(मन्त्री आफ्नो कार्यकक्षमा बसिरहेको बेला बैङ्क माफियाको प्रवेश हुन्छ)
बैङ्क माफिया ः “नमस्कार मन्त्रीज्यू, खोई त ! गभर्नरसाप आइपुग्नु भएको छैन ?”
मन्त्री ः (मोबाइलको घडी हेर्छन्) “अँ, यतिबेला त आइपुग्नुपर्ने हो ! फोन गर्छु ।”
गभर्नर ः (मोबाइलमा) “म पुग्दै छु ।”
मन्त्री ः (बैङ्क माफियासँग) “भन्नुस् हालखबर के छ ?”
बैङ्क माफिया ः “मन्त्रीज्यू, के हुनु ? तनाव छ ! कोभिड–१९ ले विद्यालय, कलेज, यातायात, उद्योग, व्यापार सब बन्द छन् । बैङ्कमा तरलता बढी छ । खोई ? सरकारबाट राहत प्याकेज आएन !”
मन्त्री ः “के गर्नु ? कोभिड–१९ त अमेरिकाबाटै चीनमा सरेको हो तर अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ भाइरस भनी चीनलाई आरोप लगाए ।”
(मन्त्रीको कोठामा गभर्नरको प्रवेश हुन्छ । नमस्कार आदानप्रदान हुन्छ ।)
मन्त्री ः “राहत प्याकेजबारे सैद्धान्तिक विषय भन्छु । ककल्ले राहत पाउने गभर्नरसापले भन्नुहुनेछ ।”
(बीचमै)
गभर्नर ः “मन्त्रीज्यूको अनुमति भए म स्पष्ट गर्छु ।”
(मन्त्रीले मुन्टो हल्लाएर अनुमति दिन्छन्)
बैङ्क माफिया ः “हो, हामीलाई सैद्धान्तिक पक्ष होइन । कल्ले कति राहत पाउने हो, स्पष्ट हुनुप¥यो ।”
गभर्नर ः “त्यही म बताउँछु । बैङ्कको कर्जा चुक्ता गर्ने अर्को एक वर्ष थपिएको छ । कृषि र उर्जामा ऋण लगानी बढाइनेछ । सहुलियत ब्याजमा पुनःकर्जा दिइनेछ ।”
मन्त्री ः “चुनावमा छाप हाल्ने जनताले के पाउने भो ? हामी निर्वाचन क्षेत्र जानै हुँदैन, घेरा हाल्छन् ।”
बैङ्क माफिया ः “चुनावमा छाप हाल्ने जनताले यो राहत प्याकेज बुझ्दैनन् । बैङ्क सञ्चालन गर्ने र कर्जा लिने त हामी नै हौँ । चुनावमा जनतालाई पैसा र सामान बाँड्न, भोज खुवाउन चन्दा त हामीले नै दिने हो !
गभर्नर ः (बैङ्क माफियातिर सङ्केत गर्दै) “यथार्थ उहाँले भन्नुभएजस्तै हो ।”
मन्त्री ः निर्वाचन क्षेत्रका जनताले हाम्रा सांसदहरूलाई चुनाव जितेर पुँजीपति, भूमाफिया, बैङ्कमाफिया, कालाबजारिया, तस्कर, खराब ठेकेदारको सञ्चालक समितिजस्तो सरकार बनाए, काठमाडौँमै घरजग्गा जोडे भनी खुब विरोध गर्दै छन् ।”
गर्भनर ः “सत्य यही हो । एकजना पूर्वप्रहरी अधिकारीले ५ जना ठूला उद्योगी–व्यापारी दाबी गरेका र १०–१२ जना अपराधीले आजसम्मको सरकार चलाएको सार्वजनिकरूपमै बताएका हुन् । यो यथार्थलाई कसरी नकार्न मिल्छ ?”
मन्त्री ः “त्यो त हो । काठमाडौँ उपत्यकाका जनतालाई साउन १ गतेदेखि मेलम्चीको पानी खुवाउने वाचा यो वर्ष पनि पूरा भएन । असार ३० गतेको परीक्षणमै सुरुङ्ग कसरी फुट्यो ? पानीले दुईजनालाई बगायो, एउटा शव अझै फेला परेको छैन । यो तालले दुईतिहाइको सरकारलाई कसले पत्याउँछ ?”
भूमाफिया ः “मन्त्रीज्यू, कामले सरकारलाई पत्याउने होइन, चुनाव त नोट र भोजले जितिने हो । तपाईँहरू ढुक्क हुनुहोस् । हामी छँदै छौँ नि !”
गभर्नर ः “मन्त्रीज्यू, ६० प्रतिशत कारोबारी त तपाईँहरूकै पार्टीका कार्यकर्ता र समर्थक दाबी गर्छन् । त्यसैले यो वर्षको बेरुजु ६.६४ अर्ब पुग्यो भने डेडिकेटेड फिडर र ट्रङ्क लाइन विद्युत् प्रयोग गरेका उद्योगीबाट ६ अर्ब ३४ करोड उठेको छैन ।”
मन्त्री ः “हाम्रो पार्टीमा विवाद छ । यही बेला कोभिड–१९ रोकथामको लागि स्वास्थ्य सामग्री १० अर्बको खरिद गरिएको संसद्लाई जानकारी गराएको थिएँ । पछि ८ अर्बको मात्र सामग्री खरिद भएको रहेछ ! वाइडबडी, फोरजी, ललिता निवास, गोकर्ण रिसोर्ट, विराटनगर जुट मिल्स, सेक्युरिटी प्रिन्टिङ प्रेस, यति धेरै काण्ड अब यो सरकारले धान्न सक्दैन !”
गर्भनर ः “यसरी विरोध हुँदैमा वा काण्डका कुरा उठ्दैमा दुईतिहाइको सरकारले हार खानु हुँदैन । योभन्दा अघिका सरकारको पनि धेरै काण्ड छन् त !”
भूमाफिया ः “मन्त्रीज्यू, विपद पनि त हामीलाई कुम्ल्याउने अवसर हो । भूकम्प, पहिरो, डुबान र कोभिड–१९ आदि । मुख्य कुरा हामीले गोटी मिलाएर चलाउने हो, डराउने होइन ।”
मन्त्री ः “अब ठेकेदारको टोलीसँग भेट्ने बेला भयो । यसबारे हामी कोही नपर्ने गरी क्याबिनेटबाट निर्णय गराउनुपर्ला ! उठौँ अब !”
गभर्नर र बैङ्क माफिया ः “यसमा हामी एकसाथ छौँ ।”
(पर्दा बन्द)

 श्रध्दा image
श्रध्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *