भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त सर्जिकल मास्क अस्पतालहरूलाई हस्तान्तरण

            भक्तपुर, ९ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीबाट सहयोगस्वरूप प्राप्त स्वास्थ्य सुरक्षा सामग्री पाँच हजार थान सर्जिकल मास्क भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शुक्रबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
            कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त पाँच हजार मास्क पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रस्तावअनुसार पार्टीले भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
            सचिव सुवालले कोभिड–१९ सङ्क्रमण रोकथामको लागि मास्क सहयोग गर्ने चिनियाँ कम्युनिस्ट पार्टीलाई अध्यक्ष बिजुक्छेँ र सिङ्गो  पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
            उहाँले भन्नुभयो, “पठाइएको मास्कको बक्सामा पानी र पहाडले जोडिएका हामी हातमा हात मिलाएर बढ्छौँ आदि लेखिएको छ । यसले नेपाल र चीनको घनिष्ठतालाई जोड दिन्छ ।”
            “कोभिड–१९ गत वर्षको सेप्टेम्बरमै अमेरिकामा देखिएको हो । अमेरिकी सैनिकहरूले चीनको उहानमा खेलकुद प्रतियोगितामा भाग लिन गएको बेला चीनमा यो भाइरस फैलिएको हो”, उहाँले बताउनुभयो ।
            सचिव सुवालले भन्नुभयो, “चीनले कोभिड–१९ गत डिसेम्बरमा देखापर्नेबित्तिकै विश्व स्वास्थ्य स·ठन र आम सञ्चारमार्फत सबै देशलाई जानकारी गराएको थियो । विश्व स्वास्थ्य सङ्गठनले पनि चीनबाट प्राप्त सूचनालाई तत्कालै आफ्नो कार्यालयमार्फत सबै देशलाई जानकारी गराएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोष पन्छाउन चीन र विश्व स्वास्थ्य स·ठनमाथि आरोप लगाए । ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी चीनविरूद्ध विश्वलाई उक्साउने दुष्प्रयास गरियो ।
            कोभिड–१९ रोकथाममा पुँजीवादी पार्टी र सरकार अमेरिका, ब्राजिल र भारतमा असफल भए भने चीन, प्रजग कोरिया, क्युवाजस्ता समाजवादी देश र सरकार सफल भए, उहाँले बताउनुभयो ।
            भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा र नेमकिपाको तर्फबाट चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताप्रति धन्यवाद दिँदै भक्तपुर नपाले चीनलगायत अरू देशहरूले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा गरिरहेको उपायबाट शिक्षा लिंँदै काम गरिरहेको बताउनुभयो ।
            लकडाउनको समयमा स्थानीय जनताबाट सकारात्मक साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरका जात्रा तथा पर्वहरू औपचारिकतामै सम्पन्न भएको बताउँदै प्रमुख प्रजापतिले विदेशबाट फर्केकाहरूको लागि नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको बताउनुभयो ।
            कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड–१९ नियन्त्रणको लागि भक्तपुर नपाले गरेका गतिविधिहरू सराहनीय र अरू स्थानीय तहहरूको लागि उदाहरणीय रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाका कोभिड–१९ नियन्त्रणका सबै गतिविधिले गर्दा नगरमा कोभिड–१९ नियन्त्रण कार्य प्रभावकारी भइरहेको र सांस्कृतिक नगरको सांस्कृतिक गतिविधिहरूको औपचारिकतामा सीमित गर्न सकिएको बताउनुभयो ।
            सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका इन्चार्ज प्रा.डा. प्रेम ज्ञवालीले कोरोना भाइरसबाट जोगिन व्यक्तिगत सुरक्षा उपाय र सामाजिक दुरी कायम गरी अनुशासनमा बस्नु नै उत्तम भएको बताउँदै लकडाउनको समयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले निरन्तर सेवा दिएको बताउनुभयो । केन्द्रले २०७७ भदौ १ गतेबाट मुटुसम्बन्धी सम्पूर्ण उपचार सेवाहरू सुरू गर्ने प्रा.डा. ज्ञवालीले जानकारी गराउनुभयो ।
            भक्तपुर क्यान्सर अस्पताल रेडिएसन अनकोलोजिस्ट विभागीय प्रमुख उज्ज्वल चालिसेले सङ्कटको घडीमा अस्पतालले सञ्चालन गरेको सेवा र सुविधाबारे अवगत गराउँदै लकडाउनको समयमा यातायात अभावका कारण बिरामीहरूलाई अप्ठ्यारो स्थिति सिर्जना भएको बताउनुभयो ।
            भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतमले कोभिड–१९ नियन्त्रणका लागि भक्तपुर नगरपालिकाले खेलेको भूमिका सराहनीय भएको र निजी अस्पतालले सबै सेवा बन्द गरेको अवस्थामा पनि भक्तपुर अस्पतालले सम्पूर्ण सेवाहरू सञ्चालन गरेको बताउनुभयो ।
            जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले कोभिड–१९ नियन्त्रणका लागि केन्द्रबाट गरेको गतिविधिबारे अवगत गराउँदै लकडाउनमा पनि जनस्वास्थ्य केन्द्रले आकस्मिक सेवा निरन्तर सञ्चालन गरी आवश्यक सेवाहरू प्रदान गरिरहेको बताउनुभयो ।  २०७२ सालको विनाशकारी भूकम्पमा चिनियाँ कम्युनिस्ट पार्टीले जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरलाई १ लाख थान सर्जिकल मास्क सहयोग गरेको स्मरण गर्नुभयो ।
            कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कोभिड–१९ रोकथामका लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न सङ्घ संस्थाहरूले आर्थिक र भौतिक सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
सोही समारोहमा नगर प्रमुख प्रजापतिले सहयोगस्वरूप प्राप्त मास्कहरू सहिद धर्मभक्त राष्ट्रिय अङ्गप्रत्यारोपण केन्द्रलाई १ हजार थान, भक्तपुर क्यान्सर अस्पताललाई १ हजार थान, भक्तपुर अस्पताललाई १ हजार थान र भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई २ हजार थान हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *