भर्खरै :

भक्तपुरमा फेला प¥यो संक्रमित, धेरैमा फैलिएको हुन सक्ने सम्भावना

भक्तपुुर, १९ साउन । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोभिड–१९ सङ्क्रमणको पछिल्लो तथ्याड्ढमा भक्तपुुर बस्दै आएका चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमितमध्ये एक जना पर्सा जिल्लाबाट भक्तपुर नगरपालिका वडा नं २ स्थित औद्योगिक क्षेत्रमा कार्यरत मजदुर भएको स्रोतले बताएको छ । संक्रमण पुष्टि भएसँगै सोमबार साँझबाट नै औद्योगिक क्षेत्रमा सिल गरिएको प्रहरीले जानकारी दिएको छ । संक्रमित पुरुषसँगै बस्दै आएका चार जना अन्य मजदुरहरूलाई पनि अलग राखिएको छ । उनीहरूको पीसीआर रिपोर्ट भने आइसकेको छैन ।
संक्रमितमध्ये एक जना मध्यपुर थिमि र एक जना सुर्यबिनायक नगरपालिका सिपाडोल निवासी रहेको जानकारी प्राप्त भएको छ । उनीहरू तीनै जनालाई उपचारको निम्ति हाल भक्तपुर दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको छ ।
साङ्गा नाकाबाट काठमाडौं उपत्यका भित्रिने क्रममा परीक्षण गर्दा अर्को एक जना पुरुष पनि संक्रमित फेला परेको हो । उनी काठमाडौं पेप्सिकोला निवासी भएको बताइएको छ ।

सापारुमा भीडभाड गरे संक्रमण अनियन्त्रित हुन सक्ने सावधानी

प्राप्त जानकारीअनुसार भक्तपुर औद्योगिक क्षेत्रमा फेला परेका संक्रमित मजदुर दैनिक रूपमा भक्तपुर नगरका विभिन्न बजार क्षेत्रमा जाने गरेका थिए । उनको सम्पर्कमा आएका अन्य सर्वसाधारणमा पनि संक्रमण फैलिसकेको हुन सक्ने अनुमान गरिएको छ । त्यसकारण भक्तपुुर नगरबासीलाई परिस्थितिको संवदेनशीलतालाई ध्यानमा राखी सकेसम्म घरबाहिर भीडभाडमा नजान स्थानीय प्रशासनले आग्रह गरेको छ । भक्तपुर नगरमा मङ्गलबार हुने सापारु पर्वलाई सामान्य औपचारिकतामात्र सीमित राख्न भक्तपुर नगरपालिकाले गरेको आह्वानको पालना नहुने हो भने भक्तपुरमा संक्रमण अझ तेजका साथ फैलिन सक्ने देखिन्छ । जात्रा र पर्वको नाममा भीडभाड गर्दा संक्रमण अनियन्त्रित हुन गई ठुलो क्षति हुन सक्नेमा सावधान हुन जरुरी देखिएको छ ।
भक्तपुरका संस्कृतिकर्मीहरूले जीवन रहे जात्रा र पर्व भविष्यमा पनि आउने, तर जीवन नै नरहे जात्रा पर्वको कुनै अर्थ नहुने बताएका छन् । भादगाउँ टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा इतिहासकार एवम् संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जीवन रक्षाको निम्ति सापारुलाई सामान्य औपचारिकतामा मात्र मनाउन आग्रह गर्नुभएको हो । । सापारुको नाममा धेरै मानिस एकै ठाउँमा भेला हुने र नाचगान गर्दा नोबेल कोरोना भाइरस संक्रमण फैलिए भोलिका दिन अझ कष्टकर हुन सक्छ । त्यसकारण भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू चोक चोक र टोल टोल पुगेर सर्वसाधारणलाई सापारु पर्वको दिन भीडभाड नगर्न, घिन्ताङघिसी नाच ननिकाल्न, सावधानीका उपाय अपनाउन अनुरोध गर्दै आएको छ ।
भक्तपुर नगरमा सोमबारबाट प्रहरीले मास्क नलगाई बाटोमा हिंड्ने सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्ने र अटेर गर्नेलाई जरिवाना गर्न थालेको छ ।
भक्तपुर नगरमा झण्डै महिना दिनपछि कोभिड–१९ को संक्रमित फेला परेको हो । यसअघि असार ४ गते भक्तपुर वडा नं ६ भोलाछेंमा कोभिड–१९ को संक्रमित फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *