भर्खरै :

शिलालेख किन नराख्ने ?

“तपाईँको बोली शिलालेखमा लेखेको जस्तो होस् ।” कसैले सत्य र मीठो बोलेमा भन्ने एउटा भनाइ हो यो । यस भनाइबाट शिलालेखको कति महत्व छ भन्ने स्पष्ट हुुन्छ । शिलालेखमा कुँदिएका अक्षर युगौँसम्म रहन्छ । आजको विश्वमा जति पनि इतिहास छ, धेरैजसो शिलालेखबाटै थाहा भएका हुन् । अहिले गरेका महत्वपूर्ण गतिविधि शिलालेखमा नकुँद्ने हो भने आजको इतिहास भोलि अधुरो हुने खतरा छ । नेपालमा भेटिएका शिलालेखबाटै हामीले किराँत, लिच्छवी, मल्लकाल आदि इतिहासबारे जानकारी पाएका हौँ । यदि शिलालेख नभएको भए ती समयका इतिहासबारे हामी अनभिज्ञ हुने थियौँ । शिलालेखकै कारण विश्व प्रसिद्ध चाँगुनारायण मन्दिर, ङातापोल्हँ मन्दिर, पशुपतिनाथ मन्दिर विश्व सम्पदामा सूचिकृत हुन सफल भयो ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारासहित भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई जगेर्ना गरिरहेको छ । कतिपय नास भइसकेका कला र संस्कृतिलाई पुनःनिर्माण एवम् संरक्षण गर्न भनपा लागिपरेको छ । भनपाभित्रका कैयौँ पोखरी, मन्दिर, पौवा–पाटी, ढुङ्गेधारा, मठ–मन्दिर, बाटाको पुनःनिर्माण कार्य दु्रतगतिमा भइरहेको छ । यसरी पुनःनिर्माण र जीर्णोद्धार गरेर भनपाले कला र संस्कृति जगेर्ना गर्नेमा एउटा नयाँ इतिहास कोर्दै छ । हुन त ती कला र संस्कृतिको पुनःनिर्माण गर्दा त्यसबारे अर्थात् मिति, लागेको खर्च, जनश्रमदान इत्यादिबारे नगरपालिकाले आफ्नो हिसाबले विभिन्न प्रकाशनमार्फत अभिलेख राखिरहेको होला । प्रकाशनमा राखिएका अभिलेख वर्षौँसम्म सुरक्षित नरहन सक्छन् । २०–२५ वर्षअघि मात्र भएका मन्दिर, पाटी–पौवा, ढुङ्गेधाराको निर्माण वा पुनःनिर्माणबारे हामीलाई सम्झन गा¥हो भइसकेको छ । उदाहरणको लागि ङातापोल्हँ मन्दिरको पहिलो जीर्णोद्धार भनपाले कहिले गरेको हो भन्दा कतिपयलाई थाहा नहुन सक्छ । त्यसको लागत, श्रमदान सहयोगबारे त झन् थाहा हुने कुरै भएन । यदि यी कुरा शिलालेखमा लेखेर राखेको भए हामीले सजिलै जानकारी लिनसक्छौँ । त्यसकारण हरेक निर्माण, पुनःनिर्माण वा जीर्णोद्धार हुँदा ती संरचनाहरूको नाम, बनाएको मिति, लागत, सहयोग, श्रमदान आदिबारे शिलालेखमा लेखेर राख्दा युगौँयुगसम्म सुरक्षित रहन्छ । भविष्य र वर्तमान इतिहासका विद्यार्थीहरूलाई अध्ययन अनुसन्धान गर्न सहयोग हुन्छ । त्यसकारण कम्प्युटर वा कागजमा मात्र अभिलेख नराखी शिलालेखमा अभिलेख राख्नु आवश्यक छ । यस विषयमा भक्तपुर नगरपालिका वा अन्य निकायहरूको ध्यान जाओस् । इतिहासलाई ढुङ्गामा कुँदेर सुरक्षित राख्ने बानी बसालौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *