भर्खरै :

पुलुकिसी लगायतका जात्राहरु संचालन नगर्न प्रमुख सुनिल प्रजापतिको अनुरोध

भक्तपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरु,
भक्तपुर ऐतिहासिक एवम् सांस्कृतिक नगर हो । यहाँ हरेक महिना कुनै न कुनै चाडपर्व भइरहन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष त्यस्ता चाडपर्वहरु मनाउन सम्भव भएन । जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राखी बिस्का जात्रा, गाईजात्रा, मातातीर्थ औंसी, गोकर्ण औंसीजस्ता चाडपर्व र टोल–टोलमा हुने जात्रालाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय ग¥यौं र सोहीबमोजिम मानिसहरुको भीडभाड नगरी सम्पन्न गर्दै आयौं । पञ्चदान, गुँला पर्व, यन्याँपुन्हीजस्ता पर्वहरुलाई पनि हामीले स्थगित ग¥यांै । महत्वपूर्ण विषयहरुमा जनतासँग छलफल गरी जनताकै राय, सल्लाह र सुझावअनुसार हामीले काम गर्दै आएका छौं । नगरपालिकाको हरेक काममा निरन्तर सहयोग गर्नुहुने सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।
अहिले यन्याँपुन्हीको समय छ । कोरोनाबाट समाजलाई जोगाउन यन्याँपुन्हीसँग सम्बन्धित यम ठड्याउने, सिद्धपोखरी जात्रा, याँमता, छुमा गणेश जात्रा, मूपात्र, भैरवनाथ, इन्द्रायणी र पुलुकिसी जात्रालगायत सबै किसिमका जात्राहरुलाई स्थगित गर्न सार्वजनिक सूचना र माइकिङमार्फत निरन्तर जनतालाई आग्रह गरिरहेका छौं । यी सबै काममा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानलगायत सबै सरोकारवालाहरुसँग समन्वय गरी काम गर्दै आएका छौं । पुलुकिसीको जात्रा पनि हाम्रो एक महत्वपूर्ण जात्रा हो । अन्य जात्राहरुजस्तै यसलाई पनि रोक्न सम्बन्धित सरोकारवाला गुठी, भजन, जात्रा व्यवस्थापन समिति तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा दिएर निरन्तर सम्पदा र संस्कृति बचाउन प्रयाशरत भक्तपुर नगरपालिकाको तर्फबाट यसरी चाडपर्व, जात्रा स्थगित गर्न अनुरोध गर्नुपर्दा हामीलाई निकै अप्ठेरो महसुस भइरहेको छ । तर हाम्रो जीवनभन्दा ठूलो चाडपर्व वा जात्रा हुन सक्दैन । जीवन भए चाडपर्व अर्को वर्ष मनाऔंला । यही भावनाले जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर हामीले यो आग्रह गरिरहेका छौं । साथै परम्पराअनुसार गर्नुपर्ने सो¥ह श्राद्धलाई पनि औपचारिकतामा सीमित गर्न हार्दिक अनुरोध गर्दछौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट भदौ १८ गतेसम्म नेपालमा चालीस हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने भक्तपुर जिल्लामा संक्रमितहरु ५०० र भक्तपुर नगरमा सय जनाभन्दा बढी भइसकेको छ ।

अहिले यन्याँपुन्हीको समय छ । कोरोनाबाट समाजलाई जोगाउन यन्याँपुन्हीसँग सम्बन्धित यम ठड्याउने, सिद्धपोखरी जात्रा, याँमता, छुमा गणेश जात्रा, मूपात्र, भैरवनाथ, इन्द्रायणी र पुलुकिसी जात्रालगायत सबै किसिमका जात्राहरुलाई स्थगित गर्न सार्वजनिक सूचना र माइकिङमार्फत निरन्तर जनतालाई आग्रह गरिरहेका छौं ।

यो महामारीबाट जनताको जीवन रक्षाको लागि भक्तपुर नगरपालिकाले टोल टोलमा नियमित रुपमा किटनाशक औषधि छर्कने, दैनिक माइकिङ गरी जनचेतना जगाउने र स्वास्थ्य वा अन्य कुनै समस्या परेको खण्डमा तत्काल सम्पर्क गर्न चिकित्सक र कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकी जनतालाई सहयोग गर्दै आएको छ ।
विदेशबाट फर्केका नगरबासीहरुलाई तोकिएको अवधि क्वारेन्टाइनमा राख्न नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गर्दै आएको छ । हालसम्म १०६ जना क्वारेन्टाइनमा बसिसकेका छन् भने विदेशबाट आउने क्रम जारी छ । ती सबै नागरिकहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्ने हाम्रो प्रयास जारी रहनेछ ।
कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएपछि भक्तपुर अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । अहिले भक्तपुर अस्पताल कोभिडका बिरामीहरुले भरिएको स्थिति छ भने खरिपाटीमा २०० सैयाको एकीकृत आइसोलेसन वार्डको व्यवस्था गरिएको छ ।
हामीसँग पीसीआर परीक्षणको मेसिन उपलब्ध नभएको हुँदा भक्तपुर अस्पतालमा राख्न प्रदेश सरकारसित समन्वय गर्दैछौं । प्रदेश स्वास्थ्य मन्त्रीले छिटै उक्त मेसिन भक्तपुर अस्पतालमा जडान गर्ने वचन दिनुभएको छ । उक्त मेसिन उपलब्ध भएमा भक्तपुरबासी जनताले पीसीआर परीक्षण सेवा छिटो छरितो पाउनु हुनेछ र कोरोना संक्रमण नियन्त्रण गर्न सहज वातावरण निर्माण हुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट भदौ १८ गतेसम्म नेपालमा चालीस हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने भक्तपुर जिल्लामा संक्रमितहरु ५०० र भक्तपुर नगरमा सय जनाभन्दा बढी भइसकेको छ ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
संक्रमितहरुको संख्या बढेसँगै देशका विभिन्न जिल्लाहरुमा संक्रमितहरुप्रति नराम्रो व्यवहार गरेका समाचारहरु सुन्दै र पढ्दै आएका छौं । यो सभ्य समाजको परिचय होइन । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु जनताको ज्यान बचाउन दिनरात खटिरहनुभएको छ । कोरोनाविरुद्धको लडाइँमा चिकित्सकहरु अग्रपंक्तिमा बसेर लड्ने सिपाहीहरु हुनुहुन्छ । उहाँहरुलाई हामीले सम्मान गर्नुपर्छ । आफ्नो ज्यान दाउमा राखेर उहाँहरुले जनताको जीवन बचाउन काम गरिरहनुभएको छ । त्यस्तै अन्य संक्रमितहरु पनि कोही चाहेर संक्रमित हुने होइन, जो संक्रमित भए, ती सबैलाई छरछिमेक दाजुभाइहरुले सक्दो सहयोग गरी मनोबल बढाउने काम गरौं ।
यतिखेर भक्तपुरमा संक्रमण कम गर्न जनप्रतिनिधिहरु र कर्मचारीहरु निरन्तर खटिरहनुभएको छ । हाम्रो तर्फबाट कुनै कमी कमजोरी हुन नदिन निरन्तर सेवामा समर्पित भएर लागेका छौं । यहाँहरुबाट रचनात्मक आलोचना, सुझाव र सल्लाहको पनि अपेक्षा गर्दछौं । यहाँहरुको सल्लाह र सुझावले अझ बढी व्यवस्थित रुपमा काम गर्न मद्दत मिल्ने हाम्रो विश्वास छ ।
अन्त्यमा, यो बिषम् परिस्थितिमा भोजभतेर गर्ने र चाडपर्व, पुलुकिसी जात्रालगायत कुनै पनि जात्रा संचालन तथा पाटीहरुमा भजन गाउने र मन्दिरमा पूजाआजा गरी भीडभाड हुने काम नगरी दिनु हुन सम्पूर्ण नगरबासीहरुमा पुनः अनुरोध गर्दछौं । सबै सचेत भएर आ—आफ्नो सुरक्षा गरौं । समाजलाई कोरोनाबाट बचाऔं ∕ धन्यवाद ।
२०७७ भाद्र १९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *