भर्खरै :

पुराना कम्युनिस्ट कार्यकर्ता गोविन्द ‘बा’को निधन

कीर्तिपुर, ६ भदौ । कीर्तिपुर नपा वडा नं. ५ निवासी पुराना कम्युनिस्ट कार्यकर्ता गोविन्द महर्जनको ९१ वर्षको उमेरमा शुक्रबार निधन भयो ।
विसं १९८५ पाँगा दिउखेलमा जन्मनुभएका महर्जन २०१२ को किसान आन्दोलनमा सक्रिय हुनुभयो ।
आन्दोलनको क्रममा कम्युनिस्ट पार्टीका नेताहरूलाई घरमा खानपिन गरी सुरक्षित ढङ्गले भूमिगत बस्न सहयोग गर्ने उहाँ अथक योद्धा हुनुहुन्थ्यो । सानैदेखि कम्युनिस्ट आन्दोलनप्रति झुकाव राख्ने उहाँ कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सधैँ सक्रिय हुनुहुन्थ्यो ।
उहाँ वैकुण्ठ बाजाको कजि छेँ स्थापना गरी कीर्तिपुर क्षेत्रका विभिन्न टोलमा वाद्यवादन प्रशिक्षण दिनुहुने सांस्कृतिक गुरु पनि हुनुहुन्थ्यो ।
पाँगाका हरेक जात्रा पर्वमा अग्रपङ्क्तिमा रही निर्देशन दिने, व्यवस्थापन गर्ने र कुनै व्यक्तिको मृत्यु भएमा मृतकको घर पुगी जन्मकुण्डली हेर्ने काम पनि उहाँ गर्नुहुन्थ्यो ।
उहाँ पाँगा गाईजात्रा पर्व व्यवस्थापन समितिका अध्यक्ष हुनु्हुन्थ्यो । घरबाट बाहिर निस्केपछि बाटोमा भेट्ने केटाकेटीदेखि लिएर युवा, ज्येष्ठ नागरिकसँग नबोली नहिँड्ने मिलनसार, सामाजिक कार्यमा सक्रिय रहनुहुन्थ्यो । सबैका प्रिय गोविन्द महर्जनको भदौ ५ गते स्वास्थ्यमा केही समस्या भएपछि सामान्य परीक्षणको लागि अल्ट्रासाउन्ड, एक्सरे गर्न दिनको २ बजे आफैँ ट्याक्सीमा बसी अस्पताल जाने क्रममा बीच बाटोमै चर्को खोकीको कारण निधन भएको परिवारले जनाएको छ ।
प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा परीक्षणको क्रममा गए पनि बल्खुवरै अकस्मात् स्वास्थ्य खराब भएपछि वयोधा अस्पताल पु¥याइएको थियो । वयोधामा उपचारको क्रममा उहाँलाई मृत घोषणा गरिएको थियो ।
शुक्रबारै महर्जनको भाजंगाल घाटमा अन्त्येष्टि गरियो ।
उहाँकी श्रीमती, २ छोरा, ४ छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *