भर्खरै :

लेनिन कथा – २३ क्रान्तिका कदमहरू

            बोल्शेभिक पार्टीको सातौँ अधिवेशनले जर्मनीसँगको युद्धको अन्त्य गर्ने फैसला गर्‍यो । त्यसै अधिवेशनमा लेनिनले एक अर्को सवाल उठाए । यो थियो बोल्शेभिक पार्टीलाई कम्युनिस्ट पार्टी नामकरण गर्ने सवाल ।
            तब उनले भनेका थिए, “हाम्रो लक्ष्य कम्युनिज्मको निर्माण गर्ने हो । यसकारण पनि हामीले आफ्नो पार्टीलाई कम्युनिस्ट पार्टीको नाम दिनु आवश्यक छ ।
            मजदुरहरूसँगका अधिकांश भेटघाटमा र आफ्नो क्रेमलिन कक्षमा काम गर्दै गर्दा लेनिन हरबखत नयाँ समाजको निर्माणका बारेमा चिन्तन गरिरहन्थे । सबैभन्दा पहिलो कदम सर्वाधिक कठिन र सर्वथा महत्वपूर्ण हुने गर्छ । लेनिन ती कदमहरूको बारेमा सोचेर कहिल्यै थाक्दैनथे । तिनको बारेमा उनले जनकमिसार परिषद्का सदस्यहरूसँग परामर्श पनि गर्थे ।
            याकोभ मिखाइलोभिच स्वेर्दलोभसँग उनको प्रायः भेटघाट भइरहन्थ्यो । स्वेर्दलोभ अखिल रूसी केन्द्रीय कार्यकारिणीका अध्यक्ष थिए । दुवै मिलेर राजकीय मामिलाहरू हल गर्थे ।
            युद्धबाट फुर्सद मिलेसम्म सोभियत सत्ताले नयाँ जीवनको बलियो जग हाल्नुपर्छ भन्ने लेनिनलाई थाहा थियो ।
            यसको लागि सर्वप्रथम उनले मजदुर वर्गको ढोका ढक्ढक्याए । “हामीलाई सर्वहाराको बलियो काँध र सुझबुझपूर्ण पाइलाको खाँचो छ,” उनले ‘सर्वहारा सत्ताको तात्कालिक कार्यभार’ शीर्षकको आफ्नो विख्यात लेखमा लेखे । पार्टीले लेनिनका कार्ययोजनाहरूलाई समर्थन गर्‍यो । यो लेख ‘प्राभ्दा’ र ‘इज्वेस्तिया’ मा छापियो । त्यसमा जनतालाई विराट लक्ष्यहरूसँग साक्षात्कार गराइएको थियो । कम्युनिस्ट, मजदुुर र किसान लेनिनका पछाडि थिए । उनीहरू लेनिनमाथि विश्वास गर्थे ।
            क्रेमलिनमा लेनिनको कक्षमा लेख्ने टेबलनजिकै बस्ने र अडेस लगाउने भाग बुनिएको आराम कुर्सी थियो । लेनिनलाई यो औधी मनपथ्र्यो । किनभने, बाल्यकालमा सिम्बिस्र्कको घरमा पनि यसरी नै बुनेका कुर्सीहरू थिए । त्यसलाई देख्नेबित्तिकै उनलाई भान्साकोठामा बिताएका बाल्यकालका दिन र शरद्का साँझहरूको सम्झना आउँथ्यो । त्यसबेला पढेका राम्रा–राम्रा किताबको झल्को आउँथ्यो । कति सुखद थिए ती दिन !
            लेनिन चाहन्थे, सोभियत देशका सारा मजदुर, किसानका केटाकेटीहरूको बाल्यकाल यस्तै सुखी र आह्लादित होस् ।
            जारको शासनमा मजदुर, किसानका बालबच्चाले शिक्षा पाउनु धेरै कठिन थियो । स्कूले शिक्षा बिरलै पूरा हुन्थ्यो । उच्च शिक्षा त टाढाको कुरा भइहाल्यो । अब भने कामदारका बालबच्चाहरूसामु शिक्षाका सबै ढोका खुला थिए । जति चाहन्छौ, जहाँसम्म चाहन्छौ पढ ! स्कूल, कलेज, पुस्तकालय सबै तिम्रा हुन् !
            युद्धले रूसलाई लथालि· पारेको थियो । मानिसहरू भोकमरी र चिसोले त्रसित थिए । तर, सबैभन्दा गतिलो रासन, सबैभन्दा गतिलो खान्की बालबच्चाहरूको लागि थियो । यसअघि कुनै पनि राज्यमा, धनीभन्दा धनी देशमा पनि कामदारहरूलाई, कामदारका छोराछोरीलाई यति ध्यान दिइएको थिएन ।
            जारको शासनमा मजदुरहरूले १२–१२ घण्टा काम गर्थे । कहिलेकाहीँ त १५ घण्टासम्म पनि काम गर्थे । तर, सोभियत सत्ता आएपछि भने लेनिनले आदेश दिए – सबैका निम्ति कामको अवधि दैनिक आठ घण्टाभन्दा बढी नहोस् ।
            पहिले सबैभन्दा राम्रो, उब्जाउ जमिन जमिनदार र धनी किसानहरूको मुट्ठीमा थियो । तर, अब त्यो सबै जमिन जनताको सम्पत्ति बन्यो । कलकारखाना, रेलमार्ग, खानी, तेल उद्योग, बैङ्क आदि राज्यका सोभियतहरूको हातमा आयो । जमिनदार र पुँजीपतिलाई भनियो – चाहन्छौ भने काम गर । काम नगर्नेले खान पाउनेछैन ।
            यी थिए हाम्रो देशमा आएका अभूतपूर्व परिवर्तन । क्रान्ति दृढतापूर्वक अगाडि बढिरहेको थियो । यो नयाँ समाज, नयाँ व्यवस्थाका अगुवा थिए भ्लादीमिर इल्यीच (लेनिन) र कम्युनिस्ट पार्टी ।
गाउँ–गाउँमा
            क्रान्तिभन्दा धेरै पहिले लेनिन अन्य साथीहरूसँगै जेनेभामा बस्थे । त्यहाँ एकदिन रूसबाट एक क्रान्तिकारी युवती आइन् । उनको नाम थियो लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा । उनी छिट्टै लेनिनकी जुझारु सहायक बनिन् । उनी तन–मनदेखि क्रान्तिप्रति समर्पित थिइन् । क्रान्तिबाहेक अर्को एकमात्र चीजमा उनको रुचि थियो सङ्गीतमा । कहिलेकाहीँ साँझ खाली भएको बेला बोल्शेभिकहरू लेपेशिन्स्कीको भोजनालयमा जम्मा हुन्थे । उक्त भोजनालय उनीहरूका क्लवजस्तै थियो । लिदिया अलेक्सान्द्रोभ्ना पियानोमा बिथोभेनको ‘पेथेटिक सोनाटा’ बजाउँथिन् । लेनिनलाई यो रचना एकदम मनपथ्र्यो । त्यसलाई सुन्दै गर्दा उनी अत्यन्त भावविभोर र सोचमग्न हुन्थे ।
            क्रान्तिपछि लिदिया फोतिएभा जनकमिसार परिषद्की सचिव नियुक्त भइन् । उनी हरबखत काममा व्यस्त रहन्थिन् । परिषद्को कामकाजमा सहजता होस् भनेर उनको निवास पनि क्रेमलिनमा थियो । उनलाई लेनिनसँग सम्बन्धित सबै कुराको पूरा जानकारी हुन्थ्यो – लेनिन कतिखेर कोसँग भेट्छन्, कतिखेर कहाँ जान्छन् र काममा कुनै चीजको खाँचो छ वा छैन, सबै ।
            जनकमिसार परिषद््का अध्यक्षसँग भेट्न धेरै मानिसहरू आउँथे । “भ्लादीमिर इल्यीच, कुनै सुदूर गाउँबाट केही किसानहरू आएका छन् र हजुरसँग भेट्न चाहन्छन् ।” एक दिन फोतिएभाले भनिन् । “बोलाउनुस्, बोलाउनुस् !” लेनिनले जवाफ दिए ।
            घाम र हावाले विद्रुप बनाएका दारीवाल किसानहरू हरियो कपडाले ढाकिएको लामो टेबलनिर बसे । पहिला उनीहरू केही सङ्कोच मानिरहेका थिए तर लेनिनको सादापन देखेर हिम्मत जुटाए ।
            लेनिनको सादापनले मानौँ उनीहरूको बुद्धि पनि प्रखर भयो । लेनिन यही चाहन्थे । उनीहरूले आफ्ना सारा कुरा सटिकरूपमा खुलस्त भनून् भन्ने उनका लागि महत्वपूर्ण थियो ।
            “साथी इल्यीच, हजुर हामीभन्दा ठुलो हुनुहुन्छ”, सुदूर गाउँबाट आएका किसानले बोले । “ज्ञान हजुरमा यति छ, के भनौँ …”
            “कहाँ, मलाई थाहा नै कति छ र,” लेनिनले आपत्ति जनाए । “दुर्गम गाउँकै कुरा गरौँ, त्यसबारे मैले कति नै बुझेको छु र ? रत्तिभर ।”
            “दुर्गम गाउँका बारेमा हामीलाई थाहा भएजति हामी तपाईँलाई बताउन सक्छौँ ।”
            “बताउनुस्, बताउनुस् ।”
            “सबैभन्दा पहिलो कुरा, हामी किसानहरूलाई सोभियत सरकार खूब चित्त बुझेको छ । किनकि, यसले जमिनदारहरूलाई उदाङ्ग्याएको छ,” छातीसम्म लत्रिएको दारी पालेका सबैभन्दा पाका किसानले बताउन सुरु गरे ।
            “हजुर, हजुर । अनि ?”
            “अनि कुरा छ, धनी किसानहरूको । उनीहरूले नयाँ जिन्दगीको घाँटी निमोठ्नेछन् । यसलाई चल्न दिनेछैनन् । तिनीहरू इल्यीच सरकारका साथी होइनन्, दुष्मन हुन् ।”
            लेनिनलाई यी कुरा थाहा थियो । तैपनि उनले गरिब किसानहरूका कुरा ध्यान दिएर सुने । आफूसँग भएको जानकारी पुनः जाँचे, आवश्यक नतिजा निकाले र केही पछि, १९१८ को गर्मी याममा एउटा नयाँ अध्यादेश, एउटा नयाँ सोभियत कानुन जारी गरे ।
            यो अध्यादेश गाउँमा किसानका समितिहरू बनाउने सम्बन्धमा थियो । ती समितिलाई पछि कोमबेद भन्न थालियो । कुलाक वा धनी किसानविरोधी सङ्घर्षमा यी समितिहरू नै सोभियत सत्ताका मुख्य सहारा सिद्ध भए ।
            आज सोभियत देशमा धनी किसानको नामनिसान बाँकी छैन । परिवारका हिसाबले तिनीहरू पनि किसान थिए । तर, हुनेखाने थिए र कोही त अत्यन्त धनी थिए । तिनीहरूले कृषि उपजको कालोबजारी गर्थे । तिनीहरू अर्काको मिहिनेत चुसेर बाँच्थे । पैसा हातमा हुँदा अरू जमिन जोड्थे । गाउँले भूमिहीन गरिब किसानहरूलाई त्यसमा कज्याउँथे । गरिबको अन्न भण्डार वसन्त नआउँदै रित्तिन्थ्यो । त्यतिबेला धनी किसानहरूसँग उनीहरूले उधारोमा अन्न लिन्थे र यसको बदलामा तिनीहरूको जमिन जोत्थे । शरद् आएपछि बाली पाक्थ्यो । त्यसबेला जति अन्न उधारो लिएका हुन् त्यसको दोब्बर अन्न फिर्ता दिन्थे । अरू कुनै उपाय थिएन । गरिब किसान गुलामी गर्न विवश थिए । मिहिनेती किसान भोको रहन्थ्यो । एक मुठी अन्नको आसमा छटपटिन्थ्यो । यता धनी किसानको घरमा अन्नको भकारी सदा भरिभराउ रहन्थ्यो । धनी किसानहरू भने खालि अन्न कतिबेला महँगिने होला भनी पर्खिरहन्थ्यो । नाफाको लागि ऊ छिमेकीको घाँटी रेट्न पनि तयार हुन्थ्यो ।
            सहरहरूमा भोकमरी बढिरहेको थियो । के गर्ने होला ? मजदुर, राष्ट्रसेवक कर्मचारी, बालबालिका, लालसेनाका सिपाहीहरूलाई के खुवाउने होला ? अन्न कसरी प्राप्त गर्ने होला ? गाउँमा अन्न नभएको पनि होइन । अन्न थियो । तर, कालोबजारी गर्ने धनी किसानहरू त्यो अन्न दिन चाहँदैनथे । उनीहरूले अन्न लुकाएका थिए । यो सरासर अन्याय थियो । एकातिर, सहरमा मानिसहरू रोटीको एक टुक्रा पाउन सङ्घर्ष गरिरहेका थिए । अर्कोतिर, धनी किसानका गोदाम अन्नले भरिभराउ थिए । त्यो अन्न गरिब किसानहरूले उब्जाएका थिए । त्यो अन्न कालोबजारी गर्नेहरू नभई आम जनताको थियो । यिनै कुराहरू सोच्दै एक दिन लेनिनले मजदुरहरूलाई बोलाए ।
            “मजदुर साथीहरू,” लेनिनले भने । “कारखाना र फ्याक्ट्रीहरूमा अनाज एकत्रित गर्ने दस्ता बनाउनुस् र गाउँ–गाउँ जानुस् । त्यहाँ गरिब किसानहरूका समिति छन् । उनीहरू हाम्रो साथमा छन् । मझौला किसान पनि हाम्रो साथमा हुनेछन् । गाउँमा सोभियत सत्तालाई कसरी मजबुत बनाउने तपाईँले उनीहरूलाई बताउनुस् । उनीहरूले तपाईँलाई कालोबजारी गर्नेहरूले अन्न कहाँ लुकाएर राखेका छन् भन्नेछन् ।”
            साथमा लेनिनले एक अध्यादेश तयार गरे –गाउँको सबै अतिरिक्त अन्न गरिब किसानको समिति र मजदुर दस्तालाई दिनुहोला !
            जनकमिसार परिषद्ले त्यस अध्यादेशलाई अनुमोदन गर्‍यो । यसरी क्रान्तिका अघिल्ला वर्षमा लेनिन र सोभियत सरकारले मजदुर जनतालाई भोकमरीबाट जोगाए ।
अनुवाद : माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *