राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
काठमाडौँ, ३२ साउन । नेकपाको एकताको उद्देश्य नै राजनीतिक स्थिरता थियो । एमाले र एमाओवादी मिलेपछि नेकपाले झन्डै दुइतिहाइ मत प्राप्त ग¥यो । झन्डै दुइतिहाइ मत प्राप्त सरकारले ५ वर्ष शासन गर्ने अवसर मिलेको छ । तद्नुसार केपी ओलीको नेतृत्वमा सरकार बनेको छ । राजनीतिक स्थिरताको अर्थ ५ वर्षसम्म शासन गर्नु हो, त्यो अभिमत नेकपाले पाएको छ । तर, राजनीतिक स्थिरताको निम्ति एकता भएको नेकपाभित्रै शासन गरेको वर्ष दिन नपुग्दै आलोपालो प्रधानमन्त्री बन्ने सहमति भयो । त्यो सहमति पछि बदलियो । यसले दुई कुरा प्रस्ट पार्छ, पहिलो, नेकपाका नेताहरू सत्ता राजनीतिमा हामफाले । दोस्रो, नेकपाका नेताहरूको बोलीमा ठेगान छैन र उनीहरु भागबन्डाको राजनीति गर्छन् ।
नेकपाको सरकारलाई आफ्नै पार्टीका नेताहरूले बाहेक अरु कुनै दलले सरकार ढाल्ने कुरा गरेका छैनन्, ढाल्ने प्रयास गरेका छैनन् । तर, सरकारको ध्यान सत्ताकेन्द्रित भयो, राजनीतिक स्थिरता नै एकमात्रै उद्देश्य ठान्यो । यो नेकपाको दरिद्र विचार हो । नेकपाले ५ वर्ष सरकार सञ्चालन गर्नेमात्र होइन, कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार र मूल्य मान्यताभित्र रहेर सरकार सञ्चालन गर्नुपर्छ । बहुमत प्राप्त सरकारले राजनीतिक स्थिरता दिने भनेर गर्व गर्नुपर्ने विषय होइन, त्यो स्वाभाविक हो । पूर्ण कार्यकाल सत्ता सञ्चालन हुनु नै सरकारको सफलता होइन । नेकपाको नेतृत्वमा सरकारले विगतको सरकारभन्दा फरक के काम ग¥यो, नेकपाको सिद्धान्त र विचारअनुसार के काम ग¥यो ? यसबारे मूल्याङ्कन हुनुपर्छ ।
सरकारले ५ वर्षभित्र संविधानमा व्यवस्था भएबमोजिम समाजवादउन्मुख देश बनाउनुपर्छ । समाजवादउन्मुख देश बनाउन सरकारले पूर्वाधार तयार गर्नुपर्छ । हालसम्म सरकारले त्यस्तो कुनै पूर्वाधार तयार गरेको देखिँदैन । सरकारले समाजवादउन्मुख अर्थतन्त्र ल्याउने र तद्नुसार नीति नियम बनाउनुपर्छ भने नेकपाले देशमा वैज्ञानिक समाजवाद ल्याउनेतर्फ पूर्वाधार तयार गर्नुपर्छ । सरकारको नेतृत्व नेकपाको हातमा छ, पार्टीको बहुमत छ, यस्तो स्थितिमा पनि पार्टीको सिद्धान्त र विचार लागू गरिँदैन भने अर्काे कुन बेला नेकपाले सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्ला ? देशमा आमूल परिवर्तनको निम्ति नेमकिपालगायत अन्य दलहरू पनि लागिरहेका छन् । अन्य कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरू समाजवादी बन्दोबस्तकै पक्षमा छन् । यस अर्थमा नेपालमा जनताबीच कम्युनिस्टहरूको प्रभाव छ, बहुमत जनता कम्युनिस्ट पार्टीको पक्षमा छन् । यो बेला सरकारको नेतृत्व गर्ने नेकपाले त झन् आत्मगौरवका साथ देशमा आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्षलाई जोड दिनुपर्ने हो, तर त्यस्तो कुनै लक्षण देखिँदैन । बरु नेकपाले अब शान्तिपूर्ण बाटो नै आमूल परिवर्तनको विकल्प हो भनी कम्युनिस्टविरोधी राजनीति गरिरहेको छ ।
Leave a Reply