भर्खरै :

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना !

आज अन्तर्राष्ट्रिय युवा दिवस । यस अवसरमा आज संसारभर विभिन्न गतिविधिको आयोजना गरिँदै छ । कोभिड–१९ सङ्क्रमणको कारण विगतमा जस्तो युवाहरूको सशरीर उपस्थितिमा गतिविधि कम होला । तथापि प्रविधिले दिएका विभिन्न माध्यमको उपयोग गरी संसारभरका युवाहरूले विभिन्न विषयमा छलफल र बहस गर्नेछन् । यो वर्षमा स्वभावतः युवा बहसको विषयमा पनि संसारले आज भोगिरहेको कोभिड–१९ कै वरपर केन्द्रित हुनेछ । कोभिड–१९ ले युवाहरूलाई कस्तो प्रभाव पा¥यो, युवाहरूको मनस्थितिमा यो महामारीले कस्तो परिवर्तन ल्यायो, कोभिड–१९ जस्ता महामारीको मूल कारण के के हुन्, कोभिड–१९ पछिको संसार कस्तो हुनेछ आदि विभिन्न प्रश्नमा यो वर्षको बहस केन्द्रित हुनेछ ।
संसारको उत्पादक शक्तिको रूपमा युवाहरूमाथि कोभिड–१९ ले पारेको प्रभाव संसारले लामो समय भोग्नुपर्ने अवस्था छ । महामारीले निम्त्याएको आर्थिक मन्दीको कारण अधिकांश प्रभावित देशका युवाले आंशिक वा पूर्ण रोजगारी गुमाउनुपरेको छ । रोजगारीका लागि विभिन्न देशमा बसेका युवाहरू आर्थिक मन्दीको कारण उत्पादन क्षेत्र बन्द भएपछि स्वदेश फर्किन बाध्य भएका छन् । युवाहरूले आफ्नो उत्पादनशील समय घरमै बिताउनुपर्दा संसारको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ ।
कोभिड–१९ मार्फत युवालाई प्रत्यक्ष पारेको अर्को क्षेत्र शिक्षा हो । आज संसारका दसौँ करोड युवा–विद्यार्थीहरू विद्यालय र विश्वविद्यालय जानबाट वञ्चित भएका छन् । उनीहरू आफ्नो शैक्षिक भविष्यलाई दाउमा राख्न बाध्य छन् । शिक्षणका वैकल्पिक उपायहरूको प्रयोगमा आज युवाहरू अग्रसर देखिएका छन् । आज संसारभर अनलाइन कक्षा र प्रविधिको अभूतपूर्व प्रयोग हुँदै छ । अनलाइनले मानव समाजको कसरी हित हुनसक्छ भन्ने कुराको यतिबेला अधिकतम प्रयोग भइरहेको छ ।
युवाहरूबीच बहसको अर्को विषय आगामी संसार कस्तो होला भन्ने प्रश्न हो अर्थात् कोभिड–१९ ले संसारलाई कस्तो बनाएर जानेछ ? पृथ्वीको इतिहासमा मानिसले यसअघि भोगेका सबै महाविपत्तिहरूले विश्व र मानिसको सभ्यतामा केही न केही डोब छोडेर गएका छन् । त्यसकारण कोभिड–१९ पछिको संसार हिजोको जस्तो पक्कै हुनेछैन । अब कोभिड–१९ जस्ता भाइरस मानिसको लागि ‘न्यु नर्मल’ हुने बताइएको छ । स्वभावतः अबको विश्व आजका युवाहरूको काँधमा छ । भविष्यको सबभन्दा बढी चर्चा गर्ने समुदाय पनि युवाहरू नै हुनेछन् । यो संसारलाई कस्तो बनाउने विषय प्रत्यक्षरूपमा युवाहरूसँग जोडिएको विषय हो । तसर्थ यो वर्षको युवा दिवसमा युवाहरूबीच चर्चाको एउटा प्रमुख विषय कोभिड–१९ पछिको संसार हुनेछ ।
युवाहरूले छलफल गर्नुपर्ने अर्को गम्भीर विषय कोभिड–१९ जस्ता महामारीको स्रोत र कारण के हुन् ? भन्ने हो । किन संसारले यस्ता महाविपत्तिको पटक–पटक सामना गर्नुपरेको छ ? मानिसले नाफा र आफ्नो स्वार्थको लागि प्रकृतिको अति दोहन गर्दा यस्ता विपत्ति आउने गरेका छन् । मानिसलाई नाफामुखी र स्वार्थी बनाउने काम पुँजीवादी व्यवस्थाले गरेको छ । त्यसकारण झट्ट हेर्दा यो विपत्ति प्राकृतिकजस्तो देखिए पनि खासमा यो कृत्रिम र राजनीतिक समस्या हो । जबसम्म संसारको राजनीति नाफामुखी खेमा पराजित हुँदैन र जनमुखी विचार विजयी हुन्न तबसम्म यस्ता विपत्तिले मानिसलाई दुःख दिन छोड्ने छैन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यो सत्यबारे युवाहरूबीच अझ गहिराइ छलफल हुनेछ र संसार परिवर्तनको निम्ति युवाहरूको क्रियाशीलता अझ बढ्ने आशा गरौँ । सबै न्यायप्रेमी युवाहरूलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *