भर्खरै :

कोहीको घरमा डाक्टरको चाकडी कोही त मर्छन् अस्पताल नहेरी

चिकित्सक अरुणा उप्रेतीले शनिबार आफ्नो फेसबुकमा एक जना परिचितको प्रसङ्ग उल्लेख गर्दै कोरोना उपचारको लागि १२ दिन भेन्टिलेटरमा राख्दा २६ लाख खर्च गर्नुपरेको उल्लेख गरिन् । २६ लाख खर्च गर्दा पनि तिनी व्यक्तिको ज्यान जोगाउन नसकिएको उनले आफ्नो स्टाटसमा लेखेकी छिन् । आइतबार प्रकाशित एक अखबारले धनी परिवारमा घरमै पुगेर पीसीआर परीक्षण हुने गरेको समाचार प्रकाशित भयो । नेपाली समाजमा विद्यमान गहिरो वर्ग विभेदको यो एउटा सटिक चित्र हो ।
‘कोहीको घरमा डाक्टरको चाकडी, कोही त मर्छन् अस्पताल नहेरी हाम्रो नेपालमा’, कोभिड–१९ महामारीले खनेको वर्गीय खाडल ‘बलिदान’ चलचित्रको यो चर्चित गीतको भावभन्दा निकै गहिरो देखिएको छ ।
एकातिर सरकारले कोभिड–१९ भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई क्वारेन्टिन स्थलसमेत बन्दोबस्त गर्न सकेको छैन । कोरोनाको बिरामीलाई घरमै एकान्तवासमा बस्न सरकारी कार्यालयबाट फोन जाने गरेको छ । तर, औसत नेपालीहरूको घरमा यसरी परिवारको एक जना सदस्य अलग एकान्तवासमा बस्ने अवस्था छैन । काठमाडौँ उपत्यकामा यतिबेला सङ्क्रमण पुष्टि भएका अधिकांश मानिस यहाँ कोठा लिएर सानोतिनो पेशा व्यवसाय गरिरहेका मानिसहरू छन् । उनीहरूमध्ये कति त एउटै कोठामा धेरै जना खाँदिएर बस्ने गरेका छन् । उनीहरूको निम्ति सङ्क्रमित भएर एकान्तवासमा बस्नु अव्यवहारिक र असम्भव प्रायः छ । त्यसकारण उनीहरूको लागि सरकारले नै अलग क्वारेन्टिन कक्षको बन्दोबस्त गर्नुपर्छ । तर, बढ्दो सङ्क्रमणबीच सरकारले भने यो विषयमा ध्यान दिएको देखिएन ।

 कम्युनिस्ट पार्टीले समाजमा आफ्नो उपस्थिति देखाउने पहिलो आधार भनेकै निःशुल्क स्वास्थ्य सेवा हो ।अनिवार्य र निःशुल्क शिक्षा हो । जनता महामारीको चपेटामा परेको यो बेला यो सरकारलाई आफ्नो ‘असल चरित्र’ देखाउने राम्रो अवसर छ । कोभिड–१९ का सबै सङ्क्रमितको उपचारको ग्यारेन्टी सरकारले गर्नुपर्छ । धनीलाई एक थरी र गरिबलाई अर्को थरी विभेदपूर्ण स्वास्थ्य उपचार हुने अवस्थाको अन्त्य गर्नुपर्छ । गरिब जनताको जीवनका प्रतिकूलता समाधानमा सरकारले साथ दिनुपर्छ । यी सबै कर्तव्यबाट यो सरकार च्युत छ । समाजमा बढ्दो वर्गीय खाडललाई ‘कम्युनिस्ट’ भन्ने सरकारले बढावा दिइरहेको छ । यो विडम्बनाको विषय हो ।

धनी परिवारको निम्ति होम क्वारेन्टिनमै बस्न पनि खास समस्याको विषय होइन । पैसा र पहुँचको आधारमा उनीहरूले अस्पतालमा सुविधाजनक शय्या पाइरहेका छन् । तर, पहुँच नभएका गरिब परिवारका मानिस सङ्क्रमित हुनुले उनीहरूको सम्पूर्ण परिवारको निम्ति छिचोल्नै नसकिने प्रतिकूलता थपेको देखिन्छ । एक त लकडाउनको कारण काम गर्न नपाउँदा उनीहरूको आर्थिक क्षमतामा ¥हास आएको छ । त्यसमाथि रोगबाट सङ्क्रमित हुनु निकै पीडाको विषय बनेको छ ।
गरिब परिवारका सदस्यले आफ्नो दैनिक गुजारा गर्नको निम्ति जोखिम मोलेर काममा जानुको विकल्प छैन । विशेषतः गरिबले गर्ने काम शारीरिक श्रम नै हो । शारीरिक श्रम गर्दा सावधानीका न्यूनतम उपायको पनि सधैँ पालना गर्न सम्भव हुँदैन । त्यसकारण गरिब जनतामा रोगको सङ्क्रमण बढी हुने गरेको छ । सङ्क्रमितहरूको उपचारको निम्ति सरकारले ग्यारेन्टी गरेको छैन । सामान्य उपचारको निम्ति धौधौ हुने गरिब जनतालाई भेन्टिलेटरको प्रयोग ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुने गरेको छ ।
अहिले देशमा कथित कम्युनिस्ट पार्टीको सरकार छ । कम्युनिस्ट पार्टीको हँसिया हथौडाको झन्डा देखाएर जनतासँग पाएको मतले आज उनीहरू सत्तासीन छन् । कम्युनिस्ट पार्टीले समाजमा आफ्नो उपस्थिति देखाउने पहिलो आधार भनेकै निःशुल्क स्वास्थ्य सेवा हो । अनिवार्य र निःशुल्क शिक्षा हो । जनता महामारीको चपेटामा परेको यो बेला यो सरकारलाई आफ्नो ‘असल चरित्र’ देखाउने राम्रो अवसर छ । कोभिड–१९ का सबै सङ्क्रमितको उपचारको ग्यारेन्टी सरकारले गर्नुपर्छ । धनीलाई एक थरी र गरिबलाई अर्को थरी विभेदपूर्ण स्वास्थ्य उपचार हुने अवस्थाको अन्त्य गर्नुपर्छ । गरिब जनताको जीवनका प्रतिकूलता समाधानमा सरकारले साथ दिनुपर्छ । यी सबै कर्तव्यबाट यो सरकार च्युत छ । समाजमा बढ्दो वर्गीय खाडललाई ‘कम्युनिस्ट’ भन्ने सरकारले बढावा दिइरहेको छ । यो विडम्बनाको विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *