भर्खरै :

घर–घरमै स्वास्थ परीक्षण गराउनु आवश्यक

सङ्कटमा पर्दा दाजु–भाइ, छरछिमेक, साथी, नाताकुटुम्ब र राज्यको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ । आपत्विपत् र सङ्कटको बेला राजनीतिक नेता, कार्यकर्ता र सामाजिक कार्यकर्ताको पनि त्यतिकै महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तो बेला हरेक व्यक्ति, निकाय र संस्थाले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । सङ्कटको बेला साथ नदिने व्यक्ति र निकाय समुदायप्रति जिम्मेवार नभएको थाहा हुन्छ । कोरोना भाइरसका सङ्क्रमित व्यक्तिहरू नेपाल छिरेपछि नेपाल सरकारले लकडाउन ग¥यो । जनजीवनमा समस्या आएपछि लकडाउन खुकुलो बनाइयो । तर, सङ्क्रमित र मृतकको सङ्ख्या बढ्न थालेपछि फेरि जिल्ला–जिल्लामा निषेधाज्ञा जारी भयो । यसरी लकडाउन गर्दा होस् या निषेधाज्ञा यसको असर दैनिक काम गर्ने मजदुरलाई झैँ सुत्केरी र गर्भवती महिलालाई पनि भयो ।
लकडाउन र निषेधाज्ञाको बेला कुनै पनि रोगी या बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने कामसमेत रोकियो । यातायात असुविधाको कारण समयमा अस्पताल पुग्न नपाएर, अस्पताल पुगेर पनि स्वास्थ्य परीक्षण नगर्दा सुत्केरी र गर्भवती महिलाहरू बढी समस्यामा परेका छन् । यसले गर्दा सुत्केरी र गर्भवतीहरूको अकालमै मृत्यु भएको खबर प्रकाशमा आएको छ । लकडाउन र निषेधाज्ञाले गर्भ जाँच गर्ने महिलाहरूको सङ्ख्या पनि घटेको छ । सङ्कटको बेला झन् हरेक नागरिक र निकाय सक्रिय हुनुपर्ने हो, आ–आफ्नो स्थानबाट सक्दो सहयोग र साथ दिनुपर्ने हो । यस्तो बेला कुनै व्यक्ति या संस्था टाढिनु आफ्नो जिम्मेवारीबाट पन्छिनु हो ।
कुनै व्यक्ति र संस्था देश र जनताप्रति जिम्मेवार छ कि छैन भन्ने कुरा सङ्कटको बेला पहिचान गर्ने हो । देश र जनताप्रति जिम्मेवार सरकारले देशभरका स्वास्थ्यकर्मीहरू परिचालन गरी सङ्क्रमित जिल्ला, नगर, गाउँ र टोल–टोलमा पुगी स्वास्थ्य परीक्षण गराउनुपर्छ । स्वास्थ्य परीक्षण गराउन सरकारले पूर्वाधार तयार गर्नुपर्छ । स्वास्थ्य परीक्षण गर्ने र उपचार गर्नु त कता कता भएका निजी र सार्वजनिक अस्पताल तथा जनस्वास्थ्य केन्द्रहरूमा समेत सरकारले बिरामीको परीक्षण गराउन सकेको छैन । अझ अस्पताल र जनस्वास्थ्य केन्द्रका कुनै स्वास्थ्यकर्मी या कर्मचारी कोरोनाबाट सङ्क्रमित भएपछि अस्पताल नै सिल गरेर स्वास्थ्य परीक्षण र उपचार नै बन्द गरिन्छ । यसले गर्दा कोरोनाको कारणभन्दा अन्य रोगको कारण मान्छेको ज्यान गएको जानकारी प्रकाशमा आएकै हो । यसरी नेपाली जनता कोरोना भाइरस र अन्य रोगबाट प्रताडित छन्, प्रताडित भएर आत्महत्या गरिएका छन्, अकालमा मरेका छन् । के यो कम्युनिस्ट भनिने सरकारको विडम्बना होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *