र वरिष्ठ पत्रकार भैरव रिसाल हुनुहुन्छ ।)

One response to “ढुङ्गाको सुप”

  1. Kushal Pariyar says:

    so much touching story …….. Thanking you …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *