भर्खरै :

सङ्क्रमण व्यवस्थापन गर्न रकम निकासा

काठमाडौँ, १५ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न ४१२ स्थानीय तहलाई गत वर्ष रु. ४३ करोडभन्दा बढी रकम निकासा गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७६÷०७७ मा मन्त्रालयबाट उत्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न सो ४१२ स्थानीय तहलाई रु. ४३ करोड ६४ लाख ५३ हजार २७५ तथा २० स्थानीय तहमा होल्डिङ सेन्टर व्यवस्थापनका लागि रु. दुई करोड ७७ लाख २३ हजार निकासा भएको जानकारी दिएको हो ।
कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय तहले स्थापना गरी सञ्चालनमा रहेका क्वारेन्टिन निर्धारित मापदण्डबमोजिम थप व्यवस्थित, क्वारेन्टिनमा बसेका व्यक्तिको बसोबास बन्दोबस्त गर्न र खानपिन व्यवस्था मिलाउने प्रयोजनका लागि सो रकम निकासा गरिएको हो ।
समायोजन ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको करिब रु. एक लाख ३८ हजार दरबन्दीमा समायोजन भएका कर्मचारीमध्ये केही कर्मचारीले अन्तर स्थानीय तह, अन्तर प्रदेश वा सङ्घबाट प्रदेश वा स्थानीय तहमा जाने गरी निवेदन, उजुरी र गुनासोलाई मन्त्रालयले सम्बोधन गर्दै आएको जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या वृद्धि
देशभरमा सोमबार कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आइतबारभन्दा तीन सय चार बढेको छ । सोमबार देशभरमा ८९९ जना सङ्क्रमित थपिँदा ५८८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या केही बढेको हो ।
काठमाडौँ उपत्यकामा २९८ सहित देशभरमा ८९९ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५९६ पुरुष र ३०३ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार १२९ नमुना परीक्षण भएको थियो । हालसम्म ६ लाख ९३ हजार ४७२ नमुना परीक्षण भइसकेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ५४ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार ३३७ रहेको छ । देशभर जम्मा १७ हजार ८२२ सक्रिय सङ्क्रमितमध्ये १० हजार ७०१ संस्थागत आइसोलेसन र सात हजार १२१ होम आइसोलेसनमा छन् ।
देशभरमा गरी १३२ सङ्क्रमित सघन उपचार कक्षमा छन् भने १६ सङ्क्रमित भेन्टिलेटरमा छन् ।
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *