पुश्कीनको जीवनको अर्को पक्ष
पुश्कीनलाई जार निकोलाईले धेरै सहयोग र सुझाव दिएका थिए । राज्यले नै पुश्कीनको ऋण तिरेको थियो भने अप्रकाशित कृतिहरू पनि प्रकाशित गरिदिएको थियो । उक्त प्रकाशनबाट आएको सबै पैसा पुश्कीनका छोरा–छोरी र श्रीमतीलाई दिइएको थियो । पुश्कीनका छोरा–छोरीलाई बालिक नभएसम्म राज्यले भरणपोषण गरेको आदि कुरा लेखेर छोरा अलेक्जेन्डरले मेरो फेसबुक मेसेन्जरमा पठाएको देख्दा म तीनछक्क परेँ ।

पुश्कीनको सालिक
पहिले त यी कुराहरू मैले कहिल्यै कतै पढेको थिएन र कसैले सुनाएको पनि थिएन । जति सुनेको थिएँ पुश्कीनका राम्रा कुराहरूमात्र सुनेको थिएँ । जार शासकले पुश्कीनलाई दुःख र मानसिक यातना दिएको थियो । पुश्कीनलाई प्रपञ्च गरेर एउटा ‘डुयल’ युद्ध (दुई जनाबिच हुने लडाइँ) मा फसाएर हत्या गरिएको थियो । पुश्कीनको जीवनको आखिरी वर्षमा उनलाई ठुलो आर्थिक समस्या परेको थियो भन्ने कुरा पढेको थिएँ । उनले राज्यसँग ५० हजार रुबल सापत मागेको कुरा पनि सुनेको थिएँ । पुश्कीनलाई आफ्नो घरबार चलाउन आर्थिक समस्या निकै परेको कारण आफ्नी श्रीमती जारको दरबारमा राजकीय भोजभतेर र डान्स पार्टीहरूमा जानलाई नयाँ–नयाँ डिजाइनका महँगा लुगाहरू र गरगहना किन्नु परेकोले हो भन्ने पढेको थिएँ । तर, छोरो अलेक्जेन्डरको मेसेज पढ्दा त्योभन्दा अरू धेरै कारणहरू थिए । महान् रुसी कवि अलेक्जेन्डर पुश्कीनले ठुलो आर्थिक सङ्कट टार्न धेरै मेहनत गर्नुपरेको थियो । पुश्कीन युवा अवस्थादेखि नै एक चर्चित कवि थिए । उनी रुसमा मात्र होइन, युरोपमा पनि चर्चित भइसकेका थिए । उनले ५–६ वर्षको निर्वासित जीवनमा विश्वका उत्कृष्ट साहित्यहरू रचेका थिए ।
पुश्कीनमा एक विलक्षण प्रतिभा थियो । उनी साहित्य रच्ने कुरामा जसरी सङ्गीत रच्ने काममा अस्ट्रिया, भिएनाका माचार्टजस्ता थिए । युरोप र रुसमा यी दुई सुन्दर नक्षत्र थिए सङ्गीत र साहित्यमा । ६–७ वर्षको उमेरमा विश्वका महान् सङ्गीतकार मोचार्ट राजाका दरबारमा आफ्ना बहिनी र बुबासँग पियानो बजाई सङ्गीत सुनाउने गर्थे । १०–१२ वर्षको उमेरमा साङ्गीतिक कार्यक्रम गर्न उनी युरोपका फ्रान्स, इटली, जर्मन, स्वीजरल्यान्डजस्ता देशहरूमा जाने गर्दथे ।
रुसमा महान् साहित्यकार पुश्कीनले बाल्यकालदेखि नै उत्कृष्ट कविता लेख्थे र रुसमा ठुल–ठुला साहित्यकार र आफ्नो विद्यालयका प्राध्यापकहरूको कान ठाडो हुने गरी कविता सुनाउँथे । यस्तै कविताहरू लेखेर जनमानसमा तत्कालीन जार शासकविरुद्ध आवाज बुलन्द गरेको कारण जार निकोलाईले पुश्कीनलाई रुसको साइबेरियामा कठोर यातना दिन निर्वासनमा पठाउने षड्यन्त्र रचे । तर, पुुुुुुश्कीनका हितैषी साथीहरूको दबाबले गर्दा उनलाई निर्वासन जीवन बिताउन रुसी साम्राज्यको दक्षिणी भाग काउकाजमा पठाइयो ।
पुश्कीन निडर र निर्भिक स्वभावका थिए । उनी एक सम्भ्रान्त परिवारका सदस्य थिए । पुश्कीनका बराजू रुसका बडा–महाराजा पिटर प्रथमका एक सैनिक जनरल थिए । उनी अफ्रिकी मुलका थिए ।
सन् १६८२ मा पिटर रुसका जार थिए । सन् १७२१ देखि रुसी साम्राज्यको प्रथम सम्राट भई रुसको लागि धेरै राम्रा (आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा) काम गरेर उनी रुसका महान सम्राट कहलिए ।

उनकै पालामा टर्कीको रुसका राजदूतले एकजना अश्वेत वर्णका दासलाई टर्कीको दरबारबाट ल्याएर पिटर सम्भ्रान्तलाई उपहारस्वरूप प्रदान गरे ।
अफ्रिकी मुलका उनी ‘अब्राम पेट्रोभीच गानीबाल’ नै पुश्कीनका बराजु थिए । गानीबाल धेरै जेहेनदार र मेहनती थिए । सम्राट पिटर प्रथमलाई धेरै मनपथ्र्यो । त्यसकारण जार पिटरले उनलाई उच्च शिक्षा दीक्षाको लागि फ्रान्समा अध्ययन गर्न पठाए । फ्रान्सबाट फर्केपछि गानीबाल, पुश्कीनका पुर्खा रुसी सेनामा भर्ती भएर जर्णेलसम्मको उपाधि पाए र धेरै धनी भए । यही उच्च घरानियाँमा जन्मेर हो कि पुुश्कीनमा अहङ्कार स्वभाव देखियो । धेरै मोजमस्ती गर्न उनी डान्स बारहरूमा जान्थे, मद्यपान गर्थे, रसरङ्गमा भुल्थे र जुवा तास खेल्थे सारमा पुश्कीनको निजी वैयक्तिक व्यवहार एक प्रकारको दुव्र्यसनीमा फसिरहेको थियो । उनको जीवनको अन्तिम वर्षमा ठुलो आर्थिक सङ्कट आइपरेको यो नै एक मूल कारण थियो । पुश्कीनको बारे छोरो अलेक्जेन्डरको मेसेजबाट यस्ता कुराहरू सुन्दा म धेरै छक्क परेँ र धेरै खुसी पनि भएँ । खुसी हुनु पुश्कीनको बारेमा मैले पहिले नसुनेका कुराहरू सुन्न पाएँ । छोरो (साशा) ले मेरो लेख पनि पढेको थाहा पाएँ ।
अलेक्जेन्डर (शाशा) मेरो जेठो छोरा, सन् १९७२ मा तत्कालीन सोभियत सङ्घमा जन्मेको थियो । विगत २५–३० वर्षदेखि उनी रुसको राजधानी मस्कोमा दोस्रो छोरा देनीस श्रेष्ठसँग बस्दै आएका छन् । दुवैको अहिले आ–आफ्ना रुसी परिवार छन् । दुवैले आफ्नो अध्ययन सकाएर व्यापारी जीवन बिताइरहेका छन् । पहिले हामी पढ्न जाँदा सोभियत सङ्घमा समाजवादी व्यवस्था थियो । निजी व्यापार व्यवसाय, उद्योगधन्दा कल–कारखाना केही गर्न पाइँदैनथ्यो । तर, सन् १९९१ मा सोभियत सङ्घ विघटन भएदेखि पुँजीवादी व्यवस्था कायम भएको छ । समाजवादी अर्थव्यवस्थाबाट पुँजीवादी अर्थतन्त्रमा देश परिवर्तन हुँदै छ । यस परिवर्तनबाट रुसमा धेरै डामाडोल भएको थियो । आर्थिक, सामाजिक जनजीवनलाई अहिलेसम्म पूर्णरूपमा काबुमा ल्याएको छैन । सोभियत समाजवादमा हुर्के बढेको जनजीवन अहिले कष्टमय जीवनयापन गर्न बाध्य छ । शान्ति सुरक्षाको अवस्था पनि धेरै खलबलिएको छ । यद्यपि रुस प्राकृतिक सम्पदाले भरिपूर्ण एक विशाल राज्य भएकोले र विज्ञान तथा प्रविधिको विकासको सँगसँगै सामाजिक हातहतियारको उत्पादनमा पहिलेदेखि नै शक्तिशाली स्थान ओगटिरहेकोले आज पनि एक विश्व शक्तिको रूपमा खडा भइरहेको छ ।

पुश्कीनकी श्रीमती नातालिया
समाजवादको बिसर्जन र पुँजीवादको उत्थानले गर्दा सोभियत सङ्घको विघटनपछि धेरै रुसी जनता निजी उद्योगधन्दा र व्यापार व्यवसायमा लागिपरेका छन् । तत्कालीन सोभियत सङ्घमा अध्ययन गर्न गएका धेरै नेपाली विद्यार्थीहरू पनि आज रुसमै रहेर उद्योग, व्यापार गरी सम्भ्रान्त भइसकेका छन् । त्यहाँबाट आयआर्जन गरेको पैसा नेपालमा विभिन्न आर्थिक विकासको क्षेत्रमा लगानी गरी देशको सेवा पनि गरिरहेका छन् । यसमा हामीले खुसी मान्नुपर्छ ।
अन्य धेरै नेपालीहरूजस्तै मेरा दुई छोराहरू अलेक्जेन्डर र देनीस आजकल व्यापार व्यवसायमै लागिपरेका छन् । चीन, हङ्गकङ्ग, अमेरिका आदि देशबाट आधुनिक इलेक्ट्रोनिक्स सर–सामानहरू आयात गरी उनीहरू मस्को तथा रुसका विभिन्न गाउँ सहरहरूमा सप्लाइ गर्दछन् । त्यसकारण छोराहरूसँग कुरा हुँदा प्रायः उनीहरूको व्यापार व्यवसाय र मेरोे विषयमा नै केन्द्रित हुन्थ्यो । तर, केही दिनअगाडि जेठो छोरो अलेक्जेन्डरले पुश्कीनको बारेमा मलाई आफ्नो धारणासहित मेसेन्जरमा लेखी पठाएको देख्दा मलाई खुसी लाग्यो । यहाँ मैले पुश्कीनको बारेमा र मेरो आफ्नै जीवन नियात्राबारे लेखेको उनीहरूले पनि पढेको बुझ्न पाउँदा धेरै खुसी लागेको छ ।
पुश्कीनको जीवनको अर्को पक्ष भनेर लेख्दै गर्दा उनले एक ठाउँमा यो पनि लेखे कि जार निकोलाईले पुश्कीनलाई आफूकहाँ बोलाएर सम्झाइबुझाइ गर्न प्रयास गर्दै भनेका थिए, “पुश्कीन तिमी त्यत्रो ठुलो कवि साहित्यकार, हाम्रो देशको गौरव हौ तिमी, किन यसरी जुवातास खेलेर दुव्र्यसनीमा आफ्नो समय बिताउँछौ । छोडिदेऊ, यी सबै खेल तमासा । यसले तिमीलाई बिगार्छ ।” यसको जवाफमा पुश्कीनले जार निकोलाईलाई भने, “होइन सरकार, तास र जुवाले मलाई उल्टो आफ्नो दुःख दर्दबाट बचाउँछ ।” जारले भने, “अनि तिम्रो काव्य कविताबारे सोच्नु परेन त ?” पुश्कीनले भने, “मेरा कविता र काव्यले मैले जुवा–तासमा हारेको पैसा तिर्न मद्दत गर्छ सरकार ।” हो, पुश्कीनको साहित्यिक लेखनले नै आफ्नो आर्थिक सङ्कटबाट बचाइरहेको थियो । जति तास जुवामा हा¥यो उति नै कविलाई लेख्नमा प्रोत्साहन मिल्थ्यो । जति जति पैसा हार्दै गयो, उति उति कविका उत्कृष्ट रचनाहरूले जन्म लिए, नयाँ–नयाँ कृति सृजना भए र पैसाको अभावले गर्दा नै पुश्कीनले एकै रातमा ‘ग्राफ नुलीन’ काव्य लेखेका थिए ।
Thankyou for information