भर्खरै :

कीर्तिपुरमा ‘भारतको चीन युद्ध’ बारे अध्ययन गोष्ठी

कीर्तिपुर । नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा बुधबार कीर्तिपुरमा ‘मजदुर’ दैनिकमा प्रकाशित नेभिल म्याक्सवेलको बहुचर्चित पुस्तक ‘भारतको चीन युद्ध’ (India’s China War) बारे अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंले ‘भारतको चीन युद्ध’ पुस्तक गहिरिएर अध्ययन र विश्लेषण गर्नुपर्दछ भन्नुभयो ।
उहाँले भारतले नयाँ रणनीति बनाएर नेपालमाथि हस्तक्षेप गरिरहेको बताउनुभयो । देशमा राजनीतिक विवाद, सत्तामा बसेका पार्टीभित्र सत्ता झगडा, पार्टी त्याग र नयाँ पार्टीमा प्रवेश गरी राजनीतिक अस्थिरता वृद्धि गरेको र धमिलो पानीमा माछा मार्ने खेल गरी देशमाथि अतिक्रमण गरिरहेको बताउनुभयो ।
भारतीय विस्तारवाद र एकाधिकार पँुजीको विरोधमा नेमकिपाले सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले सङ्घर्षकै कारण नाकाबन्दी फिर्ता गर्न र नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले ‘भारतको इतिहास पाठ्यपुस्तकमा’ भन्ने पुस्तकमा नेपालको नक्सा नै उल्लेख नगरेको स्मरण गर्दै सन् १८१६ को सुगौली सन्धिमा प्राप्त नेपालको भू–भाग कुनै हालतमा छोड्न नहुने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य नारायण महर्जनले ‘भारतको चीन युद्ध’ पुस्तक ८ वर्ष लगाएर सन् १९७० मा प्रकाशित गरेको बताउँदै पुस्तकले भारतको गोप्य दस्तावेज खुलासा गरेकोमा पुस्तकका लेखक नेभिल म्याक्सवेललाई ८ वर्षसम्म भारत प्रवेशमा प्रतिबन्ध लगाएको थियो भन्नुभयो ।
भारतले नेपालको भूभाग आफ्नो पारी नक्सा सार्वजनिक गरेको विरोधमा नेमकिपाले बृहत् जनदबाब सृजना गरेको बताउनुभयो ।
कार्यक्रममा राजवीर डंगोल, हरिकुमार महर्जन, रामचन्द्र महर्जन, कान्छाबाबु महर्जनलगायतले अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *