भर्खरै :

अझै अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

ललितपुर, ९ भदौ । रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो ।
देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । “अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हँुदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पु¥याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उहाँले भन्नुभयो । “आउँदो असोज २ गतेबाट मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कार्तिक महिनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मंसिर महिनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ ।” उहाँले भन्नुभयो, आइतबारमात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले जानकारी गराउनुभयो ।
आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै राखिएको छ । रथलाई पुल्चोकबाट गाःबहाल पु¥याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पु¥याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पु¥याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पु¥याएर उपयुक्त दिनमा महाबलि दिनुपर्ने चलन रहेको हुँदा यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोशीले बताउनुभयो ।
यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ । उहाँले थप्नुभयो, “राज्यले यसै किसिमको योजना बनाएर अघि बढ्दा छिट्टै रथयात्राको समस्या समाधान हुने थियो ।”
रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “दशैँअघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गरिएन भने रातो मच्छिन्द्रनाथलाई भक्तपुरवासीले आक्षनो हक जताएर लान पाउँछन् भन्ने कुरा सुन्नमा आए पनि यो कुरा भने कुनै पनि पुस्तकमा उल्लेख भएको छैन ।” मच्छिन्द्रनाथलाई अर्काे सहरका मानिसले लान्छन् भन्ने हल्ला गर्नुभन्दा पनि उपयुक्त समयमै भोटोजात्रा सम्पन्न गर्नुपर्ने थियो तर गर्न सकिएको छैन ।” बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको महर्जनले बताउनुभयो ।
आफूहरू जात्रासँग सम्बन्धित एक सहयोगी संस्थामात्र रहेकाले नेपाल सरकारको निर्णयपछि सो काममा अघि बढ्ने भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय भदौ १५ गतेपछि हुने पुजारी पूर्णराज शाक्यले बताउनुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *